विकासन्युज

मधेशका छोरा, पहाडका ज्वाई

काठमाडौं । ‘म मधेशको छोरा हुँ, पहाडको ज्वाई हुँ, सारमा म सच्चा नेपाली हुँ’, यो भनाई हो रौतहटको क्षेत्र नम्बर ४ मा बाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा(एमाले)का वैकल्पिक पोलिटब्युरो सदस्य डा. बंशिधर मिश्रको । उनले आफुलाई मधेशको छोरो र पहाडको ज्वाई दावी गर्नुको पछाडी बिशेष कारण छ, मिश्र मधेशकै छोरा हुन र पहाडका ज्वाई नै हुन । अर्थात उनले पहाडकी छोरी दुर्गा खड्कासँग २०४४ साल फागुन २९ मै लगन गाँठो कसे । उतिबेलै पहाड र मधेश जोड्ने सेतुका रुपमा वैवाहिक जीवन आरम्भ गरेका मिश्र यतिबेला फेरी मधेश र पहाड जोड्न तम्सिएका छन् । ‘म मधेश र पहाडलाई जोड्न रौतहट क्षेत्र नम्बर ४ मा उम्मेदवार बनेको हुँ, मैले सच्चा राष्ट्रवाद र समृद्धिको रेखा कोर्ने कसम खाएको छु’, डा. मिश्रले सुनाए । उनी यतिबेला रौतहट क्षेत्र नम्बर ४ मा पर्ने गाउँ र बस्तीहरुमा चुनावी अभियानसहित भेटघाटमा छन् । पेशाले चिकित्सक रहेको डा. मिश्रलाई रौतहट क्षेत्र नम्बर ४ का नागरिकले २०४८ सालमै एक पटक सांसद निर्वाचित गरिसकेका थिए । २०५६ सालमा भने उनी तत्कालिन क्षेत्र नम्बर ३ बाट निर्वाचत भएका थिए । २०६१ सालमा स्वास्थ्य राज्यमन्त्री भएका मिश्रसँग शासन प्रशासनको पनि राम्रो ज्ञान छ ।‘रौतहटका नागरिकसँग मेरो नङ र मासु जस्तै सम्बन्ध छ, दुई पटक प्रत्यक्ष र एक पटक समानुपातिक प्रणालीबाट जनप्रतिनिधी बनेको छु, राज्य मन्त्री भएर शासन प्रशासनको ज्ञान पनि लिएको छु, यहि शिप र कौशलले रौतहटको माटोलाई सिञ्चत गर्ने योजना छ’, डा. मिश्रले सुनाए । पहाडी र मधेशी समुदायको मिश्रित बसोबास रहेको रौतहट क्षेत्र नम्बर ४ मा उनले आफु सिंगो नेपालको प्रतिनिधीका रुपमा चुनावी मैदानमा उत्रिएको बताईरहेका छन् । रौतहटका सैयौं युवालई रोजगारी दिलाएको, केन्द्रियस्तरमा सहज पहुँच भएको र विकास निर्माणका ठुला योजनाका लागि लबिङ गर्न सक्ने क्षमताकै कारण मिश्रको जित सहज रहेको सो क्षेत्रका एमाले कार्यकर्ताहरु बताउँछन् । रौतहटबाट उपचारका लागि काठमाडौं आइपुग्ने हरेक नागरिकलाई भेटेर सहयोग गर्ने बानीका कारण पनि उनलाई रौतहटबासीबिच लोकप्रिय बनाएको छ । उनले मधेश र पहाडी मुलका सबै नागरिकको मत पाउने दावी समेत गरे । उनी भन्छन–म दुई समुदाय जोड्ने सेतु हुँ, पहाड र मधेशको अन्योन्याश्रित सम्बन्धले नै देशको विकास सम्भव छ ।’

पेट्रोलियम पाइपलाइन : पाइप नोभेम्बरभित्रै वीरगञ्ज आइपुग्ने, रुख कटानको टुंगो लागेन

