विकासन्युज

सूचिकृत २०७ कम्पनी मध्ये साधारणसभा गर्ने ६१ वटा मात्र, कसकाे लाभांश कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत २०७ कम्पनी मध्ये ६१ वटा कम्पनीले मात्र पुस मसान्तभित्र साधारणसभा गरेका छन् । याे संख्या कुल कम्पनी मध्ये करिव २९ प्रतिशत मात्र हाे । केही कम्पनीले अार्थिक वर्ष २०७२/७३ काे साधारणासभा यस वर्ष भर्खरै गरेका छन् । कम्पनी कानुनअनुसार पुस मसान्तभित्र साधारणसभा गरिसक्नुपर्छ । त्यसैले पुस मसान्त भित्र साधारणसभा गर्ने कम्पनीकाे वित्त प्रणाली र सुशासन पक्ष राम्राे मानिन्छ । २८ वटा वाणिज्य बैंक मध्ये १६ वटाले मात्र पुस मसान्त भित्र साधारणसभा गरेका छन् । त्यसमा सबैभन्दा बढी लाभांश दिनेमा स्ट्याण्डर्ड चाटर्ड बैंक नेपाल लिमिटेड भएको छ । चालु आर्थिक वर्ष सुरु भएयता वार्षिक साधारणसभा गरेर लाभांश दिने मध्येमा स्ट्याण्डर्ड चाटर्ड अग्रस्थानमा परेको हो । स्ट्याण्डर्डले सेयरधनीलाई १०५.२६ प्रतिशत लाभांश दिएको छ । उसले ५.२६ प्रतिशत नगद र १ सय प्रतिशत बोनस सेयर दिएको छ । चुक्तापुँजी बढाउन स्ट्याण्डर्डले लगानीकर्तालाई बोनस सेयर दिएको हो । दोस्रोमा बढी लाभांश दिनेमा नेपाल टेलिकम भएको छ । टेलिकमले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई ५५ प्रतिशत नगद लाभांश दिएको छ । तेस्रोमा नविल बैंक भएको छ । नविलले ४८ लाभांश दिएको छ । नविलले लगानीकर्तालाई ३० प्रतिशत बोनस र १८ प्रतिशत नगद लाभांश दिएको हो । नेपाल इन्भेष्टमेन्टले ४० लाभांश दिएको छ । उसले १५ प्रतिशत बोनस सेयर र २५ प्रतिशत नगद लाभांश दिएको छ । एभरेष्ट बैंकले ३३ प्रतिशत लाभांश वितरण गरेको छ । हिमालयन बैंकले २६ प्रतिशत लाभांश दिएको छ । अहिलेसम्म साधारणसभा नगर्ने कृषि विकास बैंक, बैंक अफ काठमाण्डू, सेञ्चुरी कर्मसियल बैंक, सिभिल बैंक, कुमारी बैंक, मेगा बैंक, नेपाल बैंक, एनएमबी बैंक, एनसीसी, प्रभु बैंक र सिद्धार्थ बैंक रहेका छन् । आर्थिक वर्ष सकिएको ६ महिनाभित्र वार्षिक साधारणसभा गरिसक्नु पर्ने व्यवस्था छ । कतिपय कम्पनीले ढिला गरी सभा गर्दै आएका छन् । यसले कम्पनीमा संस्थागत सुशासन कमजोर रेहेको देखाउँछ । यस्तै, हालसम्म साधारणसभा गरेका मध्ये सबैभन्दा बढी लाभांश दिने फाइनान्स कम्पनीमा युनाइटेड फाइनान्स लिमिटेड रहेको छ । युनाइटेडले लगानीकर्तालाई १९ प्रतिशत बोनस सेयर दिएको छ । यस्तै जानकी फाइनान्स लिमिटेडले १८ प्रतिशत बोनस सेयर दिएको छ । आईएफसी र गुडवील फाइनान्स लिमिटेडले क्रमश ११ र १०.७ प्रतिशत लाभासबैभन्दा बढी लाभांश दिएका छन् । अरुण फाइनान्स, बेष्ट फाइनान्स, क्यापिटल मर्चेन्ट बैंक एण्ड फाइनान्स कम्पनी,  क्रिष्टल फाइनान्स, हिमालयन फाइनान्स, ललितपुर फाइनान्स, मल्टी प्रपोज फाइनान्स कम्पनी, नमस्ते वित्तीय संस्था, नेपाल फाइनान्स, नेपाल सेयर मार्केट लि., पोखरा फाइनान्स, प्रोगेसिभ फाइनान्स, रिलायन्स फाइनान्स, सम्झना फाइनान्स, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स, सिर्जना फाइनान्स, वर्ल्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लि लगायतका फाइनान्सले साधारणसभा गरेका छैनन् । सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेड (विशेष साधारणसभा), गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स, गोर्खाज फाइनान्स, जेबिल्स फाइनान्स र सिनर्जी फाइनान्स लिमिटेडले साधारणसभा गरेर हकप्रद जारी गरेका छन् । त्यस्तै, ओरियन्टल होटल, सोल्टी होटल, तारागाउँ रिजेन्सि होटल र याक एण्ड यती होटल कुनैले पनि चालु आवमा साधारणसभा गरेका छैनन् । जलविद्युतमा सबैभन्दा बढी लाभांश दिनेमा चिलिमे हाइड्रोपावर लिमिटेड भएको छ । गत आवमा गरेको नाफाबाट चिलिमेले २५ प्रतिशत लाभांश दिएको छ । जसअनुसार उसले १५ प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांश दिएको छ । त्यस्तै, अरुण काबेली पावर लिमिटेड, बरुण हाइड्रोपावर कम्पनी, छ्यान्दी हाइड्रोपावर कम्पनी, दिब्यश्वरी