वैदेशिक मुद्रा संचितिमा योगदान पुर्याउन नयाँ व्यवस्था गरिएको होः बीमा समिति

<p>काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले बैदेशिक मुद्रा संचितिमा योगदान पुर्याउन नयाँ व्यवस्था गरिएको स्पष्ट पारेको छ । हालै स्वदेशी कम्पनीमै पुनर्बीमा गर्नुपर्ने सम्बन्धमा बीमा कम्पनीहरुलाई दिएको निर्देशनलाई लिएर बीमक सङ्घका केही पदाधिकारीहरुबाट आएका धारणाप्रति ध्यानाकर्षण गराउँदै समितिले सो जनाएको हो । समितिले गत मंसिर ९ गते एक विज्ञप्ति जारी गरी पुनर्बीमा व्यवसाय [&hellip;]</p>

काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले बैदेशिक मुद्रा संचितिमा योगदान पुर्याउन नयाँ व्यवस्था गरिएको स्पष्ट पारेको छ । हालै स्वदेशी कम्पनीमै पुनर्बीमा गर्नुपर्ने सम्बन्धमा बीमा कम्पनीहरुलाई दिएको निर्देशनलाई लिएर बीमक सङ्घका केही पदाधिकारीहरुबाट आएका धारणाप्रति ध्यानाकर्षण गराउँदै समितिले सो जनाएको हो ।

समितिले गत मंसिर ९ गते एक विज्ञप्ति जारी गरी पुनर्बीमा व्यवसाय अब नेपाली कम्पनीसँग मात्र गर्न सबै बीमा कम्पनीहरुलाई निर्देशन दिएको थियो । तर, उक्त निर्देशनलाई लिएर जनमानस र सिङ्गो बीमाक्षेत्रलाई नै दिग्भ्रमित पार्ने गरी व्यक्त भएका एकतर्फीरुपमा आफूखुशी मनगढन्ते धारणाप्रति ध्यानाकर्षण गर्दै समितिले मंसिर १३ गते पुनः अर्को विज्ञप्ति जारी गर्दै सबैलाई प्रष्ट पारेको छ ।

‘देशमा हाल पुनर्बीमा व्यवसायको एकाधिकार अन्त्य भई दुईवटा पुनर्बीमा कम्पनी संचालनमा रहेका छन् । त्यसैले प्रतिस्पर्धीरुपमा पुनर्बीमा व्यवसाय गर्न सकिने अवस्था सिर्जना भएको, र हाल मुलुकमा बैदेशिक मुद्राको संचिति घट्दै गएको तर पुनर्बीमा वापत ठूलो रकम विदेशिने गरेकाले बैदेशिक मुदा संचितिमा समेत योगदान पुर्याउनु पर्ने भएकाले यस्तो व्यवस्था गरिएको हो,’ समितिका कार्यकारी निर्देशक एवं प्रवक्ता राजुरमण पौडेलले विज्ञप्ति मार्फत भने ।

बीमा ऐन, २०४९ र बीमा नियमावली, २०४९ मा भएका व्यवस्था बमोजिम यस समितिले बीमकले आफूले आर्जन गरेको बीमा व्यवसायको २० प्रतिशत प्रत्यक्ष हिस्साका सम्बन्धमा हालको व्यवस्था कायम राखी प्रत्यक्ष हिस्सास्वरुप प्रदान गरिएको पुनर्बीमा बाहेक बाँकी हुन आउने सबै पुनर्बीमा व्यवसाय स्वदेशी पुनर्बीमकहरुलाई प्रदान गर्ने व्यवस्था गरेको छ ।

साथै, कुनै स्वदेशी पुनर्बीमकले न्यून आर्थिक क्षमताका कारण पुनर्बीमा गर्न नसकेको खण्डमा त्यसरी नसकेको अङ्शको पुनर्बीमा ‘पुनर्बीमा निर्देशिका, २०७८’ मा भएको व्यवस्था बमोजिम योग्यता पुगेका विदेशी पुनर्बीमा कम्पनीसँग गर्न पाइने व्यवस्था समेत गरिएको समितिले जनाएको छ ।

त्यसैले, स्वदेशी पुनर्बीमा कम्पनीहरुलाई उनीहरुको आर्थिक क्षमताले नधान्ने पुनर्बीमा व्यवसाय पनि जबरजस्ती उनीहरुलाई नै दिनुपर्ने भन्ने बाध्यात्मक व्यवस्था बीमा समितिको निर्देशनबाट सिर्जना भएको भन्ने धारणा जनमानसमा भ्रम सिर्जना गर्ने र बीमा एवम् पुनर्बीमा व्यवसायको विकासलाई अवरुद्ध गर्ने नियोजित उद्देश्यका साथ आएको समितिका प्रवक्ता पौडेलले जनाएका छन् ।

सम्बन्धित समाचार

बीमा कम्पनीहरुले स्वदेशी कम्पनीमै पुनर्बीमा गर्नुपर्ने

Share News