काठमाडौं । पेट्रोलियम पाइपलाइन परियोजनाको काम अघि बढेको छ । पाइपलाइन बिछ्याउनका लागि भारतबाट पाइप ल्याउने तयारी भइरहेको आयल निगमले जनाएको छ । भारतले रक्सौलदेखि नेपालको अमलेखगञ्जसम्म पाइपलाइनबाट पेट्रोलियम पदार्थ ल्याउन अघि सारेको योजना अनुसार पाइप नोभेम्बर भित्रै आइपुग्ने निगमका निमित्त कार्यकारी निर्देशक सुशिल भट्टराईले जानकारी दिए । उनका अनुसार पाइपलाइन बिछ्याउनका लागि चाहिने आवश्यक पाइप निर्माण भइसकेको छ, अब नोभेम्बरभित्रै नेपाल भित्रन्छ । ‘अहिलेसम्म पेट्रोलिय पाइपलाइन सबैलाई हावा गफ हो की भन्ने छ,’ उनले भने, ‘यहि नोभेम्बर भित्र पाइप आपूग्छ, त्यसपछि कामले गति लिएको महसुस हुने विश्वास लिएको छु ।’ आयोजनाका लागि ११ देखि १२ मिटरसम्म लम्बाई भएको पाइपको गोलाई १०.७५ ईञ्चको रहेको छ । सोही पाइपलार्ई करिब ४० किलोमिटर लामो क्षेत्रमा बिछ्याउने योजना रहेको भट्टराईले जानकारी दिए । उनले भने, ‘पहिला पाइप बिछ्याउने स्थानमा खन्ने काम हुन्छ । त्यसपछि पाइपलाई फिट गरिन्छ, र त्यही पाइपमा वेल्डिङ गर्दै अन्य पाइप बिछ्याउदै गइन्छ ।’ पाइपलाइन निर्माण भएपछि ढुवानी खर्चमा निगमको वार्षिक ३६ करोड रुपैयाँ बचत हुने निगमले जानकारी दिएको छ । अहिले रक्सौल–अमलेखगन्ज रुटमा सञ्चालित २ सय ट्यांकरको वार्षिक ढुवानी खर्च करिब ६० करोड रुपैयाँभन्दा बढी छ । सन् २०१५ को अगस्ट २४ मा नेपाल आयल निगम र आईओसीबीच सो परियोजना निर्माण गर्ने सहमति भएको थियो । ढुवानीका कारण बेला-बेला हुने अवरोधका कारण हुने समस्या हटाउन भन्दै गत वर्षको भदौंमा दुई देशबीच भारतको रक्सौलबाट नेपालको अमलेखगञ्जसम्म पाइपलाइनबाट पेट्रोलियम पदार्थ ल्याउन सम्झौता भएको थियो । पाइप राख्न स्थान निगमले पाइप तथा अन्य सामग्री राख्नका लागि बिरगञ्ज चिनी कारखानाको जग्गा भाडामा लिएको छ । ३ विगाह क्षेत्रफलमा रहेको उक्त जग्गालाई मासिक २ लाख रुपैयाँ बुझाउने शर्तमा भाडामा लिइएको निगमका निमित्त कार्यकारी निर्देशक भट्टराईले जानकारी दिए । पाइप विछ्याउन टेण्डरको काम अन्तिम चरणमा भारतीय आयल निगम (आईओसी)ले पाइप बिछ्याउने कामका लागि टेण्डरको काम अन्तिम चरणमा पुगेको छ । अब छिट्टै टेण्डर प्रक्रिया टुग्यांएर पाइप बिछ्याउन सुरु गर्ने आईओसीबाट जानकारी प्राप्त भएको भट्टराईले जानकारी दिए । रक्सौलदेखि होइन ‘मोतीहारी–अमलेखगञ्ज‘ पाइपलाइन भारतले रक्सौलको पेट्रोलियम डिपो सुरक्षाको कारण देखाउँदै मोतीहारी सार्ने तयारी गरेको छ । आईओसीले मोतीहारीको डिपो निर्माणका लागि टेण्डर अवार्ड गरिसकेको भट्टराईले जानकारी दिए । नेपालको सिमानादेखि ३५ किलोमिटरको दुरीमा मोतीहारीमा डिपो निर्माण भइरहेको उनले बताए । उनले भने, ‘आईओसीले उक्त डिपोलाई पाइपबाट नै तेल संकलन गर्न मिल्ने बनाउँदैछ ।’ रुखको लफडा पेट्रोलियम पाइपलाइन बिछ्याउने क्रममा केहि भागमा रुख काट्नु पर्ने देखिएपछि ‘साइड क्लियरेन्स’को काममा अवरोध पुगेको छ । आपूर्ति मन्त्रालयले महत्त्वपूर्ण परियोजनालाई सघाउन तिव्र गतिबाट रुख काट्न वन मन्त्रालयलाई पत्राचार गरेको थियो । यद्दपी मन्त्रालयले फेरि वातावरणीय प्रभाव मूल्यांकन (इआइए) गर्न निर्देशन दिएको थियो । २० दिन अगाडी इआइए सहितको प्रतिवेदन मन्त्रालयमा बुझाएको भट्टराईले जानकारी दिए । पेट्रोलियम पाइपलाइनमा पर्ने रुख काट्न वन मन्त्रालयले स्वीकृति नदिँदा रक्सौल–अमलेखगन्ज पेट्रोल पाइपलाइन परियोजना निर्माण लम्बिएको भट्टराईले बताए । राष्ट्रिय प्राथमिकताको पाइपलाइन परियोजनाको बीचमा पर्ने करिब १३ हजार रुख काट्न नेपाल आयल निगमले आपूर्ति मन्त्रालयमार्फत वन मन्त्रालयमा प्रस्ताव पठाएको थियो। आईओसीका टोली नेपाल आउँदै आईओसीले आगामी मंसिर ९ गते तीन दिनका लागि पाइपलाइन सम्बन्धी अवलोकन गर्न आफ्ना प्राविधिक टोली काठमाडौं पठाउँदैछ । भट्टराईका अनुसार ती टोलीले तीन दिनमा सो परियोजनाको नेपाली भूभाग अन्तर्गतको गतिविधी अवलोकन गर्नेछन् । उनले भने, ‘प्राविधिक टोलीलाई अवलोकन गराउन सहज वातावरण निर्माण र छलफल गर्नेछौं ।’

