राधीको सेयरमा मागको बाढी, बोनस र हकप्रदपछि हरियाली कि सुख्खा खडेरी ?

<p>काठमाडौं । दोश्रो बजारमा सूचीकृत हाइड्रोमध्ये राधी विद्युत कम्पनी सबैभन्दा महङ्गो बनेको छ । सूचीकृत ४० कम्पनीमध्ये राधी विद्युत कम्पनीको सेयर प्रतिकित्ता १३०० रुपैयाँ पुगेको छ । त्यस्तै, राधीपछिको महङ्गो हाइड्रोको रुपमा रुरु जलविद्युत परियोजना रहेको छ । जसको सेयर प्रतिकित्ता ११७० रुपैयाँसम्ममा किनबेच भएको छ । एक वर्षअघि (जुन ३०, २०२०) राधी विद्युत कम्पनीको [&hellip;]</p>

काठमाडौं । दोश्रो बजारमा सूचीकृत हाइड्रोमध्ये राधी विद्युत कम्पनी सबैभन्दा महङ्गो बनेको छ । सूचीकृत ४० कम्पनीमध्ये राधी विद्युत कम्पनीको सेयर प्रतिकित्ता १३०० रुपैयाँ पुगेको छ ।

त्यस्तै, राधीपछिको महङ्गो हाइड्रोको रुपमा रुरु जलविद्युत परियोजना रहेको छ । जसको सेयर प्रतिकित्ता ११७० रुपैयाँसम्ममा किनबेच भएको छ ।

एक वर्षअघि (जुन ३०, २०२०) राधी विद्युत कम्पनीको सेयर मूल्य प्रतिकित्ता १६९ रुपैयाँ रहेको थियो । त्यसपछि बढेर गत चार महिना (फेब्रुअरी ४, २०२१) अघि कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३४५ रुपैयाँ पुगेको थियो ।

सामान्य तवरले बढेको कम्पनीको सेयर मूल्य त्यसपछिको कारोबार भने तीव्र रुपले बढेको छ । एक महिनामै कम्पनीको सेयर मूल्य १२५ प्रतिशत बढीले बढेको छ । गत एक महिना अघि (मे ४, २०२१) मा प्रतिकित्ता ५७७ रुपैयाँमा कारोबार भएको सेयर गत जुन १ मा प्रतिकित्ता १३०० रुपैयाँमा कारोबार भयो । जुन हालसम्म कै उच्च मूल्य हो । तर जुन २ को बजारमा भने कम्पनीको सेयरमा १० प्रतिशतको करेक्सन लाग्यो र मूल्य प्रतिकित्ता १२०६ रुपैयाँमा झर्यो ।

त्यस्तै, कम्पनीले हालै मात्र बोनस र बोनसपछि हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको छ । तर उक्त सूचना जारी हुनु अघि नै कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि हुनुले इन्साइडर ट्रेडिङ्ग भएको भन्ने आशंका गरिएको छ । बोनस र हकप्रद सेयर जारी गर्ने सूचना आधिकारिक रुपमा प्रकाशित हुनुभन्दा अघि नै भित्रैभित्रै फैलाएर कम्पनीको सेयर मूल्य बढाउने खेल खेलिएको जानकारहरु बताउँछन् । जसले गर्दा छोटो अवधिमा नै कम्पनीको सेयर मूल्यमा एकाएक परिवर्तन आएको स्पष्ट देखिन्छ ।

यद्यपि, यस विषयमा नियामक निकाय नेपाल धितोपत्र बोर्ड भने मौन छ । यो कम्पनी त केबल एउटा उदाहारण मात्रै हो । यस्ता उदाहारण त दोश्रो बजारमा जतिपनि भेटिइरहेका छन् । तर पनि नियामक भने तै चुप मै चुप भन्दै मौन बसिरहेको छ ।

कम्पनीले गत जेठ ३ गते मात्रै ३६.५० प्रतिशत बोनस (कर बाहेक) सेयर वितरण गर्ने र त्यसको १५ दिनमै अर्को सूचना जारी गरी बोनसपछि लगत्तै १४७.५२ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको हो ।

राधी विद्युत कम्पनीले पहिलो पटक सेयरधनीलाई हकप्रद सेयर जारी गर्न लागेको छ । कम्पनीले बोनसपछि जारी कायम हुने चुक्ता पुँजीको १४७.५२ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको ३६.५० प्रतिशत बोनस सेयर (कर बाहेक) वितरण गर्ने प्रस्ताव गरेको छ । जुन हालसम्मकै उच्च लाभांश हो । हाल कम्पनीको चुक्तापुँजी ४७ करोड ३५ लाख रुपैयाँ रहेको छ । ३६.५० प्रतिशत बोनस सेयरपछि कम्पनीको चुक्ता पुँजी ६४ करोड ६४ लाख रुपैयाँ पुग्नेछ ।

