सिजीको एलइडी टिभीमा ३ वर्षे वारेन्टी
काठमाडौं । नेपालको नं १ इलेक्ट्रोनिक्स् ब्राण्ड सिजीले उपभोक्ताहरुको मागअनुरुप सिजीका सम्पूर्ण एलइडी टिभीमा ३ वर्षेको वारेन्टी तोकेको छ । सिजीको गुणस्तरीय सामान सँगै अझै उपभोक्तालाई थप विश्वास पार्नका लागि सिजीले सम्पूर्ण एलइडी टिभीमा ३ वर्षे वारेन्टी अवधि तोकेको हो । यस योजना सिमित अवधिको लागि सम्पुर्ण मोडलहरुमा लागू गरिएको छ । भविष्यमा विश्वस्नीयतालाई अझ प्रगाड गर्नका लागि सिजीका अन्य विभिन्न प्रोडकमा पनि वारेन्टी अवधि बढाउदै लैजाने कम्पनीको भनाई छ । साथै, भविष्यमा अझै बृहत योजना सिजी एलइडी टिभीमा ल्याउने योजना बनाएको कुरा कम्पनीले बताएको छ ।
सिटिजनले एक अर्बको म्युचल फण्ड निष्काशन गर्ने, पायो बोर्डको अनुमति
काठमाडौं । सिटिजन म्युचल फण्ड-१ले एक अर्ब रुपैयाँ बराबरको म्युचल फण्ड निष्काशन गर्ने भएको छ । यस फण्डलाई सोमबार नेपाल धितोपत्र बोर्डले १० करोड इकाई निष्काशन गर्न अनुमति दिएको हो । यो फण्डले सिबीआइएल क्यापिटलमार्फत सो मात्राको म्युचल फण्ड निष्काशन गर्न लागेको हो ।
ज्योति विकास बैंक र ग्रीन डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन, प्रतिकित्ता मूल्य कति?
काठमाडौं । सोमबार मात्रै ज्योति विकास बैंक र ग्रीन डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले एकैदिन यी दुई कम्पनीको बोनस र हकप्रद पछि मूल्य समायोजन गरेको हो । ज्योति विकास बैंकको १० प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन भएको छ । समायोजन पछि यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता १६२ रुपैयाँ रहेको छ । जसको आधारमूल्य प्रतिकित्ता १९७ रुपैयाँ रहेको थियो । त्यस्तै, नेप्सेले ग्रीन डेभलपमेन्ट बैंकको ४०० प्रतिशत हकप्रद सेयर पछिको सेयर मूल्य समायोजन गरेको छ । समायोजन पछि यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता १४७ रुपैयाँ रहेको छ ।
सेयर बजारमा सकारात्मक संकेत, दोहोरो अंकको वृद्धि
काठमाडौं । निरन्तर ओरालो लागिरहेको सेयर बजारमा सकारात्मक संकेत देखिन थालेको छ । सोमबार खुल्ने वित्तिकै बढेको बजार ११ः४३ मिनेटमा १८.४३ अंकले बढेको हो । सो अवधीमै बजारमा ३ करोड भन्दा बढि मूल्यको सेयर कारोबार भैसकेको छ । सो अवधीसम्ममा फाइनान्स कम्पनी बाहेक सबैको परिसूचक बढेको देखिन्छ ।
सेयर बजार ओरालो लाग्नुपर्ने कारण छैन, अब बढ्छ-रौनियार
छोटेलाल रौनियार, उपाध्यक्ष-इन्भेष्टर्स फोरम काठमाडौं । मुलुकमा पाँच बर्षसम्म स्थायी सरकार गठन हुने, सरकारका आर्थिक नीतिहरुले निरन्तरता पाउने, विकास निर्माणका कामहरु द्रुतगतिमा अघि बढ्ने सुनिश्चितता भएको बेलामा बजार घटिरहेको छ । सेयर बजार भनेको सम्वेदनशिल क्षेत्र हो तर अब स्थिरता आउँदैछ भन्ने सन्देश फैलिईरहेका बेलामा बजार घटिरहेको छ । अहिले सेयर बजार