हाइड्रोपावर, नेसनल हाइड्रोपवर कम्पनी, नेपाल हाइड्रोडेभलोपर र न्यादी ग्रुप पावरले साधारणसभा गरेका छैनन् । उता हिमालय पावर पार्टनरले भने गत पुस ६ गते वार्षिक साधारणसभा गरिसकेको छ । खानीखोला हाइड्रोपार कम्पनी, सानीमा माई हाइड्रोपावर पनि पुस २८ गते वार्षिक साधारणसभा सम्पन्न भएको छ । यस हाइड्रोपावरले सेयरधनीलाई लाभांश नदिने भएको छ । सिनर्जी पावर डेभलपमेन्टले पनि लाभांश नदिने भएको छ । त्यस्तै, अन्य समूह अन्तर्गत जलविद्युत लगानी तथा विकास कम्पनी र नेपाल फिल्म डेभलपमेन्ट कम्पनीले साधारणसभा गरेका छैनन् । हालसम्म साधारणसभा गरेको बीमा कम्पनी मध्ये सबैभन्दा बढी लाभांश शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडका लगानीकर्ताले पाएका छन् । शिखरले लगानीकर्तालाई २९ प्रतिशत बोनस सेयर दिएको छ । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २६.३२, प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले २५ प्रतिशत लाभांश दिएका छन् । सिद्धार्थ इन्स्योरेन्सले २१ र प्रुडेन्सियल इन्स्योरेन्सले २० प्रतिशत लाभांश दिएका छन् । एशियन लाईफ इन्स्योरेन्स कम्पनी, एभरेष्ट इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स, आइएमई जनरल इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कर्पोरेसन(नेपाल), नेपाल लाइफ इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स कम्पनी, प्रिमियर इन्स्योरेन्स र यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले वार्षिक साधारणसभा गरेका छैनन् । सगरमाथा इन्स्योरेन्सले वार्षिक साधारणसभा गरेता यस वर्ष लाभांश दिएन । विकास बैंकहरूमा साधारणसभा गरेका मध्येबाट सबैभन्दा बढी लाभांश दिनेमा एक्सेल डेभलपमेन्ट बैंक र मितेरी डेभलपमेन्ट बैक रहेका  छन् । एक्सलेले बोनस सेयर र नगद गरी ३१.७१ र मितेरीले ३१.५८ प्रतिशत लाभांश दिएको छ । सहयोगी विकास बैंकले २४, शाइन रेसुङगा डेभलपमेन्ट बैंकले २५, मुक्तिनाथ विकास बैंकले २१ र मिसन डेभलपमेन्ट बैंकले २० प्रतिशत लाभांश दिएका छन् । अल्पाइन डेभलपमेन्ट बैंक, भार्गव विकास बैंक, गण्डकी विकास बैंक, गरिमा विकास बैंक, ग्रीन डेभलपमेन्ट बैंक, हाम्रो विकास बैंक, काबेली विकास बैंक, कामना सेवा विकास बैंक, कञ्चन डेभलपमेन्ट बैंक, कनकाई विकास बैंक, कर्णाली डेभलपमेन्ट बैंक, लुम्बिनी विकास बैंक, महालक्ष्मी विकास बैंक, माउन्ट मकालु डेभलपमेन्ट बैंकले साधारणसभा गरेका छैनन् । यस्तै साधारणसभा नगर्नेमा नारायणी डेभलपमेन्ट बैंक, एनआईडीसी डेभलपमेन्ट बैंक, ओम डेभलपमेन्ट बैंक, राप्तीभेरी विकास बैंक, साहारा विकास बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, तिनाउ डेभलपमेन्ट बैंक र वेष्टर्न डेभलपमेन्ट बैंक छन् । नेपाल कम्यूनिटी डेभलपेन्ट बैंकले साधारणसभा गरिसक्यो तर लाभांश दिने घोषणा गरेको छैन । छिमेक लघुवित्त विकास बैंक, सिभिल लघुवित्त वित्तीय संस्था, डिप्रोक्स डेभलपमेन्ट बैंक, फर्वाड कम्यूनिटी माइक्रोफाइनान्स वित्तीय संस्था, लक्ष्मी लघुवित्त वित्तीय संस्था, महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्थाले साधारणसभा गर्न बाँकी छ । त्यसैगरी, जनउत्थान सामुदायिक विकास बैंक, माहुली सामुदायिक लघुवित्त संस्था, माहुली सामुदायिक लघुवित्त संस्था, मेरो माइक्रोफाइनान्स वित्तीय संस्था, मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक, मिथिला लघुवित्त विकास बैंक, नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था, नेपाल ग्रामीण विकास बैंक, रिलायवल माइक्रोफाइनान्स वित्तीय संस्था, आरएसडीसी लघुवित्त वित्तीय संस्था, समता माइक्रोफाइनान्स वित्तीय संस्था, सूर्योदय लघुवित्त वित्तीय संस्था, स्वावलम्बन लघुवित्त विकास बैंक, वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाले पनि चालु आव यता साधारणसभा गरेका छैनन् । समीट माइक्रोफाइनान्सले साधारणसभा गरिसक्यो तर लाभांश दिने घोषणा गरेको छैन ।

