एसीसी यू-१९ एसिया कपः नेपालद्धारा मलेसिया आठ विकेटले पराजित
काठमाडौं मलेसियामा जारी एसिसी यू-१९ युथ एसिया कपअन्तर्गत मंगलबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले मलेसियालाई आठ विकेटले पराजित गरेको छ । क्वालालम्पुरस्थित वायुमास ओभलमा टस हारेर ब्याटिङ गरेको आयोजक मलेसियाले १५.३ ओभरमा सबै विकेट गुमाउँदै ४५ रन बनायो । छयालीस रनको विजय लक्ष्य नेपालले ५.३ ओभरमा दुई विकेट गुमाउँदै पुरा गर्यो । नेपालका लागि अनिलकुमार साहले २६ रन बनाए । उनले १५ बल खेल्दै तीन छक्का र एक चौका प्रहार गरे । कप्तान दिपेन्द्रसिंह ऐरीले तीन बल खेल्दै दुई छक्का प्रहार गरी १२ रन बनाए । आशिफ शेखले चार तथा भीम सार्कीले अविजित तीन रन बनाए । बलिङतर्फ मलेसियाका विजय उन्नीले दुई विकेट लिए । यसअघि वर्षाका कारण निर्धारित ५० ओभरको खेललाई २४ ओभरमा घटाइएको थियो । मलेसियालाई न्यून स्कोरमा सिमित गर्ने क्रममा नेपालका सन्दिप लामिछाने एक्लैले पाँच विकेट लिए । यस्तै कप्तान दीपेन्द्रसिंह ऐरी र शहाब आलमले दुई/दुई तथा अनिल शाहले एक विकेट लिए । मलेसियाका लागि यइद अजिज मुबारकले २० रन तथा कप्तान विरनदीप सिंहले १० रन बनाए । रासस
स्वावलम्बन विकास बैंकको सेयर मूल्य समायोजन, प्रतिकित्ता मूल्य १२४२ रुपैयाँ
काठमाडौं । मंगलबार स्वावलम्बन विकास बैंकको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्जले कम्पनीको २० प्रतिशत बोनस सेयर पछिको सेयरको मूल्य समायोजन गरेको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता १२४२ रुपैयाँ रहेको छ । जसको अधार मूल्य १२७४ रुपैयाँ रहेको थियो ।
पश्चिमसेती बनाउन विद्युत प्राधिकरण र थ्री गर्जेजबीच शुक्रबार सम्झौता हुँदै
काठमाडौं । नेपाल विद्युत प्राधिकरण र चाइना थ्री गर्जेज इन्टरनेसनले कर्पोरेशनबीच संयक्त लगानी सम्झौता (जेभीए) हुन भएको छ ।आउदो शुक्रबारसम्म दुई संस्थाबीच साढे ७ सय मेगावाट आयोजना संयुक्त लगानीमा बनाउने विषयमा जेभीए हुन लागेको हो । जेभीएका लागि थ्री गर्जेजको उच्चस्तरिय टोली बुधबार काठमाडौ आउदै छन् । बिहीबार वा शुक्रबारसम्ममा जेभीए भइसक्ने प्राधिकरणका प्रवत्ता प्रवल अधिकारीले बताए । जेभीए भएपछि आयोजनाको काम अघि बढ्ने छ । यसअघि भएको जेभीए गर्ने प्रस्तावलाई प्राधिकरण र थ्री गर्जेजको बोर्ड बैठकले अनुमोदन गरिसकेको छ । ०६९ भदौमा भएको समझदारीपत्र (एमओयू) मा ६५ प्रतिशत थ्री गर्जेजको २५ प्रतिशत विद्युत् प्राधिकरण र १० प्रतिशत आयोजना प्रभावित स्थानियबासिन्दाको हुने गरी लगानी संरचना तयार गरिएको छ । आयोजना निर्माणका लागि १ खर्ब ६० अर्ब रुपैयाँसम्म लगानी सरकारबाट ल्याउन स्वीकृति पाइसकेको छ । आयोजनाबाट वार्षिक ३ अर्ब ३३ करोड युनिट बिजुली उत्पादन हुने सम्भाव्यता अध्ययनले देखाएको छ । आयोजना सुदूरपश्चिमका डोटी, डडेलधुरा, बैतडी र बझाङ जिल्लामा पर्छ । आयोजा निर्माणपछि खपत केन्द्रसम्म बिजुली पुर्याउन आवश्यक ४ सय किलोमिटर लामो ४ सय केभीए क्षमताका प्रसारणलाइन बनाउन थप ४० अर्ब रुपैयाँ बढी लगानी लाग्ने छ । पश्चिम सेतीमा लगानी ल्याउन चीन र नेपालबीच कानून बाझिएपछि चाइना थ्री गर्जेजलाई समस्या भएको छ । विदेशमा सत्प्रतिशत लगानी हुने परियोजनामा मात्र स्वीकृति लिनुनपर्ने र साझेदारीमा निर्माण हुनेमा चीन सरकारले आयोजना पास गर्नुपर्ने प्रावधान भएपछि उसलाई लगानी ल्याउन समस्या भएको हो । जलासययुक्त आयोजनाको विद्युत् खरिद दर (पीपीए), पुर्नबास, पुर्नस्थाना, जग्गा प्राप्तिको विषयमा उसले कानूनी स्पष्टता खोजेको छ । सरकारले जलासययुक्त आयोजनाको पीपीए दर सार्वजनिक गरिसकेको छ । आयोजना अघि बढाउन २ हजार ३२० हेक्टर क्षेत्रफल अधिग्रहण गर्नुपर्ने देखिएको छ ।
