मेगा बैंकमा टुरिजम् डेभलपमेन्ट गाभियो, एकिकृत कारोबार आजैबाट शुरु
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेड र टुरिजम् डेभलपमेन्ट बैंक एक आपसमा गाभिएका छन् । दुई कम्पनी गाभिएपश्चात आइतबारबाटै मेगा बैंक लि.को नामबाट एकिकृत कारोबार शुरु भएकाे छ । काठमाडौंमा आयोजित मर्जर कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबि नेपालले मेगा बैंकको प्रगतिका लागि शुभकामना दिएका छन् । कार्यक्रममा मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले टुरिजम डेभलपमेण्ट बैंकको १ कित्ता शेयर हुने शेयरधनीलाई गाभिए पछि मेगा बैंकको ०.९५ कित्ता शेयर प्रदान गर्ने गरी शेयर आदानप्रदान अनुपात (स्वाप रेसियो) निर्धारण भएको जनाएका छन् । मेगा बैंकको यो दोस्रो मर्जर हो । यसअघि मेगा बैंकसँग बुटवलमा केन्द्रिय कार्यालय रहेको पश्चिमाञ्चल डेभलपमेन्ट बैंक गाभिएको थियो । ‘टुरिजमसँगको मर्जपछि मेगा बैंक चुक्ता पुँजीको आधारमा देशकै तेस्रो ठूलो वाणिज्य बैंकको रुपमा स्थापित भएको छ,’ मेगा बैंकका अध्यक्ष शाहले भने- ‘यसले मेगा बैंकको नेटवर्कमा मात्र वृद्धि भएको छैन, व्यावसायिक अवसरहरुमा पनि वृद्धि गरेको छ । मेगा बैंकका शाखा कार्यालयहरु अब ३२ वटा जिल्लाबाट विस्तारित भएर देशका ४९ वटा जिल्लामा पुगेको छ । हामी सातवटै प्रदेशमा मेगा बैंकको प्रदेश हेडक्वार्टर स्थापना गर्ने गरी अगाडि बढिरहेका छौँ । आर्थिक सम्भावनाका नयाँ क्षेत्रहरु पहिल्याउँदै कृषि, पर्यटन र जलविद्युतको क्षेत्रमा प्राथमिकताका साथ बैंकको मुख्य व्यावसायलाई केन्द्रित गर्छौं ।’ संयुक्त मर्जर समितिका संयोजक एवं मेगा बैंक संचालक समितिका सदस्य गोपाल खनालले मर्जरपछि पुँजी, सामथ्र्य, नेटवर्क र व्यावसायिक प्रतिस्पर्धाका आधारमा मेगा बैंक देशकै उत्कृष्ट बैंक बन्ने बताएका छन् । मेगा बैंकका सिइओ अनुपमा खुञ्जेलीले टुरिजमका ३६ वटा शाखा थपिएपछि मेगा बैंकका शाखा कार्यालय ९१ वटा पुगेको जानकारी दिइन् । मर्जरअघि मेगा बैंकको चुक्ता पुँजी ७ अर्ब ३७ करोड रुपैयाँ र टुरिजम डेभलपमेन्ट बैंकको २ अर्ब १ करोड रुपैयाँ रहेको थियो । तर, शेयर आदानप्रदान अनुपात समायोजनपछि थप भएको १ अर्ब ९१ करोड रुपैयाँको चुक्ता पुँजीसहित मर्जरपछि मेगाको चुक्ता पुँजी ९ अर्ब २९ करोड रुपैयाँ कायम भएको छ । १० करोड रुपैँया पुँजीगत जगेडामा थप भएको कम्पनीले जनाएको छ । यसैगरी, मर्जरपछि बैंकको निक्षेप ५७ अर्ब ५५ करोड रुपैँया पुगेको छ भने कर्जा ५५ अर्ब ७० करोड रुपैँया कायम भएको छ ।
ब्याजदर बढ्दा जलविद्युत लगानीलाई फाइदै फाइदा, बैंकको ब्याजबाट मात्रै ८९ करोड आम्दानी
