काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ओछ्यानमा पैसाको नोटमाथि सुत्नेको खोजी भइरहेको बताएका छन् । गभर्नर अधिकारीले ओछ्यानमा नाटक गरी पैसाको नोटमाथि सुत्ने मान्छेको खोजतलासी भइरहेको जानकारी दिएका हुन् ।
पछिल्लो समय बैंकमा तरलता अभाव हुँदा केही व्यक्तिहरूले सामाजिक सञ्जालमा पैसाको नोट बिछ्याएर सुतेको फोटो सार्वजनिक गरेका थिए । सोही विषयमा राष्ट्र बैंकले अनुसन्धान गरिरहेको गभर्नर अधिकारीले बताए ।
‘बजारमा पैसा कहाँ गयो ? कसले लुकायो भन्छन्, कसैले ओछ्यानमा नाटक गरी पैसाको नोटमा सुतेको फोटो देखिन्छ, त्यसरी ओछ्यानमा पैसाको नोटमाथि सुत्नेलाई राष्ट्र बैंकले अध्ययन गर्दैछ,’ उनले भने ।
गभर्नर अधिकारीले ‘ट्रेस’ गरेर ओछ्यानमा पैसामाथि सुत्ने व्यक्तिको खोजी गरिरहेको बताए । त्यसरी पैसा माथि सत्नु गलत भएको उनको भनाइ छ ।
‘त्यो विषयमा हामीले ‘ट्रेस’ गर्दैछौँ, पत्ता लगाइ रहेका छौँ, त्यसरी पैसा माथि सुत्नु गलत हो, ती व्यक्तिको खोजी गरेर छानबिन गर्ने काम भइरहेको छ,’ उनले भने ।
साथै पछिल्लो समय बजारमा नोटको सर्कुलेसन घटेको उनको भनाइ छ । डिजिटल भुक्तानी बढेका कारण एक खर्ब रुपैयाँ बराबरको नोट सर्कुलेसन घटेको उनले बताए ।
‘पहिलाको भन्दा उल्लेख्य रुपमा सर्कुलेसन घटेको छ, डिजिटल पेमेन्टको असर धेरै राम्रो परेको छ, असार मसान्तमा सरकारको खर्च धेरै हुँदा र दशैँ तिहारमा नोटको सर्कुलेसन बढी हुन्छ तर, विगत २ वर्षदेखि नोटको सर्कुलेसन बढाउनु परेको छैन,’ उनले भने, ‘२०७८ असोजमा सबैभन्दा धेरै ७२८ अर्ब रूपैयाँ बराबरको सर्कुलेसन भएको थियो, पछिल्लो तथ्याङ्क हेर्दा ६२७ अर्ब रूपैयाँमा झरेको छ ।’