विकासन्युज

नेपाल र बंगलादेशका सूचना आयोगबीच सहकार्य योजनामा हस्ताक्षर

काठमाडौं । नेपालको राष्ट्रिय सूचना आयोग र बंगलादेशको सूचना आयोगबीच आपसी सहयोग आदान–प्रदान गर्नेसम्बन्धी कार्यान्वयनपत्रमा हस्ताक्षर भएको छ । सहमतिपत्रमा नेपालका तर्फबाट प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटा र बंगलादेशका तर्फबाट प्रमुख सूचना आयुक्त प्राडा गुलाम रहमानले हस्ताक्षर गरेका छन् । बंगलादेशको आयोगका पदाधिकारी काठमाडौँ आएको समयमा हालै सो सम्झौता भएको हो । गत वर्ष बंगलादेशको ढाकामा दुई आयोगबीच समझदारीपत्र भएको थियो । दुई आयोगले प्रत्येक वर्ष उच्चस्तरमा भए गरेका कामको समीक्षा गर्ने तथा दुवै देशमा सूचनाको हकका क्षेत्रमा आयोजना हुने कार्यक्रममा एक अर्को मुलुकबाट विज्ञका रुपमा आमन्त्रण गर्ने कार्ययोजनामा उल्लेख भएको आयोगले जनाएको छ । कार्ययोजनाअनुसार दुवै आयोगका कर्मचारी एक अर्को आयोगको कार्य पद्धतिको जानकारी हासिल गर्न एक अर्को मुलुकमा तालिममा जानेछन् । यस अतिरिक्त दुवै आयोगले आफ्ना प्रकाशन एकआपसमा साटफेर गर्नेछन् । यसैगरी दुवै मुलुकका विज्ञ र यस क्षेत्रमा क्रियाशील गैरसरकारी संस्थाबीच सहकार्यमा पनि दुवै आयोग संलग्न रहनेछन् । साथै यी दुई आयोगले दक्षिण एशियामा जारी भएका सूचनाको हकसम्बन्धी कानूनको समीक्षा गरी आ–आफ्नो कानूनमा आवश्यक सुधारको पहल गर्नेछन् । बंगलादेशबाट आएको प्रतिनिधिमण्डलले राष्ट्रिय सूचना आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सूचना तथा सञ्चार मन्त्रालयका उच्च पदाधिकारीसँग छलफल गरेको आयोगका उपचिव वेदनिधि अधिकारीले जानकारी दिए । क्यानडामा रहेको सेन्टर फर ल एण्ड डेमोक्रेसी नामक संस्थाले तयार पारेको सूचनाको हकसम्बन्धी कानूनको विश्वव्यापी उत्कृष्टताको सूचीमा बंगलादेशको कानून चौबिसौँ नम्बरमा परेको छ भने नेपालको कानून सत्ताइसौं स्थानमा छ ।

रुस्लान भोड्का अब नयाँ प्याकेजिङ्गमा, मदिराको मापन गर्न र क्याप खोल्न सजिलो

काठमाडौं । जावलाखेल ग्रुप अफ इन्डष्ट्रिज प्रा. लि.को व्यवस्थापनमा विजय डिष्टीलरी प्रा. लिद्वारा उत्पादित तथा वितरित रुस्लान भोड्का अब नयाँ प्याकेजिङ्गमा बजारमा आएको छ । हाल बजारमा रहेको बोतलको क्याप खोल्न केही अप्ठेरो र मदिराको मात्रा पहिचान गर्न असजिलो भएको गुनासोहरुलाई मध्यनजर गर्दै कम्पनीले अत्याधुनिक प्याकेजिङ्ग भएको बोतल बजारमा ल्याएको जनाएको छ । अहिले बजारमा ल्याइएको नयाँ प्याकेजिङ्ग सहितको बोतलको क्याप खोल्न सजिलो हुनुका साथै सजिलै मदिराको मात्रा पहिचान गर्न सकिने छ । नयाँ प्याकेजिङ्ग पहिलेको तुलनामा निकै आकर्षक रहेको कम्पनीले जनाएको छ । प्याकेजिङ्ग नयाँ भए पनि स्वाद र गुणस्तर मा कुनै पनि सम्झौता नगरिएको जानकारी कम्पनीले जनाएको छ । ग्राहाकहरु माझ अधिक रुचाइएको नेपालकै नं. १ रुस्लान भोड्का, ग्राहाककै चाहाना अनुरुप नयाँ प्याकेजिङ्गमा उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।

