विकासन्युज

चिनीको आयात रोक्न भन्सार मूल्य ३० प्रतिशत, ऊखुको भाउ पनि बढाइयो ।

काठमाडौ । सरकारले स्वदेशी चिनी उद्योगलाई प्रोत्साहन गर्न चिनीको हालको भन्सार मूल्यमा शतप्रतिशत वृद्धि गरेको छ । प्रधानमन्त्री निवास बालुवाटरमा आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले चिनीको भन्सार मूल्य ३० प्रतिशत कायम गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए । चिनीको हाल भन्सार मूल्य १५ प्रतिशत कायम रहेको छ । नयाँ भन्सार मूल्य अब तुरुन्तै लागू हुने राज्यमन्त्री बाँस्कोटाले बताए ।सरकारले उखुको मूल्यमा प्रति क्वीन्टल पाँच रुपैयाँ ५६ पैसाका दरले वृद्धि गरेको छ । उखु किसानलाई राहत दिने उद्देश्यले उखुको मूल्य प्रति क्वीन्टल ५३६ रुपैयाँ ५६ पैसा कायम गरेको हो । हाल उखु प्रति क्वीन्टल ५३१ रुपैयाँम बिक्री हुँदै आएको छ । उखुको मूल्यसँगै चिनीको कारखाना उत्पादन मूल्य प्रतिकिलो ७० बाट मूल्य बढ्न नदिन आवश्यक संयन्त्र निर्माण गर्ने निर्णय भएको राज्यमन्त्री बाँस्कोटाले जानकारी दिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २१ घण्टा सञ्चालन गरिने, जीडीपीमा पर्यटन क्षेत्रको योगदान २५ प्रतिशत पुर्याउने पयर्टनमन्त्रीको घोषणा

काठमाडौं । मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आगामी जेठको पहिलो सातादेखि नियमित २१ घण्टा सञ्चालनमा ल्याइने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले जेठको पहिलो साताभित्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २१ घण्टा सञ्चालनमा ल्याउने घोषणा गरेका छन् । नेपाल पर्यटन पूर्वाधार विकास परिषद्ले मंगलबार मन्त्रालयमा आयोजना गरेको ‘पर्यटन नीति र पूर्वाधार विकास’ विषयक अन्तरक्रियामा मन्त्री अधिकारीले विमानस्थलको विद्यमान हवाई चाप (एयर ट्राफिक) व्यवस्थापन गर्न विमानस्थल २१ घण्टा सञ्चालन गर्न लागिएको बताएका हुन् । उनले ‘एयर स्पेस’ को उचित व्यवस्थापनमा लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २४ घण्टा नै सञ्चालन गर्ने आफ्नो लक्ष्य रहे पनि तत्काल असम्भव रहेको भन्दै अहिले २१ घण्टा चलाई आन्तरिक विमानस्थलमा थप गन्तव्यमा रात्री उडानको व्यवस्था मिलाइने उल्लेख गरे । अहिले कैलालीको धनगढीमा शुरु गरिएको रात्रि उडान छिट्टै झापाको भद्रपुरमा पनि शुरु गरिने उनको भनाइ थियो । मन्त्री अधिकारीले कूल ग्रार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको कम्तीमा २५ प्रतिशत योगदान पु¥याउन सरकार र निजी क्षेत्रले प्रभावकारी प्रवद्र्धनात्मक काम अघि बढाइनुपर्नेमा जोड दिए । सरकारी तथ्यांकअनुसार हाल नेपालको कूल ग्रार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान दुई दशमलब आठ प्रतिशत रहेको छ । तर संयुक्त राष्ट्रसंघीय विश्व पर्यटन संघको पछिल्लो विवरणअनुसार ८.२ को योगदान रहेको देखाएको छ । मन्त्री अधिकारी हालको पर्यटनको योगदान होटल र रेष्टुरेन्टको मात्र भएको भन्दै पर्यटन क्षेत्रको तथ्यांकलाई पनि सही ढंगले अद्यावधिक गर्नुपर्ने आवश्यकता औँल्याए ।

