कोरोना र विश्व : हिजो, आज र भोलि

  २०७७ जेठ ३० गते २०:२८     सुरज भट्टराई

पहिले पनि यसरी विभिन्न रोग, प्राकृतिक प्रकोप एवं मानव निर्मित समस्याले दुःख दिइनै राखेको हो तर समाजले अहिले एउटा भिन्न खालको चुनौती झेली रहेको छ । पहिले झेलिरहेको समस्या त छँदैछ त्यसमाथि यस्तो आपत बिपतमा आफ्नै समाज, साथीभाइ अनि परिवार भित्रै पनि दुरी कायम गर्नु पर्ने अवस्था आएको छ । तर दुःखी भैहाल्नु पर्ने भने पक्कै होइन । यसले केवल केहि समयको लागि एक अर्काबीच भाैतिक दूरी मात्र सिर्जना गरेको हो, मनबीच होइन।

कोरोनाको कारणले विश्वभरिअप्रिल १७, २०२० सम्ममा झण्डै २२ लाखभन्दा बढी संक्रमित छन् भने करिब डेढ लाख भन्दा बढीले ज्यान गुमाइसकेका छन् । अवस्था अझै नाजुक छ । औषधि उपचारको समाधान उपाय अहिलेसम्म फेला परिरहेका छैनन् । संसार कै धनी अनि शक्तिशाली मानिएका अमेरिका, रसिया, चीन, फ्रान्स, जर्मनी जस्ता देशहरुलाई समेत आत्थुआत्थु पारेको छ । नेपालमै पनि अहिलेसम्म महामारीको रुप नलिएको भए पनि हाम्रा साना साना हेलचक्राईले कुन बेला कुन बिपत ल्याउने हो टुंगो छैन । त्यसैले देश तथा विदेश सबै संचार माध्यमले बारम्बार सावधानी अपनाउन संदेश दिईरहेका छन्।

संसार भरिनै यस महामारीले धेरै असर पारेको छ। सायद कमै मात्र त्यस्तो क्षेत्र होला जहाँ असर पारेको छैन । केवल नकारात्मक असर मात्र छैनन् । बारम्बार साबुन पानीले हात सफा गर्ने, हाच्छिउ गर्दा एवं खोक्दा सुरक्षित रुपमा मुख छोप्ने अनि सामाजिक दुरी कायम गर्ने कोरोनाबाट बच्ने सरल एवं उत्तम उपाय हो । यही बच्ने र बचाउने क्रियाकलाप बीचमै धेरै कुराहरु जन्मिएका छन्, केहि राम्रा अनि केहि नराम्रा । केहिले चुनौती दिएका छन् भने केहिले अवसर पनि।

कोरोना र अर्थतन्त्रलाई नियाल्ने हो भने कोरोना पछिको आर्थिक स्थिति दोस्रो विश्वयुद्ध पछिकै सबैभन्दा भयावह स्थिति बन्ने पक्कापक्की छ। लकडाउनका कारणले सामान्य महामारी भन्दा अहिलेको यस कोरोना महामारीले राष्ट्रिय एवं अन्तर्राष्ट्रिय अर्थतन्त्रमा बढी मार पारिरहेको छ। उद्याेग, कलकारखाना एवं अन्य व्यवसायहरु दिनानुदिन ठप्प