मंसिरदेखि मिदिमखोलाबाट ३ मेगावाट बिजुली उत्पादन हुदै
काठमाडौं । मिदिमखोला (करापु) जलविद्युत् आयोजनाको निर्माण सम्पन्न भएको छ । आयोजनाको हाल परीक्षण उत्पादन भइरहेको छ । आउदो मंसिरदेखि ३ मेगावाटको मिदिम खोलाबाट व्यवसायिक रुपमा बिजुली उत्पादन हुने छ । युनियन हाइड्रोपावर लिमिटेडले आयोजनाको निर्माण गरेको हो । हाल परीक्षण उत्पादनको काम सफल भएको कम्पनीका अध्यक्ष किरण मल्लले बताए । मंसिरदेखि औपचारिक रुपमा बिजुली उत्पादन हुने उनले जानकारी दिए । आयोजनाको सुरुको लागत ५४ करोड रहे पनि समय र लागत थप भएकाले आयोजना ६५ करोड रुपैयाँ खर्च भएको अनुमान गरिएको छ । युनियन र नेपाल विद्युत् प्राधिकरण बीच २०६७ माघ ४ गते विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) भएको हो । विद्युत् प्राधिकरणबीच सुक्खायाममा ८ रुपैयाँ ४० पैसा र वर्षायाममा ४ रुपैयाँ ८० पैसा दिने गरि पीपीए सम्झौता भएको हो । करापु र नाल्मा गाउँको सिमानामा पर्ने लाङ्दी फेदीमा आयोजनाको बाँध निर्माण गरी १ किलोमिटर मिटर लामो भूमिगत सुरुङबाट करापु–९ पत्तरीमा पु¥याई विद्युत् उत्पादन गरिएको छ । स्थानीयको आयोजनामा जनसहभागिता बढाउनका लागि प्रभावित गाविसका लागि १० प्रतिशत सेयर निष्कासन गर्ने भएको छ । युनियनले पहिलो चरणमा स्थानियबासिन्दालाई ६ करोड ३३ लाख ७४ हजार ५ सय रुपैयाँ बराबरको ६ लाख ३३ हजार ७४५ कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्न लागेको हो । सेयर निष्कासनका लागि कम्पनीले धितोपत्र बोर्डमा निवेदन दिएको छ । त्यसपछि सर्वसाधारणलाई सेयर निष्कासन गर्ने युनियनले जनाएको छ ।
किन बिक्दैनन् एक सय रुपैंयाका हकप्रद सेयर ?
काठमाडौं । ‘वित्तिय क्षेत्रको प्रतिफल राम्रो छैन, त्यसैले मैले गोर्खा फाइनान्सको ४ लाख कित्ता हकप्रद सेयर किनिन’, यो भनाई हो लगानी कर्ता राकेश कडुकियाको । उनले त प्रतिफल राम्रो नभएकाले गोर्खा फाइनान्सको हकप्रद सेयरका लागि आवेदन दिएनन् । तर उच्च प्रतिफल दिईरहेका बैंक तथा वित्तिय संस्थाकै थुप्रै लगानी कर्ताले ठुलो मात्रामा सेयर किनेका छैनन् । त्यस्तो सेयर लिलामी गरेर ती बैंक तथा वित्तिय संस्थाहरुले मनग्गै आम्दानी गरिरहेका छन् । राम्रा भनिएका बैंकहरुको हकप्रद सेयर पनि नबिकेको ज्वलन्त उदाहरण हुन, माछापुच्छ्रे बैंक, एभरेष्ट बैंक, सिद्धार्थ बैंक र नेपाल एसबिआई बैंकको हकप्रद सेयर । माछापुच्छ्रे बैंकले १ लाख ६० हजार ७४२ कित्ता हकप्रद सेयर कात्तिक ५ देखि १३ गतेको बिचमा लिलामी गर्यो । एभरेष्ट बैंकले बिक्रि नभएको ३५ हजार ८४१ कित्ता हकप्रद सेयर गत असोज २० देखि २७ गतेसम्म लिलामी गर्यो । सिद्धार्थ बैंकले भदौ ६ देखि १४ गतेको अवधीमा आफ्नो २ लाख ५३ हजार ९ सय २२ कित्ता हकप्रद सेयर लिलामी गर्यो । नेपाल एसबिआई बैंकले साउन ९ देखि १६ गतेसम्म ४ लाख ६९ हजार ५२ कित्ता सेयर लिलामी गर्यो । यी बैकहरुको एक सय रुपैंयामा खरिद गर्न पाइने हकप्रद सेयरमा समेत लगानी कर्ताको आकर्षण देखिएन् । आखिर किन ? सेयर बजार कानुनका जानकारी ज्योति दाहाल भन्छन–‘कम्पनीहरु सकेसम्म हकप्रद सेयर बिक्रि नहोस र लिलामी गर्न पाइयोस भन्ने ठान्छन्, नत्र एभरेष्ट, माछापुच्छ्रे, सिद्धार्थ, नेपाल एसबिआई जस्ता बैंकको हकप्रद सेयर लिलामीसम्म पुग्ने थिएन ।’ उनले बैंक तथा वित्तिय संस्थाहरुले सूचना लुकाएर हकप्रद सेयरलाई लिलामीमा पठाउने गरेको आरोप पनि लगाए । इन्भेष्टर्स फोरमका उपाध्यक्ष छोटेलाल रौनियारले देशभरबाट हकप्रद सेयर भर्न पाउने व्यवस्था नहुनु, पर्याप्त सूचना नपुग्नु र लगानी कर्ता विदेशमा रहनाले पनि हकप्रद सेयर लिलामीसम्म पुगेको बताए । नेपाल धितोपत्र बोर्डका सहायक प्रवक्ता निरञ्जय घिमिरले लगानी कर्ता विदेशमा गएकाले हकप्रद सेयर बिक्रि नभएको हुनसक्ने बताए ।‘राम्रा कम्पनीहरुले पनि ठुलो मात्रामा हकप्रद सेयर लिलामी गरिरहेको देखिन्छ, त्यस्तो किन भयो भनेर हामीले अध्ययनै चाँही गरेका छैनौं’, बोर्डका सहायक प्रवक्ता घिमिरेले भने । उपत्यका बाहिर पनि हकप्रद सेयर भर्ने व्यवस्था, पर्याप्त सूचना प्रवाह गराउने लगायतका काम बोर्डले गरिरहेको पनि उनले बताए ।
ढल्केबरमा ४ सय केभी क्षमताको सवस्टेशन बनाउन एबीबी इण्डियाले पायो
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ढल्केबरमा ४ सय केभी क्षमताको सवस्टेशन बनाउन भारतीय कम्पनी एबीबी इन्डिया लिमिटेडलाई जिम्मा दिने भएको छ । बोलपत्र आब्हान गर्दा सारभूत रुपमा प्रभाग्राही न्युनम मूल्य अंकित एबीबीलाई सवस्टेशन निर्माणको जिम्मा दिन लागेको हो । एबीबीले १ करोड ७९ लाख ७० हजार २५५ डलर र १७ करोड ७१ लाख ८३ हजार रुपैयाँ नेपाली गरी कुल २ अर्ब रुपैयाँमा काम सक्ने गरी जिम्मेबारी दिन लागेको हो । प्राधिकरण र एबीबीबीच ठेक्का सम्झौता हुन बाँकी छ । विद्युत प्राधिकरणले विद्युत प्रणालीको क्षमता बढाउन सो सवस्टेशनको निर्माण गर्न लागेको हो । प्राधिकरणले हेटौडादेखि ढल्केबर हुदै सुनसरीको इनरुवासम्म ४ सय केभी प्रसारणलाइनको निर्माण गरिरहेको छ । सोही योजना अन्र्तगत ढल्केबरमा सवस्टेशन निर्माण हुन लागेको हो ।
नेपाल इन्स्योरेन्सले एनसीसी बैंकको संस्थापक सेयर बेच्ने, पुस ३ गते प्रस्ताव पेश गर्ने अन्तिम दिन
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंकको संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीले बैंकमा रहेको ४ लाख ४४ हजार ६२२ कित्ता संस्थापक सेयर न्युनतम १८५ रुपैयाँमा बिक्री गर्नका लागि शिलबन्दी बोलपत्र आब्हान गरेको छ । कम्पनीले पुस ३ गतेभित्र बिक्री प्रवन्धक एनआईबीएल क्यापिटल मार्केट्स लिमिटेडमा बोलपत्र पेश गर्न भनेको छ । हाल एनसीसीको सेयर मूल्य प्रतिकित्ता ३४५ रुपैयाँ रहेको छ ।
सनराइज बैंकले बीमा र बोनस सहित १ करोडसम्म घर कर्जा दिने
काठमाडौं । तपाईलाई घर कर्जाको समस्या परेको छ ? यदी छ भने यो समस्याको समधान सनराइज बैंकले गरिदिने भएको छ । बैंकले बीमा तथा बोनस सहित २० वर्षसम्मका लागि सनराइन सुरक्षित घरकर्जा याजना ल्याएको छ । बैंकले ऋणीको सावधिक जीवन बीमा गरिदिने भएको छ । बीमा अवधि समाप्त भएपछि एकमुष्ठ बोनस भुक्तानी गर्ने व्यवस्था गरेको बैंकले जनाएको छ । बैंकले घर बनाउन वा किन्नलाई न्युनतम ५ लाखदेखि अधिकतम् १ करोड रुपैयाँसम्म कर्जा दिने भएको छ । घरकर्जाको अवधि न्युनतम १० देखि अधिकतम २० वर्षसम्म तोकिएको बैंकले जनाएको छ ।