घट्नुपर्ने कुनै कारण छैन् । बामपन्थी सरकारका कारण सेयर बजार घटेको त्रास पनि देखाउने प्रयास भैरहेको छ । बामपन्थीहरुले नेपालको इतिहासमा पहिलो पटक सरकार बनाउँदै छैनन् । यस अघि उनीहरुले पटक पटक सरकारको नेतृत्व गरिसकेका छन् । बामपन्थीहरुकै सरकार हुँदा सेयर बजारले उच्चतम विन्दुको रेकर्ड कायम गरेको थियो । बामपन्थीहरुले सरकार सञ्चालन गर्दा कुनै पनि समयमा सेयर बजार प्रतिकुल नीति ल्याएका छैनन् र अब पनि ल्याउने सम्भावना छैन् । वास्तवमा यतिबेला बजार घटाउन ब्रोकरदेखि सबै नियामकहरुको हात छ । सबै जना मिलेर बजार घटाउन लागिपरेका छन् । मारवाडी समुदायका लगानीकर्ताहरुले सेयर बेचे भन्ने हल्ला चलाईएको छ । हामीले त्यसरी सेयर बेचिरहेका छैनौं । मेरै कुरा गर्ने हो भने म आजसम्म पनि सेयर बेचिरहेको छैन् । हामी मारवाडीहरुले बामपन्थी सरकारसँग डराउनुपर्ने कुनै कारण नै छैन् । हामीले मात्रै होइन, कसैले पनि नयाँ सरकारसँग डराउनुपर्ने कारण छैन् । प्रदेश र प्रतिनिधी सभाको निर्वाचन सम्पन्न भयो । देश भर उत्साह छाईरहेको छ । वित्तिय क्षेत्रमा पनि निर्वाचनमा खर्च भएको पैसा बैंकिङ च्यानलमा आउँछ भन्ने थियो । त्यसले गर्दा तरलताको अभाव हटेर ब्याजदर कम हुने अपेक्षा पनि थियो । तर अवस्था त्यस्तो भएन, यतिबेला बैंकहरुले पनि ब्याजदरमा कार्टेलिङ गरिरहेका छन् । ब्याजदर घट्ने आस थियो तर त्यो अझै बढ्यो । बामपन्थीहरुको सरकार नबनेर काँग्रेस, माओवादी र मधेशवादीहरुको सरकार गठन हुने हल्ला पनि चलिरहेको छ । फेरी पनि सरकार अस्थिर नै बन्ने भयो भन्ने अलिअलि त्रास भने लगानीकर्तामा पक्कै पनि छ । त्यहि माथी तत्कालै नयाँ सरकार गठन पनि नहुने देखिएको छ । यस्ता सन्दर्भहरुले पनि बजार घटाउन केहि न केहि भूमिका खेलेकै छन् । त्यस्तै अहिले नेप्सेमा बोनस सेयर र राइट सेयर पनि धेरै मात्रामा सूचिकृत भएको छ । जसरी सेयरको आपुर्ति बढिरहेको छ, त्यसरी माग बढाउन नियामकहरुले पनि भूमिका खेलिरहेका छैनन् । धितोपत्र बोर्ड, केन्द्रिय बैंक, ब्रोकर, बैंकहरु सबैले मिलेर सेयर बजार घटाउन भूमिका खेलिरहेका छन् । हाम्रो सेयर बजार भनेको नाका बन्दी र भूकम्प थेगेको बजार हो । नाका बन्दी र भूकम्पले हल्लाउन नसकेको बजार अहिले किन अनावश्यक रुपमा घटिरहेको छ ? यो प्रश्नको उत्तर खोजिनुपर्छ । अहिले बिशेषगरि साना लगानी कर्ता पनि धेरै डराएका छन् । साना लगानीकर्ताहरु हल्लाको पछाडी लाग्छन् । बलियो कम्पनीको सेयर किनेर बस्यो भने कुनै समस्या छैन् । अर्काे कुरा भनेको सेयर बजार घटे पनि कारोबार रकम भने खासै घटेको छैन् । यसले पनि बजार तत्काल बढ्न सक्छ भन्ने सन्देश दिईरहेको छ । फेसबुकहरुमा बनाईएका ग्रुपहरु मार्फत पनि बजार घटाउने चलखेल भैरहेको छ । यस्ता ग्रुपहरुमा आउने अनावश्यक सन्देशबाट पनि हामीले जोगिनुपर्छ । सेयर बजार घट्नुपर्ने कुनै कारण छैन । अहिले बजार घट्नु भनेको अप्राकृतिक हो, त्यसैले बजार बढ्छ ।(कुराकानीमा आधारित)
