काठमाडौं । आइएमई जनरल इन्स्योेरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स मर्ज भई सबैभन्दा ठूलो निर्जीवन बीमा कम्पनी बनेका छन् । दुई कम्पनी एक आपसमा मर्ज भई भनेको आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स चुक्ता पुँजीको आधारमा सबैभन्दा ठूलो भएको हो ।
मर्जपश्चात आईजीआई प्रुडेन्सियलको चुक्ता पुँजी ३ अर्ब २ करोड रुपैयाँ पुगेको छ । दुई कम्पनी बराबरी हैसियत अर्थात स्वाप रेसियो एक बराबर एकको अनुपातमा मर्ज हुने सहमति भएसँगै कम्पनीको पुँजी बढेर ३ अर्ब नाघेको हो । जुन निर्जीवन बीमा क्षेत्रमा सर्वाधिक पुँजी रहेको सिद्धार्थ प्रिमियरको तुलनामा बढी हो । हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ८० करोड रुपैयाँ छ ।
दुई कम्पनी एक आपसमा मर्ज हुने सम्बन्धी सम्झौताले अन्तिम रुप पाएको छ । चैत २२ गते काठमाडौंमा सम्पन्न आईएमई जनरल इन्स्योरेन्सको विशेष साधारण सभाले यसअघि दुई कम्पनीबीच भएको मर्जसम्बन्धी अन्तिम सम्झौतालाई पारित गरेको हो ।
यससँगै अब केही दिनमै कम्पनीले औपचारिक रुपमा एकीकृत कारोबार गर्ने छन् ।
सभामा आईएमई जनरलका अध्यक्ष हेमराज ढकालले हालको बीमा बजार तथा सोमा नियमन निकायबाट चुक्ता पुँजी सम्बन्धी प्राप्त निर्देशनलाई मध्येनजर गरी दुई कम्पनी मर्ज भएको बताए । कम्पनी गाभिए पश्चात हुने कम्पनीको अन्तराष्ट्रिय, राष्ट्रिय, स्थानिय पहुँच, अनुभव, क्षमतलाई बढीभन्दा बढी उपयोग गरी ७ वटै प्रदेशमा रहने शाखा संजाल लगायत डिजिटलको माध्यमबाट समेत उत्कृष्ट सेवा प्रदान गर्ने उद्देश्यले रहेको उनले बताए ।
साथै, उनले कम्पनीले निर्जीवन बीमा बजारको हालको अवस्था र भविष्यमा कम्पनीले खेल्ने रणनीतिको बारेमा बैठकलाई जानकारी गराए । नेपालमा रहेका २ उत्कृष्ट व्यवसायी घराना आइएमई ग्रुप र विशाल ग्रुप गाभिएपछि बनेको कम्पनीले भविष्यमा उत्कृष्ट व्यवसाय हासिल गर्ने र सेयरधनीहरुलाई उचित प्रतिफल प्रदान गर्ने अध्यक्ष ढकालले बताए ।
त्यस्तै, नयाँ कम्पनीको अधिकृत पुँजी ५ अर्ब, चुक्ता पुँजी ३ अर्ब २ करोड, व्यवसाय करिब ४ अर्ब, शाखा संजाल ८४ र कर्मचारी संख्या ५१७ हुने छ । साथै, नियमन निकाय बीमा प्राधिकरणले शुरु गर्न लागेको जोखिममा आधारित पुँजीको आधारमा व्यवसाय विस्तार गर्न पनि सहज हुने समेत सभाले जानकारी गराएको छ ।
संस्था गाभिए पछि पुँजी आधार सुदृढ हुनेछ, कम्पनीको वित्तीय अवस्था थप सुशासित, सुरक्षित, स्वस्थ, कुशल तथा सक्षम बन्ने र निर्जीवन बीमा क्षेत्रको विकास तथा बीमितको हक हित संरक्षणमा संस्था सफल हुने बताइएको छ । गाभिए पश्चात प्राविधिक र अन्य क्षमता, अनुभव र विज्ञता भएको मानव संशाधन एकआपसमा मिलेर संस्थालाई थप बल पुग्ने छ भने अनुभव आदान प्रदान भै गुणात्मक उपलब्धि हासिल हुने कम्पनीको विश्वास छ । जसले संस्थाको वित्तीय जग बलियो भई सेयरधनीहरूलाई उचित प्रतिफल प्रदान गर्दै पुँजी संरचना अनुसार गुणस्तरीय व्यवसाय गरिने कम्पनीको लक्ष्य छ ।
त्यस्तै, निकट भविष्यमा नेपालमा रहेको निर्जीवन बीमा कम्पनीहरुमध्ये आईजीआई प्रुडेन्सियल उत्कृष्ट कम्पनी हुने गरी स्थापित हुने समेत सभाले जानकारी गराएको छ ।