वाणिज्य बैंकहरुको खुद नाफा ५० अर्ब ७४ करोड रुपैयाँ, २१ बैंकले कमाउँदा ६ वटाले गुमाए

  २०७८ वैशाख १५ गते ११:५९     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ९ महिनामा वाणिज्य बैंकहरुले कूल ५० अर्ब ७४ करोड रुपैयाँ खुद नाफा कमाएका छन् । २७ वटा वाणिज्य बैंकहरुले सार्वजनिक गरेका आर्थिक वर्ष २०७७/७८ काे चैत मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार उनीहरुले पौने ५१ अर्ब रुपैयाँ खुद नाफा कमाएका हुन् ।

जुन गत वर्षको तुलनामा १३.५० प्रतिशतले बढी हो । बैंकहरुले गत आर्थिक वर्ष २०७६/७७ को चैत मसान्तसम्ममा ४४ अर्ब ७० करोड रुपैयाँ खुद नाफा आर्जन गरेका थिए ।

समिक्षा अवधिमा २७ वाणिज्य बैंकमध्ये २१ कम्पनीको खुद नाफामा वृद्धि भएको छ भने बाँकी ६ कम्पनीको नाफामा गिरावट आएको छ ।

खुद नाफा बढाउने कम्पनीमध्ये सबैभन्दा बढी नबिल बैंकले कमाएको छ । बैंकले ९ महिनाको अवधिमा ३ अर्ब ६७ करोड रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । जुन गत वर्षको तुलनामा १६.५० प्रतिशत बढी हो । बैंकले गत आवको चैत मसान्तसम्ममा ३ अर्ब १५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

त्यस्तै, ग्लोबल आईएमई बैंक, राष्ट्रिय वाणिज्य बैंक र एनआईसी एशिया बैंकले ३ अर्ब रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गर्न सफल भएका छन् । ग्लोबल आईएमई बैंकले ३ अर्ब ५७ करोड, राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब २७ करोड र एनआईसी एशिया बैंकले ३ अर्ब रुपैयाँ बराबरको नाफा गरेको छ ।

नाफा बढ्नेमध्ये पनि प्रतिशतका आधारमा सबैभन्दा बढी एनएमबि बैंककाे बढेकाे छ भने कृषि विकास बैंककाे सबैभन्दा कम प्रतिशतले नाफामा सुधार देखिएकाे छ । यी दुई बैंककाे नाफा क्रमशः ८७.८० र १.३९ प्रतिशतले बढेकाे छ ।

नाेटः भिन्नता प्रतिशतमा (श्रोतः सम्बन्धित कम्पनीले प्रकाशित गरेका अपरिष्कृत वित्तीय विवरणबाट)

उता ६ वटा वाणिज्य बैंक भने नोक्सानमा रहेका छन् । एभरेष्ट, हिमालयन, स्ट्याण्डर्ड चार्टर्ड, एनसीसी, नेपाल एसबिआई र सेञ्चुरी कमर्शियल बैंककाे खुद नाफा गत आवकाे तुलनामा घटेकाे छ ।

जसमध्ये प्रतिशतका आधारमा सबैभन्दा बढी सेञ्चुरी कमर्शियल बैंकले गुमाएको छ भने सबैभन्दा कम एनसीसी बैंकले गुमाएकाे छ । यी दुई बैंककाे नाफा क्रमशः ६०.८९ र ५.५५ प्रतिशतले घटेकाे छ ।

त्यस्तै, हिमालयनकाे ४४.४५, नेपाल एसबिआईकाे ३८.९०, एभरेष्टकाे ३५.९३, स्ट्याण्डर्ड चार्टर्डकाे ३४.३४ र एनसीसी बैंककाे ५.५५ प्रतिशतले खुद नाफा घटेकाे हाे ।

नोक्सानीमा रहेका कम्पनीमध्ये एभरेष्ट बैंकको सबैभन्दा बढी खुद नाफा रहेको छ । बैंकको यस्तो नाफा एक अर्ब ५० करोड रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.