सरकारले तोकेको कडा रोगहरुको उपचार अब चितवनकाे पुरानो मेडिकल कलेजमा पनि

काठमाडौं । २३ वर्ष देखि स्वास्थ्य सेवा दिइरहेको चितवनकाे  पुरानो मेडिकल कलेज यस अस्पतालमा अब नेपाल सरकारले तोकेको कडा रोगहरुको पनि उपचार पाइने भएको छ । कडा रोगहरु मध्ये क्यान्सर बाहेक मुटुरोग, स्पाइनल इन्जुरी, हेड इन्जुरी, सिकलसेल एनिमिया, पार्किन्सस, अल्जाइमर्स तथा हेमोडायलाइसिस रोगहरुको उपचार सेवा पनि सुचारु भएको अस्पतालका प्रमुख सञ्चालन अधिकृत डा.सुप्रभात श्रेष्ठले बताए । यो सुविधा पाउनको लागि सेवाग्राहीले स्थायी बसोबास भएको स्थानिय निकायबाट विपन्नताको शिफारिस लिइ अन्य आवश्यक कागजात सहित जिल्ला जनस्वास्थ्य कार्यलयमा गई जिल्ला स्तरिय शिफािरस पत्र लिई अस्पतालमा आउनुपर्ने छ । श्रेष्ठका अनुसार यस अस्पतालमा कडा रोगमध्ये निःशूल्क हेमोडायलाइसिस सेवा पहिले देखि नै सुचारु र साथै नेपाल सरकारको स्वास्थ्य विमा कार्यक्रम र क्षयरोग सम्बन्धी निःशूल्क डट्स कार्यक्रम पनि उपलब्ध छ । “नेपालकै सबैभन्दा बढि विशेषज्ञ डाक्टरहरु कार्यरत यस शिक्षण अस्पतालमा सेवा ग्राहीहरुले साँच्चै गुणस्तरीय उपचार सेवा पाउने कुरामा दुई मत छैन,” श्रेष्ठले भने । उनको अनुसार नेपालमा काठमाडौँ बाहिर एकमात्र ३ टेस्ला क्षमताकोःआरआई सेवा उपलब्ध भएको यस अस्पतालमा १६७ स्लाइस क्षमताको सीटीस्क्यान टिवाईएफ डिजिटल एक्स्रे/यूएसजी सेवा उपलब्ध छ । अन्तरराष्ट्रिय प्रविधि युक्त भेन्टिलेटर सहितको अत्याधुनिक आइसियू/एचडियू/एनआईसीयू/पीआईसीयू तथा अप्रेशन थिएटर उपलब्ध यस अस्पतालको आफ्नै फार्मेसि समेत रहेको छ । काठमाडौ+ बाहिरको नेपालकै पहिलो अन्तरराष्ट्रिय स्तरको ट्रमा सेन्टरको रुपमा परिचित यो अस्पतालले संस्थागत सामाजिक उत्तरदायीत्व अन्तरगत पनि धेरै कामहरु गरेको छ जिल्ला ट्राफिक कार्यलय चितवनको समन्वयमा सचेतनामूलक ट्राफिक चिन्ह अंकित बोर्डहरु भरतपुरका विभिन्न चोकहरुमा राखिएको, जिल्ला ट्राफिक कार्यलय चितवनका ब्रेथलाइजर २ यूनिट, इलाका प्रहरी कार्यलय मनहरीमा सीसी क्यामेरा, ई.प्र.का. भण्डारामा तथा रजहरमा फर्निचर र विभिन्न स्वास्थ्य संस्था तथा स्कूलहरुमा प्राथमिक उपचार सामाग्रीहरु पनि उपलब्ध गराएको छ । यसका अलावा विपन्न तथा पिछडिएको वर्गलाई लक्षित गर्दै विभिन्न निःशूल्क शिविरहरु पनि आयोजना गरेको अस्पतालका सिनियर मार्केटिङ म्यानेजर दुर्गा प्रसाद न्यौपानेले बताए । साथै, आगामी दिनमा जुनसुकै रोगहरुको सुलभ र गुणस्तरीय उपचार दिई सेवाग्राहीलाई विदेश वा भारत गई आर्थिक भार, समय र स्वास्थ्य बचाउन महत्वपूर्ण भूमिका खेल्ने कुरामा निरन्तरता दिईने कुरा प्रमुख सञ्चालन अधिकृत डा.सुप्रभात श्रेष्ठले बताएका छन् ।  

