सानिमा बैंकको नेतृत्वमा अपर म्याग्दी–१ को निर्माण सुरु, १२ अर्ब लागत

<p>काठमाडौं । म्याग्दीमा ५३.५ मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत् आयोजना निर्माण सुरु भएको छ । म्याग्दीको धवलागिरि गाउँपालिका–४ छहरीमा आजदेखि आयोजनाको अडिट (मुख्य सुरुङ जाने प्रवेशमार्ग) निर्माण थालिएको हो । गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वभौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले विस्फोट गराई सुरुङ निर्माण शुभारम्भ गरेका थिए । २०७ मिटर लामो अडिट सुरुङ [&hellip;]</p>

काठमाडौं । म्याग्दीमा ५३.५ मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत् आयोजना निर्माण सुरु भएको छ । म्याग्दीको धवलागिरि गाउँपालिका–४ छहरीमा आजदेखि आयोजनाको अडिट (मुख्य सुरुङ जाने प्रवेशमार्ग) निर्माण थालिएको हो ।

गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वभौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले विस्फोट गराई सुरुङ निर्माण शुभारम्भ गरेका थिए । २०७ मिटर लामो अडिट सुरुङ निर्माण सकेपछि बाँध र विद्युत्गृहबाट पनि सुरुङ खनिने आयोजना प्रमुख ज्योतिकुमार केसीले बताए ।

धवलागिरि गाउँपालिका-४ खाम्लामा रहने बाँधदेखि मालिका गाउँपालिका-७ भरावाङसम्म ५ हजार ७ सय मिटर लामो सुरुङ निर्माणको काम आगामी ३० महिनामा सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

‘बाँध, विद्युत्गृह र सुरुङ निर्माणको काम समानान्तर हिसाबले अघि बढेको छ, आयोजनाबाट विसं २०८३ फागुनसम्म विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको छ,’ आयोजना प्रमुख केसीले भने ।

‘रन अफ द रिभर’ प्रकृतिको आयोजनाको आउटलेटदेखि विद्युत्गृहको उचाइ १९६ मिटर रहेको छ । १२ अर्ब रुपैयाँ लागत अनुमान गरिएको यस आयोजनाको प्रवर्द्धक अपर म्याग्दी जलविद्युत् कम्पनी लिमिटेड हो ।

कम्पनीका कार्यकारी अध्यक्ष भानुभक्त पोखरेलले सानिमा बैंकको नेतृत्वमा विभिन्न बैंकहरूले कूल लागतको ७५ प्रतिशत लगानी रहने आयोजनामा प्रवर्द्धक र संस्थापक सेयर आह्वान गरेर २५ प्रतिशत लगानी जुटाइने बताए ।

जलविद्युत् आयोजनाको प्रवर्द्धक कम्पनी ऊर्जा डेभलपर्स प्रालिमार्फत एक हजार मेगावाट क्षमताका आयोजना निर्माण गर्ने लक्ष्यअनुसार अपर म्याग्दी–१ बनाउन लागिएको पोखरेलले बताए । निर्माण कम्पनी लुना बिल्डर्स एण्ड कन्ट्याक्टर प्रालीले सुरुङसँगै अन्य संरचना निर्माणलाई तीव्रता दिने जनाएको छ ।

९ किलोमिटर पहुँचमार्ग बनाएको यस आयोजनाले भारवाङ, छहरी र खाम्लामा क्याम्प राखेको छ । छहरीमा नेपाली सेनाको सुरक्षा क्याम्प राखिएको छ । रातोढुङ्गादेखि खाम्लासम्म १९ किलोमिटर ३३ केभी क्षमताको प्रसारण लाइन बनाएर आयोजना निर्माणका लागि विद्युत् आपूर्ति गरेको छ । अपर म्याग्दी–१ बाट उत्पादन हुने विद्युत् मालिका गाउँपालिका–७ डाँडाखेतमा निर्माणाधीन १३२ केभी क्षमताको सवस्टेशनबाट केन्द्रीय ग्रिडमा जोडिनेछ ।

प्रदेशसभा सदस्य जुग्जाली, धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन, उपाध्यक्ष रेशम पुनमगर, नेपाली सेनाको २३ नम्बर बाहिनीका बाहिनीपति जगतबहादुर पौडेल, प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठ, सत्रु झञ्जन गुल्मका गुल्मपति रविन गुरुङलगायतको उपस्थितिमा सुरुङ निर्माण शुभारम्भ गरिएको थियो ।

Share News