स्रोत समितिको बैठक, एक साताभित्र आगामी वर्षको बजेट सिलिङ तोक्ने

काठमाडौं । सरकारले आउदो आर्थिक वर्ष ०७५/०७६ का लागि आवश्यक वित्तीय स्रोत जुटाउनका लागि छलफल थालेको छ । अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगबीच आगामी आर्थिक वर्षको वजेटका लागि आवश्यक वित्तीय स्रोत निर्धारण गर्न शुक्रबार स्रोत समितिको बैठक बसेको छ । आगामी एक साताभित्र स्रोतको पहिचान गरी सोही आधारमा बजेटको सीमा (सिलिङ) तोक्ने योजना आयोगका उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले बताए । पहिला कति स्रोत जुटाउन सकिन्छ त्यो अध्ययन गरेर मात्र बजेटको सीमा तयार हुने उनको भनाई छ । यस्तै आवश्यक खर्चको विषयमा पनि छलफल भएको छ । अहिले छलफल चलिरहेकाले बजेटको आकार नआइसकेको उनले स्पष्टपारे । बजेटको सिलिङ तोक्ने काम योजना आयोगले गर्दै आएको छ । यसका लागि राजश्व वृद्धिदर, आन्तरिक ऋण उठाउने क्षमता, प्राप्त हुन सक्ने वैदेशिक अनुदान र ऋण सहायताको आँकलन गरेर मात्र बजेटको सिलिङ तोकिने उनले स्पष्टपारे । उनले राजश्व वृद्धि दर हालको भन्दा बढी हुने संकेत गरेका छन् । चालु आवमा २२ प्रतिशत राजश्व वृद्धि दर तोकिएको छ । नयाँ अर्थमन्त्रीले सिलिङमा परिवर्तन गर्न सक्ने वाग्ले बताउछन् । “हामीले एउटा सिलिङ तयार गर्ने छौ” उनले भने “नयाँ अर्थमन्त्रीले चाहेमा यसमा तलमाथि हुन सक्ने छ ।” मुलुकमा संघीयता कार्यन्वयनमा गइसकेकाले वित्तीय स्रोतको धेरै आवश्यकता पर्ने उनको भनाई छ । मूल्य अभिवृद्धिकर (भ्याट) केन्द्रमा ७० प्रतिशत रहने र बाँकी ३० प्रतिशत प्रदेश र स्थानिय तहमा बाँडिने छ । यस्तै रोयल्टी र अन्तशुल्क पनि ३ तहमा विभाजन हुने भएकाले सरकारलाई खर्चको चाप बढी हुने वाग्लेले बताए । खर्च धेरै हुने भएकाले सरकारलाई स्रोत व्यवस्थापन गर्न समस्या आउने सक्ने उनको भनाई छ । अर्थसचिव शंकरप्रसाद अधिकारीले राजश्व वृद्धि दर ३० प्रतिशत बढाएर आगामी आवका लागि १५ खर्ब ७० अर्ब रुपैयाँको बजेट ल्याउन सकिने संकेत गरिसकेका छन् । चालु आवमा सरकारले १२ खर्ब ७८ अर्ब ९९ करोडको बजेट ल्याएको छ ।

