कोरोना चिट्ठाले सिर्जना गरेको ९ अर्बको दायित्व र समाधानको उपाय

  २०७८ भदौ ३० गते १८:४०     चेतनाथ

हर्कबहादुरले दिनभर महाबौद्धमा भारी बोके, महाबौद्धबाट इन्द्रचोकतिर भारी बोकर लैजाने क्रममा रञ्जना गल्लीको हिलोमा चिप्लेर लड्दा उनको मोबाइल फुट्यो । साहुहरुको काम लिनको लागि प्रयोग हुंदै आएको मोबाईल नहुंदा उनको हातै भांचिएजस्तो भयो । साहुको भारी इन्द्रचोकमा बुझाएर आएपछि उनले पशुपति प्लाजामा २,८२५ रुपैयांको मोबाइल किने । त्यो रकम मध्ये ३२५ रुपैयां मूल्य अभिबृद्धि कर थियो । त्यस्तै बिमर्श अधिकारी एउटा बैंकमा काम गर्छन् । बिहानै ८ बजे बैंकमा पुग्छन् र राति कतिखेर फर्कने हो, टुंगो छैन । बैंकले उनलाई दिने तलबबाट महिनामा १३ हजार रुपैयाँ आयकर कट्टा गर्छ । यसरी १ प्याकेट चाउचाउदेखि रेष्टुरेन्टमा खाने खाजामा समेत करकट्टा गरी अरबौं रकम राजश्वमा जम्मा गरिएको हुन्छ ।

सन्दर्भ, अहिलेको कोरोना बीमा रकमको हो । अहिले सुनिए अनुसार ९ अर्बभन्दा बढि यसको बक्यौता बाँकी छ । शुरुमा कोरोना संक्रमण भएर रिपोर्ट पोजेटिभ आउनेहरुले १ लाखको चिट्ठा सजिलै पाए । कतिपयका परिवारका सबै सदस्य संक्रमित भए । कोरोना चिट्ठाबाट पाएको पैसाले कतिले छोरीको बिहे गर्दा लागेको ऋण तिरे, कतिले गहनागुरिया जोडे, कतिले घरको तलो थपे, कतिले शेयरमा लगानी गरे । यस्तोसम्म भयो, आफ्नो रिपोर्ट पोजेटिभ नआएको पीरमा कतिलाई मुख देखाउन लाज भयो, मानौं उ लोकसेवा आयोगको लिखित परीक्षामा नाम निस्कन नसक्ने असफल परीक्षार्थी हो । पोजेटिभ आउनेका मुख उज्याला भए, नाक फुलाउंदै कुस्त रकम लिए, नजिकैको छिमेकी चाहिं हप्तैपच्छिे उसको जस्तै पोजेटिभ पाउँछु कि भन्दै ट्रायल टेष्टमा जाँदा जाँदा १५÷२० हजार उल्टो चुना लाग्यो, तै पनि पोजेटिभ आएन । कोरोना पोजेटिभ आउनुलाई इज्यत, जीत भएको र नआउनुलाई हार, लाखौंको आर्थिक क्षति वा गुमाउनुको रुपमा लिइयो । कोरोना पोजेटिभ आउनेहरुमध्ये केहि २÷४ दिन तातोपानी खाए, प्रधानमन्त्री ओलीको उपदेश मान्दै बेसार पानी खाए, हाछ्युं गरे, ठिक भए र तुरुन्तै बीमा कम्पनीको अफिसमा गएर पैसा लिएर आए । यसरी महामारीको बीमा गर्ने बीमा समितिको ऐतिहासिक कदमले समाजमा हलचल ल्यायो र यो चिट्ठा सञ्चालन गर्नेहरुले “बीमाप्रति पर्याप्त सचेतना’’ ल्याएको गजबको विश्लेषण पस्के ।

जब संक्रमित बढ्दै गए, कुबेरको धन रित्तिन थाल्यो । कुनै मार्केटिङ्ग नै नगरी बसीबसी चिट्ठा किन्न आउनेको ताँति देखेर शुरुमा हौसिएका बीमा कम्पनीका हाकिमहरुका दिमाग फनफनी घुम्न थाल्यो । अब बीमा पनि गदैनौं, तिर्दा पनि तिर्दैनौं भनेर बीमा समितिमा धर्ना कसे । केहि दिन पोलिसी बेच्न रोके । चिट्ठा, वृद्धभत्ता बाँडेर भोट बटुल्ने र समाजबाद ल्याउने सपना बाँढेको सरकार र यसको पिएचडी अर्थमन्त्री युवराज खतिवडाले १ अर्ब बीमा कम्पनीको, १ अर्ब पुनर्बीमा कम्पनीको, १ अर्ब बीमा समितिको र ५० करोड बीमा कम्पनीले कनिकुथी गरी जम्मा गरेको कोषबाट दिने आइडिया सुझाए र इन्सुरेन्सका हाकिमहरुले फेरी खुसीले १० हात उफ्रदै धमाधम चिट्ठा बेच्न थाले ।

एउटा समूह कोरोना नामको भाग्यशाली चिट्ठा प्राप्त गरेर लखपति भए । जब साँढे ३ अर्बमाथि चिट्ठाले सिलिङ्ग कट्यो र पछि चिट्ठा पर्नेहरुको पुरस्कार रोकियो र उनीहरु मर्कामा परे । अहिलेको समस्याको मुल जड यहि हो । यहि चिट्ठा पीडितहरुको लर्कोले अहिले त्यहि हर्कबहादुर भरियाले दिनभरी भारी बोकर कमाएको पैसाबाट मोबाइल किन्दा तिरेको ३२५ रुपैयाँ र बिमर्श अधिकारीले रातदिन बैंकमा पसीना बगाएर राज्यलाई बुझाएको १३ हजारबाट आफूले पाउनुपर्ने माग गरिरहेको छ ।

