आशा लघुवित्तद्धारा बाढी पीडितलाई खाद्यान्न सहयोग
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा कार्यालय सानो श्री, बर्दियाले बाढीका कारण प्रभावित भएका आफ्ना सदस्यहरुलाई राहत स्वरुप खाद्यान्न वितरण गरेको छ । खाद्यान्न प्राप्त गरेपछि दुःखको बेला वित्तीय संस्थाको राहतले आफुहरुलाई खुसी बनाएको सदस्य अमृता थापाले बताए । सदस्यहरुको दुःखको बेला संस्थाको तर्फबाट राहतवितरण गर्न पाउँदा सन्तुष्टि प्राप्त भएको शाखा प्रबन्धक सुमन पाण्डले जानकारी दिए ।
रेमिट्यान्स आप्रवाह बढ्यो, एक महिनामा ५५ अर्ब ५५ करोड
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामा विप्रेषण (रेमिट्यान्स) आप्रवाह बढेको छ । गत साउनमा विप्रेषण आप्रवाह ७ प्रतिशत वृद्धि भई ५५ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाहमा २.५ प्रतिशतले कमी आएको थियो । रेमिट्यान्स आप्रवाहमा बढे पनि वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा कमी आएको छ । अन्तिम श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा ११.८ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ६.९ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा मलेसिया जाने कामदारको संख्यामा उच्च वृद्धि भएको तर साउदी अरेविया जानेको संख्यामा उल्लेख्य गिरावट आएको छ ।
जलविद्युत लगानी तथा विकास कम्पनीले ल्याउँदैछ ३० अर्बको ऋणपत्र, ५ प्रतिशत ब्याज सहित ५ वर्षमा फिर्ता
काठमाडौं । सरकार स्वामित्वको जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेड (एचआईडीसीएल) ले ३० अर्ब रुपैयाँको ऊर्जा ऋणपत्र (पावर वण्ड) निष्कासन गर्ने भएको छ । जलविद्युत आयोजनामा लगानी जुटाउन नयाँ वित्तीय उपकरण अन्तर्गत एचआईडीसीएलले ऊर्जा ऋणपत्र बजारमा ल्याउन लागेको हो । छरिएर रहेको पुँजीलाई एकिकृत गर्न ऊर्जा ऋणपत्र निष्कासन गर्न लागेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) छविराज पोखरेलले बताए । बैंक तथा वित्तीय संस्था, बीमा, संगठित संस्था र सर्वसाधारणलाई ऋणपत्र बिक्री गर्ने योजना रहेको उनले सुनाए । ऋणपत्र निष्कासनका लागि आन्तरिक तयारी भइरहेको छ । एचआईडीसीएलले ऋणपत्रको प्रारुप (मोडालिटी) तयार गरिरहेको उनले जानकारी दिए । पोखरेलका अनुसार ५ वर्षका लागि निष्कासन गर्न लागेको ऋणपत्रको ब्याज दर न्युनतम ५ प्रतिशत हुने छ । चालु आर्थिक वर्षभित्रै ऋणपत्र निष्कासन हुने जानकारी दिदै उनले भने “यसका लागि आन्तरिक तयारी भइरहेको छ ।” मोडालिटी तयार भएपछि नेपाल राष्ट्र बैंक र धितोपत्र बोर्डलगायत अन्य सरोकारवालासंग छलफल गरेर ऋणपत्र निष्कासनका लागि काम सुरु गर्ने उनले जानकारी दिए । ऋणपत्रबाट प्राप्त हुने रकम ४६४ मेगावाटको फुकोट कर्णालीलगायत अन्य ठुला आयोजनामा लगानी गर्ने योजना छ । स्वदेशी लगानीमा जलविद्युत आयोजना बनाउन स्थानिय मुद्रामा ऋणपत्र निष्कासन गर्न लागेको उनले स्पष्टपारे । उनले आउदो पुससम्म ऊर्जा ऋणपत्रको मोडालिटी तयारी गरिसक्ने उनले जानकारी दिए । ५ वर्षे व्यवसायीक योजनासंग जोडेर ऋणपत्र निष्कासन गर्न लागेको हो । ५ वर्षको व्यवसायिक योजना कार्यन्वनका लागि ठुलो रकम आवश्यक पर्ने भएपछि ऋणपत्रमार्फत जलविद्युतमा लगानी जुटाउन लागेको पोखरेलको भनाई छ । सरकारले विश्व बैंक अन्तरगतको अन्तराष्ट्रिय वित्त निगम (आईफसी) ले ५० अर्ब र एसियाली