एनसेलपछि धेरै लाभांश विदेश लानेमा सूर्य नेपाल, कुन कम्पनीले कति लगे ?

  २०७८ चैत २१ गते १९:५२     सन्तोष रोकाया


काठमाडौं । दुई आर्थिक वर्षमा ३८ वटा विदेशी कम्पनीहरूले २६ अर्ब सात करोड ६६ लाख ३९ हजार रुपैयाँ नाफा लगेका छन् । ३८ विदेशी कम्पनीहरूले दुई आर्थिक वर्षमा नेपालका विभिन्न कम्पनीहरूमा लगानी गरेबापत् सो रकम नाफा लिएका हुन् ।

नेपाल राष्ट्र बैंकका अनुसार दुई आर्थिक वर्षमा सो रकम नाफा वाफत लिएका हुन् । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७५/०७६ देखि २०७६/०७७ दुई आर्थिक वर्षमा नाफाबापत सो रकम लिएका हुन् ।

सबैभन्दा बढी नाफा लिने कम्पनी वेष्टइन्डिजको रेनोल्डस् होल्डिङ्स देखिएको छ । जसले एनसेलमा लगानी गरेको छ । यो कम्पनीले आर्थिक वर्ष २०७५/७६ मा १३ अर्ब ९७ करोड १८ लाख ४० हजार रुपैयाँ नाफाबापतको लाभांश लिएको छ ।

यस्तै, सूर्य नेपालमा लगानी गरेको भारतको एमएस आइटीसी र अमेरिकन टोबाकोले नाफाबापत बढी लाभांश लिएको छ । यी दुई कम्पनीहरूले सूर्य नेपालमा लगानी गरेबापत आर्थिक वर्ष २०७६/७७ मा चार अर्ब ७५ करोड ४८ लाख ७७ हजार रुपैयाँ लाभांश विदेश लगेका छन् ।

नाफाबापत विदेशमा बढी लाभांश लिने कम्पनी हिमाल पावरमा लगानी गरेका दुई कम्पनी सिंगापुरको स्टारक्राफ्ट र नर्वेको बर्जनसेल्भोन्स कोमुनेल क्राफ्टसेलस्केपले तीन अर्ब ३६ करोड ८४ लाख २३ हजार रुपैयाँ लाभांश लगेका छन् ।

आर्थिक वर्ष २०७६/०७७ मा भारतको वरुण बेभरेज कम्पनीले नेपालको वरुण वेभरेजमा लगानी गरेको गरेबापत ३० करोड ७८ लाख रुपैयाँ लाभांश भारत लगेको छ । नाफाबापतको रकम बढी विदेश लैजाने कम्पनी मणिपाल एजुकेशन पनि देखिएको छ ।

मणिपाल एजुकेशनले ३० करोड २९ लाख ६२ हजार रुपैयाँ लाभांश लगेको छ । यस्तै, नेपालको स्ट्याण्डर्ड चार्टर्ड बैंकमा लगानी गरेको अष्ट्रेलिया र बेलायतको स्ट्याण्डर्ड चार्टर्ड बैंकले २३ करोड ८९ लाख ४३ हजार रुपैयाँ लाभांश विदेश लगेका छन् । जुन एक आर्थिक वर्षको मात्रै लाभांश हो ।

यस्तै, नेपाल एसबिआई बैंकमा लगानी गरेको स्टेट बैंक अफ इण्डियाले आर्थिक वर्ष २०७६/७७ मा १४ करोड ७७ लाख ७७ हजार रुपैयाँ लाभांश भारत लगेको राष्ट्र बैंक स्रोतले जनाएको छ । हिमालयन बैंकमा लगानी गरेको पाकिस्तानको हबिब बैंकले आर्थिक वर्ष २०७६/०७७ मा नौ करोड ३७ लाख २२ हजार रुपैयाँ लाभांश पाकिस्तान लगेको छ ।

एनएमबि बैंकमा लगानी गरेका नेदरल्याण्ड र मलेसियाका दुई कम्पनीले लाभांशबापत तीन आर्थिक वर्षमा ८ करोड ३६ लाख ३५ हजार रुपैयाँ लगेका छन् । सिभिल बैंकमा लगानी रहेको कोरियाको केडिबी क्यापिटल कम्पनीले तीन आर्थिक वर्षमा ९० लाख रुपैयाँ लाभांश मार्फत् विदेश लगेको छ ।

यस्तै, डाबर नेपाल, नबिल बैंकमा लगानी गरेको विदेशी कम्पनी एनबि इन्टरनेशनल, नेपाल बंगलादेशमा लगानी रहेको आईएफआइसीको लाभांश भने समेटिएको छैन ।

One comment on "एनसेलपछि धेरै लाभांश विदेश लानेमा सूर्य नेपाल, कुन कम्पनीले कति लगे ?"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.