काठमाडौं । बैंकहरुले निक्षेपको ब्याजदर बढाउँदाको बढी फाइदा सरकार स्वामित्वको जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडलाई भएको छ । अर्बाै रुपैयाँ बैंकमा बैंकमा निक्षेप राखेर प्राप्त हुने ब्याज आम्दानीबाटा नाफा गरिरहेको जलविद्युत लगानीले लगानीले यो वर्ष ब्याजदर बढ्दाको फाइदा उठाउन सफल भएको छ । रकारले जलविद्युतमा लगानी गर्न स्थापना गरेको भएपनि कम्पनीले बैंकमा निक्षेप राखेर ब्याज आम्दानी गरिरहेको छ । ब्याजदर बढ्दा चालु आर्थिक वर्षमा कम्पनीले ६२ करोड ५५ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले ४१ करोड ६६ लाख रुपैयाँ गरेको थियो । निक्षेप र कर्जाको ब्याजदर बढेपछि कम्पनीको नाफामा बढेत्तरी भएको हो । बैंकहरुले मुद्धति निक्षेपको ब्याजदर बढाएर १३ प्रतिशतसम्म पुगेको थियो । बैंकले अहिले साधारण वचतमा ८ र मुद्धतिमा ११ प्रतिशतसम्म ब्याज दिदै आएका छन् । जति ब्याजदर बढ्यो त्यतिनै जलविद्युत लगानीको आम्दानी बढ्ने गरेको छ । जलविद्युत आयोजनाबाट भएको लगानीबाट ७ करोड ९० लाख रुपैयाँ ब्याज आम्दानी गरेको कम्पनीले जनाएको छ । गत पुसमा कम्पनीले ५९ करोड ७० लाख र गत आवको सोही अवधिमा कम्पनीले ४८ करोड ५६ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो । जलविद्युत लगानीको मुल आम्दानीको स्रोत नै बैंकको ब्याजदर भएको छ । १० अर्ब रुपैयाँ चुक्तापुँजी रहेको कम्पनीमा १ अर्ब ११ करोड रुपैयाँ छ ।
सामुदायिक विद्युत उपभोक्ता महासंघमा पुनः ज्ञवाली निर्वाचित
काठमाडौं । सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपालको हालै सम्पन्न पाँचौ राष्ट्रिय महाधिवेशनले नारायण ज्ञवालीको अध्यक्षतामा तीन वर्षका लागि नयाँ कार्यसमितिको चयन गरेको छ । महासंघको उपाध्यक्ष श्रीकान्त घिमिरे, महिला उपाध्यक्षमा मीना खड्का, महासचिवमा रामकृष्ण हुमागार्इं, सचिवमा यमबहादुर पछाई र कोषाध्यक्ष ज्ञानु पाण्डे निर्वाचित भएका छन् । यसैगरी केन्द्रीय सदस्यमा १ नं प्रदेशबाट भूमिका सुब्बा र नागेश पोख्रेल, २ नं बाट दुर्गा चौंलागाई र विजय गैरे, ३ नं बाट अनिता मैनाली र हरिशरण तामाङ, ४ नं बाट फूलमाया वाग्ले र देवेन्द्र गुरुङ, ५ नं बाट विदय थापा र मीरा मरासिनी तथा ७ नं प्रदेशबाट प्रदीप शाह निर्वाचित भएका छन् । यसैगरी खुला सदस्यमा शेरबहादुर बस्नेत, हरि छन्त्याल, जंगबहादुर महतो, राजेश्वर ढकाल, सार्कीमान तामाङ निर्वाचित भएका हुन् । रासस
महिन्द्रा टु ह्वीलर अब जनकपुरमा
काठमाडौं । अग्नि मोटो इन्कले महिन्द्रा टुह्वीलरको लागि हालै सेल्स, सर्भिस र स्पेयर पार्टस्हरुको सेवा प्रदान गर्ने उद्देश्य सहित जनकपुरमा आधिकारिक शोरुमको उद्घाटन गरेको छ । उक्त शोरुमको उद्घाटन जनकपुरस्थित महागणपति अटो सेल्स् शोरुमका सांसद रामआशिष यादवले गरेका थिए । शोरुम शुभारम्को अवसरमा १० हजार ३७५ रुपैयाँदेखि २ लाख ०७ हजार ५०० रुपैयाँसम्मको छुट प्राप्त गर्न सकिने छ । शोरुमको शुभारम्भसँगै महाछुट प्राप्त हुने । यो योजना सीमित अवधिको लागिमात्र लागू हुने कम्पनीले जनाएको छ ।
पौने ९ खर्ब आयत हुदा निर्यात ६० अर्ब मात्रै, २१ प्रतिशत बढ्यो ब्यापार घाटा
