कोरोना बीमाको भुक्तानी : कुन कम्पनीले कति दिए ? (सूचीसहित)

  २०७९ असार ३ गते १२:२२     मञ्जरी पौडेल

काठमाडौं । हालसम्म साढे ५१ हजारभन्दा बढी बीमितले कोरोना बीमाको दावी भुक्तानी पाएका छन् । दावी दिएका बीमितमध्ये ५१ हजार ६ सय ६९ जनाले करिब ५ अर्ब रुपैयाँ बराबरको भुक्तानी पाएका बीमा समिति श्रोतले बताएको छ ।

समिति उच्च श्रोतका अनुसार उनीहरुले २० वटा निर्जीवन बीमा कम्पनी मार्फत् कूल ४ अर्ब ९८ करोड १४ लाख ८८ हजार २ सय ३५ रुपैयाँ बराबरको दावी भुक्तानी पाएका हुन् । जसमध्ये सबैभन्दा बढी भुक्तानी राष्ट्रिय बीमा कम्पनी मार्फत् भएको छ ।

कम्पनीले हालसम्म ९७ करोड ९४ लाख रुपैयाँ बराबरको कोरोना बीमाको दावी भुक्तानी गरिसकेको छ । कम्पनीले दावी परेका बीमितमध्ये ९ हजार ७९४ जनालाई सो मात्राको दावी भुक्तानी गरेको हो । समिति श्रोतका अनुसार कोरोना बीमाको सबैभन्दा बढी दावी पनि राष्ट्रिय बीमा कम्पनीमा नै परेको छ ।

सर्वाधिक भुक्तानी गर्नेको दोश्रोमा शिखर इन्स्योरेन्स छ । इन्स्योरेन्सले हालसम्म ७ हजार ३५४ जना बीमितलाई कूल ७१ करोड ३९ लाख २५ हजार रुपैयाँ बराबरको दावी भुक्तानी गरिसकेको छ ।

अन्य बाँकी १८ वटा कम्पनीले भने ४० करोडभन्दा कम भुक्तानी गरेका छन् । राष्ट्रिय बीमा र शिखर इन्स्योरेन्सको तुलनामा अन्य कम्पनीमा दावी पनि कम परेको श्रोतले जानकारी गराएको छ ।

त्यस्तै, सिद्धार्थ, हिमालयन जनरल र सगरमाथा इन्स्योरेन्सले ३० करोडदेखि ४० करोड रुपैयाँसम्मको कोभिड भुक्तानी गरेका छन् भने प्रिमियर र लुम्बिनी जनरलले क्रमशः २४ करोड र २१ करोड रुपैयाँ बराबरको भुक्तानी गरिसकेका छन् ।

१० करोडभन्दा बढी तर २० करोडभन्दा कम भुक्तानी गर्नेमा अधिकांश बीमा कम्पनी रहेका छन् । जसमा एनएलजी, आईएमई जनरल, नेको, जनरल, यूनाईटेड, दि ओरियण्टल, अजोड, नेपाल र एभरेष्ट इन्स्योरेन्स रहेका छन् । यिनीहरु प्रत्येकले आफ्नो कम्पनीमा दावी दिएका बीमितहरुमध्ये एक हजारभन्दा बढी बीमितलाई भुक्तानी गरिसकेका हुन् ।

निर्जीवन बीमा कम्पनीमध्ये ४ वटा कम्पनीले १० करोडभन्दा कमको दावी भुक्तानी गरेका छन् । जसमा प्रभु, प्रुडेन्सियल, सानिमा जनरल र नेशनल इन्स्योरेन्स रहेका छन् । तुलनात्मक रुपमा यी कम्पनीमा कम दावी परेको अनुसार यिनीहरुले कम भुक्तानी दिएका हुन् । हालसम्म प्रभुले ९४२, प्रडेन्सियलले ८४७, सानिमा जनरलले ८४८ र नेशनल इन्स्योरेन्सले ५३८ जना बीमितलाई दावी भुक्तानी गरेको छ ।

सबैभन्दा कम दावी भुक्तानी गर्नेमा नेशनल इन्स्योरेन्स रहेको छ । इन्स्योरेन्सले हालसम्म ५ करोड १५ लाख २५ हजार रुपैयाँ बराबरको भुक्तानी गरिसकेको श्रोतले जनाएको छ ।

कुन कम्पनीले कति दिए ? (सूचीसहित)
यद्पि दावी परेको अनुसार सबै भुक्तानी भइसकेको छैन । बीमा समितिको पछिल्लो तथ्यांक अनुसार १५ अर्ब ८२ करोड २१ लाख ७१ हजार ५५४ रुपैयाँ कोरोना बीमा वापत दाबी परेको छ । त्यसमध्ये कम्पनीहरुले ४ अर्ब ९८ करोड रुपैयाँ बराबरको भुक्तानी गरिसकेका छन् ।

कोरोना बीमा मापदण्ड अनुसार बीमा कम्पनीहरुले एक अर्ब रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीले एक अर्ब रुपैयाँ, बीमा कम्पनीहरुको महाविपत्ती कोषबाट ५० करोड रुपैयाँ र बीमा समितिको तर्फबाट एक अर्ब रुपैयाँ भुक्तानी गर्ने व्यवस्था छ । त्यसभन्दा बढी दाबी परेमा सम्पूर्ण रकम सरकारले भुक्तानी गर्ने मापदण्डमा उल्लेख छ ।

पछिल्लो समय सरकारले कोरोना बीमाको दाबी भुक्तानीका लागि तयारी थालेको छ । यसअघि पटक-पटक कोरोना बीमाको दाबी भुक्तानी दिने बताएको सरकारले अब भने समिति नै बनाएर काम अगाडि बढाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.