पदीय दुरुपयोग गरी संसारमा कहिं कतै नगरिएको महामारीको बीमा गर्ने, जनताबाट प्रिमियम असुल गर्ने, कोरोना पोजेटिभ आएको र त्यसको उपचारमा १ पैसो खर्च नगरेको र उपचार नै गरेको भएपनि राज्यबाट निःशुल्क उपचार गरिएको अबस्थामा एउटा पोजेटिभ चिर्कटो देखाएको भरमा १ लाख नगद पाउने जुन खालको चिट्ठा बेच्ने काम भयो र यसको दायित्व राज्यले समेत लिने जस्तो गैरजिम्मेवारपूर्ण जुन काम भयो, त्यसको हिसाव किताब हुनुपर्छ कि पर्दैन ? कोरोना पोजेटिभ आएको व्यक्ति अस्पतलमा भर्ना भई उसको भएको खर्च, बिलभर्पाई हेरेर उसको खर्चको सोधभर्ना हुने गरी बीमा जोखिम बहन गर्न सकिने भएपनि कोरोना पोजेटिभलाई आर्थिक लाभ र चिट्ठामा परिणत गरी जनतालाई बाड्नु, त्यो चिट्ठा पनि केहिले पूरै परिवार सहित पाएर सम्पत्ती जोड्नु र केहि बिलाप गरी बस्ने वातावरण बनाउने ती मन्त्री, बीमा समितिका मान्छेहरु, बीमा कम्पनीका सीईयोहरुले यसको दायित्व लिनु पर्छ कि पर्दैन ?

अवश्य पर्छ ।

नेपाल जस्तो देश, बिदेशीले माया गरी स्थापना गरिदिएका कागज कारखाना, छालाजुत्ता कारखाना, चुरोट कारखाना, सिमेन्ट, कपडा कारखाना, रबर उद्योगहरु बन्द गरेर देशलाई सियो उत्पादन नगर्ने र कृषि प्रधान देश भन्दै भातढिँडो समेत बिदेशबाट आयात गरी खानुपर्ने अबस्थामा पु¥याइएको छ, यो अबस्थामा देशले जनताबाट करबाट असुल गरेको पैसा केहि भाग्यमानीहरुलाई चिट्ठा बाँडेर बस्ने छुट छ ? हुनत, नेताहरुको किड्नी फेर्न, मुत्रनली सफा गर्न करोडौं रकम लिने नेताहरु भएको र उनीहरुले नै ठूला कुरा गर्दै अन्धभक्त कार्यकर्ताहरुको ताली खाईरहेको ठाउँमा यो नैतिकता एउटा निरर्थक बहस हुनसक्छ । तर नीति निर्माण तहमा बसेर गैरजिम्मेवारपूर्ण र संसारमै नभएका बिचित्रका महामारीका पोलिसीहरु बेच्न निर्देशन दिने, बेच्ने र त्यसको दायित्व वहन गर्ने वा उत्पन्न भएको दायित्व वहन नगर्ने छुट कसैलाई छैन । उनीहरुको पद जोगाउने चाहना, मनोगत इच्छा, महत्वकांक्षा, लोकप्रिय हुने अभिलाषा, सनकको भरमा यो गरीव राज्यले ९ अर्ब चिट्ठाको रकम बाँड्ने हैसियत र अधिकार छ ? छैन भने, यो नीति ल्याउने तत्कालिन मन्त्री, कर्मचारी, नियामक निकाय, बीमा कम्पनीका प्रमुख लगायतले कुनै दायित्व लिनु नपर्ने ? उनीहरु चोखो बनेर अहिले पाखामा बसेर रोइकराई गर्न मिल्छ ?

अब केहि नगर्ने र यसलाई यसरी गिजोलेर बस्ने हो भने भिन्नै कुरा । यसको समाधानको उपाय खोजी गर्न पनि जरुरी छ । यसको समाधानको उपाय पनि छ, पहिलो कोरोना पोजेटिभ भएर मृत्यु भएकाका हकवालाहरुलाई १ लाख दिने र पोजेटिभ भएर पनि केहि नभएकाहरुलाई पछिल्लो पोलिसी अनुसारको बाँकी सबैलाई २५ हजार उपलव्ध गराउने । यसो गर्दा दायित्व रकम ३ अर्बमा झर्नसक्छ । दोश्रो, यसरी दिइने रकम यो चिट्ठा सञ्चालन गर्न स्वीकृति दिने तत्कालिन अर्थमन्त्री, बीमा समितिका पदाधिकारी र कम्पनीका सीईयोहरुबाट दामासाहीले उठाउने र त्यहि रकमबाट भुक्तानी गर्ने । कसैलाई जिम्मेवार नबनाई जनताले पसीना बगाएर राज्यकोषमा बुझाएको रकम दुरुपयोग गरी केहि भाग्यमानीहरुलाई चिट्ठा बाँडेर मुलुकमा कुनै समाजबाद आउंदैन ।

कोरोना चिट्ठा किनौं, १ लाख पुरस्कार जिताैं

One comment on "कोरोना चिट्ठाले सिर्जना गरेको ९ अर्बको दायित्व र समाधानको उपाय"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.