विकासन्युज

मंसिरदेखि मिदिमखोलाबाट ३ मेगावाट बिजुली उत्पादन हुदै

  काठमाडौं । मिदिमखोला (करापु) जलविद्युत् आयोजनाको निर्माण सम्पन्न भएको छ । आयोजनाको हाल परीक्षण उत्पादन भइरहेको छ । आउदो मंसिरदेखि ३ मेगावाटको मिदिम खोलाबाट व्यवसायिक रुपमा बिजुली उत्पादन हुने छ । युनियन हाइड्रोपावर लिमिटेडले आयोजनाको निर्माण गरेको हो । हाल परीक्षण उत्पादनको काम सफल भएको कम्पनीका अध्यक्ष किरण मल्लले बताए । मंसिरदेखि औपचारिक रुपमा बिजुली उत्पादन हुने उनले जानकारी दिए । आयोजनाको सुरुको लागत ५४ करोड रहे पनि समय र लागत थप भएकाले आयोजना ६५ करोड रुपैयाँ खर्च भएको अनुमान गरिएको छ । युनियन र नेपाल विद्युत् प्राधिकरण बीच २०६७ माघ ४ गते विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) भएको हो । विद्युत् प्राधिकरणबीच सुक्खायाममा ८ रुपैयाँ ४० पैसा र वर्षायाममा ४ रुपैयाँ ८० पैसा दिने गरि पीपीए सम्झौता भएको हो । करापु र नाल्मा गाउँको सिमानामा पर्ने लाङ्दी फेदीमा आयोजनाको बाँध निर्माण गरी १ किलोमिटर मिटर लामो भूमिगत सुरुङबाट करापु–९ पत्तरीमा पु¥याई विद्युत् उत्पादन गरिएको छ । स्थानीयको आयोजनामा जनसहभागिता बढाउनका लागि प्रभावित गाविसका लागि १० प्रतिशत सेयर निष्कासन गर्ने भएको छ । युनियनले पहिलो चरणमा स्थानियबासिन्दालाई ६ करोड ३३ लाख ७४ हजार ५ सय रुपैयाँ बराबरको ६ लाख ३३ हजार ७४५ कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्न लागेको हो । सेयर निष्कासनका लागि कम्पनीले धितोपत्र बोर्डमा निवेदन दिएको छ । त्यसपछि सर्वसाधारणलाई सेयर निष्कासन गर्ने युनियनले जनाएको छ ।  

किन बिक्दैनन् एक सय रुपैंयाका हकप्रद सेयर ?

