
काठमाडौं । अर्जेन्टिनाका राष्ट्रपति जेभियर मिलेईलाई विपक्षी सांसदहरूले महाभियोगको सामना गर्नुपर्ने धम्की दिएका छन् ।
सांसदहरूका अनुसार उनले प्रचार गरेको एक क्रिप्टोकरेन्सी केही समयमै धराशयी भएको थियो ।
शुक्रबार राति मिलेईले एक्स (ट्विटर) मा ‘$LIBRE’ नामक कम चिनिएको क्रिप्टोकरेन्सी सिफारिस गरेका थिए, जसको मूल्य छिट्टै ५ डलर प्रति सिक्का पुग्यो ।
तर केही घण्टामै उक्त क्रिप्टोकरेन्सी १ डलरभन्दा तल झर्यो ।
अर्जेन्टिनाको फिनटेक च्याम्बरले यसमा धोखाधडी हुनसक्ने सम्भावना व्यक्त गरेको छ । यसमा डेभलपर्सहरूले प्रारम्भमा लगानी भित्र्याएर सिक्काको मूल्य बढाउँछन्, तर पछि आफ्नो हिस्सेदारी बिक्री गरेर मूल्य गिराउँछन् ।
‘यो काण्डले अन्तर्राष्ट्रिय रूपमा हामीलाई लज्जित बनाएको छ। त्यसैले राष्ट्रपतिविरुद्ध महाभियोग प्रक्रिया अघि बढाउनुपर्ने आवश्यकता छ,’ विपक्षी गठबन्धनका सांसद लिआन्ड्रो सान्तोरोले भने ।
मिलेईले एक्समा गरेको पोस्ट केही घण्टापछि हटाएका थिए । स्थानीय सञ्चारमाध्यमका अनुसार पोस्ट केही घण्टासम्म मात्र रहेको थियो ।
उनले पछि स्पष्टीकरण दिँदै भने, ‘म यो परियोजनाका विवरणहरूबारे जानकार थिइनँ । जब मलाई थाहा भयो, मैले यसलाई प्रचार नगर्ने निर्णय गरें ।’