चुडामणि शर्मा १ करोड धरौटीमा रिहा

काठमाडौं– आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्मा धरौटीमा छुटेका छन् ।शर्माले मंगलबार १ करोड रुपैयाँ धरौटी राखेर रिहा भएका हुन् । उनले नेपाल इन्भेष्टमेन्ट बैंकबाट धरौटी ल्याएका थिए । विशेषले शर्मासँग थुनछेक बहसपछि एक करोड धरौटी मागेको थियो । यसअघि शर्मा विशेष अदालतलाई अटेर गर्दै आएका थिए । कर फछ्र्यौट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकाल जेल गएपछि शर्मा मंगलबार विशेष अदालतमा हाजिर भएका थिए । न्यायाधिसद्धय द्वारिकामान जोशी, रत्नबहादुर बागचन्द र नारायणप्रसाद पोखरेलको इजलासले धरौटी माग्ने आदेश गरेको हो । आयोगका सदस्यसचिव समेत रहेका शर्मालगायत अध्यक्ष महत र सदस्य ढकलालले साढे २० अर्ब रुपैयाँ बढी कर छुट दिएर राज्यलाई अर्बौ रुपैयाँ नोक्सान पुर्याएको भन्दै अख्तियार दुरपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आरोपपत्र दर्ता गराएको थियो ।

कोकाकोलाले पानी उत्पादन थाल्यो, किन्ले ब्राण्ड नेपाली बजारमा

काठमाडौं । कोकाकोला नेपालले नेपाली बजारमा आफ्नो किन्ले ब्राण्डको पानी सार्वजनिक गरेको छ । वेभरेज मार्केटलाई लक्षित गरेर ल्याइएको पेय पदार्थ (पानी) जुन कोकोकोलाको नेपाली बजारमा दोस्रो ठुलो उत्पादन हो । जुन उत्पादन शुद्ध पिउने पानीको रुपमा आएको छ । अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको उच्च गुणस्तरको शुद्ध र सफा पिउने पानीको रुपमा बजारमा आएको यो उत्पादनमा प्रयोग गरिने पानी कोकाकोला कम्पनीबाटै आउने छ । जसलाई प्रशोधन मार्फत उच्च गुणस्तरको बनाईएको छ । किन्ले ब्राण्डको अनावरण ब्राण्ड एम्बेसडर महानायक राजेश हमाल, कोकाकोला नेपालका कन्ट्रिडाइरेक्टर अम्बुज सिंह र बोटलर्स नेपालका प्रबन्ध निर्देशक पुनित भार्शने संयुक्त रुपमा गरेका थिए । प्रडक्ट लञ्चिङ कार्यक्रममा बोल्दै नेपालको लागि कोकाकोला नेपालका कन्ट्रि डाइरेक्टर अम्बुज सिंहले भने “किन्ले ब्राण्ड सबै ठाउँमा नै निकै प्रख्यात भएको छ । हामीलाई विश्वास छ नेपालमा समेत यसले निकै राम्रो बजार पाउने छ । अघिल्लो बर्ष कोक जिरो नेपाली बजारमा ल्याएका थियौँ । र यस बर्ष किन्ले ब्राण्डलाई नेपालमा ल्याउन पाएकोमा खुसी छौँ ।” उक्त कार्यक्रमा बोल्दै बोटलर्स नेपालका प्रबन्ध निर्देशक पुनित भार्शनेले लन्च गरिएको किन्ले एक लिटर साइजमा बजारमा उपलब्ध हुने पानीको बजार मुल्य २५ रुपैँया रहेको जानकारी दिए । कार्यक्रमा ब्राण्ड एम्बेस्डर महानायक राजेश हमालले भने ‘किन्लेले मेरो विश्वास जितेको छ, मलाई विस्वास छ यसले सारा नेपालीको विस्वास जित्ने छ ।’ किन्ले कोकाकोलाको अन्तर्राष्ट्रिय गुणस्तरको उत्पादन भएकाले यसको उत्पादनमा कुनै सम्झौता गरिएको हुँदैन । यसले स्टेट अफ आर्ट टेक्नोलोजीमा आधारीत रहेर आफ्नो उतपादन ल्याएको हुन्छ । त्यसैले किन्ले सधै मेरो रोजाईमा पर्ने गरेको हमालले बताए ।

