काठमाडौं । सेयरमा अन्धधुन्ध लगानी गरेको आरोपमा निलम्बलनमा परेका जनरल इन्स्योरेन्स कम्पनीका सञ्चालक दिपेन्द्र अग्रवालले सफाइ पाएका छन् । उनलाई निलम्बन गर्ने बीमा समितिले नै सफाइ दिएको हो ।
समिति गत बैशाख ३ गते उनलाई निलम्बन गरेको थियो । आज उनलाई बीमा समितिले सफाइ दिने निर्णय गरेको हो । उनको निलम्बन फुकुवा भएको समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले विकासन्युजलाई जानकारी दिए ।
समितिले निर्णयले सत्यको जीत भएको अग्रवालले बताए । ‘पहिला कम्पनीभित्रका गलत तत्वको प्रभावमा बीमा समितिले मलाई सञ्चालक पदबाट निलम्बन गरेको थियो । समितिले बास्तविकता बुझेपछि निलम्बन फुकुवा गरेको जानकारी पाएको छु’ उनले भने ।
कम्पनीमा पहिला झै फर्कने, कम्पनीको काममा पहिला झै सक्रिय रुपमा लाग्ने र कम्पनी बलियो बनाउन आफ्नो प्रयास केन्द्रीत हुने उनले बताए । कुनै पनि बीमा कम्पनीका सञ्चालक निलम्बन गर्ने अधिकार बीमा समितिमा नरहेको उनकाे तर्क छ ।
उनीमाथि कम्पनीलाई जोखिमपूर्ण ढंगले सञ्चालन गरेको आरोप बीमा समितिले नै लगाएको थियो । बीमकको लगानी निर्देशिकामा कुल टेक्निकल रिजर्भको १० प्रतिशतभन्दा कम नेप्सेमा सूचिकृत कम्पनीको साधारण सेयरमा लगानी गर्न पाउने व्यवस्था रहेकोमा कम्पनीले उक्त रिजर्भको १५५ प्रतिशतसम्म लगानी गरेको
लगानी कमिटिको बैठक बसी निर्णय नै नगरी मनोमानी ढंगले लगानी गरेको, संस्थागत सुशासन निर्देशिकामा बीमकले आफ्ना प्रवद्र्धक कम्पनीको सेयर किन्न नपाउने व्यवस्था गरेकोमा त्यस विपरित गोर्खा फाइनान्स, सिभिल बैंक लगायत आफै संस्थापक सेयरधनी रहेका कम्पनीको साधारण सेयरमा लगानी गरेको लगायतकाे आरोप लगाएको थियो ।
उनी सेयर बजारका सक्रिय र नाम चलेका लगानीकर्ता हुन् । उनी यसअघि मेगा बैंक नेपालमा सञ्चालक थिए ।