विकास बैंक (एडीबी) ले ५० अर्ब गरी १ खर्ब रुपैयाँ नेपाली रुपैयाँमा ऋणपत्र निष्कासका लागि स्वीकृति दिइसकेको छ । ऊर्जा क्षेत्रको विकासमा यो ऋणपत्र लगानी गर्ने तयारी एडीबी र आईएफसीको छ । यस्तै नेपाल विद्युत प्राधिकरणले पनि चमेलिया जलविद्युत आयोजनामा लगानी जुटाउन १ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गरेको थियो । एचआईडीसीएलले आउदो ५ वर्षमा जलविद्युत विकासमा झण्डै ३६ अर्ब रुपैयाँ लगानी गर्ने लक्ष्य लिएको छ । कम्पनीले आगामी ५ वर्षका लागि व्यवसायिक योजना तयार पारी ३ हजार २३८ मेगावाट क्षमताका आयोजना निर्माणमा यो रकम लगानी गर्ने जानकारी दएको छ । कम्पनीको व्यवसायिक योजना सञ्चालक समितिले अनुमोदन गरिसकेको छ । आउदो ५ वर्षमा निजी क्षेत्रबाट निर्माण हुने ५६५ मेगावाट क्षमताका विभिन्न ८ आयोजनामा ५ अर्ब ९ करोड लगानी गर्ने छ । यस्तै सरकारी निकायबाट निर्माण गरिने १ हजार ६४० मेगावाट क्षमताका विभिन्न ५ आयोजनामा १६ अर्ब २१ करोड र निजी क्षेत्रबाट निर्माण हुने १ हजार ३३ मेगावाट क्षमताका ५ जलविद्युत आयोजनामा १४ अर्ब ४६ करोड रुपैयाँ लगानी गर्नेछ । कम्पनीसंग हाल १० अर्ब रुपैयाँ मात्र पुँजी भएकाले कर्मचारी संचय कोष, नागरिक लगानी कोष, बीमा संस्थान, नेपाली सेनाको कल्याणकारी कोषको रकम परिचालनका अतिरिक्त सर्वसाधारणबाट पनि लगानी जुटाउने छ । स्थापनाको ७ वर्षको अवधिमा कम्पनीले ५४१ मेगावाट क्षमताका १४ आयोजनामा ६ अर्ब ७८ करोड रुपैयाँ ऋण लगानी सम्झौता गरेको छ । ५ कम्पनीमा ३४ करोड रुपैयाँ बराबरको सेयर लगानी गरेको छ । कम्पनीले हालसम्म १ अर्ब २ करोड रुपैयाँ खुद नाफा गरी ९० करोड रुपैयाँ लाभांश वितरण गरेको उनले बताए । गत आवमा कम्पनीले ५२ करोड रुपैयाँ खुदनाफा गरेको छ ।
मूल्यवृद्धि घटेर २.३ प्रतिशतमा सीमित, राजधानीमा सबैभन्दा कम
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामा उपभोक्ता मूल्यवृद्धि दर घटेको छ । गत साउनमा उपभोत्ता मुल्यवृद्धि दर घटेर २.३ प्रतिशत कायम भएको छ । अघिल्लो महिना असारमा मूल्यवृद्धि दर २.७ प्रतिशत थियो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ८.६ प्रतिशत थियो । गत वर्षको आधार मूल्य उच्च रहेकाले समीक्षा अवधिमा उपभोक्ता मुद्रास्फीतिमा कमी आएको नेपाल राष्ट्र बैंकले जनाएको छ । खाद्य मुद्रास्फीति समीक्षा अवधिमा खाद्य मुद्रास्फीति १ प्रतिशतले ऋणात्मक छ । अघिल्लो वर्षको सोही अवधिमा खाद्य मुद्रास्फीति ९.३ प्रतिशत थियो । खाद्यसमूह अन्तर्गतको दलहन तथा गेडागुडीको मूल्यमा २३.३, तरकारीको मूल्यमा ११.७, मसलाको मूल्यमा ३.५ र फलफूलको मूल्यमा १.४ प्रतिशतले कमी आएकोले समग्र खाद्य मुद्रास्फीति ऋणात्मक रहन गएको हो । गैर–खाद्य मुद्रास्फीति समीक्षा अवधिमा गैर–खाद्य मुद्रास्फीति ४.९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा गैर– खाद्य मुद्रास्फीति ८.१ प्रतिशत थियो । यस समूह अन्तर्गतको लत्ताकपडा तथा जुत्ता, घरायसी सामान तथा सेवा, फर्निसिङ तथा घरायसी उपकरण लगायतका वस्तुहरूको मूल्य वृद्धिदर गत वर्षको तुलनामा न्यून रहेकोले गैर–खाद्य मुद्रास्फीति कम रहन गएको राष्ट्र बैंकले जानकारी दिएको छ । क्षेत्रगत उपभोक्ता आधारमा विश्लेषण गर्दा समीक्षा अवधिमा उपभोक्ता मुद्रास्फीति हिमालमा ५.६, तराईमा २.८, पहाडमा २.२ र काठमाडौं उपत्यकामा १.३ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा मूल्य वृद्धिदर हिमालमा ७.१, तराईमा ८.५, पहाडमा १०.९ र काठमाडौं उपत्यकामा ७ प्रतिशत थियो । नेपाल र भारतबीचको उपभोक्ता मुद्रास्फीति अन्तर घटेर १.१ प्रतिशतमा सीमित भएको छ । नेपालमा २.३ र भारतको ३.४ प्रतिशत रहेकाले यी दुई मुलुकबीचको उपभोक्ता मुद्रास्फीति अन्तर १.१ प्रतिशत रहेको हो । अघिल्लो वर्षको सोही अवधिमा नेपाल तथा भारतमा यस्तो मुद्रास्फीति क्रमशः ८.६ र ५.१ रहेकोले दुई मुलुकबीचको उपभोक्ता मुद्रास्फीति अन्तर ३.५ प्रतिशत थियो ।
टेलिकम प्रमुख राजभण्डारीले भनिन्: धरहरा हामी बनाउँछौ
काठमाडौं । नेपाल टेलिकमले भूकम्पबाट ध्वस्त भएको धरहर पुननिर्माण गर्ने प्रतिवद्धता दोहाेराएको । धरहरा निर्माणबाट हात झिक्दै छ भन्ने चर्चालाई चिर्दै टेलिकमकी प्रवन्धनिर्देशक कामीनी राजभण्डारीले धरहरा निर्माणबाट हात नझिकेको स्पष्ट पारिन् । टेलिकममा प्रवन्ध निर्देशक भएको एक वर्ष पुगेको अवसरमा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दे राजभण्डारीले भनिन् “प्राविधिक कुर नमिलेकाले ढिलाइ भएको हो । धरहरा बनाउनबाट हात उठाएका छैनौ । धरहरा पहिले नै बनाउछु भनेको हो, बनाउने छौ ।” धरहरा बनाउन लाग्ने सबै खर्च व्यहोर्न तयार रहेको उनले स्पष्ट पारिन् । धरहरा निर्माणको विस्तृत अध्ययन गर्दा ५ वटा अप्सन आएको उनको भनाई छ । प्रस्ताव अनुसार ७० प्रतिशत खाली जग्गा चाहिएको हो त्यो अनुसार मापदण्ड नमिलेपछि केही ढिलाइ भएको उनको दावी छ । विनाशकारी महाभुकम्पपछी पुनर्निर्माण सम्बन्धमा कम्पनी संचालक समितिको निर्णय अनुसार पुरातात्विक सम्पदा, विद्यालय भवन लगायत धरहरा पुनर्निर्माणमा नेपाल सरकारको निर्देशन एवं योजना परिधी भित्र रहि आगामी ३ वर्ष भित्र १ अर्ब रुपैयाँको योगदान दिन कम्पनी प्रतिबद्ध रहेको उनले बताइन् ।
माउण्ट मकालुको एक लाख ३१ हजार कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत
काठमाडौं । माउण्ट मकालु डेभलपमेन्ट बैंकको एक लाख ३१ हजार कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत भएको छ । अब यस कम्पनीको कुल सेयरमा ५१ प्रतिशत प्रवद्र्धकको र ४९ प्रतिशत सर्बसाधारणको भएको छ । हाल कम्पनीको चुक्ता पूँजी ६ करोड ९१ लाख ६० हजार रुपैयाँ रहेको छ । पछिल्लो समय(बुधबार) यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६७३ रुपैयाँमा किनबेच भएको थियो ।
सानिमा बैंकको सेयर मूल्य समायोजन, प्रतिकित्ता ३४१ रुपैयाँ मात्र
काठमाडौं । शुक्रबार सानिमा बैंकको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको १६ प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन गरेको हो । समायोजन पछिको कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३४१ रुपैयाँ तोकेको छ । जसका लागि आधार मूल्य प्रतिकित्ता ४३४ रुपैयाँ रहने छ ।
एकैदिन पोखरा फाइनान्सको एफपीओ र लाइफ इन्स्योरेन्सको बोनस नेप्सेमा सूचिकृत
काठमाडौं । शुक्रबार मात्रै पोखरा फाइनान्सको एफपीओ र लाइफ इन्स्योरेन्स करपोरेसन(नेपाल)को बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । सो दिन पोखरा फाइनान्सको ९ लाख ८३ हजार ६८२ कित्ता एफपीओ नेप्सेमा सुचिकृत भएको हो । त्यस्तै, सोही दिन लाइफ इन्स्योरेन्स करपोरेसनको २६ लाख ५२ हजार २४३ कित्ता बोनस सेयर नेपाल स्टक एक्सेञ्जमा सूचिकृत भएको छ ।