माछापुच्छ्रे बैंक र इन्डस्ट्रियल बैंक अफ कोरिया बीच रेमिट्यान्स सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र इन्डस्ट्रियल बैंक अफ कोरियाबीच रेमिट्यान्स सम्झौता भएको छ । इन्डस्ट्रियल बैंक अफ कोरियाको मुख्यालय दक्षिण कोरियामा सो बैंकका चिफ डिजिएम वु डोङ हो र माछापुच्छ्रे बैंकका नायब महाप्रबन्धक सन्तोष कोइरालाकाबीच सम्झौता आदान प्रदान भएको हो । साथै, दक्षिण कोरियाका लागि नेपाली राजदूत अर्जुन जंगबहादुर सिंहले एक कार्यक्रमकाबीच उक्त रेमिट्यान्स सेवाको औपचारिक उद्घाटन गरेका हुन् । यो सम्झौता पश्चात दक्षिण कोरियामा कार्यरत नेपालीहरुले इन्डस्ट्रियल बैंक अफ कोरियाको माध्यमबाट माछापुच्छ्रे बैंकका ६२ शाखा, ४ एक्स्टेन्सन काउण्टर र ६ शाखारहित सेवा काउण्टरमा सजिलो र सरल माध्यमले रकम पठाउन सक्नेछन् । साथै, माछापुच्छ्रे बैंकले नेपाल रकम पठाउने नेपालीहरुलाई बचत खातामा निःशुल्क दुर्घटना बीमा लगायत कर्जा र अन्य बैंकिंग सेवाहरुमा विशेष सुविधा तथा सहुलियतहरु प्रदान गर्ने बताएको छ । बैंकले दक्षिण कोरियाबाट नै अत्याधुनिक उपकरणको प्रयोग गरी रियल टाईममा खाता खोल्ने सुविधा समेत प्रदान गरेको छ ।

एनआईसी एशिया बैंकको नयाँ शाखा भोजपुरमा विस्तार

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो नयाँ शाखा भोजपुरको चेङ्गवेनी चौकमा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन शुक्रबार एक समारोहका बीच भोजपुर नगरपालिकाका मेयर कैलाशकुमार आलेले गरेका हुन् । भोजपुर शाखाको उद्घाटनसँगै हाल यस बैंकले १३३ शाखा कार्यालयहरु र १४१ एटिएम काउन्टरबाट ग्राहकहरुमा सेवा प्रदान गर्दै आईरहेको छ । साथै, बैंकले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना गरेको छ ।