टीसीएलको अर्ध वार्षिक सेल्समीट सम्पन्न

काठमाडौं । टीसीएल तथा गोदरेज ब्राण्डको अर्ध वार्षिक सेल्समीट सम्पन्नभएको छ । बुधबारबाट शुरु भएको सेल्समीट शुक्रबार सम्पन्न भएको हो । सेल्समिटमा गोदरेज तथा टीसीएल ब्राण्डले प्राप्त गरेको उपलब्धी तथा आगामी आर्थिक वर्ष भित्रमा प्राप्त गर्नु पर्ने लक्ष्य छलफल भएको थियो । गोदरेज तथा टीसीएल ब्राण्डको नेपाल स्थित आधिकारी विक्रेता चौधरी ग्रुपअन्तर्गत इओएल प्रा.ली.तथा सि.जी. इलेक्ट्रोनिक्स रहेको छ ।

नबिल फाउण्डेसनद्धारा न्यानो लुगा वितरण

काठमडौं। नबिल बैंकद्वारा प्रवद्र्घित नबिल फाउण्डेसनले मुलुकको बिभिन्न शित लहर प्रभावित भु–भागहरुमा न्यानो लगुगा वितरण गरेको छ । केही दिनदेखि बढ्दो चिसोलाई मध्यनजर गर्दै फाउण्डेसनले बर्दिबास, जनकपुर, लहान, बिरगञ्ज, हरिवन, नेपालगञ्ज तथा टिकापुरमा न्यानो लुगाहरु बितरण गरेको हो । लुगा चिसोको चरम मारमा परेका तथा बाढीले कष्ठकर जीवन बिताइरहेका बृद्ध–बृद्धा, दलित, अपाङ्ग, एकल महिला, असहाय तथा गरिब घरपरिवारहरुमा वितरण गरिएको फाउण्डेसनले जनाएको छ । नबिल फाउण्डेसनका अध्यक्ष दयाराम गोपाल अग्रवालले फाउण्डेसनले सामाजिक उत्तरदयित्वको रुपमा समाजको बिभिन्न क्षेत्रहरुमा समय सापेक्ष योगदान पु¥याउने उद्देश्यले शित लहर प्रभावित क्षेत्रहरुमा न्यानो लुगाहरु बितरण गरेको बताए । फाउण्डेसनले शित लहर प्रभावित क्षेत्रहरुमा बिद्यमान न्यानो लुगा बितरण कार्यक्रमलाई निरन्तर जारी राख्ने जानकारी गराएको छ ।  

