एनआरएन इन्फ्रास्ट्रक्चरको आईपीओमा लगानी गर्नुस्, प्रतिफल सुनिश्चित छः सीईओ खतिवडा

  २०७७ साउन ९ गते १२:०२     विकासन्युज

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन्, उषा खतिवडा । डेढ वर्षदेखि यस कम्पनीको सीईओको रुपमा कार्यरत रहेकी खतिवडासँग हाइड्रो पावर क्षेत्र र विभिन्न प्रशासनिक क्षेत्रमा १५ वर्षको लामो अनुभव रहेकाे छ ।

उनी पटक-पटक नेपाललाई प्रतिनिधित्व गर्दै विदेशमा हुने सभा सम्मेलनमा पनि सरिक रहेकी छिन् । यसै वर्ष कन्सियस कम्पनी-साेनाेमा, १३२५ ब्राेडवे, यूएसए साेनाेमाले खतिवडालाई वर्ल्ड  चेन्जिङ वुमेन अवार्डबाट सम्मानित गरेको थियो । त्यस्तै, २०२० मा  आरएसटीसीएले खतिवडालाई ‘कर्पाेरेट वाेमेन अफ दि इयर-२०२०’ र ‘मस्ट इन्फ्युयन्सियल वाेमेन’ बाट सम्मानित गरेको थियो ।

उनै खतिवडासँग एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीको हालको वित्तीय अवस्था, कम्पनीले निश्कासन गर्न लागेको साधारण सेयर र भावी योजनाका बारेमा विकासन्युजका सन्तोष रोकायाले कुराकानी गरेका छन् । प्रस्तुत छ उक्त कुराकानी ।


एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कम्पनीको बारेमा बताइदिनुस् न ?

गैरआवासीय नेपाली अभियान जतिबेला शुरु भयो, त्यसको मूख्य उद्देश्य भनेको गैरआवासीय नेपालीहरुमा रहेको पूँजी र सीपलाई नेपालको सर्वाङ्गीण विकासमा लगाउने भन्ने थियो । शुरुका दिनहरुमा विश्वव्यापी सञ्जाल विस्तारमा केन्द्रित रह्यो । सन् २०११ मा गैरआवासीय नेपाली संघको नेतृत्वमा जिबा लामिछाने सर आउनुभयो । विश्वव्यापी सञ्जाल विस्तार गर्ने उद्देश्य पुरा गरीसके पछि अन्य उद्देश्यहरु पुरा गर्नुपर्छ भनेर जिबा लामिछाने सरले आफ्नो कार्यकालको मूख्य एजेण्डाको रुपमा यो कम्पनीको अवधारणा अघि सार्नुभयो ।

संख्यात्मक र गुणात्मक रुपले वृद्धि हुँदै गएको एउटा ठूलो एनआरएन समुदाय विदेशमा छ । उहाँहरुले नेपालमा लगानी गर्न खोज्दा राम्रो प्लेटर्फम पनि नपाउने समस्या थियो । लगानीका लागि एउटा प्लेटर्फम तयार गरेर थोरै पुँजी भएका गैरआवासीय नेपालीहरुले पनि ठूला आयोजनामा स्वामित्व महशुस गर्नुहोस् भनेर यो कम्पनीको २०६९ साल भदौमा स्थापना भएको हो ।

जिबा सरकै नेतृत्वमा झन्डै ८ सय गैरआवासीय नेपालीहरुले एकदमै उत्साहित भएर यसमा लगानी शुरु गर्नुभयो । सबैलाई समेट्ने भनेर एउटा मापदण्ड तयार भयो । एउटै व्यक्ति वा एउटै समूहको यसमा धेरै लगानी नहोस् भनेर हामीले सिलिङको पनि व्यवस्था गरेका थियौं । यसमा कम्तिमा एक लाख रुपैयाँ र बढिमा एक करोड रुपैयाँभन्दा बढी लगानी गर्न नपाउने गरी मापदण्ड बनाएका थियौं ।

अहिले एनआरएन इन्फ्रास्ट्रक्चरले कुन-कुन क्षेत्रमा कति लगानी गरेको छ ?