काठमाडौं । ‘वित्तिय क्षेत्रको प्रतिफल राम्रो छैन, त्यसैले मैले गोर्खा फाइनान्सको ४ लाख कित्ता हकप्रद सेयर किनिन’, यो भनाई हो लगानी कर्ता राकेश कडुकियाको । उनले त प्रतिफल राम्रो नभएकाले गोर्खा फाइनान्सको हकप्रद सेयरका लागि आवेदन दिएनन् । तर उच्च प्रतिफल दिईरहेका बैंक तथा वित्तिय संस्थाकै थुप्रै लगानी कर्ताले ठुलो मात्रामा सेयर किनेका छैनन् । त्यस्तो सेयर लिलामी गरेर ती बैंक तथा वित्तिय संस्थाहरुले मनग्गै आम्दानी गरिरहेका छन् । राम्रा भनिएका बैंकहरुको हकप्रद सेयर पनि नबिकेको ज्वलन्त उदाहरण हुन, माछापुच्छ्रे बैंक, एभरेष्ट बैंक, सिद्धार्थ बैंक र नेपाल एसबिआई बैंकको हकप्रद सेयर । माछापुच्छ्रे बैंकले १ लाख ६० हजार ७४२ कित्ता हकप्रद सेयर कात्तिक ५ देखि १३ गतेको बिचमा लिलामी गर्यो । एभरेष्ट बैंकले बिक्रि नभएको ३५ हजार ८४१ कित्ता हकप्रद सेयर गत असोज २० देखि २७ गतेसम्म लिलामी गर्यो । सिद्धार्थ बैंकले भदौ ६ देखि १४ गतेको अवधीमा आफ्नो २ लाख ५३ हजार ९ सय २२ कित्ता हकप्रद सेयर लिलामी गर्यो । नेपाल एसबिआई बैंकले साउन ९ देखि १६ गतेसम्म ४ लाख ६९ हजार ५२ कित्ता सेयर लिलामी गर्यो । यी बैकहरुको एक सय रुपैंयामा खरिद गर्न पाइने हकप्रद सेयरमा समेत लगानी कर्ताको आकर्षण देखिएन् । आखिर किन ? सेयर बजार कानुनका जानकारी ज्योति दाहाल भन्छन–‘कम्पनीहरु सकेसम्म हकप्रद सेयर बिक्रि नहोस र लिलामी गर्न पाइयोस भन्ने ठान्छन्, नत्र एभरेष्ट, माछापुच्छ्रे, सिद्धार्थ, नेपाल एसबिआई जस्ता बैंकको हकप्रद सेयर लिलामीसम्म पुग्ने थिएन ।’ उनले बैंक तथा वित्तिय संस्थाहरुले सूचना लुकाएर हकप्रद सेयरलाई लिलामीमा पठाउने गरेको आरोप पनि लगाए । इन्भेष्टर्स फोरमका उपाध्यक्ष छोटेलाल रौनियारले देशभरबाट हकप्रद सेयर भर्न पाउने व्यवस्था नहुनु, पर्याप्त सूचना नपुग्नु र लगानी कर्ता विदेशमा रहनाले पनि हकप्रद सेयर लिलामीसम्म पुगेको बताए । नेपाल धितोपत्र बोर्डका सहायक प्रवक्ता निरञ्जय घिमिरले लगानी कर्ता विदेशमा गएकाले हकप्रद सेयर बिक्रि नभएको हुनसक्ने बताए ।‘राम्रा कम्पनीहरुले पनि ठुलो मात्रामा हकप्रद सेयर लिलामी गरिरहेको देखिन्छ, त्यस्तो किन भयो भनेर हामीले अध्ययनै चाँही गरेका छैनौं’, बोर्डका सहायक प्रवक्ता घिमिरेले भने । उपत्यका बाहिर पनि हकप्रद सेयर भर्ने व्यवस्था, पर्याप्त सूचना प्रवाह गराउने लगायतका काम बोर्डले गरिरहेको पनि उनले बताए ।

ढल्केबरमा ४ सय केभी क्षमताको सवस्टेशन बनाउन एबीबी इण्डियाले पायो

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ढल्केबरमा ४ सय केभी क्षमताको सवस्टेशन बनाउन भारतीय कम्पनी एबीबी इन्डिया लिमिटेडलाई जिम्मा दिने भएको छ । बोलपत्र आब्हान गर्दा सारभूत रुपमा प्रभाग्राही न्युनम मूल्य अंकित एबीबीलाई सवस्टेशन निर्माणको जिम्मा दिन लागेको हो । एबीबीले १ करोड ७९ लाख ७० हजार २५५ डलर र १७ करोड ७१ लाख ८३ हजार रुपैयाँ नेपाली गरी कुल २ अर्ब रुपैयाँमा काम सक्ने गरी जिम्मेबारी दिन लागेको हो । प्राधिकरण र एबीबीबीच ठेक्का सम्झौता हुन बाँकी छ । विद्युत प्राधिकरणले विद्युत प्रणालीको क्षमता बढाउन सो सवस्टेशनको निर्माण गर्न लागेको हो । प्राधिकरणले हेटौडादेखि ढल्केबर हुदै सुनसरीको इनरुवासम्म ४ सय केभी प्रसारणलाइनको निर्माण गरिरहेको छ । सोही योजना अन्र्तगत ढल्केबरमा सवस्टेशन निर्माण हुन लागेको हो ।

