
काठमाडौं । चार महिना लामो प्रयासपछि हिमालयन बैंक र सिभिल बैंकबीच मर्जमा जाने सहमति जुटेको छ ।
मर्जमा सेयर स्वाप रेसियो १००ः८१ हुने भएको छ । मर्जपछि १०० कित्ता सेयर हुने सिभिल बैंकका लगानीकर्ताले हिमालयन बैंकको ८१ कित्ता सेयर पाउने छन् ।
मर्जपछि बन्ने बैंकको नाम हिमालयन बैंक नै हुनेछ । सञ्चालक समिति पनि हिमालयन बैंकको सञ्चालक समितिले हाललाई निरन्तरता पाउने छन् ।
प्रमुख कार्यकारी अधिकृतमा हिमालयन बैंकका अशोक समशेर राणाले नै निरन्तरता पाउने भएका छन् । सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार पोखरेललाई राणापछिको महत्वपूर्ण भूमिका दिने सहमति भएको छ ।
हिमालयन बैंकमा मर्ज हुँदा सिभिल बैंकका स्थायी कर्मचारीहरूकाे पद र सेवा सुविधा दुबै नघट्ने गरि समझदारी भएको छ । याे विषयमा सहमति जुट्न धेरै समय लागेकाे थियाे ।
सिभिल बैंकको उच्च व्यवस्थापीय भूमिकामा रहेका नायब प्रमुख कार्यकारी अधिकृत सचिन रायमाझि र कर्जा व्यवसाय प्रमुख सुमन आचार्यलाई आपसी समझदारीमा जिम्मेवारी तोक्ने सहमति भएको छ ।
मर्जको बीचमा अन्य विषयमा विवाद भएमा समाधान गर्ने जिम्मेवारी संयुक्त मर्जर कमिटिलाई तोकिएको छ ।
समझदारी भएका सबै विषयलाई दुबै बैंकका सञ्चालक समितिले हिजो साँझ अनुमोदन गरेका छन् । आज (बुधबार) साँझ दुई बैंकबीच मर्जरबारे समझौता पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम तय भएको समाचार स्राेतले बतायाे ।