सबैभन्दा पहिलो प्रोजेक्टको रुपमा हामीले लमजुङको दोर्दी खोल जलविद्युत आयोजना (२७‍.१ मेवा) मा लगानी गरेका थियौं । यो आयोजनामा हाम्रो कम्पनीको ५१ प्रतिशत प्रमोटर सेयर रहेको छ । ४९ प्रतिशत आइएमई ग्रुपले लगानी गरेको थियो । यो परियोजना २०७७ साल मंसिर महिनामा निर्माण सम्पन्न हुने अवस्थामा रहेको छ ।

अहिलेसम्म ९५ प्रतिशत काम सम्पन्न भइसकेको छ । यसका अतिरिक्त लिखु जलविद्युत आयोजना, (२८‍.१ मेवा), मिडिल तमोर हाइड्रोपावर प्रोजेक्ट (७३ मेवा), माथिल्लो मैलुङ्ग खोला जलविद्युत आयोजना (१४.३ मेवा)  लगायतका आयोजनाहरुमा कम्पनीको लगानी रहेको छ ।

अहिले यस कम्पनीले हाइड्रोपावर क्षेत्रमा लगानी गरेको छ । विस्तारै हामी अन्य क्षेत्रमा पनि लगानी गर्छाैं। आगामी दिनमा राष्ट्रिय गौरवका योजनाहरुमा लगानी गर्दै जाने योजना छ । धेरै गैरआवासीय नेपालीहरुले यसमा लगानी गर्नु भएको छ । लगानी सुरक्षित होस् र केही न केही योगदान हामीले पनि गरेका छौं भन्ने महसुस होस् भनेर यो कम्पनी अगाडी बढेको हो ।

तपाईहरुले अब सर्वसाधारणहरुका लागि साधारण सेयर पनि निश्कासन गर्दै हुनुहुन्छ । कति निश्कासन गर्दै हुनुहुन्छ ?

कम्पनीको अधिकृत पुँजी ५ अर्ब रूपैयाँ र जारी पुँजी १ अर्ब १३ करोड २६ लाख रूपैयाँ रहेकाे छ । जारी पुँजीमध्ये संस्थापक समूहको ७० प्रतिशत अर्थात् ७९ करोड २८ लाख ७७ हजार ५ सय रुपैयाँ चुक्ता भैसकेको छ । सर्वसाधारण समूहमा बिक्रीका लागि राखिएको ३० प्रतिशत रकम अर्थात ३३ करोड ९८ लाख ४ हजार ६ सय रुपैयाँ बराबरको सेयर साउन १६ गतेदेखि छिटाेमा साउन २१ गतेसम्म सर्वसाधारणको बिक्रीका लागि खुला गरिनेछ ।

उक्त सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेकाे छ ।

कम्पनीकाे ३३ कराेड ९८ लाख ४ हजार ६ सय सेयर पूँजी बराबरको १ सय अंकित दरको ३३ लाख ९८ हजार ४६ कित्ता साधारण सेयरहरु सर्वसाधारणमा निष्काशन गर्न लागेकाे हाे । उक्त सेयर निष्काशनकाे लागि कम्पनीले नेपाल धितोपत्र बोर्डबाट मिति २०७६ फागुन ४ गते स्वीकृत पाएकाे छ ।

विवरणपत्रमा भएको व्यवस्था तथा सामूहिक लगानी कोष नियमावली २०६७ को नियम ४६ माभएको व्यवस्था बमोजिम सर्वसाधारणमा निष्काशन गरिने कुल शेयरको ५ प्रतिशतले हुन आउने १ सय अंकित दरको जम्मा १ लाख ६९ हजार ९ सय २ कित्ता शेयर सामूहिकलगानी कोषहरुलाई सुरक्षित गरिएकोमा उक्त सेयर खरिदको लागी सामुहिक लगानी कोषहरुलाई असार २९ गतेदेखि साउन ४ गतेसम्म खरीद आह्वान गरिएकोमा आवश्यकताभन्दा ३ गुणा अधिक सेयरको लागि आवेदन पर्न आएकोले सो सेयरको बाँडफाँड भैसकेको अवस्था छ ।

विदेशमा रहेका नेपालीले उक्त सेयरमा लगानी गर्न पाउँछन् कि पाउँदैनन् ? 

