ज्योति लाईफ इन्स्योरेन्सको आईपीओमा ऐतिहासिक रेकर्ड, १८ लाख बढीले भरे सेयर

  २०७७ फागुन २६ गते १८:४६     विकासन्युज

काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्सले निष्काशन गरेको प्राथमिक सेयर ( आईपीओ)मा १८ लाखभन्दा बढीले आवेदन दिएका छन् । जुन नेपालको इतिहासमै हालसम्मकै उच्च आवेदन हो ।

आईपीओ निष्काशन गरेको अन्तिम दिन अर्थात फागुन २६ गते साँझ ५ बजेसम्ममा कम्पनीको आईपीओमा १८ लाख ४ हजार ३४८ जना आवेदकले ३ करोड ८० लाख ५७ हजार ७१० कित्ताको लागि आवेदन दिएका छन् । जुन कम्पनीले सर्वसाधारणमा माग गरेकोभन्दा ६.४० गुणा बढी आवेदन हो । हालसम्म सबै सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट सम्पूर्ण डाटा अपडेट नभइसकेकाेले यसमा बृद्धि हुन सक्ने छ ।

कम्पनीले फागुन २१ गतेदेखि ६६ करोड रुपैयाँ बराबरको अर्थात अंकित मूल्य एक सय रुपैयाँको ६६ लाख कित्ता आईपीओ सर्वसाधारणमा निष्काशन गरेकाे हाे । जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख ३३ हजार कित्ता कर्मचारीलाई र ५ प्रतिशत सामूहिक लगानी कोषलाई सुरक्षित गरिएको छ । र, बाँकी रहेको ५९ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणमा बिक्री गरेकाे हाे ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ । त्यस्तै, आईपीओ निष्काशनका लागि केयर रेटिङ्ग नेपालले इन्स्योरेन्सलाई केयर एनपी त्रिपल बि इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । जसले समयमा नै वित्तीय दायित्व पुरा गर्न सक्षम रहेकाे मध्यमस्तरकाे सुरक्षित कम्पनी जनाउँछ ।

हाल इन्स्योरेन्सको चुक्ता पुँजी एक अर्ब ५४ करोड रुपैयाँ छ । ६६ करोड रुपैयाँ बराबरको आईपीओ बाँडफाँड पश्चात कम्पनीको चुक्ता पुँजी २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ ।

कम्पनीले चालु आर्थिक वर्षको दोश्रो त्रैमास सम्ममा १ अर्ब ४४ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्दै १० करोड ७८ लाख रुपैयाँ खुद नाफा गरेको छ । कम्पनीले जीवन बीमा कोषमा २ अर्ब ९१ करोड रुपैयाँ संचित छ भने जगेडा कोषमा ४८ करोड २४ लाख रुपैयाँ रहेको छ । कम्पनीको कुल लगानी ४ अर्ब १७ करोड रुपैयाँ रहेको छ भने प्रतिसेयर आम्दानी १४ रुपैयाँ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.