हकप्रद लिलामी गरेर पैसा कुम्ल्याउँदै कम्पनी, धितोपत्र बोर्ड भन्छ-सूचना होइन पहुँच पुगेन

काठमाडौं । –माछापुच्छ्रे बैंकले १ लाख ६० हजार ७४२ कित्ता हकप्रद सेयर कात्तिक ५ देखि १३ गतेको बिचमा लिलामी गर्यो । -एभरेष्ट बैंकले बिक्रि नभएको ३५ हजार ८४१ कित्ता हकप्रद सेयर गत असोज २० देखि २७ गतेसम्म लिलामी गर्यो । -सिद्धार्थ बैंकले भदौ ६ देखि १४ गतेको अवधीमा आफ्नो २ लाख ५३ हजार ९ सय २२ कित्ता हकप्रद सेयर लिलामी गर्यो । -नेपाल एसबिआई बैंकले साउन ९ देखि १६ गतेसम्म ४ लाख ६९ हजार ५२ कित्ता सेयर लिलामी गर्यो । लगानी कर्ताले एक सय रुपैंयाँमा किन्न पाउने सेयर यी बैंकहरुले न्युनतम एक सय रुपैंयामा शिलबन्दी गरेर बेचे । यसरी बेचिएको सेयरको प्रति सेयर एक सय रुपैंयाँ कम्पनीको चुक्ता पुँजीमा गणना गरिन्छ भने बाँकी रकम जगेडा कोषमा राखिन्छ । एक सय रुपैंयाँमा पाइने यी सेयर किन बिकेनन् र महंगो मूल्यमा लिलामीमा किन किनियो ? सिडिएस एण्ड क्लियरिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत(सिइओ) देवप्रकाश गुप्ता भन्छन–‘लगानी कर्तासम्म पर्याप्त सूचना पुगेको छैन, त्यसैले एक सय रुपैंयाँमा सेयर बिक्रि भैरहेको छैन र कम्पनीहरुले धमाधम लिलामीमा बेचिरहेका छन ।’ उनले हकप्रद सेयर भर्नुपर्ने लगानी कर्ताहरुसम्म सूचना नपुगेको र सेयर भर्न लामो समय लाइनमा बस्नुपर्ने तथा उपत्यका बाहिरसम्म सेयर भर्ने व्यवस्था नभएकाले हकप्रद सेयर नबिकेको बताए । उता, नेपाल धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले भने लगानी कर्तालाई पर्याप्त मात्रामा सूचना दिएको तर पहुँच नबढेकाले हकप्रद सेयर लिलामीसम्म पुगेको दावी गरे । सूचिकृत कम्पनीहरुले लगानी कर्तासम्म पर्याप्त मात्रामा सूचना पठाईरहेका छैनन । धितोपत्र बोर्डले केहिदिन अघि मात्रै उपत्यका बाहिरबाट पनि हकप्रद सेयर भर्न पाउने व्यवस्था अघि सारेको छ । सूचना नदिने सूचिकृत कम्पनी र उपत्यका बाहिर पहुँच विस्तार नगर्ने धितोपत्र बोर्डका कारण नै हकप्रद सेयरको लिलामीबाट करोडौं कुम्ल्याउने अवसर कम्पनीहरुले पाईरहेका छन् । सूचनाको पहुँच बढाउने बोर्डको योजनाले खासै काम गरेन धितोपत्र बोर्डले २०७३ बैशाख २१ गते सबै सूचिकृत कम्पनीहरुलाई हकप्रद्य सेयर निष्काशनको सूचना प्रभावकारी ढंगले सम्प्रेषण गर्न निर्देशन दिएको थियो । बोर्डले हक प्रद सेयरको सूचना राष्ट्रियस्तरका दैनिक पत्रिका, आर्थिक समाचार मात्रै प्रकाशित गरिरहेका दैनिक पत्रिका, अनलाइन संचार माध्यम र एफएम रेडियोहरुबाट पनि प्रचार प्रसार गर्न भनेको थियो । बोर्डले निष्काशन खुल्ला भएको पहिलो हप्तामा कम्तिमा २ वटा प्रमुख राष्ट्रिय स्तरको पत्रिकामा, निष्काशन खुल्ला भएका दोस्रो हप्तामा कम्तिमा १ वटा प्रमुख राष्ट्रिय आर्थिक पत्रिकामा, निष्काशन खुल्ला भएका तेस्रो हप्तामा कम्तिमा २ वटा प्रमुख अनलाईन पत्रिकामा र निष्काशन खुल्ला भएका चौथो हप्तामा कम्तिमा २ वटा प्रमुख एफएम रेडियोमा सुचना दिनुपर्ने भनेको थियो ।