काठमाडौं । गएको नौ महिनामा नेपालमा ८ खर्ब ७४ अर्ब रुपैयाँको आयात भएको छ । तर निर्यात ५९ अर्ब ७३ कराेड रुपैयाँको मात्रै भएको छ । भन्सार विभागको अनुसार चालु अर्थिक वर्षको नौ महिनाको अबधिमा मुलुकलाई ८ खर्ब १४ अर्ब रुपैयाँको ब्यापार घाटा भएको छ । उक्त व्यापार घाटा गएको वर्षको तुलनामा २१ प्रतिशत बढी हो । व्यापार घाटा बढ्दो क्रममा छ । गएको आर्थिक वर्ष २०७३/७४ को सोही अबधिमा विभिन्न मुलुकहरुसँग नेपालको व्यापार घाटा ६ खर्ब ७० अर्ब रुपैयाँ मात्रै थियो । अहिले बढेको हो । सरकारले पछिल्लो समय व्यापार घाटा घटाउने विभिन्न नाराहरु ल्याए पनि घाटा घट्न सकेको छैन, ठीक उल्टो बढिरहेको देखिन्छ । गएको वर्षभन्दा अहिले समग्र व्यापार २० प्रतिशत बढेको छ । गएको वर्षको नौ महिनामा ७ खर्ब ८० अर्ब रुपैयाँको विभिन्न मुलुकहरुसँग व्यापार भएकोमा यो वर्ष बढेर ९ खर्ब ३३ अर्ब रुपैयाँ पुगेको छ । भारतबाट मात्रै ६६ प्रतिशत आयात कुला आयातको ६६ प्रतिशत हिस्सा छिमेकी मुलक भारतबाट मात्रै आयत हुने गरेको छ । गएको नौ महिनामा भारतबाट मात्रै ५ खर्ब ७६ अर्ब रुपैयाँको आयत भएको विभागको तथ्याङकमा देखिन्छ । दोस्रो बढी छिमेकी मुलुक चीनबाट आयात भएको छ । चीनबाट सो अबधिमा १ खर्ब १३ अर्ब रुपैयाँको विभिन्न वस्तु/सामानहरुको आयात भएको हाे । ती दुई मुलकहरुमा नेपालबाट भने गाएको नौ महिनामा क्रमशः ३४ अर्ब र २ अर्ब रुपैयाँको मात्र निर्यात भएको छ । आयत र निर्यातलाई तुलना गर्दा भारतसँग ५ खर्ब ४१ अर्ब भने चीनसँग १ खर्ब ११ अर्ब रुपैयाँ ब्यापार घाटा देखिन्छ । त्यस्तै गएको वर्षको नौ महिना र चालु वर्षको सोही अबधिलाई तुलना गर्दा अहिले निर्यातभन्दा आयात ११ गुणा बढी छ । कुल व्यापारको ९४ प्रतिशत आयत भएकोमा निर्यातको हिस्सा ६ प्रतिशत मात्रै छ ।
नेपाल इन्भेष्टमेण्ट बैंकको थप चारवटा शाखा सञ्चालनमा
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले दोलखा, पाँचथर, नुवाकोट र रामेछापमा गरी चारवटा शाखा तथा रसुवाको धुन्चेमा एक्स्टेन्सन काउन्टर खोलेको छ । यीसँगै अब बैंकको शाखा संख्या ७० वटा पुगेको छ भने एक्स्टेन्सन काउन्टर पाँचवटा पुगेको छ । दोलखाको सिंगटी, पाचथरको राँके, नुवाकोटको चोकदे तथा रामेछापको लिखूमा बैंकले आफ्ना क्रमश ६७औं, ६८औं, ६९औं र ७०औं शाखा विस्तार गरेको हो । बैंकले ग्रामीण क्षेत्रका सर्वसाधारणलाई समेत सहज बैंकिङ सेवा प्रदान गर्ने उदेश्यले प्रदेश अनुसार वित्तीय संजाल नपुगेका क्षेत्रमा शाखा विस्तार गर्ने योजना अनुसार शाखा विस्तारको अभियानलाई निरन्तरता दिएको हो । हाल प्रदेश नम्वर १ मा ९ वटा, प्रदेश नम्वर २ मा ६ वटा, प्रदेश नम्वर ३ मा ३४ वटा, प्रदेश नम्वर ४ मा ६ वटा, प्रदेश नम्वर ५ मा ७ वटा, प्रदेश नम्वर ६ मा ४ वटा र प्रदेश नम्वर ७ मा ४ वटा शाखा रहेको छ । साथै, बैंकले भविष्यमा देशका विभिन्न क्षेत्रमा थप शाखा खोली शाखा संजाललाई अझ विस्तार गर्ने योजना बनाएको छ ।
