बजारमा मोबाइल/ल्यापटपको चरम अभाव, सामान महँगियाे, ग्राहक घटेनन्

  २०७७ असोज १२ गते १५:३१     सन्ताेष राेकाया

काठमाडाैं । अहिले बजारमा मोबाइल ल्यापटप लगायत सूचना प्रविधिमा प्रयोग हुने सामानहरुको चरम अभाव देखिएको छ । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारण उत्पन्न लकडाउन खुलेपछि बजारमा मोबाइल र ल्यापटप लगायत आईटीका सामानहरुको खरिद बिक्री बढेसँगै यसको अभाव देखिएको हो ।

लकडाउन खुकुलो भएपछि खुलेको बजारमा ल्यापटप र मोबाइलको माग ह्वात्तै बढेको छ भने माग अनुसारको बजारले आपुर्ति गर्न सकेको छैन । अहिले कोरोना भाइरसको त्रासले घरभित्रै रहेका नागरिकहरुले अनलाइनबाट हुने कामलाई तीव्रता दिएसँगै यसको माग बढेको र त्यस अनुसारको आपुर्ति गर्न नसकेको व्यवसायीहरुले बताएका छन् ।

अहिले अनलाइनबाट हुने विभिन्न कारोबार र अधिकांश स्कुल कलेजहरुले पनि ‘अनलाइन क्लास’ शुरू गरेपछि मोबाइल ल्यापटपको माग बढेको हो । अनलाइनमार्फत पढ्न ल्यापटप मोबाइलकाे अति आवश्यक हुन्छ ।

त्यस कारणले पनि अहिले बजारमा नयाँ ल्यापटप तथा मोबाइल खरिद गर्नेहरुको संख्या दिनानुदिन बढिरहेको हो ।
बजारमा सामानको माग बढी भएपछि यसको अभाव हुनुका साथै उपभोक्ताहरुले चर्को मूल्यमा सामान खरिद गर्नु पर्ने बाध्यता देखिएको छ ।

सर्वसाधारणहरुले ल्यापटप तथा मोबाइल लगायत सामानमा चर्को मूल्य हालेर खरिद गर्नु पर्ने बाध्यता देखिएको हो । कम्प्युटर एशोसिएसन नेपाल (क्यान) अध्यक्ष नवराज कुवँरका अनुसार अहिले बजारमा मोबाइल तथा ल्यापटपको कारोबार गत वर्षको भन्दा २५ प्रतिशतले बढेको छ । बजारमा माग बढी भएकै कारण माग अनुसारको आपुर्ति हुन नसकेको उनको भनाई छ ।

‘कोरोनाको त्रासले नागरिक घर भित्रै छन्, विभिन्न कारोबार पनि अनलाइनबाटै हुने गरेका छन्, विभिन्न स्कुल कलेजहरुले पनि अनलाइन कक्षा सुरु गरेका छन्, त्यसैले पनि नयाँ मोबाइल तथा ल्यापटप किन्नेको संख्या बढेको छ,’ उनले भने ।

उनका अनुसार अहिले बजारमा सूचना प्रविधिमा आधारित सामानहरुको कारोबार बढेको छ भने उपभोक्ताले पूराना मोबाइल छोडेर नयाँ सामान किन्न थालेका छन् । सामान अभावको कारण ग्राहकले आफुले रोजेको सामान किन्न नपाएको उनले बताए ।

‘अहिले बजारमा सामान छैन, लकडाउनको समयमा सामान आउन पनि पाएन, सामान चार्टर गरेर ल्याउनु परेकाे छ, त्यसैले पनि सामान महँगिएकाे छ, उनले भने ।

उनले लकडाउन अगाडि भन्दा लकडाउन पछाडि सामान ढुवानी भाडा बढेकोले सामानको मूल्य पनि बढेको बताए ।
‘लकडाउन अघि प्रतिकेजी दुई डलरदेखि तीन डलरसम्म ढुवानी तिर्नु पर्थ्यो, अहिले प्रतिकेजी १० देखि १२ डलर प्रतिकेजी तिर्नु पर्छ, सहज ढुवानी नभएकै कारण पनि बजारमा सामानको मूल्य बढेको हो,’ उनले भने ।

पछिल्लो समय चीनबाट सामान नआउनु तथा भएको सामान बिक्री हुँदा अभाव बढेको हो । त्यहीकारण ग्राहकको मागअनुसारका ल्यापटप ल्याउन नसकेको व्यवसायी बताउँछन् । अझै एक हप्तासम्म नेपाली बजारमा ल्यापटप र मोबाइलको आपूर्ति सामान्य अवस्थामा नफर्किने व्यवसायीहरुको भनाई छ ।

दुई महिनामै आयात उच्च

दुई महिनाको अवधिमा नेपालमा सबैभन्दा बढी आयात गरिने वस्तुको सूचीमा मोबाइल एक नम्बरमा छ । चालु आर्थिक वर्षको दुई महिना (साउन भदौ) मा मोबाइल ल्यापटप लगायत आईटी सामानहरुको आयात उच्च देखिएको छ ।

कोरोना भाइरस कोभिड–१९ को कारण भएको लकडाउन र निषेधाज्ञाको कारण मोबाइल, ल्यापटप र ट्याब आयातमा भारी वृद्धि भएको भन्सार विभागको तथ्यांकले देखाएको छ । चालू आर्थिक वर्षको साउन र भदौमा मात्र १० अर्ब ३० करोड रुपैयाँबराबरका मोबाइल, ल्यापटप र ट्याब भित्रिएको तथ्यांकमा उल्लेख छ ।

साउन र भदौमा ल्यापटप र ट्याबमात्र १ अर्ब ३ करोड २२ लाख रुपैयाँबराबरको आयात भएको छ। त्यसैगरी ९ अर्ब २७ करोड रुपैयाँको मोबाइल तथा मोबाइल एक्सेसरिज आयात भएको छ।

यसअघि आयातको सूचीमा पहिलो नम्बरमा पेट्रोलियम पदार्थ हुन्थ्यो। साउन र भदौमा सबैभन्दा बढी मोबाइल चीनबाट ५ अर्ब १२ करोड ३८ लाख रुपैयाँ बराबरको आयात भएको छ भने भारतबाट २ अर्ब ५४ करोड ४६ लाख ३० हजार रुपैयाँबराबरको भएको छ।

कुवँर पहिलेकाे सामान स्टककै रुपमा रहेकाे र नयाँ सामान पनि सँगै आएकाेले साउन र भदाैमा आयात उच्च देेखिएकाे हुन सक्ने बताउँछन् ।

One comment on "बजारमा मोबाइल/ल्यापटपको चरम अभाव, सामान महँगियाे, ग्राहक घटेनन्"

  • Balkrishna Pandey says:

    बजारमा भित्रिएका माल,
    original हुन् या refurbish(पहिला अरुलाई बिक्रि भएको, अनि कुनै कारणले फिर्ता भएको,फेरी कम्पनीले चेकजाच गरि नयाँ packing गरि, offer मा बिक्रि गरेको)हुन्, यो हेर्ने कुनै निकाय छ नेपालमा ??

    सबैले नयाँ भनेर refurbished laptop बजारमा बेची राखेका त छैनन ?

    जवाफ कसले दिने ??

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.