यी ५ कम्पनीकाे एक अर्ब २१ करोडको आईपीओ जारी हुँदै, कसको कति ?

  २०७८ माघ ६ गते १७:४१     विकासन्युज

काठमाडौं । नेपाली प्राथमिक बजारमा अब धमाधम एक अर्ब बढीको आईपीओ निष्काशन हुने भएको छ । बजारमा लघुवित्त र हाइड्रो समूहका कम्पनीहरुले कूल १ अर्ब २१ करोड ६ लाख ६९ हजार रुपैयाँ बराबरको प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने भएका हुन् ।

जसमध्ये सबैभन्दा बढी हाइड्रो कम्पनीहरुको रहेको छ । हाइड्रो समूह अन्तर्गतका कम्पनीले ९९ करोड ५ लाख ९४ हजार रुपैयाँ बराबरको आईपीओ जारी गर्ने भएका हुन् भने लघुवित्त समूह अन्तर्गतका संस्थाले २२ करोड ७५ हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने छन् ।

नेपाल धितोपत्र बोर्डले अनुमति दिएसँगै हाइड्रो समूहका दुई र लघुवित्त समूहका तीन कम्पनी गरी ५ वटा कम्पनीलाई सेयर निष्काशन गर्न बाटो खुला भएको हो । यससँगै यिनीहरूले धमाधम आईपीओ जारी गर्न शुरू गर्ने छन् ।

लघुवित्त समूहमध्ये नेष्ठो सम्बृद्ध लघुवित्त, जालपा सामुदायिक लघुवित्त र राष्ट्र उत्थान लघुवित्तले लामो पर्खाइपछि आईपीओ जारी गर्ने प्रकृया अघि बढाएका हुन् । जसमा नेष्ठो सम्बृद्धले करिब ७ महिना पछि ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता सेयर जारी गर्ने छ । संस्थाले गत असार ६ गते सो मात्राको आईपीओ जारी गर्नको लागि बोर्डको स्वीकृति मागेको थियो । उक्त सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ ।

त्यस्तै, असार २० गते आईपीओको अनुमति मागेको जालपा सामुदायिक लघुवित्तले पनि ८ महिनाको पर्खाइ पछि बोर्डको स्वीकृति पाएको हो । स्वीकृति पाएसँगै संस्थाले ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता सेयर निष्काशन गर्ने छ । उक्त सेयर निष्काशनको काम भने प्रभु क्यापिटलले गर्ने छ ।

उता राष्ट्र उत्थान लघुवित्तले पनि करिब ७ महिना पछि नै अनुमति पाएको हो । संस्थाले ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आईपीओको जारी गर्न गत असार २४ गते नै बोर्डमा पत्र पठाएको थियो ।

यता हाइड्रो कम्पनीले पनि ९९ करोड ५ लाख ९४ हजार रुपैयाँ बराबरको आईपीओ बजारमा ल्याउने भएका छन् । बोर्डले बलेफी हाइड्रोपावर र ग्रीन भेन्चरलाई सो मात्राको आईपीओ जारी गर्न स्वीकृति दिएसँगै उनीहरुले अब छिट्टै नै आईपीओ निष्काशनको प्रकृया अघि बढाउने छन् ।

जसमध्ये बलेफी हाइड्रोलाई ३६ करोड ५५ लाख ९४ हजार रुपैयाँ बराबरको आईपीओ जारी गर्न अनुमति दिइएको छ । यससँगै कम्पनीले स्थानिय तथा सर्वसाधारणलाई एक सय अंकित दरको ३६ लाख ५५ हजार ९४० कित्ता आईपीओ सेयर निष्काशन गर्ने छ । उक्त सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ ।

त्यसैगरी, गीन भेन्चरलाई पनि एक सय अंकित दरका ६२ लाख ५० हजार कित्ता अर्थात ६२ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ जारी गर्न बोर्डले स्वीकृति दिएको छ । यससँगै कम्पनीले सेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्फत सो मात्राको सेयर स्थानिय तथा सर्वसाधारणमा जारी गर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.