यससँगै बोनसपछि कायम उक्त ६४ करोड ६४ लाख रुपैयाँ चुक्ता पुँजीको १४७.५२ प्रतिशत अर्थात १ बराबर १.४७५२ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव गरेको हो । १४७.५२ प्रतिशत हकप्रद सेयरपछि कम्पनीको चुक्ता पुँजी ९५ करोड ३५ लाख रुपैयाँ पुग्नेछ ।

कम्पनीले बोनस सेयर वितरण गरेपछि हकप्रद सेयर जारी गर्ने भएकोले यो प्रकृया लामो हुनेछ । हकप्रद सेयरको प्रकृयासम्मको लागि नेप्सेमा कम्पनीको दुई पटकसम्म सेयर मूल्य समायोजन भएको हुन्छ ।

कम्पनीको जारी गर्न लागेको उक्त हकप्रद सेयर सबै सेयरधनीले किन्नै पर्छ भन्ने हुँदैन । र, किन्न इच्छुक हुने सेयरधनीले कम्पनीको बुक क्लोज हुनुभन्दा अघिल्लो दिनसम्म होल्ड गरेको वा दोश्रो बजारबाट सेयर किनेको हुनुपर्छ । मानौं, कम्पनीले आगामी असार ७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ भने असार ६ गतेसम्म कम्पनीको सेयर किनेका अथवा सेयर होल्ड गरेका सेयरधनीले मात्रै कम्पनीले जारी गर्न लागेको हकप्रदमा आवेदन दिन योग्य हुनेछन् ।

यससँगै इच्छुक सेयरधनीले हकप्रद सेयर खरिद गर्न तोकिएको दरमा मूल्य तिर्नुपर्ने हुन्छ । कम्पनीले १ को अनुपातमा १.४७५२ हकप्रद सेयर जारी गर्ने भनिएमा सो कम्पनीको १०० कित्ता सेयर हुनेले कम्पनीबाट एक कित्ताको १०० रुपैयाँका दरले रकम तिरेर थप १४७.५२ कित्ता सेयर किन्न पाउँछ ।

जुनसुकै कम्पनीको बोनस या हकप्रद सेयर जारी गरिसकेपछि कम्पनीको सेयर मूल्य समायोजन हुन्छ र मूल्य घट्छ । त्यसपछि समायोजित मूल्यबाटै दोश्रो बजारमा सेयर किनबेच शुरु हुन्छ ।

सेयर मूल्य समायोजन गर्ने तरिका:

(बुक क्लोजअघिको सेयरको मूल्य+ (हकप्रदको प्रतिसेयर भाउ×हकप्रद%))/(१+ हकप्रद %)

राधी विद्युत कम्पनीले १४७.५२ प्रतिशत हकप्रद सेयर जारी गर्न लागेको छ । र, बुक क्लोजको अघिको बजारमा कम्पनीको सेयर प्रतिकित्ता १००० रुपैयाँ (मानिएको) मा अन्तिम कारोबार भएको छ । यस आधारमा कम्पनीको सेयर मूल्य समायोजन पछि प्रतिकित्ता ४६३.६० रुपैयाँमा झर्ने छ । र, हकप्रद अघि एक हजार रुपैयाँमा कारोबार भइरहेको सेयर पछि समायोजन भएपछि प्रतिकित्ता ४६३.६० रुपैयाँदेखि दोश्रो बजारमा किनबेच शुरु हुने छ ।

यी तथ्यांकले राधी विद्युत कम्पनीको सेयर मूल्य अहिले दोस्रो बजारमा जसरी माथि गइरहेको छ वा बजारमा जसरी यो कम्पनीको सेयरको माग बढेको छ, यसले भोलिका दिनमा कायम हुन आउने मूल्यलाई ‘जष्टिफाइ’ गर्छ कि गर्दैन भनेर विश्लेषण आवश्यक छ । केही लगानीकर्ता भने अहिले राधी विद्युत कम्पनीमा मागको बाढी आएपनि बोनस वितरण र हकप्रदपछि हरियाली छाउने वा खडेरी पर्ने भन्नेमा यकिन हुन नसकिने बताउन थालेका छन् ।

Share News