नेपाल इन्स्योरेन्सले एनसीसी बैंकको संस्थापक सेयर बेच्ने, पुस ३ गते प्रस्ताव पेश गर्ने अन्तिम दिन

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंकको संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीले बैंकमा रहेको ४ लाख ४४ हजार ६२२ कित्ता संस्थापक सेयर न्युनतम १८५ रुपैयाँमा बिक्री गर्नका लागि शिलबन्दी बोलपत्र आब्हान गरेको छ । कम्पनीले पुस ३ गतेभित्र बिक्री प्रवन्धक एनआईबीएल क्यापिटल मार्केट्स लिमिटेडमा बोलपत्र पेश गर्न भनेको छ । हाल एनसीसीको सेयर मूल्य प्रतिकित्ता ३४५ रुपैयाँ रहेको छ ।

सनराइज बैंकले बीमा र बोनस सहित १ करोडसम्म घर कर्जा दिने

काठमाडौं । तपाईलाई घर कर्जाको समस्या परेको छ ? यदी छ भने यो समस्याको समधान सनराइज बैंकले गरिदिने भएको छ । बैंकले बीमा तथा बोनस सहित २० वर्षसम्मका लागि सनराइन सुरक्षित घरकर्जा याजना ल्याएको छ । बैंकले ऋणीको सावधिक जीवन बीमा गरिदिने भएको छ । बीमा अवधि समाप्त भएपछि एकमुष्ठ बोनस भुक्तानी गर्ने व्यवस्था गरेको बैंकले जनाएको छ । बैंकले घर बनाउन वा किन्नलाई न्युनतम ५ लाखदेखि अधिकतम् १ करोड रुपैयाँसम्म कर्जा दिने भएको छ । घरकर्जाको अवधि न्युनतम १० देखि अधिकतम २० वर्षसम्म तोकिएको बैंकले जनाएको छ ।  

जनरल इन्स्योरेन्सले १५ दिनभित्र सेयर रकम भुक्तानी गर्न बोलायो, नबुझाए संस्थापक सेयर कायम नरहने

काठमाडौं । संस्थापकले लिन कबुल गरेको रकम चुक्ता नभएपछि प्रस्तावित जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले पुनः १५ दिनको समय थपेको छ । बीमा समितिबाट बीमक दर्तापत्र प्रदान गर्न आशयपत्र पाएपछि कम्पनीले गत असोज २२ गते ३५ दिनभित्र कबुल गरेको रकम भुक्तानी गर्न संस्थापक सेयरधनीलाई अनुरोध गरेको थियो । निर्धारित समयभित्र रकम भुत्तानी नगरेपछि पुनः १५ दिनको समय थप गरेको जनरल इन्स्योरेन्सले जनाएको छ । थपिएको १५ दिनभित्र पनि कबुल गरिएको रकम सानिमा बैंकमा जम्मा नगरे संस्थापकबाट हटाई सेयर अन्य व्यक्तिलाई बिक्री गरिने कम्पनीले जनाएको छ ।

