नेसनल हाइड्रोपावरको संचित नोक्सान साढे ४३ करोड
काठमाडौं । नेसनल हाइड्रोपावर लिमिटेडको निरन्तर घाटामा गएपछि यसको संचित नोक्सान बढेको छ । गत आर्थिक वर्षमा मात्र संचित नोक्सान ६ करोड १२ लाख रुपैयाँ बढेर ४३ करोड ५४ लाख ७९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवमा उसको संचित नोक्सान ३७ करोड ४२ लाख रुपैयाँ थियो । कम्पनीले गत आवमा गत वर्ष कम्पनीले बिजुली बिक्रीबाट १८ करोड रुपैयाँ आम्दानी गरेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ४२ पैसा मात्र छ । हालसम्म कम्पनीले लाभांश दिन सकेको छैन् ।
नविल बैंकले असोज १०मा साभारणसभा बाेलायाे, ४८% लाभांशसहित पुँजी १० अर्ब बनाउने विशेष प्रस्ताव
काठमाडौं । नबिल बैंकले १० अर्ब रुपैयाँ पुँजी बनाउने प्रस्ताव गरेको छ । बैंकले आगामी असोज १० गते ३३ औं वार्षिक साधारणसभाको बोलाउँदै उक्त साधारणसभामा अधिकृत पुँजी १० अर्ब रुपैयाँ बनाउने प्रस्ताव लैजाने निर्णय गरेको छ । उक्त साधारणसभामा नबिल बैंकले सेयरधनीलाई ४८ प्रतिशत लाभांश दिने प्रस्ताव लैजादैछ । बैंक सञ्चालक समितिले गत आर्थिक वर्षको नाफाबाट ३० प्रतिशत बोनस सेयर र १८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । बोनस सेयर जारी गरेपछि चुक्ता पुँजी ८ अर्ब ४ करोड रुपैयाँ पुग्ने बैंकले जनाएको छ ।
सिटिजन्स बैंकले १६ प्रतिशत बोसन सेयर दिने, असोज ९ गते साधारण सभा
काठमाडौं । सिटिजन्स बैंकले सेयरधनीलाई १६ प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकको हालै बसेको सञ्चालक समितिको २४४ औ बैठकले गत आर्थिक वर्षमा गरेको नाफा मध्येबाट सेयरधनीलाई १ अर्ब १० करोड ७४ लाख रुपैयाँ बराबरको बोनस सेयर बितरण गर्ने निर्णय गरेको छ । बोनस सेयर वितरण प्रस्ताव पारित गर्न बैंकले असोज ९ गते ११ औं वार्षिक साधारणसभा बोलाएको छ । साधारणसभाबाट पारित भएपछि बैंकले बोनस सेयर बितरण गर्ने जानकारी दिएको छ । बैंकले चुक्तापुँजी बढाएर ८ अर्ब रुपैयाँ पु¥याउन सेयरधनीलाई बोनस सेयर दिन लागेको हो ।
एनबी इन्स्योरेन्सको साधारणसभा असोज १० गते, ८० प्रतिशत हकप्रद सेयर निश्कासन गर्ने
काठमाडौं । एनबी इन्स्योरेन्स कम्पनी लिमिटेडले चुक्तापुँजी बढाउन हकप्रद सेयर निश्कासन गर्ने भएको छ । कम्पनीले १० बराबर ८ अनुपातमा हकप्रद निश्कासन गर्ने जानकारी दिएको छ । कम्पनीले अधिकृत पुँजी बढाएर २ अर्ब रुपैयाँ पु¥याउने प्रस्ताव पारित गर्ने भएको छ । कम्पनीले २० औ वार्षिक साधारणसभा असोज १० गते बोलाएको छ ।
नेको इन्स्योरेन्सले १० प्रतिशत बोनस सेयर दिने, असोज १० गते साधारणसभा गर्ने
काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले १० प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीको सोमबार बसेको ३३५ औं सञ्चालक समिति बैठकले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई सो लाभाँश दिन निर्णय गरेको हो । नियाम निकायबाट स्वीकृति र वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीलाई बोनस सेयर वितरण गर्ने कम्पनीले जनाएको छ । नेकोले गत आवमा ७ करोड १२ लाख ८९ हजार रुपैयाँ बराबरको बोनस सेयर दिने छ । कम्पनीले असोज १० गते २२ औ वार्षिक साधारणसभा बोलाएको छ । यस्तै चुक्तापुँजी बढाउन कम्पनीले ५० प्रतिशत हकप्रद सेयर बिक्री गर्ने भएको छ ।
कोकाकोलाले ल्यायो दशैं र तिहार लक्षित ‘‘मन खोलौं कोकसँग’’अभियान
काठमाडौं । कोकाकोला नेपालले दशैं र तिहार लक्षित ‘‘मन खोलौं कोकसँग’’ अभियान ल्याएको छ । यो अभियान मंगलबारदेखि सुरु भएर असोज ३० गतेसम्म चल्नेछ । कोकाकोलाले दैनिक जीवनमा विभिन्न ८ फरक सम्बन्ध दर्शाउने लोगोहरुका साथमा नयाँ प्याक ल्याएको छ, जसमा विभिन्न फरक सम्बन्धहरु दर्शाउने संदेशहरु लेखिएका छन् । यी लेबलहरु नेपालीमा लेखिएका छन, जसले यो उत्सवमय मौसममा हाम्रा सम्बन्धहरु र परिवारहरुलाई नजिक ल्याउँदै सम्मान गर्ने कम्पनीले बताएको छ । कम्पनीका अनुसार यी प्याकहरुले उपभोक्तालाई आफ्ना मनपर्नेहरुलाई उपहार दिने अवसर सिर्जना गरेको छ । अभियानको नाम जस्तै कोका–कोलाले सबै परिवारका सदस्यहरुलाई कोका–कोलाका साथमा आफ्ना भावनाहरु एकआपसमा दर्शाउन र नजिकपना ल्याउन उत्साहित गर्ने कम्पनीले बताएको छ । कोका–कोला नेपालका देशिय निर्देशक अम्बुज सिँहले भने,‘दशैं, आशिर्वाद दिने र सँगसँगै मनाउने उत्सव हो, कोकाकोलाले उपभोक्ताका साथीहरु र परिवारहरुलाई जोड्न सहयोग गर्दछ । हामी यो वर्ष, तपाईँको परिवारमा भएका निकै आत्मिय सम्बन्धहरुलाई ‘‘परिवार’’सहित ८ यूनिक लेबलका साथमा खुशीयाली बाँड्दै छौं । यसले हामी प्रत्येकको जिवनलाई प्रभावित गर्ने विशेष सम्बन्धहरुलाई सम्मान गर्न सहयोग गर्दछ । हामी आशा गर्दछौं, हाम्रा उपभोक्ताहरुले आफ्ना मनपर्ने व्यक्तिहरुलाई विशेष संदेश भएको कोका–कोला उपहारको रुपमा प्रदान गर्नेछन् ।’
टिकापुरमा हंशराज हुलासचन्द एण्ड कम्पनीको नयाँ शोरुम सञ्चालन
काठमाडौं । हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिले कैलालीको टिकापुरमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । कम्पनीले सुविधा सहितको नयाँ शोरुम “जैमिनी आटोमोटीभ्स कम्पनी प्राइभेट लिमिटेड” शोरुम सञ्चालनमा ल्याएको हो । बजाज, पल्सर मोटरसाइकलको नेपालका लागि अधिकृत बितरक हो । शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर पार्टस तथा एसेसरिज खरिदकालागि सहज बनाउने कम्पनीले जानकारी दिएको छ । कम्पनीका जेनेरल म्यानेजर योगेन गुरुङले भने, ‘हामी कैलालीको टिकापुरमा नयाँ शोरुम संचालन भएको घोषणा गर्दा निकै खुशी छौं । ग्राहकहरुको बढ्दो मागका कारण हामीले टिकापुरमा नयाँ शोरुम स्थापना गर्न उत्साहित बनाएको हो, जसले ग्राहकहरुलाई विभिन्न फाइदा दिने छ ।’
