काठमाडौं । आइतबार ब्रोकरको टीएमएस प्रणालीमा समस्या आएको छ । कारोबार खुलेदेखि नै सिष्टममा समस्या आएपछि लगानीकर्ता तनावमा परेका छन् ।
उक्त प्रणालीमा समस्या आएपछि कसैले अडर राख्न नै नमिलेकाे त कसैले अडर राख्दा मल्टिपल इन्ट्री भएको लगानीकर्ता बताउँछन् ।
‘एक पटक सेयर बेच्न खोज्दा दुई भन्दा धेरै पटक इन्ट्री भएको देखाएको छ । सेल अडर राख्ने समयमा लग इन भएर सेल रोखेको । पछि लाइन गएर आउँदा अडर प्लेस दुई वटा देखाउँछ । क्यान्सिल गर्न खोज्दा पनि लग अफ भएको छ ।’, उनले विकासन्युजसँग भने ।
सिस्टमका अनुसार सर्ट सेल नहुने व्यवस्था रहेकाेमा साे अनुसार मल्टीसेल पनि नहुनु पर्ने उनकाे भनाइ छ । ‘अब कारोबार बन्द हुने अवधिसम्म दुई वटा सेल नै पुरा भयो भने क्लोज आउटमा राखेर फाइन(जरिवाना) तिर्नु पर्ने त होइन ?’- उनले भने ।
यस विषयमा नेपाल धितोपत्र बोर्डले समस्या हेरेर समाधान गरिने बताएको छ । ‘समस्या के हो भनेर नेप्सेलाई सोधिएको छ । नेप्सेले खबर गरेपछि समस्या अनुसारको समाधान गर्छाैं ।’, बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले विकासन्युजसँग भने ।
उता नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले टीएमएसमा देखिएकाे समस्या के हाे भन्ने पुष्टी नभइसकेकाे बताए । ‘समस्या टीएमएसमा देखिएकाे हाे । काेही ब्राेकरले अडर हाल्न नसकेकाे र काेहि लगानीकर्ताकाे मल्टीपल अडर गएकाे भन्ने सुनिएकाे छ । तर, के हाे पुष्टी हुन बाँकी रहेकाे छ । केस हेरेर सम्बन्धित शाखाले नियम कानुन अनुसार निर्णय गर्छ ।’, उनले भने ।

सम्बन्धित समाचारः
टीएमएसमा समस्या देखिएपछि कारोबार बन्द, नेप्सेले भन्यो- सरी