लेखक

भैरहेका छन् ।  अर्थतन्त्रमा मुख्य भूमिका खेल्ने वित्तीय बजार, बैंकिंङ कारोबार, उत्पादन व्यवसाय, पर्यटन क्षेत्र, होटल व्यवसायमा असर परेको छ । यति मात्र नभएर मनोरञ्जन क्षेत्र, चलचित्र व्यवसाय, प्रकाशन व्यवसायमा समेत निकै असर परेको देखिन्छ । व्यवसायिक हिसाबले चलचित्र व्यवसायलाई समेत महत्वपूर्ण मानिन्छ तर कोरोनाले गर्दा यो क्षेत्र ठप्प छ । ईरान, जोर्डन, मोरोक्को, वोमन, यमन जस्ता देशहरुले आफ्ना दैनिक प्रकाशित हुने पत्रपत्रिका बन्द गरेका छन् । व्यवसाय कमजोर हुनु वा खस्किदै जानुको अर्को प्रतक्ष्य असर पर्छ रोजगारीमा । नेपाली अधिकांश सम्भावना बोकेका जनशक्तिले देश भन्दा बाहिर पसिना बगाईरहेको अवस्था छ । रेमिटान्सले हाम्रो देशको बजेटमा राम्रै भूमिका निर्वाह गरेको छ। केवल कमजोर देश मात्र होइन, अर्थतन्त्र बलियै मानिएका देश समेत यति बेला यस संकटको मारमा परिरहेका छन् । संयुक्त राज्य अमेरिकामा समेत अहिले सम्मकै सबैभन्दा बढी बेरोजगारी बढेको तथ्यांक विशेषज्ञहरुले बताइरहेका छन् ।

नेपाली आर्थिक अवस्थालाई नियाल्ने हो भने पनि अवस्था नाजुक नै छ । यो वर्ष २०२० मा पर्यटन व्यवसायबाट आर्थिक रुपमा केहि राहत मिल्ने आशा राखिएको थियो तर त्यो सफल हुन सकेन । अङ्ग्रेजी नयाँ वर्षको शुरुवातसँगै कोरोनाको महामारीले पर्यटन र होटेल व्यवसाय ठप्प भयो । त्यसैगरि अत्यावश्यक बाहेक अन्य उद्धोग व्यवसाय पनि चल्ने अवस्था रहेन ।

कोरोनाले विश्वव्यापी रुपमा सामाजिक एवं राजनीतिक अवस्थालाई पनि प्रष्ट पारिदिएको छ । यस  समयमा सरकार, विभिन्न निकाय अनि जनताको भूमिका के कस्तो हुने भन्ने विषय महत्वपुर्ण छ । सबै देशहरुलाई नियाल्दै जाने हो भने तिनै फरक तहको फरक फरक अवस्था देख्न सकिन्छ । चीनको वुहान सहर, जहाँबाट कोरोनाको सुरुवात भएको मानिन्छ । चीनले सुरुको अवस्थामा आफ्नो नियन्त्रण गुमाए पनि, बिस्तारै यसरी नियन्त्रण गर्यो कि चीन अहिले उदाहरणीय बनेको छ । त्यस्तै, केहि देश जस्तै हाम्रै नेपालमा भने नियन्त्रणको प्रयासमा अपरिपक्वता देखिएको छ । सरकारी तहबाटै निर्णय क्षण क्षणमा परिवर्तन भैरहेका छन्, एकतर्फ सरकारको निर्णयबाट खुशी हुनु पर्ने अवस्था छ भने अर्कोतर्फ जनताको मर्म बुझ्दै नबुझी निर्णय गरेकोमा गुनासो पनि । तर जे जस्तो भएपनि सरकारले जनताको मर्मलाई चोट नपुर्याउने आश्वसन दिइरहेको छ । केहि धैर्य र संयम जनता आफै पनि हुनु पर्ने जरुरी छ ।