अहिलेको अवस्थामा प्रवासमा रहेका नेपालीहरुले आवश्यक प्रक्रिया पुरा गरेर सर्वसाधारणको बिक्रीका लागि खुला गरेको सेयरमा लगानी गरेर कम्पनीसँग आवद्ध हुन पाउँनुहुन्छ ।

कम्पनीमा रहेकाे लगानी सबै प्रवासीकै हो ?

हालसम्मको सबै लगानी गैरआवासीय नेपालीहरुको रहेको छ ।

हाल कति जना लगानीकर्ता हुनुहन्छ ?

अहिलेसम्म ७ सय ९५ जना लगानीकर्ता आवद्द रहनुभएको छ ।

लगानीकर्ताहरुले लाभांश कत्तिको पाइरहेका छन् ?

हामीले सात वर्षको अन्तरालमा साबिकका लगानीकर्ताहरुलाई ७.३९ प्रतिशत बोनस सेयर तथा लाभांश दिइसकेका छाैं ।

आईपीओ निष्काशन भइसकेपछि त्यसको प्रतिफल केमा लगानी हुन्छ ?

आईपीओ निष्काशन भइसकेपछि त्यसको प्रतिफल पूर्वाधार विकासका राष्ट्रिय गौरवका आयोजनाहरुमा लगानी गर्ने भनेर कम्पनीले निर्णय गरेको अवस्था छ । लगानीका नयाँ क्षेत्रहरु कुन-कुन हुन सक्छन् भनेर अन्तरिक छलफलहरु भैरहेका छन् । जस्तो कि सौर्य उर्जामा पनि सम्भावना देखिएको छ ।

त्यसैगरी, कृषिमा सिधै कमर्सियल फार्मिङ नगरी पूर्वाधार विकासका कामहरु जस्तै शीतभण्डारमा लगानी गर्ने भन्ने पनि कम्पनीको सोच रहेको छ, त्यस्तै अन्य साझेदार कम्पनीहरुसँग छलफलकै चरणमा रहेका छौं । आईपीओ निष्काशन भइसकेपछि प्रतिफल सुनिश्चित गर्ने क्षेत्रमा लगानी गरेर अगाडी बढ्ने कम्पनीको उदेश्य रहेको छ ।

एनआरएन इन्फ्रास्ट्रक्चरकाे आइपीओमा सर्वसाधारणहरुले किन लगानी गर्ने ?

समग्रमा कम्पनीले गरेको लगानी सुरक्षित छन् । कम्पनी राम्रो ट्रयाकमा रहेको छ। आगामी दिनमा पनि निकै सोचेर मात्रै कम्पनीले लगानी बढाउँदै लानेछ । यो कम्पनीको हिस्सेदार बन्न पाउनु सर्वसाधारणका लागि पनि एउटा राम्रो अवसर हो । प्रतिफल पक्का भएकाले लगानीकर्ताहरुलाई लगानीका लागि हामी अनुरोध गर्न चाहन्छौ ।

धितोपत्र बोर्डले तोकेका अन्य प्रक्रियाहरु पुरा गर्न कत्तिको सहज थियो ?

