काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । संस्थाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
माघ २८ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ कोे नाफाबाट चुक्ता पुँजीको १५ प्रतिशत बोनस र ५ प्रतिशत नगद(कर प्रयोजनको लागि समेत) गरी २० प्रतिशत लाभांश प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकको स्वीकृत तथा संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।
हाल संस्थाको चुक्ता पुँजी एक अर्ब रुपैयाँ रहेको छ । १५ प्रतिशत बोनस सेयर पछि संस्थाको चुक्ता पुँजी एक अर्ब १५ करोड रुपैयाँ नाघ्ने छ ।
प्रस्तावित लाभांश अघिल्लो आर्थिक वर्षको तुलनामा कम हो । संस्थाले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट चुक्ता पुँजीको ३० प्रतिशत बोनस र १५ प्रतिशत नगद गरी कूल ४५ प्रतिशत लाभांश वितरण गरेको थियो ।