डव्लुटियोको ११ औ मन्त्रीस्तरीय सम्मेलन अर्जेन्टिनामा

काठमाडौं । विश्व व्यापार संगठन(डव्लुटियो)को ११ औ मन्त्रीस्तरीय सम्मेलन आगामी डिसेम्बर १० देखि अर्जेन्टिनामा हुने भएको छ । डव्लुटियोको सदस्य भएका देशहरुको सहभागितामा प्रत्येक दुई/दुई वर्षमा हुने मन्त्रीस्तरीय सम्मेलन तीन दिनसम्म अर्जेन्टिनामा हुन लागेको हो । सदस्य राष्ट्र नेपालले विगतमा भएका सहमति र आगामी दिनमा उठाउनुपर्ने एजेण्डाबारे छलफल गर्न मंगलबार राजधानीमा पुर्व तयारी गोष्ठीको आयोजना गरेको छ । बाणिज्य मन्त्रालयको आयोजना र  नेपाल आर्थिक पत्रकार समाज (सेजन)को सह–आयोजनामा भएको छलफलमा नेपाल जस्ता भुपरिवेष्ठित अति कम विकसित राष्ट्र (एलडीसी) का आयात, निर्यातका अवस्था, सम्भावना, चुनौतीबारे छलफल भएको थियो । छलफलका अधिकांश वक्ताले अति कम विकसित राष्ट्रहरुसँग समन्वय र लविङ गरेर साझा एजेण्डा कार्यान्वयन गर्न र निर्यातमूखी अर्थतन्त्रमा केन्द्रित भई अघि बढ्न सुझाव दिएका थिए । व्यापार सहजीकरण सम्झौता, इ–कमर्श लगायतमा नेपालले आफ्नो अडान राख्दै उत्पादनलाई वृद्धि गर्नका लागि आवाज उठाउन तथा विगतमा भएका सम्झौताका आधारमा नेपालले पाएको सुविधाको उपयोगका लागि कार्यान्वयन योग्य स्वदेशी योजना र कार्यक्रम गर्न वाणिज्य मन्त्रालयलाई सुुझाव दिएका थिए । विशेष गरी सम्मेलनमा ई कर्मश, व्यापार सहजीकरण कार्यान्वय, लगानी, डिउटी फ्रि, भन्सार अवरोध जस्ता कुरालाई एजेन्डाका रुपमा राखिएको छ । व्यापार विज्ञ एंव पुर्व सचिव पुरुषोतम ओझाले डव्लुटियोको सदस्यपछि नेपालले गरेको प्रतिवद्धता  कार्यान्वयनमा ल्याउन नसकेको बताए । डव्लुटियो विश्व व्यापारको नियमन बनाउने संस्था भएकाले त्यसबाट नेपालले कसरी सुविधा लिन सकिने कुरामा छलफल गर्न अति आवश्यक रहेको उनको भनाई थियो । विश्व बजारमा व्यापार विस्तार गर्नका लागि उत्पादन र उत्पादक्त्वमा जोड दिइनुपर्ने बताउँदै उनले स्वदेशी सामान निर्यात गर्दा भन्सारमा देखिएका अवरोध हटाउदै जानुपर्ने बताए । “डव्लुटियोबाट भूपरिवेष्टित मुलुक नेपालले पाउने सुविधा लिन सकेको छैन, व्यापार विज्ञ ओझाले भने“विगतमा गरिएका प्रतिवद्धतालाई कार्यान्वयनमा जानुपर्छ ।” नेपाललाई सामान निर्यात गर्नका लागि डिउटी फ्रि र कोटा फ्रि सुविधा भएपनि भन्सार अवरोधले गर्दा सामान निर्यात गर्न धेरै समस्या हुने गरेको उनले बताए । पछिल्लो दुई दशकमा नेपालको व्यापार घाटा भयावह अवस्थामा पुगेकाले निर्यात बढाएर व्यापार घाटा कम गर्न अति आवश्यक रहेको उनको भनाई छ । अर्थविज्ञ विज्ञ डा पोषराज पाण्डेले डव्लुटियोको