सुर्या लाइफ इन्स्योरेन्सको बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल नियुक्त

काठमाडौं । सुर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल नियुक्त भएको छ । कम्पनीले ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न काठमाण्डौंको बबरमहलमा रहेको उक्त क्यापिटललाई आफ्नो बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । उक्त नियुक्त सम्बन्धी सम्झौतापत्रमा एनआईसी एसिया क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत झनकराज ढुङ्गेल र सुर्या लाइफ इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डले हस्ताक्षर गरेका छन् । हालै एनआईसी एशिया क्यापिटलले निः शूल्क डीम्याट खाताका साथै प्रथम वर्षको डीम्याट खाता संचालन निः शूल्क गरेको छ ।

दोस्रो अर्न्तराष्ट्रिय रिगं रेस्लिङ प्रतियोगिता कार्तिक २५ र २७ गते हुने

काठमाडौं । डिशहोम र नेपाल रिगं रेस्लिङ संघको संयुक्त आयोजनामा यहि कार्तिक २५ गते र २७ गते दोस्रो अर्न्तराष्ट्रिय रिगं रेस्लिङ प्रतियोगिता हुने भएको छ । त्रिपुरेश्वर स्थित दशरथ रंगशालाको कबर्ड हलमा २०७४ साल कार्तिक २५ गते र ईटहरी को ठुलो जनता मा.वि. मा कार्तिक २७ गते हुने ‘ दोश्रो अन्तर्राष्ट्रिय रिगं रेस्लिङ प्रतियोगिता २०१७’ मा ८ देशका व्यावसायिक रेस्लिङ खेलाडीको सहभागिता हुनेछ । अमेरिकाका प्रोरेस्लिङ्गगेमर, सिंगापुरका दी युरासियन ड्रागन, अष्ट्रेलियाका वामबामबेलोज, मलेसियाका द बुचरम्यान, भारतका दिलदार सिहं, निल र माक्सम्यान ले सहभागिता पक्का गरिसकेका छन् । नेपालका तर्फबाट प्रतियोगितामा नुवाकोटे टाइगर, द युभ, डेभिड, थाकु, ब्लेड, साईन, टुप्पी ग्याङ्गले सहभागिता जनाउने भएका छन् । प्रतियोगिताको आकर्षणका रुपमा महिला रेस्लरहरु रसियाका मेफिस्तो र चेक रिपब्लिकका रोमाना साथै नेपाली महिला रेस्लर द्धय सोफी र दिलासा को सहभागिता जनाउने छन् । त्यसैगरि अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगितामा खेलका लागि नेपालको पहिलो महिला रेस्लिङ रेफ्री सुनिता थापा, कुबेर के. सी. र प्रदिप पाण्डे ले प्रतियोगिताका खेलहरु खेलाउने छन् । यो प्रतियोगिता डिशहोमको मुख्य प्रायोजनमा हुन गइरहेको हो । डिशहोमले आफ्नो च्यानल एक्सन स्पोर्टस् बाट दशरथ रंगशालाको कबर्ड हलमा हुने खेलको प्रत्यक्ष प्रशारण गर्नेछ । रेस्लिगंप्रेमी दर्शकहरुले प्रतियोगिता स्थलमै गएर हेर्नको लागि भने काठमाडौंको लागि इ-सेवाको कुनैपनि काउन्टर बाट वा merosewa.com बाट टिकट लिन सकिने डिशहोमले जनाएको छ । इटहरीमा हुने प्रतियोगिता भने स्थानीय श्री राष्ट्रिय जागृती क्लबले आयोजना गर्नेछ ।