विदेशीएका नेपालीलाई स्वदेशमै रोजगार दिन निजी क्षेत्रलाई राष्ट्रपतिको सुझाव

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाको नेतृत्वमा गएको महासंघका पदाधिकारीको प्रतिनिधिमण्डलले मंगलबार राष्ट्रपति भवन सितल निवासमा भेटवार्ता गरेको छ । भेटमा महासंघका विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष चण्डिराज ढकाल, उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधान, कार्यकारिणी समितिका सदस्यहरू र महासंघका निमित्त महानिर्देशक मीना श्रेष्ठ समेत सहभागी रहेको जनाइएको छ । उक्त अवसरमा महासंघकातर्फबाट राष्ट्रपति समक्ष नेपालको वर्तमान आर्थिक अवस्था, मुलुकको समृद्धिका लागि सरकार निजी क्षेत्रबीच सहकार्य, लगानी आकर्षण, उर्जा विकास, स्वदेशी उद्योगको प्रवद्र्धन, महासंघले हालै सम्पन्न गरेको प्रादेशिक आर्थिक बहस, भावी कार्यक्रम लगायतका विषयमा छलफल भएको जनाइएको छ । भेटमा राष्ट्रपति भण्डारीले आर्थिक विकासका लागि निजी क्षेत्र, उद्योग वाणिज्य क्षेत्र विज्ञ समुह, सरकार,  निजी क्षेत्र एक जुट भएर मुलुकको आर्थिक विकासमा लाग्नु पर्नेमा जोड दिएका थिइन् । आम नेपाली जनताको स्तरीय जीवनयापन बनाउने स्वाबलम्वी अर्थतन्त्र विकासतर्फ केन्द्रीत हुनुपर्ने निजी क्षेत्रलाई उनकाे सुझाव छ । त्यस्तै मुलुकभित्र पर्याप्त रोजगारीका अवसरहरू सृजना हुने उद्योग व्यवसाय सञ्चालन गरी रोजगारीका लागि विदेशीएका नेपाली दाजुभाई दिदी बहिनीहरूलाई स्वदेश फर्काउने वातावरण बनाउन समेत निजी क्षेत्रलाई उनको सुझाव छ ।

आईएनजीओ र एनजीओको कारोबारलाई पनि करको दायरामा ल्याउने

काठमाडौं । गृहमन्त्रालयका सचिव प्रेमकुमार राईले गैरसरकारी संस्था (आईएनजीओ र एनजीओ) को कारोबारमा कर लगाउन सुझाएका छन् । राजश्व चुहावट उच्चस्तरिय अनुगमन समितिको मंगलबार अर्थमन्त्रालयमा बसेको बैठकमा बोल्दै सचिव राइले नाफा नकमाउने रुपमा दर्ता भएका सबै गैरसरकारी संस्थाको कारोबारलाई आय करको दायरामा ल्याउन सुझाएका हुन् । उनले मदिरा बिक्री वितरणलाईै अझ व्यवस्थित बनाउन, आयकर, अन्तशुल्क, मूल्य अभिवृद्धि कर (भ्याट) को चुहावट नियन्त्रण गर्न आजैदेखि विशेष अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् । सो अवसरमा राजश्वसचिव शिशीरकुमार ढुङानाले अन्तशुल्कतर्फ नक्कली स्टीकरको थप अनुसन्धान गरी कार्वाहीको दायरामा ल्याइने बताए । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयूक्त गस्ती टोलीलाई एकै स्थानमा लामो समयसम्म खटाउन नुहने बताएका थिए । अर्थमन्त्री डा. युवराज खतिवडा र सचिव राजन खनालले पनि चुहावट नियन्त्रण गर्न निर्देशन दिएका थिए ।