आगामी डिसेम्बरमा हुन लागेको ११ औ मन्त्रीस्तरीय सम्मेलनमा नेपालको व्यापारलाई कसरी विस्तार गर्ने विषयमा जोड दिइनुपर्ने बताए । यस अघिको सम्मेलनमा व्यापार प्रवद्र्धनका लागि नेपालले पाएका सुविधा कार्यान्वयनमा लैजानपर्नेमा उनले जोड दिए । निर्यात बढाउने काम बाणिज्य मन्त्रालयको मात्र नभएर यसको लागि सम्बन्धित निकायको सहभागिता अपरिहार्य रहेको भन्दै पाण्डेले गुणस्तरीय उत्पादनको निर्यात बढाएर व्यापार घाटा कम गर्न सकिने बताए । नेपालले अमेरिकामा सामान निर्यातको लागि पाएको भन्सार छुट सुविधा पुर्णरुपमा उपभोग गर्न नसकेको भन्दै उनले निर्यातयोग्य वस्तुको पहिचान गरेर निर्यात प्रवद्र्धन गर्न आवश्यक रहेको बताए । यस अघि भएको दोहा राउन्डले कृषिजन्य वस्तु निर्यातमा  अनुदान, घरेलु उत्पादनमा अनुदान दिने, भन्सार अवरोध हटाउने भनेपनि अझै सहमतिमा पुग्ने नसकेको उनको भनाई छ । नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष शेखर गोल्छाले डव्लुटियोको सदस्य बनेपछि नेपाललाई के फाइदा र के बेफाइदा भयो भनेर सरोकारवाल निकायबीच छलफल गर्न अति जरुरी रहेको बताए । चरम राजनीति, बन्द हडतात, ऊर्जा अभाव लगायतका कारणले विश्वमा प्रतिष्पर्धा गर्ने सामानको उत्पादन गर्न नसक्दा निर्यात बढाउन नसक्दा मुुलुकको व्यापार घाटा बढ्दै गएको उनको भनाई छ । “डूव्लुटियोको सदस्य भएपनि विश्वबजारको जुनसुकै ठाउँमा पनि व्यापार गर्न पाइने भनिएपनि मुलुकमा भएको राजनीति अस्थिरताले निर्यात बढाउन सकिएन,”उनले भने“ छिमेकी मुलुकमा उद्योग क्षेत्रमा सवै किसिमका सुविधा भएपनि नेपालमा नहुँदा निर्यात बढाउन सकिएको छैन ।” व्यापार घटाउनका लागि उद्योगको पुर्वाधार विकास गर्नका लागि डव्लुटियोले  कसरी सहयोग गर्न सक्छ भनेर सम्झौता गर्न जरुरी रहेको उनको भनाई छ । बाणिज्य मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेले डव्लुटियोको सदस्य भएकाले नेपालले किन सुविधा लिन सक्यो सकेन भनेर छलफल गर्न जरुरी रहेको बताए । मुलुकको व्यापार घाटा कम गर्नका लागि नेपालले भएका भन्सार छुट सुविधा प्रयोग गरेर जतिसक्दो निर्यात बढाउन अति आवश्यक रहेको उनले बताए । एक दशक अघि देखि मुलुकको व्यापार घाटा ओरालो लागिरहेकाले पनि यसलाई कसरी कम गर्ने भन्ने विषयमा विशेष जोडदिनुपर्ने उनको भनाई छ । आगामी डिसेम्बरमा हुन लागेको सम्मेलन तिन दिन सम्म हुने छ । नेपाल सन् २००४मा डव्लुटियोको सदस्य भएको थियो । विभिन्न १६४ देश डव्लुटियोको सदस्य बनेका छन । डव्लुटियोको सदस्य भएका देशले विश्वबजारमा व्यापार गर्न खुल्ला छ ।

