काठमाडौं । अर्थमन्त्रालयको कार्यभार सम्हाल्ने वित्तिकै नवनियुक्त अर्थमन्त्री प्रकाशशरण महतले कर्मचारीको सरुवा गरेका छन् ।
चैत १७ गते शुक्रबार महतले अर्थमन्त्रीका रुपमा सपथ खाएका थिए । अर्थ मन्त्रालयमा भित्रिएको एक सातामै उनले दुई जना सहसचिवको सरुवा गरेका हुन् ।
हाल मन्त्रालय अन्तर्गत रहेको आर्थिक नीति विश्लेषण महाशाखाका प्रमुख सुमन दाहाल र वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख झक्क प्रसाद आचार्यको सरुवा गरेका हुन् ।
हाल कार्यरत दुई कर्मचारीलाई सरुवा गरेर उनले नेपाली काँग्रेस निकट रहेका भुपाल बराल, उत्तरकुमार खत्री र बाबुराम सुबेदीलाई अर्थ मन्त्रालयमा भित्र्याएका छन् । दुई सहसचिवको सरुवा गरेका उनले तीन सहसचिवलाई मन्त्रालय भित्र्याएको अर्थ मन्त्रालय स्रोतले जनाएको छ ।
मन्त्रालय स्रोतका अनुसार दाहाललाई राष्ट्रिय योजना आयोग र आचार्यलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा पठाइएको छ ।
यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेका भुपाल बराल र श्रम तथा रोजगार मन्त्रालयका रहेका उत्तरबहादुर खत्रीलाई मन्त्री महतले अर्थ मन्त्रालयमा भित्र्याएका हुन् । उनीहरु दुबैसँग अर्थ मन्त्रालयमा लामो समय काम गरेको अनुभव छ । यस्तै, अर्थमन्त्री महतले बाबुराम सुवेदीलाई समेत मन्त्रालय भित्र्याएका छन् ।
यसअघि तत्कालीन अर्थमन्त्री विष्णु प्रसाद पौडेलले अर्थमन्त्रीको जिम्मेवारी सम्हाले लगत्तै चार सहसचिवको सरुवा गरेका थिए ।
उनले प्रशासन महाशाखामा लक्ष्मी निरौला, वित्तिय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा झक्क प्रसाद आचार्य, बजेट तथा कार्यक्तम महाशाखामा धनीराम शर्मा र अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वयन महाशाखामा श्रीकृष्ण नेपाललाई भित्र्याएका थिए ।