अर्को आलोचना बनेको राजनीतिक विषय हो संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको, प्राय जस्तो सबै देशले महामारीको रोकथाम गर्न लकडाउन घोषणा गरिरहेका बेला चीनको लकडाउनको सुझाब ट्रम्पले स्वीकार नगर्ने निर्णय गरे । सायद आफु र आफ्नो राष्ट्रप्रतिको विश्वासले गर्दा होला तर त्यो विश्वास धेरै बेर अडिन सकेन । केहि समयपछि अमेरिकामा पनि कोरोनाको महामारी फैलियो, त्यसपछी भने नियन्त्रणका प्रयास सुरु भए । त्यती मात्र नभई विश्व स्वास्थ्य संगठनले महामारी फैलिएका देशलाई मनोबल बढाउन सहयोग गर्न अनुरोध गरिरहेका बेला ट्रम्पले भने चीन प्रति नकारात्मक टिप्पणी गरिरहे । जसका कारण उनीहरुको राजनीतिक सम्बन्ध अझ चिस्सिएको छ । यी बाहेक अन्य राष्ट्रमा समेत एक अर्का देशबीच सम्बन्ध बनाउने र बिगार्नेमा कोरोनाले छुट्टाछुट्टै भूमिका खेलेको देखिरहेको छ । गाउँघरमा छिमेकीलाई दुःख पर्दा एउटा सानो सहयोग गर्नाले पहिलेदेखि चिस्सीएको सम्बन्ध सुध्रिए जसरि यस समयमा एक अर्का देशबीच चिस्सिएको सम्बन्ध सुधार्ने अवसर पनि बनेको छ ।

केवल नकारात्मक टिप्पणी र समस्यामै अल्झी राख्नु कोरोना महामारीको समाधान पक्कै होईन । यही समस्याकैबीच पनि केहि राम्रा अवसरहरु देखिएका छन् । जसरी सबै क्षेत्रमा धेरै नराम्रा असर परिरहेका छन्, त्यसरी नै केहि सकारात्मक तथा भविष्यमा अवसर सिर्जना भैरहेका छन् । कोरोना पछिको वातावरण नियाल्ने हो भने यसले केहि सान्त्वना दिने निश्चित छ । विश्व वातावरण हेर्ने हो भने नासा अनि युरोपियन स्पेस एजेन्सीका स्याटेलाईटले देखाएको रिपोर्ट अनुसार विश्वकै वातावरण प्रदुषणमा सुधार आएको छ । चीनकै वायु प्रदुषणको अवस्था हेर्ने हो भने पनि भारी मात्रामा सुधार देखिएको छ। यातायातका साधनको प्रयोग, पावर प्लान्ट र अन्य औद्योगिक प्रक्रियाहरूबाट बन्ने नाइट्रोजन डाइऑक्साइड अहिले लकडाउन पछि निकै कम देखिएको छ । त्यसैगरी, कोरोना भाईरस पछि वातावरणमा अर्को नसोचेको परिवर्तन ईटालीको भेनिसमा देखिएको छ। भेनिसका नहरका पानी अहिलेसम्मकै याद रहेको मध्ये सबैभन्दा स्वच्छ देखिएको छ।

विश्व वातावरण प्रदुषणमा सुधार आएको छ । यातायातका साधनको प्रयोग, पावर प्लान्ट र अन्य औद्योगिक प्रक्रियाहरूबाट बन्ने नाइट्रोजन डाइऑक्साइड अहिले लकडाउन पछि निकै कम देखिएको छ । त्यसैगरी, कोरोना भाईरस पछि वातावरणमा अर्को नसोचेको परिवर्तन ईटालीको भेनिसमा देखिएको छ। भेनिसका नहरका पानी अहिलेसम्मकै याद रहेको मध्ये सबैभन्दा स्वच्छ देखिएको छ।

