निषेधाज्ञाको बेलामा सेयर बजार खुल्छ कि खुल्दैन ?

  २०७८ वैशाख १३ गते १४:५७     विकासन्युज

काठमाडौं । काठमाडौं उपत्यकामा बैशाख १६ गतेदेखि निषेधाज्ञा जारी हुने भएको छ । उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले बैशाख १६ गतेदेखि निषेधाज्ञा लगाउने निर्णय गरेको स्रोतहरुले पुष्टी गरेपनि औपचारिक रुपमा निर्णय सार्वजनिक भएको छैन ।

निषेधाज्ञा जारी भएको समयमा सरकारले तोकेका बाहेक पेशा व्यवसाय संचालन गर्न पाइदैन । सरकारले सामान्यतः औषधी पसल र खाद्यान्न पसल बाहेक अन्य व्यवसाय रोक्न सक्ने सम्भावना रहन्छ । निषेधाज्ञाको समयमा सरकारले अत्यावश्यक भनेको सेवा पनि सुचारु हुनेछन् ।

तर, २०७६ साल चैत ११ गतेदेखि गरिएको देशव्यापी लकडाउन घोषणा गर्दा सेयर बजार पनि बन्द भएको थियो । लकडाउन घोषणा भएको दिनदेखि नै बन्द भएको सेयर बजार २०७७ सालको असार १५ गतेदेखि मात्रै खुलेको थियो ।

कोरोना भाइरस संक्रमणको दोस्रो लहर चलेसँगै सुरु भएको निषेधाज्ञाको समयमा सेयर बजार बन्द हुन्छ कि खुल्छ भन्ने चासो बढेको छ । तर, अहिले बजार बन्द गर्नुपर्ने अवस्था नरहेको पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना बताउँछन् ।

‘यसअघिको लकडाउनको समयमा अनलाइन कारोबार गराउन सक्ने अवस्था देखिएको थिएन, त्यसैले बजार बन्द थियो, अहिले अनलाइन कारोबारको लागि सबै संयन्त्र तयार छन्, निषेधाज्ञा जारी भएपनि बजार बन्द हुँदैन, स्वाभाविक रुपमा सेयर बजार खुल्ला रहन्छ,’ अध्यक्ष ढुंगानाले विकासन्युजसँग भने ।

सम्बन्धित समाचार

धितोपत्र बोर्डले भन्यो- सेयर बजार बन्द नगर्नु, सुरक्षित कारोबारको लागि विभिन्न ६ व्यवस्था अपनाउनु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.