काठमाडौं । माछापुच्छ्रे बैंकको प्रस्तावित १०.४ प्रतिशत लाभांश पारित भएको छ । आज पुस २ गते सम्पन्न बैंकको २२औँं वार्षिक साधारण सभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।
सभाले आर्थिक बर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको ३.३७ प्रतिशत नगद र ७.०३ प्रतिशत बोनस गरी कुल १०.४ प्रतिशत लाभांश पारित गरेको हो । साथै, सभाले बैंकको आर्थिक बर्ष २०७६/७७ को बार्षिक प्रतिबेदन पारित गरेकाे छ । साथै, बैंकले आजैको मिति पुस २ गतेबाट आफ्ना सेयरधनीलाई लाभांश वितरण गर्न सुरु गरिसकेको छ ।
त्यस्तै, सभाले माछापुच्छ्रे बैंक सर्वसाधारण सेयरधनी समुहको तर्फबाट जय मुकुन्द खनाल, विश्व प्रकाश गौतम तथा सृजना कार्की भट्टराईलाई आगामी ४ वर्षको लागि संचालक समितिको सदस्य पदमा निर्विरोध निर्वाचित गरेको छ ।
बैंकले गत आर्थिक वर्षमा १ अर्ब २६ करोड ५१ लाख रुपैंया खुद नाफा गरेर प्रतिशेयर आम्दानी १४ रुपैयाँ ९६ पैसा कायम गरेको थियो । बैंकको चुक्ता पुँजी ८ अर्ब ४५ करोड रुपैयाँ तथा साधारण जगेडा कोषमा १ अर्ब ७० करोड रुपैयाँ संचित छ ।
बैंकले आफ्ना १६० वटा शाखाहरु लगायत १४१ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा ३०१ स्थानवाट ग्राहकमा सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरेको छ । साथै, बैंकले देशभर २०० वटा एटीएमहरु मार्फत ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।