त्यस्तो धेरै प्रक्रियाहरु छैनन् । कम्पनीको पुँजी कम्तिमा ५० करोड हुनुपर्छ । पूर्वाधार क्षेत्रमा लगानी भएको हुनुपर्छ अथवा नेपाल सरकारको पनि कम्तिमा १० प्रतिशत लगानी भएको हुनुपर्ने गत वर्ष संशोधन भएको ऐनमा व्यवस्था छ ।

सरकारको लगानी नभए पनि हामीले अन्य सबै प्रक्रियाहरु पुरा गर्यौ । केही समय त लाग्यो नै । समय लगाएर भए पनि सबै प्रक्रिया पुरा गरेकाले अनुमति पाइयो । धितोपत्र बोर्डले राम्ररी हेरेर यो एउटा काम गर्ने कम्पनी हो भनेर अनुमति दिएको हो ।

बोर्डले जुन तरिकारले अनुगमन गरेर प्रक्रियाहरु सबै पुरा गरेपछि अनुमति दिएको छ, यसलाई कम्पनीले सकारात्मक रुपमा लिएको छ ।

अब धेरै कम्पनीहरुले आइपीओ निश्कासन गर्दैछन् । यो लगानीकर्ताहरुका लागि कम्पनी छनोट गर्ने पनि उचित मौका पनि हो । लगानीकर्ताहरुले ती कम्पनीहरु मध्ये एनआरएन इन्फ्रास्ट्रक्चरलाई नै किन रोज्ने ?

गैरआवासीय नेपालीमा रहेको पुँजी र सीपलाई नेपालको सर्वाङ्गीण विकासमा लगाउने हेतुले स्थापना भएको यो कम्पनीमा हामीले गरेको लगानी सुरक्षित छन् । कम्पनी राम्रो ट्रयाकमा रहेको छ।प्रतिफल सुनिस्चित गरेर जाने योजना कम्पनी को रहेको छ । तसर्थ लगानीकर्ताहरुलाई लगानीका लागि हामी अनुरोध गर्न चाहन्छौ ।

कम्पनीको भविश्यको योजना के छ ? कसरी अगाडि बढ्ने सोच छ ?

हामी भौतिक पूर्वाधार क्षेत्रमै फोकस हुन्छौं । राष्ट्रिय गौरवका आयोजनाहरुमा पनि लगानी गर्छौं । हामी त्यसको बारेमा अध्ययन तथा छलफल पनि गरिरहेका छौं । कसरी अगाडि बढ्ने भन्ने बारेमा अध्ययन भइरहेको नै छ ।

कम्पनी स्थापना भएको पनि ७ वर्ष भइसकेको छ । यस्तो खाले कम्पनीको नेपालमा कत्तिको आवश्यकता महसुस गर्नु भएको छ ?

कुनै पनि देश समुन्नती तिर उन्मुख हुन मिसन, भीजन साथै मुख्य रुपमा लगानीको आवश्यकता पर्ने गर्दछ । हाम्रो कम्पनीको कुरा गर्नुपर्दा पनि विश्वभरी रहनुभएका गैरआवासीय नेपालीहरुले सामुहिक रुपमा सानो सानो पूँजी र आफ्नो सीपलाई एकीकृत गरेर नेपालको सर्वाङ्गीण विकासमा लगाउने हेतुले स्थापना गरिएको हो र त्यहि अनुरुप कम्पनी अगाडी बढिरहेको अवस्था छ ।

उहाँहरुको लगानीकै कारण आज हामी यहाँसम्म आइपुगेको अवस्था छ । हाम्रो देशमा धेरै ठूला ठूला आयोजनाहरु निर्माणकै चरणमा छन् । ती आयोजनाहरुमा लगानी गर्ने वातावरण तयार गर्न, कलकारखानाहरु विस्तार गर्न र देशलाई समुन्नत बनाउनका लागि यस्ताे खालका कम्पनीहरुको आवश्यकता रहेको छ ।

2 comments on "एनआरएन इन्फ्रास्ट्रक्चरको आईपीओमा लगानी गर्नुस्, प्रतिफल सुनिश्चित छः सीईओ खतिवडा"

  • Binita ghimire says:

    Ipo khulne kaile ho?

  • Dipak Shrestha says:

    अरुले नै प्रवर्द्धन गरेको कम्पनीमा लगानी बढाउनुको अतिरिक्त आफैंले पनि कुनै राम्रो क्षेत्रका कम्पनी प्रवर्द्धन गरे अझ प्रभावकारी हुन्थ्यो कि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.