मोबाइलबाटै हेर्न सकिन्छ निःशुल्क रुपमा विश्वकप फुटबल

  २०७९ मंसिर ५ गते १७:५४     विकासन्युज

काठमाडौं । फिफा विश्वकप फुटबल प्रतियोगिता आइतबारबाट कतारमा सुरु भएको छ । करिब ६० हजार दर्शक क्षमता भएको अल बायत स्टेडियमबाट उद्घाटन भएको विश्वकप झण्डै आगामी २ महिनासम्म सञ्चालन हुनेछ ।

उद्घाटन खेलमा कतार र इक्वेडरबीच प्रतिस्पर्धा भएको थियो । समूह ‘ए’ मा रहेको कतार र इक्वेडरबीचको खेलमा कतार पराजय भएको छ । आज पहिलो खेल इरान र इङल्यान्डबीचमा हुनेछ भने दोस्रो खेल नेदरल्यान्ड र सेनेगलबीचमा हुनेछ ।

नेपालमा पनि फुटबल खेलका निकै ठूलो संख्यामा प्रशंसकहरु छन् । यसअघि घरघरमा टेलिभिजनमार्फत् सहजै रुपमा हेर्ने सुविधा भएकोमा यसपटक भने भिन्न प्याकेजमार्फत् खरिद गरेर मात्रै विश्वकप हेर्न पाइने व्यवस्था गरिएको छ ।

नेपालमा विश्वकप पदर्शनको अधिकार मिडिया हबले ४० करोड रुपैयाँ तिरेर लिएको छ । मिडिया हबले विश्वकप फुटबल महासंघसँग प्रसारण अधिकार लिँदा टेरिटरी लक हुने अधिकार पनि लिएको छ, जुन फिफाले यो वर्षदेखि अख्तियार गरेको नयाँ नीति हो । अर्थात् मिडिया हबले स्वीकृति दिएर प्रसारण हुने बाहेकका टिभी च्यानलमा विश्वकप प्रसारण हुँदैन ।

यसअघि भारतीय च्यानलहरुसँग सम्झौता गरी नेपालमा विश्वकप प्रसारण गरिएको थियो । जसले गर्दा नेपाली दर्शकहरुलाई विश्वकपको प्रत्यक्ष प्रसारण हेर्न सस्तो परेको थियो । तर, यसपटक भने मिडिया हबको प्रसारणमा व्यवसायिक एकाधिकार भएसँगै दर्शकहरुका लागि शःशुल्क र महँगो पर्न गएको छ । यसलाई एक्सक्लुसिभ अधिकार भनिन्छ, जुन नेपालमै पहिलोपटक प्रयोग भएको हो ।

मिडिया हबले ५०० रुपैयाँ तिरेर विश्वकप हेर्न सक्ने व्यवस्था गरेपनि कतिपय ग्राहकले पैसा र्तिदा पनि विश्वकप हेर्न नपाएको गुनासो सामाजिक सञ्जालमा व्याप्त छ ।

तर, पैसा तिरेर वा टिभी मार्फत विश्वकप हेर्ने सुविधा नभएका दर्शकहरुलाई पनि निःशुल्क रुपमा विश्वकप हेर्ने सुविधा भने छ । त्यसको लागि विभिन्न इन्टरनेट प्लेटफर्महरुले सुविधा उपलब्ध गराएका छन् । जसको प्रयोग गरेर मोबाइलबाट र स्मार्ट टेलिभिजनमार्फत् फिफा वर्ल्डकपको प्रत्यक्ष प्रसारण हेर्न सकिन्छ ।

मोबाइलबाट निःशुल्क रुपमा विश्वकपको प्रत्यक्ष प्रसारण हेर्नको लागि तपाईंले वेब ब्राउजरबाट एचएनसी स्पोर्टस डट एक्सवाइजेड साइटमा गएर एचएनसी स्पोर्टस लाइभ टिभी एपीके एप डाउनलोड गर्नुपर्ने हुन्छ । सो एप डाउनलोड गरिसकेपछि त्यसलाई इन्स्टल गर्नुपर्ने हुन्छ । त्यसपछि सोही एप्लिकेसन खोलेर फिफा डब्लुसी २०२२ भन्ने लिंक खोल्नुपर्ने हुन्छ ।

सो लिंक खोल्दा विश्वकप हेर्ने ५ वटा विकल्प त्यहाँ राखिएका छन् । विश्वकप शुरु भएपछि ती ५ वटा विकल्पमध्ये कुनै एक विकल्पबाट विश्वकप लाइभ भइरहेको हुन्छ । तपाईंले सोही प्रकृयाबाट निःशुल्क रुपमा विश्वकप फुटवलको प्रत्यक्ष प्रसारण हेर्न सक्नुहुन्छ । जुन पूर्ण रुपमा एचडी क्वालिटीमा प्रसारण भएको हुन्छ । तपाईंले मोबाइललाई टिभीमा जोडेर मोबाइलमा चलिरहेको विश्वकप फुटबल टिभीमा पनि सहजै हेर्न सक्नुहुन्छ ।

५६५ तिर्नुपर्ने बाध्यता

नेपाली ग्राहकले आइतबारदेखि कतारमा सुरु भएको वर्ल्डकप फुटबल खेल हेर्न करसहित ५६५ रुपैयाँ तिरेको बताइएको छ । आइतबार सुरु भएको खेल हिमालय प्रिमियर च्यानलले निःशुल्क रुपमा प्रसारण गरेतापनि शुल्क भुक्तानी गर्छु भन्ने ग्राहकले पेमेन्ट गेटवेमा समस्या आउँदा भुक्तानी गर्न नपाएको मिडिया हबले स्वीकारेको छ ।

मिडिया हबका कार्यकारी निर्देशक सोम धिताल पर्याप्त समय नहुँदा र धरैले एकै पटक रकम भुक्तानी गर्दा पेमेन्ट गेटवेमा समस्या देखिएको बताए ।

‘हामीले छोटो समयमा धेरै तयारी गर्दा आइतबार भएको उद्घाटन शत्रको खेल देखाउन केही समस्या भयो, अहिले हामी सबै जनशक्ति प्रयोग गरेर समस्याको समाधान गर्न लागेका छौँ,’ उनले भने ।

उनले सबै जनशक्ति आवश्यक तयारीमा जुटेको भन्दै कति ग्राहकले शुल्क तिरे यकिन तथ्यांक आउन सकेको छैन ।

One comment on "मोबाइलबाटै हेर्न सकिन्छ निःशुल्क रुपमा विश्वकप फुटबल"

  • kushal bhandari says:

    पैसा तिरेर त हेरीदैन अरुको खेल आफ्नो देस को भय सोच्न हून्थो बरै

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.