नेपालमै बन्यो बिजुलीबाट चल्ने सुविधायुक्त ह्विल चियर, मूल्य ३ लाख रुपैयाँ
काठमाडौं । नेपालमा पहिलो पटक बिजुलीबाट चल्ने सुविधायुक्त ह्विल चियर निर्माण भएको छ । ‘इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन इन्जिनियरिङ ‘ विषयमा अध्ययनरत पाँच जना विद्यार्थीले करिब दुई वर्ष लगाएर स्मार्ट ह्विल चियर निर्माण गरेका हुन् । स्वावलम्बन जीवन पद्धति केन्द्र काठमाण्डौ र ईन्फिनिटि ल्याबको संयुक्त प्रयासमा अपांगता भएका व्यक्तिहरुका लागि निर्माण गरिएको ह्विल चियरलाई लियोपार्ड नाम दिइएको छ । ईन्फिनिटि ल्याबका युवा ईन्जिनियर सुनिल परियार, सन्तोषराज न्यौपाने, मेन्सन लाखेमरु, भरत केसी र प्रजेश श्रेष्ठ मिलेर ह्विलचियर बनाएका हुन् । सोमबार राजधानीमा आयोजित कार्यक्रममा अर्थराज्यमन्त्री उदयशमशेर राणा तथा बरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले ह्विलचियर सार्वजनिक गरेका छन् । ह्विल चियर निर्माणको लगानी सात लाख रुपैयाँ रहेको छ । यो ह्विलचियर प्रयोगमा आए विदेशबाट मंहगो मूल्यमा ह्विलचियर मगाउनुपर्ने बाध्यता हट्ने विद्यर्थीको दाबी छ । यो ह्विलचियर व्यवसायिक रुपमा बने एउटालाई ३ लाख रुपैया सम्ममा बेच्न सकिने ईन्जिनियर सुनिल परियारले जानकारी दिए । युवा ईन्जिनियरहरुको कामको प्रशंसा गर्दै मन्त्री राणाले यस्तो खाले ह्विलचियरको प्रवर्द्धनको लागि आफुले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । सीआइएलका अध्यक्ष गणेश केसीले विद्यूतिय ह्विलचियर बनाउन सहकार्य गर्न पाँउदा खुसी लागेको बताउदै यसको व्यवसायिकरणको लागि सरकारले पहल गर्नुपर्ने अवश्यकता औल्याए । के छ विशेषता ? नेपालमा चलन चल्तिमा रहेको ह्विलचेयरको तुलनामा यो फरक रहेको छ । यो स्मार्ट इलेक्ट्रिक ह्विल चियर २ देखि ३ घण्टामा चार्ज हुन्छ । एक पटक पूरा चार्ज भइसकेपछि यो २० देखि २५ किलोमिटर गुड्न सक्ने ईन्जिनियर सन्तोष न्यौपानेले जानकारी दिए। ह्विल चियरमा व्यक्तिगत सामग्री राख्न पछाडिपट्टी सानो झोलाको पनि व्यवस्था गरिएको छ । झोलामा औषधी, औजार तथा अन्य सामग्री सजिलै राख्न सकिन्छ । ह्विल चियरको बाँयापट्टी छेउमा पानीको बोतल राख्ने स्ट्यान्ट छ भने अगाडी २० देखि २५ केजी तौलको सामान राख्न मिल्ने डिजाइन गरिएको छ । पिसाब फेर्नका लागि थैलीको समेत व्यवस्था गरिएको छ । ह्विल चियरमा जीपीएस सिस्टम जडान गरिएको छ । जसका माध्यमबाट आफ्ना नजिकका मान्छेलाई सम्पर्क गर्न सजिलो हुन्छ । यो ह्विल चियर उकालोमा पनि चढ्न सक्ने बिशेषता रहेको ईन्जिनियर परियारले जानकारी दिए । ह्विल चियरहरुमा लामो समयसम्म बस्ने मानिसहरुको ढाडमा समस्या आउन सक्छ । यसलाई राम्रोसँग हावा छिर्ने गरि बनाईएकाले प्रयोग गर्दा ढाडमा समस्या नहुने पनि ईन्जिनियरहरुले दाबी गरेका छन् ।