काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गरेको छ । समीक्षा मार्फत अधिविकर्ष (ओडी), सेयरधितो र रियलस्टेट कर्जाका विद्यमान व्यवस्था पुनरावलोकन गर्ने भनेको छ ।
कोभिड महामारीको कारण लगानीका अन्य क्षेत्रमा आकर्षण नदेखिए पनि ओडी कर्जा लिएर सेयर र घरजग्गा जस्ता रियलस्टेट क्षेत्रमा लगानी गर्नेहरु बढिरहेका थिए । यस्तै, सेयरधितो र रियलस्टेट शिर्षकमै कर्जा लिएर लगानी गर्ने क्रम पनि बढेको थियो ।
राष्ट्र बैंकले यी क्षेत्रमा कर्जा जाने विद्यमान व्यवस्था पुनरावलोकन गर्ने भनेको यो क्षेत्रतिर जाने कर्जामा केही कडाई गर्ने नै भनेको हो । ओडीको कर्जा पनि सेयर बजार र रियलस्टेटमा तथा सोही शिर्षकमा लिएको कर्जा पनि यिनै क्षेत्रमा जाने र सोको परिमाण ठूलो बन्दै गएपछि राष्ट्र बैंक सशंकित बनेको हो ।
अहिले सेयर बजारमा राम्रो उत्साह छ । बजारमा दिनदिनै नयाँ नयाँ रेकर्ड कायम भइरहेका छन् । दैनिक कारोबार रकम, परिसुचक जस्ता मापकले नयाँ नयाँ रेकर्ड कायम गरेका हुन् ।
तर, यही बेला राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा मार्फत कर्जा प्रवाहको विद्यमान व्यवस्था पुनरावलोकन गर्ने भनेपछि लगानीकर्ता तर्सिएका छन् । राष्ट्र बैंकले पुनरावलोकन गरी कडाई गर्न खोजेको लगानीकर्ताको बु्झाइ छ ।
‘हिजोसम्म बैंक वित्तीय संस्थाहरु सस्तो व्याजमा ऋण अफर गर्दै अफिस अफिस आएर ऋण दिइरहेका थिए, यसले पुँजी बजारमा लगानी थप भएर उत्साह कायम भएको थियो, मौद्रिक नीतिको त्रैमासिक समीक्षा मार्फत विद्यमान व्यवस्था पुनरावलोकन गर्ने भनिएको छ, त्यो भनेको कडाई गर्ने नै होला, कस्तो खालको कडाई गरिन्छ, के कस्ता नयाँ व्यवस्थाहरु गरिन्छ, त्यसले दोस्रो बजारलाई असर पार्ने निश्चित नै छ, राष्ट्र बैंकले भने जस्तो विद्यमान व्यवस्थामा पुनरावलोकन नहुँदासम्म झनै अन्योल भयो,’ एक ठूला लगानीकर्ताले भने ।
गत असोज २८ गते अर्थमन्त्रालयको जिम्मेवारी विष्णु पौडेलले सम्हालेदेखि नै पुँजी बजारमा रौनक छाएको छ । पुँजी बजार मापक नेप्से परिसुचक २ हजार विन्दुभन्दा माथि पुगिसकेको छ । दैनिक ९ अर्ब रुपैयाँभन्दा बढीको कारोबार पनि हुन थालेको छ । राष्ट्र बैंकले नीतिगत रुपमा यो क्षेत्रमा जाने कर्जामा कडाई गरेमा दोस्रो बजारमा नकारात्मक असर पर्ने लगानीकर्ताहरुले बताएका छन् ।
सम्बन्धित सामग्री