ग्लोबल आइएमई बैंक र केएफडब्लु डेभलपमेन्ट बैंकबीच व्यावसायिक सम्झौता

काठमाडौं । ग्लोबल आइएमई बैंक र जर्मन सरकारको आर्थिक सहायता अन्तर्गत केएफडब्लु डेभलपमेन्ट बैंकबीच साना तथा मझौला व्यवसायी कर्जा प्रदान गर्ने सम्झौता भएको छ । नेपाल सरकार अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंक बीच दिगो तथा ग्रामिण बिकास कार्यक्रम अन्तर्गत नेपालका ग्रामिण भेगको जनताको जीबनस्तर सुधार्नका लागि ग्लोबल आइएमई बैंक मार्फत सो विषयमा सम्झौता पत्रमा हस्ताक्षर भएको हो । उक्त सम्झौता पश्चात केएफडब्लु डेभलपमेन्ट बैंकको वित्तीय तथा प्राविधिक सहयोग माफर्त नेपालका ग्रामिण भेगका उद्यमी व्यवसायीलाई लक्षित गरि ग्लोबल आइएमई बैंकले सर्वसुलभ रुपमा साना तथा मझौला तथा कृषि कर्जा उपलब्ध गराउनेछ । बैंकको गत असोज मसान्तसम्म १ खर्ब ४ अर्ब ९४ करोड निक्षेप र ८८ अर्ब ७७ करोड कर्जा लगानी रहेको छ । बैंकको हाल १०८ वटा शाखाहरु, १४ वटा राजश्व संकलन काउण्टर, १ वटा सिडिएससि काउण्टर, १२६ एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर तथा ५० शाखा रहित बैंकिङ्ग सेवा रहेका छन् । त्यस्तै, बैंकले अत्याधुनीक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्ट्रेलिया, बेलायत र भारतमा प्रतिनिधि/सम्पर्क कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरु माझ सेवा प्रदान गर्दै आईरहेको छ । त्यसैगरि, बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दे आइरहेको छ ।

तरलता कम भएपछि वाणिज्य बैंकले उठाए११ अर्ब , राष्ट्र बैंकले बुधबार १० अर्ब बजारमा पठाउदै

काठमाडौं । बजारमा लगानीयोग्य पुँजी (तरलता) कम भएपछि बाणिज्य बैंकहरुले मंगलबार नेपाल राष्ट्र बैंकबाट ११ अर्ब रुपैयाँ उठाएका छन् । बजारमा लगानीयोग्य पुँजी (तरलता) कम भएर अन्तर बैंक ब्याजदर सीमा नाघेपछि राष्ट्र बैंकले मंगलबार हस्तक्षेप गरी रिपो वित्तीय उपकरणमार्फत बजारमा १० अर्ब रुपैयाँ पठाएको थियो । १० अर्ब रुपैयाँको रिपो निष्कासन गर्दा ९ वाणिज्य बैंकले ११ अर्ब रुपैया उठाएका हुन् । बैंकले माग भन्दा बढी रकम उठाएपछि राष्ट्र बैंकले बुधबार पुनः १० अर्ब रुपैयाँको रिपो ल्याउदै छ । बजारमा तरतलाको अभाव देखिएको निश्कर्ष राष्ट्र बैंकका छ । बजारमा अझै पनि १६ अर्ब तरलता रहेको राष्ट्र बैंकले जनाएको छ । बैंकहरुले सरकारी ऋणपत्रमा लगानी गरेपछि तरलतामा कमी आई तत्काल समस्या समधान गर्न १० अर्ब रुपैयाँ रकम बजारमा पठाएको हो । १४ दिन अवधिको रिपोको ब्याज दर ५ प्रतिशत छ । रिपोको रकम मंसिर २६ गते फिर्ता हुने केन्द्रीय बैंकले जनाएको छ । ब्याजदर करिडोर नीतिअन्र्तगत राष्ट्र बैंकले बजारमा तरलताको अभाव हुदा ५ प्रतिशत ब्याजदरमा पैसा बजारमा पठाउने र बैकिङ प्रणालीमा तरलता बढी हुदा ३ प्रतिशत ब्याजदरमा रिभर्स रिपोमार्फत बजारबाट पैसा उठाउने गरेको छ ।  

कमोडिटी मार्केटको चुक्ता पूँजी ५० करोड हुनुपर्ने, के के सामान बेच्न पाइन्छ ?

