काठमाडौं । वाणिज्य बैंकहरुले फागुनदेखि व्याजदर बढाउने भएका छन् । शुक्रबार बसेको नेपाल बैंकर्स संघको बैठकले फागुन १ गतेदेखि लागू हुने गरी निक्षेपको व्याजदर बढाउने निर्णय गरेको हो ।
वाणिज्य बैंकका सीईओहरुको छाता संगठन बैंकर्स संघले राष्ट्र बैंकको निर्देशन अनुसार हाल कायम रहेको दरमा १० प्रतिशत व्याजदर वृद्धि गर्ने निर्णय गरेका हुन् । यससँगै हाल १०.०३ प्रतिशत रहेको व्यक्तिगततर्फको एक वर्षे मुद्दतिको व्याजदर बढेर ११.०३ प्रतिशत पुग्ने भएको छ । त्यस्तै, संस्थागतमा १०.३, बचत खातामा ५ र कलमा ३.०१५ प्रतिशत पुर्याउने संघको निर्णय भएको हो ।
यता बैंकहरुले व्याजदर बढाउने निर्णय गरेसँगै विकास बैंक र फाइनान्स कम्पनीहरुले पनि व्याजदर बढाउने भएका छन् । निक्षेप खोसाखोस हुने भएपछि उनीहरुले पनि व्याजदर बढाउने भएका हुन् ।
विकास बैंकले व्यक्तिगत तर्फको एक वर्षे मुद्दती निक्षेपको व्याज ११.५५ प्रतिशत र क्षेत्रीयस्तरका विकास बैंकले ११.६५ प्रतिशत पुर्याउने भएका छन् । यस्तै, फाइनान्स कम्पनीको भने व्यक्तिगत तर्फको एक वर्षे मुद्दती निक्षेपको व्याज ११.७१ प्रतिशत पुग्ने भएको छ ।
बैंक तथा वित्तीय संस्थाले धमाधम निक्षेपको व्याजदर बढाएसँगै त्यसको प्रत्यक्ष असर सेयर बजारमा पर्नेछ । बैंकहरुले व्याजदर बढाएपछि अबको सेयर मार्केटमा हल्का असर पर्छ र असर परेपनि बजार घटबढ हुँदै माथि नै जाने नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल बताउँछन् ।
‘अब बजारमा हल्का त असर परिहाल्छ, सँधैभरी हामीले सस्तो व्याज पाउँछौं भन्ने पनि छैन, सँधैभरि १३/१४ प्रतिशत व्याज तिर्नुपर्छ भन्ने पनि छैन, समयअनुसार व्याज चक्रको माग हुन्छ, माग अनुसार व्याजदर निर्धारण हुन्छ,’ ढकालले विकासन्युजसँग कुरा गर्दै ढकालले भने ।
अहिलेको अवस्थाअनुसार बैैंक तथा वित्तीय संस्थाहरुले निक्षेपको व्याज बढाउनु सामान्य भएको उनले बताए ।
‘यसलाई सहज रुपले लिनुपर्छ, हामीले मार्केटको सिचुएसन अनुसार चल्न सिक्नुपर्छ, जुन हामीले सिकिसकेका छौं,’उनले थपे ।
बजार बढ्नु वा घट्नु सामान्य कुरा भएको र लगानीकर्ताले पनि सामान्य रुपमा नै लिनुपर्ने ढकालको तर्क छ ।
‘मार्केट केही तल आउँला, अनि फेरि बलियो हुन्छ र पुनः माथि जान्छ, सँधै असहज परिस्थिति पनि हुँदैन, सरकारले स्थानीय तहको चुनाव गर्ने घोषणा पनि गरेको छ, चुनावआएसँगै स्थानीय, प्रदेश तथा संघीय सरकारले खर्चहरु बढाउँछन्, पैसा मार्केटमा आउँछ, पैसा बजारमा आएपछि व्याजदर तल झर्छ, यसलाई सामान्य रुपमा लिनुपर्छ, मार्केट आफ्नै गतिअनुसार चल्छ नै,’ ढकालले भने ।
चुनाव घोषणा हुँदैमा बजार बढ्छ छ र भन्ने विकासन्युजको प्रश्नमा उनले चुनाव घोषणा हुँदैमा मार्केट नबढ्ने बताए । हालै घोषणा भएको चुनाव पछिको बजारले पनि यसको पुष्टी गरेको उनी बताउँछन् । लगानीकर्ताले नाफा बुक गर्न खोज्दा पछिल्ला दिनमा मार्केट घटेको उनको बुझाइ छ ।
‘३२ सयको मार्केट घटेर २२ सयमा आइसकेको थियो, २२ सयबाट अल्पकालिन समयमै २९४७ बिन्दुसम्म पुग्यो, योबीचमा लगानीकर्तालाई छोटो समयमै नाफा भयो, र, नाफा बुक गर्दा मार्केट घटेको हो, यसलाई सामान्य रुपमा हेर्नुपर्छ,’ अध्यक्ष ढकालले भने ।
बैंकहरुले व्याजदर बढाउनु सामान्य रहेको पनि उनको तर्क छ ।
‘परिस्थिति अनुसार बैंकहरुले व्याजदर बढाएका हुन् । अहिले बजारमा क्राइसिस् छ भनेरै बैंक तथा वित्तीय संस्थाहरुले व्याजदर बढाएका हुन सक्छ तर, व्याजदर बढाउँदैमा नयाँ निक्षेप आउँदैन, भएकै निक्षेप एकअर्कामा खोसाखोस हुने मात्रै हो, हामी लगानीकर्ताहरुको लागि व्याज बढ्नु खुशीको कुरा त होइन र, पनि अब बैंकहरुले बढाइसकेपछि हामीले पनि त्यहि अनुसार चल्न सिक्नुपर्छ,’ ढकालले भने ।
सजग भएर लगानी गर्न सुझाव
इन्भेष्टर्स फोरमका अध्यक्ष ढकलले लगानीकर्तालाई नआत्तिई नमात्तिई लगानी गर्न आग्रह गर्दै बुझेर रिटर्न बेसमा लगानी गर्दा राम्रै हुने बताएका छन् ।
‘हामीले आज बढेको व्याजदर भोलि घट्छ भन्ने सम्झेर लगानी गर्नुपर्छ, लगानी गर्दा प्रतिफलमा आधारित भएर लगानी गर्नुपर्यो, हचुवामा लगानी गर्नु भएन, हिजो २० रुपैयाँ कमाउँथ्यौं भने अब १९ रुपैयाँ कमाइएला, यसले खासै असर गर्दैन,’ उनले थपे ।