सनराईज बैंकका प्रमोटरबीच फेरी झगडा, अदालतको आदेशपछि बैंकको साधारणसभा स्थगित

काठमाडौं । सनराईज बैंकका प्रमोटर सेयरधनीहरुबीच फेरी विवाद उत्पन्न भएको छ । प्रमोटरतर्फबाट सञ्चालक समितिमा को को जाने भन्ने विषयमा सेयरधनीहरु बीच विवाद उच्च अदालत पाटनमा पुगेको छ । सेयरधनीबीच विवाद कै कारण बैंकले कात्तिक ३० गते डाकेको १० औ वार्षिक साधारणसभा स्थगित गरेको छ । उक्त साधारणसभमा १५ प्रतिशत बोनस सेयर वितरण गर्नेसहित संस्थापक समूहबाट ३ जना सञ्चालक निर्वाचित गर्ने मुख्य अजेण्डा थिए । तीन जना मध्ये को को सञ्चालक बन्ने भन्ने विषयमा प्रमोटरबीच विवाद बल्झिएको हो । हाल यस बैंकमा प्रवद्र्धकबाट मोतिलाल दुगड, मालचन्द दुगड, भोगेन्द्र गुरागाई, बच्चराज तातेर सञ्चालन छन् । उनीहरु मध्ये अव एक जनाले सञ्चालक पद त्याग गर्नु पर्नेछ । कसले छोड्ने वा कसलाई छोडाउने भन्ने विवाद भएकोले बैंक समस्यामा परेको बैंकका सेयरधनीहरु बताउँछन् । करिव ७ वर्षअघि पनि यस बैंकमा प्रमोटरबीच विवाद हुँदा बैंक सफर भएको थियो । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७४ अनुसार कुनै पनि बैंकमा ७ जनाभन्दा बढी सञ्चालक रहन पाउने छैन । राष्ट्र बैंकले उक्त ऐन सकेसम्म चाडो कार्यान्वयन गर्न बैंकहरुलाई निर्देशन दिईसकेको छ । उक्त ऐन अनुसार अबको साधारणसभापछि ३ जना प्रवद्र्धक, ३ जना पब्लिक र १ जना विज्ञ सञ्चालक रहन पाउने छन् । बैंकको निर्वाचन समितिले कात्तिक १४ गते निर्वाचन सम्बन्धी कार्यक्रम प्रकाशित गरेको थियो । सो निर्वाचत प्रक्रियामा असहमति जनाउँदै प्रवद्र्धकतर्फबाट उच्च अलादनमा मुद्दा परेको छ । उच्च अदालतले कात्तिक २४ गते अन्तरिम आदेश जारी गर्दै निर्वाचत प्रक्रिया यथास्थितिमा राख्न भनेको छ । निर्वाचन कार्य स्थगित गरेर साधारणसभा मात्र गर्न नमिल्ने भन्दै बैंकले साधारणसभा स्थगित गरेको हो । साधारणसभा गर्दा संस्थापक समूहको प्रतिनिधित्व गर्ने सञ्चालकको कार्यकाल सम्पन्न हुने, वर्तमान अवस्थामा ९ जना सञ्चालक रहेकोमा साधारणतर्फको ३ र स्वतन्त्र १ गरी ४ जना मात्र सञ्चालक बाँकी रहन गई अल्पमतमा पर्न र बहुमत नभई सञ्चालक समिति बैठक बस्न नसक्ने बैंकले बैंकको तर्क छ ।  

३ महिनामा एनसीसी बैंकको खुदनाफा साढे १६ करोड

काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंकको खुदनाफा बढेको छ ।चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा बैंकले १६ करोड ४५ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकले १२ करोड ९० लाख रुपैयाँ खुदनाफा गरेको थियो । समीक्षा अवधिमा बैंकको खराब कर्जा घटेर ४.२९ प्रतिशतमा सीमित भएको छ । बैंकको निक्षेप लागत बढेर ८.२१, कर्जा निक्षेप अनुपात ७०.८३ र आधार ब्याजदर बढेर ११.४३ प्रतिशत रहेको छ । प्रतिसेयर आम्दानी १४ रुपैयाँ रहेको बैंकले जनाएको छ । असोजसम्म बैंकको निक्षेप बढेर ६१ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ । गत असारमा बैंकको निक्षेप परिचालन ५८ अर्ब ७९ करोड रुपैयाँ थियो । बैंकको कर्जा लगानी ४८ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ । बैंकको संचित कोषमा २ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ । चुक्तापूँजी ४ अर्ब ६७ करोड रुपैयाँ छ । पुँजी बढाउन बैंकले २ बराबर १ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेका छ ।