काठमाडौं । वस्तु विनिमय(कमोडिटी मार्केट) बजार सञ्चालन गर्ने संगठित संस्थाको कुल चुक्ता पूँजी ५० करोड रूपैयाँ हुनुपर्ने व्यवस्था गरिएको छ । नेपाल धितोपत्र बोर्डले ‘वस्तु विनिमय बजार नियमावली २०७४’ लागू गरी उक्त व्यवस्था गरेको हो । कमोडिटी मार्केटलाई बढी जिम्मेवार र व्यावसायिक बनाउने लक्ष्यका साथ नयाँ नियमावली लागू गरिएको बोर्डले जनाएको छ । बोर्डका प्रवक्ता नीरज गिरीले वेयर हाउसका लागि रु १५ करोड, राफसाफ तथा फछ्र्योटका लागि रु सात करोड, लगानी व्यवस्थापकको लागि रु पाँच करोड, लगानी परामर्शदाताका लागि रु एक करोड र वस्तु कारोबार दलालको लागि रु ५० हजार बराबरको न्यूनतम चुक्ता पूँजी हुनुपर्ने व्यवस्था गरिएको छ । देशको समग्र आर्थिक अवस्था तथा आर्थिक क्रियाकलापको आधार, लगानीकर्ताको हित संरक्षण वस्तु विनिमय बजार सञ्चालन गर्न चाहिने साधन, स्रोत र प्रतिस्पर्धालाई दृष्टिगत गरी वस्तु विनिमय बजारलाई अनुमति दिन त्यस्तो आर्थिक दायित्वसहितको व्यवस्था गरिएको प्रवक्ता गिरीको भनाइ छ । के के सामान बेच्न पाइन्छ ? वस्तु विनिमय बजारमा कृषिजन्य उत्पादनमा कपास, अलैँची, जिरा, खुर्सानी, मरीच, काजू, सुपारी, दलहन, मकै, गहुँ, धान, आलु, मेथी, तोरी, भटमास, आलस, फापर, उखु, सूर्ती, जुट, बेसार, फलफूल, तथा सोबाट निर्मत जुस, धातुजन्य वस्तुमा आल्मुनियम, तामा, शिशा, निकल, पित्तल, फलाम, स्टिल, जिंक रहेको छ । त्यस्तै सुन, चाँदी, प्लाटिनम र खनिज तेलमा कच्चा तेल, पेट्रोलियम पदार्थ, प्राकृतिक ग्यास, हिटिङ आयल, तेलतर्फ नरिवल, पाम, तोरी, भटमास, सूर्यमुखी, आलस तथा चिनी, सख्खर, चिया, अण्डा र जडीबुटीजस्ता वस्तुसमेत कारोबार गर्न सकिनेछ । बोर्डले वस्तु विनिमय बजार सञ्चालन गर्न कम्पनी स्थापना गर्नु अघि सम्भाव्यता अध्ययन प्रतिवेदन, लगानीको स्रोत, शेयर स्वामित्वसम्बन्धी विवरण तथा वस्तुको विद्युतीय कारोबार प्रणालीको सुरक्षाका लागि गरिएको व्यवस्थासहित बोर्डबाट स्वीकृति लिनुपर्ने प्रावधान राखेको छ । यस्तै बजारको कुल शेयर पूँजीको पाँच प्रतशितभन्दा बढी शेयर स्वामित्व ग्रहण गर्न नपाउने व्यवस्थासमेत गरिएको छ । वस्तु विनिमय बजारको अनुमति लिएको तीन वर्षसम्म शेयर बिक्री गर्न नपाइने र त्यसपछि शेयर स्वामित्व लिएको व्यक्तिले शेयर हस्तान्तरण गर्न चाहेमा बोर्डको स्वीकृति लिनुपर्ने तथा विदेशी संस्थाले रणनीतिक साझेदारको रुपमा बजारको कुल शेयर पूँजीको बढीमा ५१ प्रतिशतसम्म मात्रै शेयर स्वामित्व ग्रहण गर्नुपर्ने व्यवस्था गरिएको बोर्डले जनाएको छ । रासस