विकासन्युज

घरेलु अर्थतन्त्रलाई नोक्सानी पुर्याउने सेवा तथा वस्तुको आयातमा रोक

काठमाडौं । सरकारले घरेलु अर्थतन्त्रमा नकारात्मक असर गर्ने सेवा तथा वस्तुहरुको आयातमा रोक लगाउने भएको छ । सरकारले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम मार्फत आयातमा कडाई गर्न लागेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले वाचन गरेको नीति तथा कार्यक्रममा भनिएको छ–आगामी आर्थिक बर्षदेखि जनस्वास्थ्यमा प्रतिकुल असर गर्ने र घरेलु अर्थतन्त्रलाई नोक्सानी पुर्याउने बस्तु तथा सेवाको आयातमा रोक लगाउने नीति लिइनेछ ।’ सरकारले अब रक्सी, चुरोट, खैनी, मेकअपका समान, बिलासिताका सवारी साधन लगायतको आयातलाई प्रतिस्थापन गर्ने योजना अघि सार्न लागेको हो । आयात वृद्धि तथा निकासीमा भारी गिरावट आउन थालेपछि सरकारले घरेलु उद्योग संरक्षणका लागि यस्तो कदम चाल्न लागेको हो । आयातमा भएको वृद्धिले व्यापार घाटा चुलिएको छ ।

५ वर्षमा कृषिको उत्पादन दोब्बर बनाइने

काठमाडौं । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले  अबको ५ वर्षमा कृषि क्षेत्रको उत्पादन दोब्बर बनाउइने बताइन् । उनले त्यसको लागि कृषिलाई आधुनिकिकरण गर्ने, प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनालाई प्रभावकारी रुपमा अघि बढाउने, कृषि भूमिको खण्डीकरण रोक्ने लगायत कार्य अघि बढाउने बताइन् । कृषिको वहुउपयोगी हुनेगरी उत्पादनहरुको विविधिकरण गरिने समेत उनको भनाइ छ ।

नगद भुक्तानी निषेध, बैंकबाट मात्रै पैसाको लेनदेन

काठमाडौं । सरकारले अब नगद भुक्तानीलाई निषेध गर्ने भएको छ । संसदमा प्रस्तुत गरिएको सरकारको नीति तथा कार्यक्रमले अब सबै खाले भुक्तानीहरुलाई बैंकिङ प्रणालीबाट मात्रै हुने व्यवस्था गर्ने योजना अघि सारेको हो । त्यस्तै, विभिन्न संघ संस्था र कोषहरुमा रहेको निष्कृय श्रोतलाई उत्पादन मुलक क्षेत्रमा लगाउने योजना पनि अघि सारिएको छ । सरकारले वित्तीय क्षेत्रका नियामक निकायहरुको नियामकीय क्षमता अभिवृद्धिका लागि पनि विशेष योजना ल्याउने बताएको छ । त्यस्तै, आगामी आर्थिक बर्षमा कृषि बीमा कार्यक्रमलाई अझै विस्तार गर्ने योजना पनि सरकारले अघि सारेको छ ।

आगामी आर्थिक बर्षमा दोहोरो अंक नजिकको आर्थिक वृद्धिदर

काठमाडौं । सरकारले आगामी आर्थिक बर्षका लागि दोहोरो अंकको आर्थिक वृद्धिदर लक्ष्य निर्धारण गरेको छ । व्यवस्थापिका  संसदमा प्रस्तुत भएको सरकारको नीति तथा कार्यक्रममा आगामी आर्थिक बर्षमा दोहोरो अंक नजिकको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य तय गरेको हो । सरकारले चालु आर्थिकमा ७.२ प्रतिशतको आर्थिक वृद्धिदर हुने अपेक्षा गरेको थियो । तथ्यांक विभागको पछिल्लो प्रतिवेदन अनुसार ५.८९ प्रतिशत आर्थिक वृद्धिदर हुने देखिएको छ ।१४ औं योजनाले आगामी आवमा आर्थिक वृद्धिदर ८.९ प्रतिशत हुने प्रक्षेपण गरेको छ ।

ट्रस्टबिजद्धारा बेल्जियन बैंकिङ्ग एकेडमीसँग सम्झौता

काठमाडौं । ट्रस्टबिज प्राइभेट लिमिटेड र ब्रसेल्स स्थित बेल्जियन बैकिङ्ग एकेडमीबीच बैकिङ्ग सम्बन्धमा उच्चस्तरीय अध्ययन एवं प्रशिक्षण कार्यक्रमहरुको तर्जुमा तथा सञ्चालनका लागि सहकार्य गर्नका निमित्त सम्झौता भएको छ । यस सहकार्यले बैकहरुका संचालक समितिका पदाधिकारीहरुलाई संस्थागत सुशासन, जोखिम व्यवस्थापन, स्वार्थको द्धन्द्ध, अनुपालना, नियामक निकायसँगको सम्बन्ध एवम् समन्वय लगायतका विषयमा अन्तर्राष्ट्रिय असल अभ्यास बिषय समेटीएको अभिमुखीकरण तथा पुनर्ताजगीकरण प्रशिक्षण बेल्जियन बैकिङ्ग एकेडमीका बिशेषज्ञहरुले प्रदान गर्नेछन । यसैगरि बैकका उच्च व्यवस्थापनमा रहेका अधिकृतहरुलाई जोखिम व्यवस्थान, सञ्चालन, बैकिङ्ग प्रविधि र नयाँ बैंकिंग र वित्तीय उपकरणहरुको प्रयोगको तालिम ट्रस्टबिज प्राइभेट लिमिटेड समन्वयमा बेल्जियन बैकिङ्ग एकेडमी प्रदान गर्नेछ । “यस सम्झौताले परिपक्क तथा बिकसित युरोपियन बैकिङ्गको अनुभव, ज्ञान र सीपमा नेपाली बैंकहरुको पहुच पुर्याएको छ ।“ ट्रस्टबिज प्राइभेट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिवस न्यौपानेले बताए । बेल्जियन बैंकिङ्ग एकेडमी एक बेल्जियन बैकिङ्ग एसोसिएसनबाट बैकिङ्ग तालिम प्रदान गर्न स्थापना गरिएको सस्था हो । यसले युरोपका बैंकका पदाधिकारी तथा अधिकृतहरुको क्षमता अभिवृद्धिका आवश्यकता पूर्ति गर्नका लागि आवश्यक तालिम उपलब्ध गराउँछ । ट्रस्टबिज प्राइभेट लिमिटेड तथा बेल्जियन बैकिङ्ग एकेडमीले पारस्परिक सहकार्यमा बेल्जियम तथा अन्य युरोपियन देशमा आयोजित विभिन्न बैकिङ्ग तालिमहरुकालागि विशेषज्ञ तथा ज्ञान अदान-प्रदान गर्नेछन् ।    