नेपाली मुद्रासंग डलर कमजोर, १ डलर बराबर १०२.५०
काठमाडौं । नेपाली रुपैयाँसंग अमेरिकी डलर कमजोर भएको छ ।नेपाल राष्ट्र बैंकले सोमबारका लागि बिक्रीदर १ डलर बराबर १०२ रुपैयाँ ५० पैसा तोकेको छ । एक महिनाअघि १ डलर बराबर १०४ रुपैयाँ २३ पैसा थियो । एक महिनामा नेपाली रुपैयाँ १ रुपैयाँ ७३ पैसा बलियो भएको राष्ट्र बैंकले जनाएको छ । भारतीय अर्थतन्त्र बलियो हुदै गएका कारण भारु रुपैयाँ मजवुत भएपछि यसको प्रभाव नेपाली रुपैयाँमा परेको हो । नेपाली रुपैयाँ र भारुबीच स्थिर विनिमय दर (फिक्सड पेग ) भएका कारण भारु मजवुत हुन साथ नेपाली रुपैयाँ पनि बलियो र डलर कमजोर हुन्छ । रिजर्व बैंक अफ इन्डिया (आरबीआई) ले सोमबार १ डलर बराबर ६३ रुपैयाँ ९२ पैसा भारु बिक्री दर तोकेको छ । २०७४ असार मसान्तको तुलनामा २०७४ कात्तिक मसान्तमा नेपाली रूपैयाँ अमेरिकी डलरसँग १.१ प्रतिशत अवमूल्यन भएको थियो । ०७४ कात्तिक मसान्तमा १ डलरकोे खरिद विनिमय दर १०४.०४ रुपैयाँ पुगेको छ । २०७४ असार मसान्तमा उक्त विनिमय दर १०२.८६ रुपैयाँ थियो ।गत मंसिरमा डलर मजवुत भएपछि ११० रुपैयाँ २६ पैसासम्म पुगेको थियो । पछिल्ला महिनामा निरन्तर डलर कमजोर हुदै गएको छ । ५ वर्षअघि अर्थात सन् ०१२/०१३ मा १ डलर बराबर ८७ रुपैयाँ ९६ पैसा थियो । आजको दिनमा आउदा नेपाली रुपैयाँ डलरसंग साढे १४ रुपैयाँले अवमूल्यन भएको छ । डलर कमजोर हुदाका फाइदा डलर कमजोर भएपछि आयातित वस्तुको लागत सस्तो हुन गई उपभोक्ता मूल्य घट्छ । यसले गर्दा उपभोक्तालाई फाइदा हुन्छ । गत आर्थिक वर्षमा उपभोक्ता मूल्यवृद्धि कम गराउने एउटा तत्व डलर कमजोर भएकाले हो । गत वर्ष उपभोक्ता मूल्यवृद्धि ४ प्रतिशत तल रहेको राष्ट्र बैंकले जानकारी दिएको छ । सरकारले साढे ७ प्रतिशतमा सीमिति गर्ने भनेको थियो । यस्तै राज्यले विदेशी दातृनिकायसंग लिएको ऋणको भार पनि कम हुन्छ । डलर कमजोर भएका कारण गत आर्थिक वर्षमा विभिन्न दातालाई दिने सावाँ र ब्याज फिर्ता १६ अर्ब रुपैयाँ कम भएको महालेखा नियन्त्रकको कार्यालयले जानकारी दिएको छ । अन्तराष्ट्रिय बजारमा हवाइ टिकट सस्तो हुने गरेको छ । विद्युत प्राधिकरणले डलरमा बिजुली खरिद गर्दा तिर्ने दाइत्व पनि कम हुन्छ । गत वर्ष नोक्सान कम हुनुको एउटा कारण डलर कमजोर हुनु हो । डलर कमजोर हुदाका वेफाइदा आयात बढेर भुत्तानी सन्तुलनमा असर पर्छ । वैदेशिक रोजगारीमा जानेले पठाउने रेमिट्यान्स आप्रवाहमा कमी आउने र कामदारलाई नोक्सान हुने देखिन्छ । यस्तै विदेशबाट प्राप्त हुने पेन्सनवापतको रकम आप्रवाहमा कमी हुन्छ । निर्यातबाट प्राप्त हुने डलर आम्दानी कम हुन्छ । सरकारको भन्सार राजश्वमा कमी, पर्यटकलाई नोक्सान हुने देखिन्छ । यस्तै ठुला होटलको आम्दानीमा केही कमी हुन्छ ।