आर्थिक वृद्धिदरको लक्ष्य प्राप्त गर्न २४ खर्ब लगानी आवश्यक

रत्ननगर, चितवन । राष्ट्रिय योजना आयोगले सरकारको ७.२ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य प्राप्त गर्न स्थानीय तहको भूमिका महत्वपूर्ण हुने जनाएको छ । आयोगका सदस्य डा सुनिलबाबु श्रेष्ठले ३ वर्षमा आर्थिक वृद्धिदर ७.२ पुयाउने लक्ष्य स्थानीय तहको भूमिकामा निर्भर हुने बताएका छन् । आयोगको आयोजना तथा भरतपुर महानगरपालिकाको सहकार्यमा चितवनमा शुक्रबारदेखि शुरु सार्वजनिक निजी साझेदारीसम्बन्धी २ दिने कार्यशाला गोष्ठीमा बोल्दै श्रेष्ठले यसका लागि २४ खर्ब रुपैयाँ बजेटको आवश्यकता रहेको बताए। आवश्यक बजेटमध्ये ३९ प्रतिशत सरकारी क्षेत्रबाट परिचालन हुने भए पनि बाँँकी निजी क्षेत्र आएमात्रै लक्ष्य प्राप्त हुने उहाँको भनाइ छ । ३ वर्षे कार्यक्रमअन्तर्गत नेपालमा १४ परियोजना सञ्चालनमा रहेका उनले जानकारी दिए । यसपटक स्थानीय तहमा मात्रै २ खर्ब २५ अर्ब रुपैयाँ बजेट पठाएको श्रेष्ठले जानकारी दिए। भरतपुर महानगरपालिकामा १ अर्ब ३३ करोड रुपैयाँ बजेट विनियोजन गरेको भन्दै श्रेष्ठले भने , “अब आर्थिक वृद्धिदरको लक्ष्य प्राप्त गर्न स्थानीय तहमा निर्भर हुन्छ ।” नेपाललाई सन् २०३० सम्ममा मध्यमा आय भएको देशका रुपमा विकास गर्ने लक्ष्य रहेकाले सार्वजनिक निजी साझेदारी कार्यक्रम अपरिहार्य रहेको उल्लेख गरे। जनताको चाहनालाई ६० प्रतिशतमात्रै सम्बोधन गर्ने हो भने स्थानीय तहमा १ खर्ब ५० अर्ब रुपैयाँ खर्च गर्नुपर्ने अवस्था रहेको र अहिले ३० अर्बमात्रै खर्च भइरहेको उनले बताए । कार्यक्रममा भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले आर्थिक विकास र समृद्धिका लागि निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता जनाउँदै स्थिर सरकार बनेपछि योजना कार्यान्वयनतर्फ जाने बताए । उपप्रमुख पार्वती शाहले निजी क्षेत्रसँग हातेमालो गरेर अघि बढ्ने बताए। चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले अहिले परियोजनाका लागि विश्वास आर्जन प्रमुख चुनौती भएको औँल्याए। रासस

तरलता समस्या समधान गर्न राष्ट्र बैंकले दियो १० अर्ब, बैंकले लिए ४० करोड मात्र

काठमाडौं । बैंकिङ प्रणालीमा तरलता कम भएपनि नेपाल राष्ट्र बैंकले शुक्रबार १० अर्ब रुपैयाँको बजारमा पठाउदा बैंकले ४० करोड रुपैयाँ मात्र लिएका छन् । आधा दर्जन वाणिज्य बैंकमा समस्या आएपछि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थासंग भएको विकास ऋणपत्र धितोमा राखेर बजारमा थप तरलता प्रवाह गर्न लागेको थियो । एउटा बैंकले ४० करोड रुपैयाँ मात्र उठाएको छ । अधिकाँश बैंकको सीसीडी रेसियो कसिलो भएपछि केन्द्रीय बैंकले तरलता व्यवस्थापन गर्न विकास ऋणपत्र सोझै खरिद बोलकबोल उपकरणमार्फत १० अर्ब रुपैयाँ बजारमा पठाएको हो । पुस मसान्तमा बैंकिङ प्रणालीमार्फत अर्बौ रुपैयाँ करको रुपमा राज्यको ढुकुटीमा गएपछि अधिकाँश बैंकको कर्जा, निक्षेप र पुँजी अनुपात (सीसीडी रेसियो) ८९ प्रतिशतको हारहारीमा पुगेको बैंकले बताएका छन् । राष्ट्र बैंकबाट प्राप्त रकम ऋण लगानी गर्न नपाउने भएपछि नलिएको एक बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ले बताए । “अहिलेको समस्या तरलता व्यवस्थापनका लागि हैन, थप ऋण लगानीका लागि भएको हो” ती सीईओले भने “राष्ट्र बैंकबाटथ लिएको रकम ऋण लगानी गर्न नपाउने भएपछि पैसा नलिएको हो ।” अधिकाँश बैंकको सीसीडी रेसियो ७९ प्रतिशत पुगेकाले कर्जा लगानी गर्न नसक्ने अवस्थामा पुगेको बताइसकेका छन् । केही बैंकहरुले कर्जा प्रवाह बन्द गरेको जानकारी दिएका छन् । बजारमा लगानीयोग्य पुँजी कम भएपनि अन्तरबैंक ब्याजदर ३ प्रतिशत छ । अन्तरबैंक ब्याजदर नबढेकाले बजारमा ऋण लगानी गर्न पुँजीको अभाव नभएको राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक नरबहादुर थापा बताउछन् । “यदी तरलताको अवस्था कसिलो भएको भए अन्तर बैंक ब्याजदर ५ प्रतिशत नाघने थियो” उनले भने “अन्तर बैंक ब्याजदर स्थिर भएपछि पछिल्लो समयमा राष्ट्र बैंकले रिपो गर्न पाएको छैन् ।” रिपोमार्फत तरलता प्रवाह गर्न नपाएपछि केन्द्रीय बैंकले विकास ऋणपत्र धितोमा राखेर बजारमा पैसा पठाउन थालेको छ । राष्ट्र बैंकका अनुसार बजारमा २६ अर्ब रुपैयाँको हारहारीमा अधिक तरलता रहेको छ । एक साता अघि पनि केन्द्रीय बैंकले विकास ऋणपत्र सिधै बोलकबोलबाट खरिद गर्ने वित्तीय उपकरणमार्फत ३ पटकमा गरी झण्डै २८ अर्ब रुपैयाँ बैकिङ प्रणालीमा पठाएको थियो ।