ग्लोबल आइएमई बैंकको प्रायोजनमा ‘राष्ट्रिय फोटोपत्रकारीता अवार्ड २०७४’ हुने

काठमाडौं । राष्ट्रिय फोटोपत्रकार समुहद्धारा आयोजना गरीएको राष्ट्रिय फोटोपत्रकारीता अवार्ड २०७४ को लागि मुख्य प्रायोजन ग्लोबल आइएमई बैंकले गर्ने भएको छ । उक्त कार्यक्रमको नाम “ग्लोबल आइएमई राष्ट्रिय फोटोपत्रकारीता अवार्ड २०७४” हुने छ । साथै, लाइफटाइम अचिभमेन्ट फोटोपत्रकारिता अवार्ड विधा पनि ग्लोबल आइएमई वैकको नामवाट वितरण गरिने भएको छ । मंगलबार औपचारिक रुपमा आयोजक संस्थाका संयोजक प्रदिपराज वन्त र प्रायोजक संस्थाको तर्फवाट प्रमुख वजार व्यवस्थापक गणेश अवस्थी विच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । लाइफ टाइम अचिभमेन्ट अवार्डवाट एक जना वरिष्ठ फोटोपत्रकारलाई नगद पुरस्कारको राशी ५० हजार सहित ट्रफी र सम्मानपत्रले सम्मानीत गरिनेछ । उक्त अवार्ड लगायत अन्य १२ विधाका अवार्ड पुरस्कार नेपाल आर्मी क्लवको हलमा यहि बैशाख १३ गते विषेश कार्यक्रम गरि वितरण गरने छ ।

चोरी पैठारीको कपडाबाट मुलुकले ७० अर्ब राजस्व गुमाउदै, स्वदेशी उद्योग संकटमा

काठमाडौं । अबैध रुपमा चोरीपैठारी भइ मुलुकमा भित्रिने कपडा (टेक्स्टायल) बाट सरकारले ७० अर्ब रुपैयाँ राजस्व गुमाइरहेकोे छ । कानूनी प्रक्रियाभन्दा बढी अवैध रुपमा नेपालमा टेक्स्टाइल आयात हुनेगरेको धागो व्यवसायीहरुले बताएका छन् । नेपाल धागो उत्पादक संघका अध्यक्ष पवन गेल्याणले मुलुकमा वार्षिक ४५ करोड मिटर टेक्स्टायल खपत हुने बताए । जसमध्ये ३५ करोड मिटर अबैध रुपमा मुलक भित्रीरहेकोे उनको भनाइ छ । ‘यसबाट सरकारलाई करिब ७० अर्ब रुपैयाँ बराबरको राजस्व गुमाइरहेको छ,’ उनले भने ‘एकातिर सरकारी राजस्व चुहावट भएको छ भने, अर्कोतर्फ आयातित टेक्स्टायलको कारण स्वदेशी उद्योगहरु संकटमा पर्दै गएका छन् ।’ उनले विगतमा कतिपय टेक्स्टायलका उद्योगहरु बन्द भएको र भएका उद्योगहरुले पनि पूर्ण क्षमतामा काम गर्न नसकिरहेको जानकारी गराए । हाल मुलुकमा ठूला ४ टेक्स्टायल उद्योगहरु सञ्चालनमा छन् । जसमा ज्योति स्पीनीङ मिल्सले क्षमताको १० प्रतिशत मात्रै उत्पादन गरिरहेको छ । टेक्स्टायल तथा धागो उद्योग अन्तर्गत कपडा, होजियरी, निटिङ लगायतका उद्योगहरु पर्दछन् । उनका अनुसार खुला सीमा भएको कारण चोरीछिपी ल्याउने तथा भन्सारमै न्यूनबिजकीकरण गर्ने लगायतको कारण अबैध रुपमा ठूलो परिमाणमा मुलुकमा धागो भित्रिरहेको छ । यदी यसलाई सरकारले नरोक्ने हो भने हाल सञ्चलन भइरहेका उद्योग पनि धरासायी हुने उनको भनाइ छ । ‘अहिले चीनबाट समेत विभिन्न किसिमका कपडा मुलुकमा आयात भइरहेको छ । केरुङको भन्सार नाकाबाट जाँचपास गर्दा प्रतिकिलो एक अमेरिकी डलरमा समेत मूल्याङ्कन कायम गरि सामानहरु छुटिरहेका छन्,’ उनले भने ‘त्यस्तै गलत विवरण पेश गरि सामान आइरहेको छ । कटन यार्नमाको आयातमा सरकारले भन्सार एक प्रतिशत र भ्याट छुट गरेको छ । तर अहिले त्यसको नाममा भन्सार बढी लाग्ने सिन्थेटिक धागो आयात भइरहेको छ ।’ संघको अनुसार हाल मुलुकमा कटन धागोबाट कपडा उत्पादन गर्ने कारखना थपिएको छैन आयात भने प्रतिवर्ष बढिरहेको अवस्था छ । स्पष्ट हुन्छ कि रङ डिक्ल्यिरेशनबाट धागोको आयात भइरहेको छ । भन्सारको कमजोरिको कारणले गर्दा अहिले मुलुकमा स्वदेशीभन्दा विदेशी धागोको प्रयोग बढेको हो । चीन र भातरबाट अबैध रुपमा आयात हुने धागोको कारण प्रतिस्पर्धा गर्न नसकेर स्वदेशी उत्पादनको ८० प्रतिशत धागो निर्यात गर्नु पर्ने अवस्था छ । संघका उपाध्यक्ष विष्णुप्रसाद न्यौपानेका अनुसार चीनबाट मुलुकमा आयता गरिने अधिकांश धागो, कपडाहरु उक्त देशले त्यहाँ प्रतिबन्ध लगाएका हुन्छन् । सोही सामानहरु नेपालमा भित्रिरहेको छ । ‘१ करोड रुपैयाँको आयात भइरहँदा नगन्य लाग्ने गरेको छ,’ उनले भने ‘जसकारण नेपालमा अबैध आयात बढेर धागोको डम्पिङ बन्दै गाइरहेको छ ।’ भारत, चीन, बंगलादेश लगायत सबैजसो मुलुकले एन्टीडम्पिङ कानुन ल्याइसकेको अवस्थामा पनि नेपाल भने मौन रहेको उनको बुझाइ छ । साथै धागो निर्यातमा चीनले १७ प्रतिशत, भारतले ५ देखि आवश्यकता अनुसार १० प्रतिशत अनुदान दिइरहँदा नेपालले पनि अनुदान बढाउन पर्ने धागो व्यवसायीहरुको जोड छ । नेपालमा धाागो उद्योगहरुको १५ अर्ब रुपैयाँ लगानी छ । विदेशबाट कच्चा पदार्थ आयत गरी स्वदेशमा धागो उत्पादन भइरहेको छ । उद्योगले हाल १० हजार जनालाई प्रत्यक्ष रोजगार दिएको छ भने, भ्यालु एडिशन कम्तिमा पनि ५० प्रतिशत रहेको मंलबार राजधानीमा पत्रकार सम्मेलन गरी संघले जानकारी गराएको छ ।