नेपाल टेलिकमले बैंकबाट सवा ८ अर्ब निक्षेप फिर्ता लिदै, तरलता समस्या झन जटिल बन्ने
काठमाडौं । बैकिङ क्षेत्रमा तरलता अभावको संकट गहिरदै गएको बेलामा नेपाल टेलिकमले विभिन्न बैंकबाट ८ अर्ब २५ करोड रुपैयाँ निक्षेप निकाल्ने भएको छ । त्यस मध्ये ७ अर्ब ९२ करोड रुपैयाँ सरकारलाई बुझाउने छ । १५ अर्ब रुपैयाँ चुक्ता पुँजी भएको यस कम्पनीले ५५ प्रतिशत नगद लाभांश दिदैछ । यस कम्पनीमा करिव ९६ प्रतिशत सेयर सरकारको भएकोले कम्पनीले नाफा वापतको ७ अर्ब ९२ करोड रुपैयाँ सरकारलाई बुझाउने छ । अघिल्ला वर्षहरुमा चैत महिनामा साधारणसभा गर्दै आएको नेपाल टेलिकमले यस पटक तीन महिनाअघि अर्थात आगामी पुस ३० गते गर्दैछ । सञ्चालक समितिको प्रस्ताव साधारणसभाबाट अनुमोदन भएको भोलिपल्ट देखि नै सेयरधनीलाई लाभंश वितरण गर्ने कम्पनीको अभ्यास भएको सो कम्पनीको सूचना अधिकारी शोभन अधिकारीले बताए । कम्पनीले गत आर्थिक वर्षको नाफा विभिन्न बैंकमा निक्षेपको रुपमा राखेको छ । सरकारले लाभांश लैजादा सो रकम राष्ट्र बैंकमा जम्मा हुन जान्छ । पुस मसान्तमा ६० देखि ७० अर्ब रुपैयाँ राजश्व वापत जम्मा हुने अनुमान गरिएको छ । त्यसमाथि टेलिकमबाट करिव ८ अर्ब रुपैयाँ सरकारको खातामा जाँदा बजारमा तरलताको संकटमाथि थप दवाव पर्ने जनता बैंक नेपालका प्रमुख कार्यकारी अधिकृत (सीइअाे) परशुराम क्षेत्रीको भनाई छ । हाल सरकारको खातामा करिव ३५७ अर्ब रुपैयाँ जम्मा भएको छ । यो बैंक तथा वित्तीय संस्थामा जम्मा भएको कुल निक्षेपको १८ प्रतिशत हो । तरलता संकट गहिरीदै जाँदा बैंकहरूले निक्षेप र कर्जा दुबैकाे व्याज बढाउँदै अाएका छन् । त्यसकाे कर्जाकाे व्याजदर पनि बढ्दै गएकाे छ । उच्च व्याजदरले अर्थतन्त्र महँगाे हुने र त्यसले उत्पादन लागत बढाउने र उपभाेक्ता मुल्य पनि बढाउने विश्लेषकहरूकाे भनार्इ छ । पुसमा करको रुपमा अर्बौ रुपैयाँ राज्यको ढुकुटीमा जाने भएपछि बजारमा लगानीयोग्य पुँजीको अभाव हुने बैकरले बताएका छन् । सरकारले खर्च बढाउन नसके बैंकिङ प्रणालीमा ठुलो समस्या आउने संभावना रहेको माछापुच्छे बैंकका सीईओ निरजकुमार श्रेष्ठ बताउछन् ।
आशा लघुवित्तको बिक्री प्रवन्धकमा प्रभु क्यापिटल नियुक्त
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर निष्कासन तथा कम्पनीको बिक्री प्रवन्धकमा प्रभु क्यापिटल लिमिटेड नियुक्त भएको छ । आइतबार सम्पन्न नियुक्ति सम्बन्धी सम्झौतामा आशा लघुवित्त वित्तीय संस्थाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद दुलाल तथा शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलका तर्फबाट महा-प्रबन्धक सुजिन शाक्यले हस्ताक्षर गरेका छन् । सम्झौता पश्चात प्रभु क्यापिटलमार्फत कम्पनीले ३ लाख कित्ता कित्ता ३ लाख कित्ता कित्ता शेयर निष्काशन गर्ने भएको छ । सो मात्राको आइपीओ पश्चात कम्पनीको चुक्ता पूँजी १० करोड रुपैयाँ पुग्ने छ ।