परिसूचकसँगै कारोबार पनि बढ्यो, सिटिजन्स बैंकको सर्वाधिक किनबेच, १६ कम्पनीमा लाग्यो सर्किट

  २०७८ असोज २० गते १५:३१     विकासन्युज

काठमाडौं । बुधबारको बजारमा नेप्से परिसूचकसँगै सेयर कारोबार रकम पनि बढेको छ । कारोबार खुलेदेखि उकालो लागेको परिसूचक अन्ततः ६८.४७ अंकले बढेर २६८१.११ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा २.६२ प्रतिशतले बढी हो ।

बजारमा साढे ४ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा एक अर्ब ५१ करोड रुपैयाँले बढी हो । मंगलबारको बजारमा २ अर्ब ९९ करोड रुपैयाँ बराबरको मात्रै सेयर कारोबार भएको छ ।

दिनभरको कारोबारमा कूल २२७ वटा स्क्रिप्टको ८१ लाख ८९ हजार कित्ता सेयर किनबेच भएको छ । जसमध्ये सिटिजन्स बैंक इन्टरनेशनलको सबैभन्दा बढी सेयर कारोबार भएको छ । बैंकको एकैदिन ५ लाख ७६ हजार ४२१ कित्ता सेयर कूल २३ करोड ४ लाख रुपैयाँमा कारोबार भएको छ ।

बैंकले प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन भएसँगै लगानीकर्ताहरु उक्त लाभांशमा आकर्षित भएकाले कम्पनीको सेयर कारोबार बढेको हो । बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बुधबारको बजारमा बैंकको सेयर मूल्य प्रतिकित्ता ३९८ रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ३ रुपैयाँले बढी हो ।

बुधबार कारोबारमा आएका सबै समूहमा हरियाली छाएको छ । जसमध्ये निर्जीवन बीमा समूह ४०६ अंकले उकालो लागेको छ ।

मंगलबारको तुलनामा बुधबारको बजारमा अधिकांश कम्पनीको सेयर मूल्य बढेको छ । १६ कम्पनीको सेयर मूल्य बढेर सकारात्मक सर्किट लागेको छ । जसमध्ये अधिकांश लघुवित्त रहेका छन् । लघुवित्तहरुले धमाधम लाभांश घोषणा गर्न थालेसँगै लगानीकर्ताहरु लघुवित्तको सेयरमा आकर्षित भएका हुन् ।

दोहोरो अंकले बढेको बजारमा रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य सबैभन्दा बढीले घटेको छ । कम्पनीको सेयर मूल्य २.१६ प्रतिशतले घटेर प्रतिकित्ता ६८३.९० रुपैयाँमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा १५.१० रुपैयाँले घटी हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.