बोस्निया र हर्जेगोभिनाको विशेष फोटो प्रदर्शनी बुधबारसम्म हुने

काठमाडौं । नेपालस्थित बोस्निया र हर्जेगोभिनाको माननीय कन्सुलेटले बोस्निया र हर्जेगोभिनाको प्राकृतिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदा झल्काउँदै तस्बिरहरुको एक विशेष प्रदर्शनी आयोजना गरेको छ । कन्सुलेटले दक्षिण पूर्वी युरोपको मुटुमा अवस्थित सो राष्ट्रको पर्यटन प्रचारको उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरेको हो । सो प्रदर्शनीको उद्घाटन संयुक्त रुपमा माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्रप्रसाद अधिकारी तथा बोस्निया र हर्जेगोभिनाका राजदूत डा. साबिट सुबासिचद्वारा इभोक बिस्ट्रो एण्ड क्याफेमा आयोजित एक विशेष समारोहमा गरिएको थियो । उक्त समारोहमा फ्रेन्ड्स अफ बोस्निया र हर्जेगोभिना इन नेपाल समूहसहित अन्य विशेष अतिथिहरुको उपस्थिति पनि रहेको थियो । एड्रियाटिक सागरको किनारमा अवस्थित बोस्निया र हर्जेगोभिनाको ऐतिहासिक संस्कृति तथा प्राकृतिक छवि निकै सुन्दरतापूर्वक विश्वप्रख्यात फोटोग्राफर प्रकाश ब्याङले आफ्नो क्यामेराद्वारा तस्बिरमा कैद गरेका छन् । बोस्निया र हर्जेगोभिना एक उचित युरोपियन गन्तब्य पर्यटकीय स्थलको रुपमा प्रख्यात छ । बोस्निया र हर्जेगोभिनाको प्राकृतिक सुन्दरता तथा संस्कृति र त्यहाँका नागरिकहरुलाई तस्बिरका माध्यमबाट परिचित गराउने यस प्रदर्शनीको मूल उद्देश्य रहेको छ । उक्त प्रदर्शनी सार्वजनिक रुपमा ललितपुरको झम्सिखेलमा अवस्थित इभोक बिस्ट्रो तथा क्याफेमा सोमबार(अप्रिल १६ देखि १८) बुधबारसम्म बिहान १० बजे देखि बेलुका ५ बजेसम्म खुला रहने छ ।