अब कोशीमा मिनी पानी जहाजः बराहक्षेत्रदेखि भोजपुरसम्म २५ जना यात्रु बोकेर दौडने
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले भारत भ्रमणका क्रममा कोशी नदिसम्म पानी जहाज ल्याउने सहमति गरेको केहि समयपछि नै मिनी पानी जहाज सञ्चालनमा आउने भएको छ । असोज महिनामा कोशी नदिमा २५ सिट क्षमताको मिनी पानी जहाजको परिक्षण सञ्चालन हुँदैछ । बराहक्षेत्र जल यातायात तथा पर्यटन सेवा प्रालीले असोजदेखि ३ वटा मिनी पानी जहाजबाट बराहक्षेत्रदेखि भोजपुरसम्म जल यात्रा आरम्भ गराउन लागेको हो । २५ सिट क्षमताको जेटबोटले चतरादेखि भोजपुरको सिम्लेसम्म ५०.६० किलोमिटर दुरी पार गर्नेछ । जेटबोट असाजदेखि परिक्षणमा आउने प्रालीका परमर्शदाता प्रकृति कन्सल्टेन्टका म्यानेजर माधव घिमिरेले बताए । ‘नेपालमा यो जेटबोट पहिलो पटक भित्र्याउन लागिएको हो, यसको प्ररम्भिक लागत ५ करोड अनुमान गरिएको छ, यसले आन्तरिक तथा बाह्य पर्यटकलाई मनोरञ्जन दिनेछ,’ म्यानेजर घिमिरेले विकासन्युजसँग भने । जेटबोट सुनसरी, उदयपुर, धनकुटा र भोजपुर हुँदै बग्ने सप्तकोशी, सुनकोशी र अरुण नदिमा सञ्चालन हुनेछ । जेटबोट असार र साउनमा नदी बहाब धेरै हुने भएकाले परिक्षणमा ल्याउन नसक्ने प्रालीले जनाएको छ । प्रालीले जल यातायात सञ्चालन गर्दा पर्न सक्ने वातावरणीय प्रभावलाई आधार मानी सुझाव माग गरेको छ । यस योजना सञ्चालन गर्दा ४ जिल्लाका ४ नगरपालिकाहरु प्रभावित हुनेछन् । प्रभावित हुने नगरपलिकाहरुमा बराह, बेलका, हंतुवागढी र खाल्सा छिन्ताङ शहिदभुमी रहेका छन् । यी नगरपालिकामा रहेका व्यक्ति वा संस्थाले आयोजना सञ्चालन सम्बन्धी लिखित तथा मौखिक सल्लाह तथा सुझाव दिन सक्ने प्रालीले जनाएको छ ।
वोमी माइक्रोफाइनान्सको ३० प्रतिशत हकप्रद सेयर जेठ १६ देखि खुला, कँहाबाट भर्ने ?
काठमाडौं । वोमी माइक्रोफाइनान्स वित्तीय संस्था लि.को ३० प्रतिशत हकप्रद सेयर आगामी जेठ १६ गतेदेखि आउने भएको छ । संस्थाले १० कित्ता बराबर ३ कित्ताको अनुपातमा अंकित मूल्य एक सय रुपैंयाँको २ लाख ३३ हजार २८० कित्ता हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको थियो । आगामी जेठ ३ गतेसम्म सेयर खरिद गर्ने लगानीकर्ताहरुले सो मात्राको हकप्रद भर्न सक्नेछन् । संस्थाले असार १९ गतेसम्म हकप्रद सेयरका लागि आवेदन दिन सक्ने व्यवस्था गरेको छ । हाल कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । उक्त हकप्रदको लागि वोमी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड लगायत तथा यसका सम्पूर्ण शाखा कार्यालयहरु र काठमाडौंको नक्साल, नारायणचौरमा रहेको सिद्धार्थ क्यापिटल लि. बाट आवेदन दिन सकिने व्यवस्था गरेको छ । साथै, नेपाल धितोपत्र बोर्डबाट अनुमति लिन आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सी–आस्वा प्रणाली मार्फत समेत आवेदन दिन सकिने कम्पनीले जनाएकाे छ ।