२०७७ माघ ५ गते १७:२६ विकासन्युज
काठमाडाैं । सीडीएस एण्ड क्लियरिङ्ग(सीडीएससी) ले आगामी माघ ११ गतेदेखि ‘टी प्लस टू’ कार्यान्वयनमा ल्याउने भएकाे छ । सञ्चालक समितिको निर्णयानुसार सीडीएससीले साे दिनदेखि धितोपत्र कारोबारको राफसाफ तथा फर्छ्यौट चक्रलाई दुई कार्य दिन‘टी प्लस टू’भित्र सम्पन्न गर्ने व्यवस्था मिलाउने भएकाे हाे ।
नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएसँगै सीडीएससीले उक्त व्यवस्था लागू गर्ने भएकाे हाे । सीडीएससीले धितोपत्र कारोबार राफसाफ तथा फर्छ्यौट विनियमावली, २०६९ को उपविनियम १३ लाई संशोधन गरि नेपाल धितोपत्र बोर्डमा स्वीकृतिका लागि पेस गरेको थियाे, जसलाइ बाेर्डले गत पुस २६ गते नै स्वीकृति दिएकाे थियाे ।
यससँगै संशोधित विनियमावली अनुसार राफसाफ तथा फर्छ्यौट गर्नका लागि सम्बन्धित सरोकारवालाहरूले निम्न बमोजिमको व्यवस्था गर्नुपर्ने सीडीएससीले जनाएकाे छ ।
लगानीकर्ताले गर्नुपर्नेः
धितोपत्रको बिक्री कारोबार गर्ने लगानीकर्ताले आफूले बिक्री गरेको धितोपत्रको राफसाफ तथा फर्छ्यौटका लागि ई-डीआईएस जारी गर्दा टी प्लस वान् अर्थात् कारोबार भएको मितिको भोलिपल्ट भित्रमा जारी गरिसक्नु पर्छ । ई-डीआईएस जारी गर्न नसक्ने लगानीकर्ताले टी प्लस वान् भित्र भौतिक निर्देशन पूर्जी जारी गरी सम्बन्धित निक्षेप सदस्यकोमा बुझाउनु पर्छ ।
धितोपत्रको खरिद कारोबार गर्ने लगानीकर्ताले आफूले खरिद गरेको धितोपत्र बापतको रकम सम्बन्धित राफसाफ सदस्यलाई टी प्लस वान् अर्थात् कारोबार भएको मितिको भोलिपल्टै बुझाउनु पर्छ ।
राफसाफ सदस्यले गर्नुपर्नेः
धितोपत्रको बिक्री कारोबार गर्ने राफसाफ सदस्यले सम्पूर्ण विक्री कारोबारको पूँजीगत लाभकर गणनाका लागि आवश्यक डब्लुएसीसी सम्बन्धी विवरण विक्रीकर्ता लगानीकर्ता बाट प्राप्त गरि टी प्लस टूको बिहान ११ बजे भित्र राफसाफ तथा फर्छ्यौट प्रणाली (सीएनएस) मा प्रविष्टि गर्नुपर्छ ।
धितोपत्रको बिक्री कारोबार गर्ने राफसाफ सदस्यले सम्पूर्ण विक्री कारोबारको राफसाफ तथा फर्छ्यौट कार्यका लागि आवश्यक धितोपत्र आफ्नो राफसाफ खातामा जम्मा भएको यकिन गरि कुनै विक्री कर्ताले निर्धारित समयावधि भित्र आफ्नो राफसाफ खातामा जम्मा नगराएको खण्डमा टी प्लस टूको मध्यान्न १२ बजे भित्र सो बिक्रीकर्ताको विक्री कारोबारको सरटेज मार्क गरिसक्नु पर्छ ।
धितोपत्रको खरिद कारोबार गर्ने राफसाफ सदस्यले सम्पूर्ण विक्री तथा खरिद कारोबारको गणना गरि सो को नेटिङ्ग पश्चात् हुने रकम तथा अन्य कमिसन बुझाउनुपर्ने देखिएमा टी प्लस टूको मध्यान्न १२ बजे भित्र आफ्नो राफसाफ बैकमा रहेको राफसाफ खातामा जम्मा गरिसक्नु पर्छ ।
त्यस्तै, धितोपत्रको खरिद कारोबार गर्ने राफसाफ सदस्यले राफसाफ भैसकेको धितोपत्र सम्बन्धित खरिदकर्ताको हितग्राही खातामा टी प्लस टूमा राफसाफ तथा फर्छ्यौट सम्पन्न भए पश्चात् यथाशीघ्र राफसाफ तथा फर्छ्यौट प्रणाली(सीएनएस) मार्फत् हस्तान्तरण गर्नुपर्छ ।
