आईपीओबाट साढे ५ करोड उठाउँदै इमर्जिङ्ग नेपाल, निफ्राबाट मात्रै कम्तीमा ८% लाभांश पाउने

<p>काठमाडौं । सेयरमा सीमित दायित्व भएको इमर्जिङ्ग नेपालले माघ २६ गतेदेखि आईपीओ जारी गरेको छ । २०७२ चैत २६ गतेदेखि कारोबार शुरु गरेको कम्पनीले करिब ६ वर्षको अवधिमा प्राथमिक सेयर निष्काशन गरेको हो । संस्थाले जारी पुँजीको १० प्रतिशत सेयर जारी गर्न लागेको हो । संस्थाले प्रतिसेयर एक सय रुपैयाँ अंकित दरका ५ लाख ५५ [&hellip;]</p>

काठमाडौं । सेयरमा सीमित दायित्व भएको इमर्जिङ्ग नेपालले माघ २६ गतेदेखि आईपीओ जारी गरेको छ । २०७२ चैत २६ गतेदेखि कारोबार शुरु गरेको कम्पनीले करिब ६ वर्षको अवधिमा प्राथमिक सेयर निष्काशन गरेको हो ।

संस्थाले जारी पुँजीको १० प्रतिशत सेयर जारी गर्न लागेको हो । संस्थाले प्रतिसेयर एक सय रुपैयाँ अंकित दरका ५ लाख ५५ हजार ६०० कित्ता सेयर सर्वसाधारणमा जारी गरिरहेको छ ।

उक्त आईपीओबाट संस्थाले ५ करोड ५५ लाख ६० हजार बराबरको रकम संकलन गर्ने छ । उक्त संकलित रकम कम्पनीले विभिन्न तीन क्षेत्रमा लगानी गर्ने योजना बनाएको छ । जसमध्ये सबैभन्दा बढी उर्जा क्षेत्रमा लगानी गर्ने कम्पनीको उद्देश्य छ । कम्पनीले उर्जा क्षेत्रमा ३ करोड, आर्थिक पूर्वाधार क्षेत्रमा २ करोड र कम्पनीको उद्देश्य अनुसारको विविध क्षेत्रमा ५५ लाख ६० हजार रुपैयाँ बराबरको लगानी गर्ने योजना बनाएको छ ।

त्यस्तै, संस्थाले नेपाल इन्फ्रास्ट्रक्चर बैंकबाट कम्तीमा वार्षिक ८ प्रतिशतका दरले लाभांश आम्दानी हुने अनुमान गरेको छ । त्यस्तै, बिएफआइएन, केयर रेटिङ्ग (नेपाल) र होटल एलिस द बोददर इन् लिमिटेड तीन वटै संस्थाबाट प्रतिसंस्था आर्थिक वर्ष २०७८/७९ मा १० प्रतिशत, आव २०७९/८० र २०८०/८१ मा १५ प्रतिशतका दरले लाभांश आम्दानी हुने कम्पनीको अनुमान छ ।

शिक्षा, हस्पिट्यालिटी, हेल्थ केयर र स्टार्टअफ फण्डबाट १० प्रतिशत र फिक्स्ड डिपोजिटमा १४ प्रतिशत लगानी गर्ने संस्थाको रणनीति रहेको छ । त्यस्तै, प्रशासन खर्चतर्फ वार्षिक १० प्रतिशत खर्च वृद्धि (अनुमानित) हुने संस्थाले जनाएको छ ।

प्रतिसेयर नेटवर्थ र प्रतिसेयर आम्दानी

गत आर्थिक वर्ष २०७७/७८ मा संस्थाको प्रतिसेयर नेटवर्थ १०५.११ रुपैयाँ थियो भने प्रति सेयर आम्दानी २.३२ रुपैयाँ थियो । जुन आगामी तीन वर्ष अर्थात आर्थिक वर्ष २०८०/८१ मा बढेर क्रमशः १०७.५३ रुपैयाँ र ८.१६ रुपैयाँ पुग्ने संस्थाको प्रक्षेपण छ ।

हाल संस्थाको चुक्ता पुँजी ५० करोड रुपैयाँ छ । हाल जारी गरिरहेको आईपीओ पश्चात संस्थाको चुक्ता पुँजी ५५ करोड ५६ लाख रुपैयाँ नाघ्ने छ ।

संस्थाको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ । आईपीओमा आवेदन दिनेले सि आस्वा प्रणालीबाट आफ्नो खाता रहेको बैंक तथा वित्तीय संस्था अर्थात मेरो सेयरबाट आवेदन दिन सक्नेछन् । उनीहरुले न्यूनतम १० कित्ताभन्दा बढी अर्थात एक हजार कित्तासम्मको लागि आवेदन दिन पाउने व्यवस्था रहेको छ ।

कम्पनीको लक्ष्य

उद्योग र व्यवस्थापन उन्मुख व्यापारलाई प्रोत्साहान गरी नेपाललाई उन्नतितर्फ अघि बढाउने उद्देश्यले सञ्चालन भएको यस संस्थाले नेपाल सरकार, अर्थ मन्त्रालयको प्रतिनिधित्वमा, प्रसिद्ध व्यवसायी संघ, बैंक तथा वित्तीय व्यवसायी, कर्मचारी र व्यवसायिक व्यक्तिलाई एकसाथ ल्याई राष्ट्रिय प्राथमिकताको विभिन्न विषयहरुमा समाधानका उपायहरु प्रस्ताव गर्ने छ ।

कम्पनीको लक्ष्य नै राष्ट्रिय प्राथमिकताको क्षेत्र जसअन्तर्गत पूर्वाधारको रुपमा रहेको, यातायात, संचार, उर्जा लगायत उद्योग, पर्यटन, स्वास्थ्य, यातायात, कृषि, वित्तीय र अन्य आर्थिक रुपमा महत्वपूर्ण योजनाहरुमा लगानी गर्नु हो । साथै, नीजि क्षेत्रबाट व्यवस्थापन हुने भएकोले उच्च स्तरको पारदर्शिता र जवाफदेहिताको साथै उच्चगति र कार्यकुशलतासँगै संचालन र व्यवस्थापन गरिने कम्पनीले जनाएको छ ।

यस्तो छ व्यवस्थापकीय टीम

संस्थाको म्यानेजमेन्ट टीममा दुई जनामा मात्रै रहेका छन् । जसमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा शिखर भट्टराई रहेका छन् भने बरिष्ठ अधिकृत तथा कम्पनी सचिवमा प्रेमप्रसाद अर्याल रहेका छन् । सञ्चालक समितिमा भने ६ जना रहेका छन् । अध्यक्षमा लालमणी जोशी, सञ्चालकमा शोभाकान्त पौडेल, अशोककुमार अग्रवाल, चन्द्र टण्डन, बिनोद आत्रेय, र लिमा आचार्य (अधिकारी) रहेका छन् । पौडेल अर्थ मन्त्रालयका प्रतिनिधि हुन् ।

Share News