मर्सिडिजले चीनको हेसेईसँग मिलेर स्मार्ट कार बनाउने

  २०८१ फागुन २९ गते ११:१८     विकासन्युज

काठमाडौं । मर्सिडिज बेन्जले चीनको हेसेईको लिडारसँग मिली विश्वव्यापी बजारका लागि स्मार्ट ड्राइभिङ कार बनाउने भएको छ ।

विदेशी कार निर्माताले चीन बाहिर बिक्री हुने मोडेलहरूमा यस्तो चिनियाँ प्रविधि प्रयोग गर्ने निर्णय गरेको यो यो पहिलो पटक हो ।

मर्सिडिज बेन्जले हेसेईका लिडार सेन्सरहरू आफ्ना नयाँ स्मार्ट कारहरूमा जडान गर्ने भएको हो । यसले मर्सिडिजका कारहरूलाई थप स्मार्ट र सुरक्षित बनाउनेछ ।

उदाहरणका लागि यदि कार अटोमेटिक ब्रेकिङ सिस्टम वा लेन परिवर्तन सहायता जस्ता सुविधाहरू प्रयोग गर्छ भने हेसेईको लिडारले कारलाई वरपरको वातावरण तुरुन्तै बुझ्न मदत गर्छ ।

मर्सिडिजका केही मोडेलहरूमा पहिले नै स्मार्ट ड्राइभिङ सुविधा छन्, तर अहिले चीनको हेसेईसँग मिलेर कम लागतमा अझ प्रभावकारी लिडार प्रविधि प्रयोग गर्ने तयारीमा छ ।

स्रोतका अनुसार मर्सिडिजले कानुनी र भू-राजनीतिक जोखिमहरूका कारण महिनौंसम्म निर्णयमा छलफल गरेको थियो ।

अन्ततः मर्सिडिजले कम लागत र ठूलो मात्रामा उत्पादन गर्ने क्षमताका कारण चीनको सबैभन्दा ठूलो लिडार निर्माता हेसेईलाई रोजेको हो ।

हेसेई जसको प्रतिस्पर्धीमा अमेरिकी कम्पनी लुमिनार पनि पर्छ । यस कम्पनीले सोमबार ’विशेष बहुवर्षीय’ सम्झौतामार्फत आफ्ना लिडार उत्पादनहरू एक अग्रणी युरोपेली अटोमेकरलाई आपूर्ति गर्ने घोषणा गरेको छ तर नाम भने खुलाएको छैन ।

लिडार र व्यावसायीक निर्णय

लिडारले लेजरको प्रयोग गर्छ । यो सेन्सर धेरैजसो स्वचालित प्रणालीहरूको कम्पोनेन्ट हो, जुन अटोमेकरहरूले विकास गरिरहेका छन् ।

हेसेईको लिडार सेन्सर स्वचालित वा स्मार्ट कारहरूमा प्रयोग गरिन्छ, जसले कारको वरपरको क्षेत्रको त्रि-आयामिक (थ्रीडी) नक्सा बनाउँछ, जसले कारलाई बाधा, बाटो, गाडी, पैदलयात्री, र अन्य वस्तुहरू चिन्ने र जोगिन मद्दत गर्छ ।

हेसेईका प्रमुख वित्तीय अधिकारी एन्ड्रयू फ्यानले मंगलबार यो साझेदारद्वारा गरिएको व्यावसायिक निर्णय भएको बताए । तर उनले कम्पनीको नाम खुलाएनन् ।

उनका अनुसार युरोपेली निर्माताहरूले चीनमा बिक्री हुने आफ्ना मोडेलहरूका लागि हेसेईलाई लिडार आपूर्तिकर्ताका रूपमा प्रयोग गरेका छन् ।

फ्यानका अनुसार हेसेईले चीनमा दुई उत्पादन लाइनहरू विस्तार गरिरहेको छ । बढ्दो मागलाई मध्यनजर गरी यस वर्ष वार्षिक रूपमा २० लाखभन्दा बढी युनिट उत्पादन क्षमता हासिल गर्न खोजिरहेको छ ।

चीनको अत्यधिक प्रतिस्पर्धात्मक बजारमा लिडारको माग बढ्दैछ, किनकि अटोमेकरहरूले थप स्मार्ट सुविधाहरू किफायती मोडेलहरूमा प्रदान गरिरहेका छन् ।

सोमबार लिपमोटरले आफ्नो बीटेन एसयूभीको बिक्री सुरु गरेको छ । १७ हजार ९५० डलरमा उन्नत स्मार्ट ड्राइभिङ सुविधा छ ।

फ्यानका अनुसार उक्त कारमा हेसेईको एटीएक्स लिडार जडान गरिएको छ, जसको मूल्य करिब २०० डलर प्रति इकाइ छ, जुन सुरक्षा बेल्ट र एयरब्यागभन्दा सस्तो छ। (एजेन्सीहरूको सहयोगमा)

हाइब्रिडमा सफलतापश्चात ईभीमा जम्दै टोयोटा, २०२५ र २६ मा नौवटा नयाँ ईभी ल्याउने

निसानले पायो नयाँ सीईओ, दिशाहीन कम्पनीको लय अनुभवी एस्पिनोसाको हातमा

मस्कलाई ट्रम्प प्रशासन घाँडो, वाशिंगटन प्रवेशसँगै टेस्लाका सेयर घट्दै