निक्षेप सदस्यले गर्नुपर्नेः
निक्षेप सदस्यले हरेक दिन बिहान ११ बजे भित्रमा मेरो शेयर मार्फत् प्राप्त ई-डीआईएसको फाईल जेनेरेट गरि केन्द्रीय निक्षेप प्रणालीमा(सीडीएएस) अपलोड गरि सोको कारोबार सफल भएको यकिन गरि मेरो शेयरमा सो ई-डीआईएस फाईल प्रोसेस गर्नुपर्छ ।
ई-डीआईएस जारी गर्न नसक्ने लगानीकर्ताले प्रदान गरेको भौतिक निर्देशन पूर्जी तत्काल प्रणालीमा प्रविष्टि गरि सो को जानकारी सम्बन्धित लगानीकर्तालाई प्रदान गर्नु पर्ने कम्पनीले जनाएकाे छ ।
राफसाफ बैंकले गर्नुपर्नेः
बैंकले हरेक दिन राफसाफ तथा फर्छ्यौट प्रणालीमा प्राप्त निर्देशन बमोजिम राफसाफ सदस्यको पुल खाताहरू, राफसाफ गृहको राफसाफ खाता तथा विभिन्न कमिसन खाताहरूमा आवश्यक रकम डेविट वा क्रेडिट गरि सो को जानकारी प्रणालीमा प्रविष्टि गर्नुपर्ने छ ।
परिमार्जित चक्र अनुसार धितोपत्रको राफसाफ तथा फर्छ्यौट कार्य निर्धारित समयावधि भित्र सम्पन्न गर्न सम्बन्धित सम्पूर्ण सरोकारवालाहरूले आ-आफ्नो दायित्व पुरा गरि राफसाफ प्रक्रिया सम्पन्न गर्न सीडीएससीले अनुरोध गरेकाे छ । साथै, धितोपत्र कारोबारको राफसाफ तथा फर्छ्यौट चक्र छोटिएसँगै बजारमा धितोपत्रको तरलतामा वृद्धि हुन गई समग्र पुँजीबजार थप चलायमान हुने र सो बाट लगानीकर्ताहरु थप लाभान्वित हुने कम्पनीकाे छ ।
सम्बन्धित समाचार
Copyright © 2021 Bikash Media Pvt. Ltd.
नौटंकी
जबसम्म बैंक ले ब्रोकर LICENCE पाऊदैन एस्तो नौटंकीले आम लगानीकर्ताले अहिले भोगेको सास्ती समाधान हुँदैन /
बैंक ब्रोकर LICENCE दिन किन ढिलाई भैरहेको छ ? कसको के स्वार्थ ले गर्दा हो ?
अहिलेका अर्थामत्री त लगानी मैत्री हुनुहुन्छ भन्ने सुनिएको थियो, उनि पनि कानमा तेल हालेर सुते को जस्तो छ , किन होला कुन्नि ?
आशा गरौँ रविन्द्र भट्टराई ले भनेको जस्तै होस् – “देशका कुना–कुनाबाट प्राथमिक बजारमा लगानीकर्ता थपिएका छन्, तर सेयर बेच्न पाइरहेका छैनन्। अन्तर्राष्ट्रिय बजारमा बैंकका सहायक कम्पनी नै ठूला ब्रोकर छन्। हरेक बैंक सहायक कम्पनीमार्फत सेयर बजारमा जोडिएका हुन्छन्। हरेक बैंकका शाखामा सेयर बजारका सल्लाहकार हुन्छन्, जसले सेयर कारोबार खाता खोलाउने, लगानीका विभिन्न प्रडक्टहरुका बारेमा लगानीकर्तालाई जानकारी दिने र उपयुक्त पोर्टफोलियोको सल्लाह दिनेसम्म हुन्छ। आशा गर्न सकिन्छ व्यक्तिले लाद्न खोजेका व्यक्तिगत चहनाको आयु छोटो हुन्छ ”
धितोपत्र बोर्ड र नेप्सेले गर्नैपर्ने काम चाहिँ के–के हुन् ? सेयर बजारसँग सम्बन्धित समाजिक सञ्जालका ग्रुपहरुमा गएर लगानीकर्ताका समस्या, चाहना, पीडा यिनले पढे पनि हुन्छ। त्यसबाट यिनले सजिलै थाहा पाउँछन् गर्नुपर्ने काम