बीमा कम्पनीहरुले स्वदेशी कम्पनीमै पुनर्बीमा गर्नुपर्ने

  २०७८ मंसिर ९ गते २१:१७     विकासन्युज

काठमाडौं । नेपाली बीमा कम्पनीहरुले स्वदेशी कम्पनीमै पुनर्बीमा गर्नुपर्ने भएको छ । बीमा समितिले बिहीबार सबै बीमा कम्पनीहरुलाई निर्देशन दिदैँ पुनर्बीमा व्यवसाय नेपाली कम्पनीसँग मात्रै गर्न भनेको हो ।

समितिले मंसिर ९ गते जारी गरेको निर्देशनमा प्रत्यक्ष हिस्सा स्वरुप प्रदान गरिएको पुनर्बीमा बाहेक बाँकी हुन आउने सबै पुनर्बीमा व्यवसाय स्वदेशी पुनर्बीमा कम्पनीहरुसँग गर्नुपर्ने भनेको छ ।

समितिले यसअघि नै सबै बीमा कम्पनीहरुलाई कुल पुनर्बीमा व्यवसायको २० प्रतिशत नेपाल पुनर्बीमा कम्पनीसँग गर्न निर्देशन दिएको थियो । समितिले बिहीबार दिएको निर्देशन अनुसार अब बाँकी हुने पुनर्बीमा व्यवसाय पनि स्वदेशी पुनर्बीमा कम्पनीलाई नै दिनुपर्ने भएको छ ।

हाल नेपाल पुनर्बीमा कम्पनी र हिमालयन रि इन्स्युरेन्स कम्पनी गरी २ वटा पुनर्बीमा कम्पनी छन् । समितिको निर्देशन पछि २० प्रतिशत पुनर्बीमा व्यवसाय अनिवार्य रुपमा नेपाल पुनर्बीमा कम्पनीलाई दिनुपर्ने भएको छ भने बाँकी रहेको ८० प्रतिशत पुनर्बीमा व्यवसाय यी दुई पुनर्बीमा कम्पनीले पाउँनेछन् ।

यस्तैगरी, समितिले बीमा कम्पनीहरुलाई विदेशी कम्पनीसँग पुनर्बीमा गर्न करिब रोक लगाएको छ । समितिले स्वदेशी पुनर्बीमा कम्पनीले कुनै पुनर्बीमा अस्वीकार गरेको खण्डमा त्यसरी अस्वीकार गरेको अंशको पुनर्बीमा ‘पुनर्बीमा निर्देशिका २०७८’ मा उल्लेख भए बमोजिमको योग्यता पुगेको विदेशी पुनर्बीमा कम्पनीसँग गर्न पाइने भनेको छ ।

तर, विदेशी पुनर्बीमा कम्पनीहरुलाई भुक्तानी गर्नको लागि समितिसँग पुनर्बीमा सटही सिफारिस माग गर्दा स्वदेशी पुनर्बीमा कम्पनीले पुनर्बीमा अस्वीकार गरेको प्रमाण पेश गर्नुपर्ने भनेको छ । यस्तो व्यवस्थाले कम्पनीहरुलाई स्वदेशी कम्पनीसँगै पुनर्बीमा गराउन बाध्य पार्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.