सिजी स्मार्टफोनद्धारा ‘ओमेगा ६’ माेबाइल नेपाली बजारमा, मूल्य ९ हजार ७७७ रुपैयाँ

काठमाडौं । सिजी मोबाइल्स प्रालिले ओमेगा सिरिजमा नयाँ स्मार्टफोन–ओमेगा ६ स्मार्टफोन ल्याएको छ । कम्पनीले आफ्नो ओमेगा ६ तीन क्यामरा भएको स्मार्टफोन मूल्य ९ हजार ७७७ रुपैयाँ सहित बजारमा सार्वजनिक गरेको छ । यो स्मार्टफोन ब्ल्याक र गोल्डेन कलरमा उपलब्ध हुन्छ । यो स्मार्टफोनमा उत्कृष्ट सेल्फी खिच्नका लागि ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ भने फ्ल्याशसहित १३ मेगापिक्सेल प्लस २ मेगा पिक्सेलको अटोफोकस ड्यूल रियर क्यामरा रहेको छ । फोनमा रहेको ५.५ इन्चको एचडी आइपीएस डिस्प्लेले प्रयोगकर्तालाई फोनमा उच्चतम तथा स्पष्ट तस्विर देखाउँछ । ओमेगा ६ लाई उत्कृष्ट बजेट स्मार्टफोनको रुपमा परिभाषित गर्न यो फोनमा फिंगर प्रिन्ट अनलक समेत दिईएको छ, जसले प्रयोगकर्ताको व्यक्तिगत डाटा सुरक्षित बनाउँछ । ओमेगा ६ मा ड्यूलसिम सपोर्ट गर्दछ । यो फोनमा १.३ गीगाहर्जको क्वाड कोर प्रोसेसर राखिएको छ भने १ जीबी र्याम तथा १६ जीबीको आन्तरिक स्टोरेज रहेको छ । यसको स्टोरेजलाई माइक्रो एसडी कार्डद्धारा ३२ जीबीसम्म थप गर्न सकिन्छ जसमा तपाईँले आफुले चाहे अनुसारको गेमहरु, एप्स, तस्विरहरु, भिडियोहरु लगायतका आवश्यक डाटाहरु राख्न सक्नेछन् । गूगलद्धारा प्रमाणित एन्ड्रोयड ७.० नगेट अपरेटिंग सिस्टममा आधारित ओमेगा ६ स्मार्टफोनमा वाईफाई, ब्लूटूटथ, यूएसबी, थ्रीजी कनेक्टिभिटी रहेको छ । यो फोनमा २,६०० एमएएच ब्याट्री राखिएको छ, जसले लामो समयसम्म काम गर्न सक्ने क्षमता प्रदान गर्दछ जून यो मूल्य श्रेणीका फोनहरुमा हुँदैन । यसको मूल्यको आधारमा यो बजेट स्मार्टफोन खरिदको निर्णय महत्वपूर्ण हुनेछ, जसमा ग्राहकलाई आवश्यक सम्पूर्ण विशेषताहरु समावेश भएका छन् । ओमेगा ६ स्मार्टफोन देशभरिका मुख्य रिटेल स्टोरहरुमा उपलब्ध छ ।