संसदमा सरकारको नीति तथा कार्यक्रमः दुई छिमेकीसँगको असल छिमेक सम्बन्धमा विश्वास गर्छाै(लाइभ)

काठमाडौं । प्रतिनीधि सभा र राष्ट्रिय सभामा सरकारको नीति तथा कार्यक्रम प्रस्ततु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् । उनले सबैका लागि समानतासहितको आर्थिक समृद्धिको मार्ग चित्र अघि सारिएको बताइन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस  । दुबै छिमेकीसँगको असल छिमेक सम्बन्धमा सरकारले विश्वास राख्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । नीति था कार्यक्रमले आगामी आर्थिक बर्षलाई समृद्धिको इतिहास रच्ने बर्ष बनाउने र भावी पुस्ताले सम्झने गरि विकास निर्माणका कामलाई अघि बढाइने लक्ष्य लिएको छ ।

सानिमा लाईफ इन्स्योरेन्स र एनआरएनएबीच जीवन बीमा सम्झौता

काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्स लिमिटेड र गैर आवासीय नेपाली संघ(एनआरएनए)बीच जीवन बीमा सेवा सम्बन्धी संझौता भएको छ । उक्त सम्झौता पत्रमा इन्स्योरेन्सका तर्फबाट नायव महाप्रबन्धक केशवराज केसी र एनआरएनएका तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा.हेमन्तकुमार दवाडीले हस्ताक्षर गरेका हुन् । सम्झौता पश्चात इन्स्योरेन्सले एनआरएनएको विश्वभरका सदस्यहरुलाई सुलभ रुपमा आधुनिक स्तरको प्रविधियुक्त जीवन बीमा सेवा उपलब्ध गराउने भएको छ । कार्यक्रममा इन्स्योरेन्सका सञ्चालक घनश्याम थापा, एनआरएनएका भाइस प्रिसिडेन्ट सपीलाराज भण्डारी, एनआरएन एनसीसी रसियाका प्याट्रोन खेमराज लामिछाने लगायतको उपस्थिती थियो ।  

नागरिक लगानी कोषको लाभांशमा लगानीकर्ता लोभिए, सबैभन्दा बढी सेयर कारोबार

काठमाडौं । सोमबारको सेयर बजार घटेपनि लगानीकर्ता नागरिक लगानी कोषको लाभांशमा लोभिएका छन् । लगानी कोषले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई २२.०६ प्रतिशत बोनस र कर प्रयोजनको लागि १.१६ प्रतिशत नगद लाभांश दिने घोषणा गरेपछि लगानीकर्ताको आकर्षण बढेको हो । काेषले साेमबार बिहान मात्रै सो मात्राको लाभांश दिने घोषणा गरेको थियो । लाभांश घोषणा गरेकै दिन कम्पनीको सबैभन्दा बढी रुपैयाँको सेयर कारोबार भएको छ । दिनभर १०१ चोटी कारोबार भएको यस कम्पनीको २ करोड ४१ लाख ९३ हजार रुपैयाँको सेयर किनबेच भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता २ हजार ७२५ रुपैयाँ रहेको छ । समग्रमाः नेप्से परिसूचक २.०६ अंकले घटेर १३३७.१३ अंकमा झरेको छ । सो दिन १६३ कम्पनीको ८ लाख ७ हजार सेयर ३५ करोड ५४ लाख रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, राष्ट्रिय बीमा कम्पनीका लगानीकर्ताले करिब ६ प्रतिशत गुमाएका छन् । बजारमा सबैभन्दा बढी बीमा समूहको सूचक ओरालो लागेको छ । बीमा ७६ अंकले ओरालो लागेको छ भने माइक्रोफाइनान्स समूह ३५ अंकले उकालो लागेका छन् । बजारमा होटल, उत्पादन र अन्य समूह सामान्य अंकले उकालो लागे पनि बाँकी समूह भने सामान्य अंकले ओरालो लागेका छन् । सोमबार नयाँ नेपाल लघुवित्त विकास बैंकको सेयर मूल्य ९.७१ प्रतिशतले बढेको छ । त्यस्तै, स्वरोजगार वित्तीय विकास बैंक र नागबेली लघुवित्त विकास बैंकका लगानीकर्ताले क्रमशः ६.९४ र ६.७६ प्रतिशत कमाएका छन् ।