काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । संस्थाले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई २० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । जुन अघिल्लो २ वर्ष यताकै उच्च लाभांशदर हो ।
संस्थाले चुक्ता पुँजीको १९ प्रतिशत बोनस र कर प्रयोजनको लागि १ प्रतिशत नगद गरी सो मात्राको लाभांश प्रस्ताव गरेको हो । मंसिर ९ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले सो मात्राको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी साधारण सभाले पारित गर्नुपर्ने छ ।
हाल संस्थाको चुक्ता पुँजी ४५ करोड ३६ लाख रुपैयाँ रहेको छ । १९ प्रतिशत बोनस पश्चात लघुवित्तको चुक्ता पुँजी ५३ करोड ९८ लाख रुपैयाँ पुग्ने छ ।
संस्थाले अघिल्लो आर्थिक वर्ष २०७५/७६ को नाफाबाट सेयरधनीलाई १२.६३ प्रतिशत लाभांश (१२ प्रतिशत बोनस र ०.६३ प्रतिशत नगद) वितरण गरेको थियो । त्यस्तै, आर्थिक वर्ष २०७४/७५ को नाफाबाट १५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.७८ प्रतिशत नगद गरी १५.७८ प्रतिशत लाभांश वितरण गरेको थियो ।