सिटिजन्स बैंकद्धारा महोत्तरीमा ४२६ थान कम्बल वितरण

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले महोत्तरीमा ४२६ थान कम्बल वितरण गरेको छ । बैंकले चिसोका कारण जनजिवन प्रभावित हुँदै गएपछी महोत्तरी जिल्लाको गौशाला र औरही नगरपालिकामा वसोवास गर्ने मुसहर जातीका विप्पन निसहाय व्यक्तिहरुलाई सो मात्राको कम्बल वितरण गरेको हो । जिल्लाका उच्चपदस्थ सरकारी कर्मचारी, उद्योगी, व्यापारी , विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थितिमा गौशाला नगरपालिकामा २२४ थान र औरही नगरपालिकामा २०२ थान गरी जम्मा ४२६ थान कम्बल वितरण गरेको बैंकले जनाएको छ । बैंकले सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत गौशाला र औरही नगरपालिकामा बसोबास गर्ने (मुसहर ,असक्त , असहाय , बिधवा, साधु, सन्त)हरुलाई कम्बल वितरण गरेको छ । उक्त हस्तान्तरण बैंकको संचालक समितिको सदस्य डा चन्दा कार्कीले गरेकी छन् । बैंकले देखाएको यस अग्रसरताले अत्यन्तै पिछडिएको मानिने मुसहर बस्तीमा न्यानोपन ल्याउन कोशेढुंगा साबित हुने बैंकका नायव प्रमुख कार्यकारी अधिकृत तथा प्रवक्ता गणेशराज पोखरेलले जानकारी गराएका छन् ।

आइएमई जनरल इन्स्योरेन्सको २४औं शाखा चावहिलमा, पुँजी बढाउन हकप्रद र बोनस दिने

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले आफ्नो २४औं शाखा चाबहिलमा संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन कम्पनीका संचालक समितिका अध्यक्ष हेमराज ढकालले गरेका छन् । कार्यक्रममा कम्पनीका अध्यक्ष ढकालले बीमा क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्दै देशभरी नै शाखा सञ्जाल विस्तार गरी ग्राहकहरुलाई सरल, छिटो तथा विश्वसनिय सेवा प्रदान गर्ने जानकारी गराएका छन् । यस शाखा सहित कम्पनीले २४ वटा शाखा, २ वटा सम्पर्क कार्यालय तथा १० वटा सेवा काउण्टरहरु र प्रधान कार्यालय सहित ३७ स्थानबाट सेवाग्राहीहरुलाई सेवा प्रदान गर्दै आएको छ । साथै, कम्पनीले थप १७ शाखा तथा उपशाखा कार्यालयहरु खोलेर ५४ स्थानबाट सेवा प्रदान गर्ने बताएकाे छ । उक्त कार्यक्रममा अध्यक्ष ढकालले कम्पनीले निकट भविष्यमा १० शेयर बराबर ८ शेयरका दरले हकप्रद शेयर प्रदान गरी यसै आ.ब.को अन्तसम्ममा कम्पनीको चुक्ता पुँजी ९७ करोड २० लाख रुपैयाँ पुयाउने बताएका छन् । त्यस पश्चात ५ प्रतिशत बोनस शेयर प्रदान गरी कम्पनीको चुक्ता पुँजी १ अर्ब २ करोड रुपैयाँ पुग्ने उनले बताए । उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत युगेशभक्त वादे श्रेष्ठले कम्पनीले आफ्ना ग्राहकहरुलाई सार्वजनिक विदाको दिनमा पनि बीमा सेवा प्रदान गर्ने गरी प्रधान कार्यालय नक्शालबाट ३६५ दिने बीमा सेवा शुरु गरि सकेको बताएका छन् । साथै, कम्पनीले दोश्रो त्रैमासिकसम्म ४३ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको उनले बताए ।