युनिलिभरमा एक लाख लगानी गर्नेको सम्पत्ति झण्डै १ करोड, यस्तो छ ११ वर्षको लाभांश

  २०७९ साउन २४ गते २०:३३     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सबैभन्दा धेरै मूल्य भएको कम्पनी हो युनिलिभर नेपाल । यस कम्पनीको सेयर मूल्य नेप्सेमा सूचीकृत अन्य कम्पनीको तुलनामा धेरै छ ।

सन् २००७ जुलाई २९ तारिखका दिन नेप्सेमा सूचीकृत भएको पुरानो कम्पनीमध्येमा युनिलिभर पनि पर्छ । कम्पनीको चुक्ता पूँजी ९ करोड २० लाख ७० हजार रुपैयाँ छ । नेप्सेमा यस कम्पनीको ९ लाख २० हजार ७ सय कित्ता सेयर सूचीकृत छन् ।

सोमबारको सेयर कारोबारका आधारमा बजार पूँजी १८ अर्ब १८ करोड ३८ लाख २५ हजार रुपैयाँ रहेको छ । कम्पनीको सेयर मूल्य सोमबार १९ हजार ७५० रुपैयाँ छ । यसअघि कम्पनीको सबैभन्दा धेरै सेयर मूल्य ५८ सयकाे हाराहारीमा पुगेको थियो ।

थोरै पूँजी भएको कम्पनीले बजारमा सेयर मूल्यका आधारमा सबैलाई चुनौति दिँदै आएको छ । यस कम्पनीको सेयर मूल्यसँग प्रतिस्पर्धा गर्दै आएको राष्ट्रिय बीमा कम्पनी भने धेरै तल झरिसकेको छ । राष्ट्रिय बीमा कम्पनीको सेयर मूल्य घटेर १३ हजार ९२५ रुपैयाँमा झरेपछि सेयर मूल्यका आधारमा युनिलिभर पूँजी बजारमा एक नम्बर बनेको छ ।

कम्पनीले ११ वर्षको अवधिमा हालसम्म नगद लाभांश मात्रै वितरण गर्दै आएको छ । कम्पनीले ११ वर्ष अघि १ लाख रुपैयाँ लगानी गर्ने लगानीकर्तालाई करोडपति बनाएको छ । कम्पनीमा ११ वर्ष अघि १ लाख रुपैयाँमा १ हजार कित्ता सेयर किनेको ब्यक्तिले ८३ लाख ९० हजार रुपैयाँ प्रतिफल प्राप्त गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०६६/०६७ मा ५९० प्रतिशत, आर्थिक वर्ष २०६८/०६९ मा ६८० प्रतिशत, आर्थिक वर्ष २०६९/७० मा ७६० प्रतिशत, आर्थिक वर्ष २०७०/०७१ मा ८६० प्रतिशत, आर्थिक वर्ष २०७१/०७२ मा ९९० प्रतिशत, २०७२/०७३ मा १०२० प्रतिशत, २०७३/०७४ मा १२७० प्रतिशत, २०७४/०७५ मा ७ सय प्रतिशत, २०७५/०७६ मा ७७० प्रतिशत, २०७६/०७७ मा १ सय प्रतिशत र २०७७/०७८ मा ६५० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

यद्यपि, ११ वर्ष अगाडि युनिलिभरको १ हजार कित्ता सेयर पाउन असम्भव नै थियो । यदि कम्पनी नेप्सेमा सूचीकृत संस्थापक सेयरधनीसँग एक हजार कित्ता सेयर थियो भने २०६६/६७ पछिको नगद लाभांश मात्रै गणना हुँदा सो सम्पत्ति देखिन आउँछ । कम्पनीले सो समयभन्दा अगाडि पनि लाभांश दिएको थियो । सो लाभांशलाई तथ्यांकमा राखिएको छैन ।

तर, ११ वर्ष अगाडि युनिलिभरको वास्तविक सेयर मूल्य ५ हजार ८ सयको हाराहारीमा थियो । सोही मूल्यलाई आधार मान्दा एक हजार कित्ता सेयर खरिद गर्ने लगानीकर्तालाई ५८ लाख रुपैयाँ लागत पर्न जान्छ । यो हिसाबले भने ११ वर्ष अगाडि मात्रै सेयर खरिद गर्ने लगानीकर्तालाई २५ लाख ९० हजार रुपैयाँ मात्रै प्रतिफल आएको देखिन्छ ।

युनिलिभर नेपाल २८ बर्षभन्दा लामो इतिहास बोकेको एक एक कम्पनी हो । यस कम्पनीमो होम केयर (घरगृहस्थ उपयोगका वस्तु), ब्यूटि एण्ड पर्सनल केयर (सौन्दर्य प्रशाधन तथा वैयतिक उपयोगका बस्तु), फुड्स एण्ड रिफ्रेसन्ट (खाद्य तथा पेय)–अन्तर्गत लगानी–व्यवस्थापन श्रृङखलाका ब्रान्डहरु उपलव्ध छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.