काठमाडौं । सेयरमा अन्धधुन्ध लगानी गरेको आरोपमा जनरल इन्स्योरेन्स कम्पनीको सञ्चालक दिपेन्द्र अग्रवाललाई बीमा समितिले पदबाट निलम्बन गरेको छ । अग्रवाललाई निलम्बन गरिएको निर्णयसहितको पत्र बीमा समितिले शुक्रबार जनरल इन्स्योरेन्स कम्पनीमा बुझाएको छ ।
बीमकको लगानी निर्देशिकामा कुल टेक्निकल रिजर्भको १० प्रतिशतभन्दा कम नेप्सेमा सूचिकृत कम्पनीको साधारण सेयरमा लगानी गर्न पाउने व्यवस्था छ । तर कम्पनीले उक्त रिजर्भको १५५ प्रतिशतसम्म लगानी गरेको बीमा समितिले भेट्टाएको छ ।
समितिले गत चैत २२ र २३ गते जनरल इन्स्योरेन्स कम्पनीमा स्थलगत निरिक्षण गरेको थियो ।
बीमा समितिबाट स्वीकृत भएको वार्षिक प्रतिवेदन २०७५/७६ कुल टेक्निकल रिजर्भ ९ करोड ३५ लाख ३९ हजार ४७५ रुपैयाँ रहेको छ । त्यसको दश प्रतिशत मात्र सेयर लगानी गर्न पाउने नियम छ । तर कम्पनीले १५५ प्रतिशत सेयरमा लगानी गरेकोले कम्पनीका सञ्चालकलाई निलम्बन गर्नेदेखि विभागीय प्रमुखलाई कारवाहीको निर्देशन दिने निर्णय भएको बीमा समितिको पत्रमा उल्लेख छ ।
त्यस्तै, बीमा समितिले स्वीकृत गरेको २०७६/७७ को आर्थिक प्रतिवेदनमा कुल टेक्निकल रिर्जभ १५ करोड ७५ लाख ७ हजार २८३ रुपैयाँ रहेको छ । त्यसको १० प्रतिशत रकम मात्र सेयरमा लगानी गर्न पाउने व्यवस्था विपरित कम्पनीले ६४ प्रतिशतसम्म लगानी गरेको पाइएको समितिले जनाएको छ ।
त्यस्तै, कम्पनीको लगानी सम्बन्धि कमिटिको बैठक समेत नियमित नभएको र लगानी कमिटिको बैठक बसी निर्णय नै नगरी मनोमानी ढंगले लगानी भएको समितिले जनाएको छ । कम्पनीमा लगानी, जोखिम व्यवस्थापन तथा वित्तीय स्वस्थता उपसमिति रहेको तर उपसमितिको बैठक नै नबसी, संस्थागत निर्णय नै नगरी सेयरमा लगानी गरेको भेट्टिएको बीमा समितिको स्थलगत निरिक्षण प्रतिवेदनमा उल्लेख गरिएको छ ।
लगानी सम्बन्धि उपसमिति र कम्पनीको सञ्चालक समितिले गरेको निर्णयका आधारमा मात्र लगानी गर्नु पर्नेमा त्यसो नगरिएको बीमा समितिको ठहर छ । उपसमितिले विभिन्न मितिमा गरेको निर्णय समेत सञ्चालक समितिमा पेस गर्ने, छलफल गर्ने, अनुमोदन गराउने काम समेत नभएको भेटिएको छ ।
त्यस्तै,संस्थागत सुशासन निर्देशिकामा बीमकले आफ्ना प्रवद्र्धक कम्पनीको सेयर किन्न नपाउने व्यवस्था गरेकोमा त्यस विपरित गोर्खा फाइनान्स, सिभिल बैंक लगायत आफै संस्थापक सेयरधनी रहेका कम्पनीको साधारण सेयरमा लगानी गरेको पाइएको छ ।
कम्पनीले आफ्नो सेयर समेत आफैले किनेको पाइएको छ । कम्पनी ऐनको दफ ६१ (१) मा कम्पनीले आफ्नो सेयर आफै खरिद (वाई व्याक) गर्न वा जमानत राखी ऋण दिन नपाउने व्यवस्था गरेको तर कम्पनीले सो व्यवस्था विपरित आफ्नै सेयर बजारबाट किनेको भेटिएको छ ।
कुनै पनि सूचिकृत कम्पनीको ५ प्रतिशत भन्दा कम सेयर लिन पाउने नियम विपरित जनरल इन्स्योरेन्स कम्पनीले अरुण भ्याली हाइड्रोपावरमा ६.४१ प्रतिशत सेयर किनेको बीमा समितिले भेट्टाएको छ ।
जनरल इन्स्योरेन्स कम्पनीले गत अक्टोवर ५ मा अरुण भ्यालीको सेयरमा ५ करोड १७ लाख २३ हजार र गत अक्टोवर ८ तारिकमा ६ करोड ३९ लाख ६७ हजार रुपैयाँ लगानी गरेको र उक्त लगानी सीमाभन्दा बढी भएको बीमा समितिको ठहर छ ।
कम्पनीले सेयर किनबेच गर्दा नेपाल स्टक एक्स्चेञ्जको टीएमएसमा युजर नेम र पासवर्ड लिने सम्बन्धमा, युजर नेम र पासवर्ड कसले लिने भन्ने सम्बन्धमा, सेयर किनबेच आदेश जारी गर्ने अख्तियारीको सम्बन्धमा संस्थागत निर्णय नै नगरेको पाइएको छ ।
उक्त कम्पनीले सेयर ब्रोकर कम्पनीहरु श्रीकृष्ण सेक्युरिटीज प्रा.लि. र सुमेरु सेक्युरिटीज प्रा.लि.बाट सेयर किनबेच गर्ने गरेको तर सेयर बिक्रीबाफत कम्पनीले पाउने पर्ने रकम लामो समयसम्म नपाएको भेटिएको छ । त्यस्तै, हरेक सेयर कारोबारमा हुने हिसाव मिलान समेत नगरेको पाइएको छ ।
समितिले सञ्चालक अग्रवाललाई निलम्बन गर्नुकाे साथै लगानीसँग सम्बन्धित कर्मचारीलाई पनि विभागीय कारवाही गरी बीमा समितिलाई जानकारी गराउने निर्देशन दिएकाे छ ।
थप समाचारका लागि हेर्दे गर्नुहोस www.bikashnews.com