विश्वका धेरै व्यक्तिहरू स्वैच्छिक वा आधिकारिक आदेशद्वारा सेल्फ आईशोलेशनमा भएका बेला, चीन बाहिरका केही प्रमुख शहरहरूमा पनि हावाको गुणस्तर सुधार भएको देखिन्छ, जसमध्ये  एक उदाहरण हो, न्युयोर्क । वातावरणमा भएको अर्को रोचक र महत्वपूर्ण प्रभाव भनेको हवाई यात्राको कमीका कारण देखिएको छ । युरोप जस्ता ठाउँहरूमा हवाई यातायातले कामकाजमा गम्भीर असर गरेपनि वातावरणमा भने सुधार भएको छ । केही विज्ञहरूले दावी गरिरहेका छन् कि कोरोना महामारीको कारणले पेरिसको जलवायु सम्झौताको लक्ष्यहरू प्राप्त गर्न सक्षम हुनेछन् । हाम्रै देशको कुरा गर्ने हो भने पनि उद्याेग, कलकारखाना एवं यातायातको कम खपतका कारण काठमाडौं लगायत अन्य मुख्य सहरको वातावरण स्वच्छ तथा सुन्दर बन्दै गएको छ । तसर्थ सबै आंकलन हेर्दा वातावरणमा आएका परिवर्तनले मानिस एवं सम्पूर्ण जीवजनावरको दैनिक जीवनशैलीमा समेत सुधार भएको छ।

अहिलेको समयको शिक्षालाई नियाल्ने हो भने पनि राम्रा र नराम्रा दुवै पक्ष छन् । सबै स्कुल कलेजहरु ठप्प भएका छन्, भोलि एसइइ (कक्षा १०) को परीक्षा दिने भनेर तम्तयार भएर बसेका विद्यार्थीदेखि नजिकिँदै गरेको परिक्षाको लागि तयार भएर बसेका विद्यार्थी समेत अनिश्चित बन्दका कारण अन्योलमा छन् । यही अवस्था हो भने लगभग सबै विद्यार्थीहरुको भविष्य दोधारमा पर्ने छ, तर प्रविधिको प्रयोगले केहि राहत दिएको छ । केहि शैक्षिक संघसंस्थाले प्रबिधिको सहयोगले आफ्नो दैनिक कक्षा सञ्चालनको सुरुवात गरेका छन्, सुरुवाती चरण भएका कारण कक्षा एवं बैठक संचालनमा विभिन्न समस्या त छँदैछन् तर सुरुवात र प्रयास गर्नु नै भविष्यको लागि राम्रो नतिजा देखिन सक्छ । शिक्षा र दैनिक जीवनको विकाशमा विकशित राष्ट्रले प्रविधिको प्रयोग बढाईरहेका नै थिए । हाम्रो जस्तो विकाशील राष्ट्रको लागि यसको प्रयोग र महत्व बुझ्न अझ केहि समय लाग्ने देखिन्थ्यो तर अहिलेको परिस्थितिले यसको महत्व र प्रयोगलाई नजिक ल्याईदिएको छ । प्रविधिको प्रयोग जस्तै भिडियो/अडियो कल एवं सामुहिक कल, इमेल, सूचना आदानप्रदान र विभिन्न संचारमाध्यमको सहयोगले यस समयमा निकै सहयोग पुर्याइरहेको छ । यहि माध्यमका कारण सरकारका आन्तरिक साथै वैदेशिक कार्यहरु पनि संचालन भैरहेका छन् । जसबाट पनि यसको राम्रो प्रभाव परेको भन्न सकिन्छ ।

वर्तमान समस्याको समाधान संगसंगै अब निकट भविष्यमा हामीलाई पर्न सक्ने असरबारे सजग र तयार हुन जरुरी छ । यस लकडाउनमा मात्र नभई अरुबेला पनि यस्तो समयको सहि सदुपयोग गर्नु चुनौती र अवसर दुवै हो । यसमा कुनै शंका छैन कि घरमा बसिरहन गाह्रो छ, यसो गरिरहँदा धेरै व्यक्तिहरु अल्छी र लक्ष्यहीन भएको गुनासो गर्दछन् । कसैलाई त लाग्न सक्छ कि लकडाउन उनीहरूको व्यक्तिगत अधिकारको उल्लंघन गर्नको लागि बनाइएको हो । तर यस्तो बेला कुनैपनि व्यक्तिले आफ्नो केहि स्वतन्त्रताको अधिकार त्याग गर्न तयार हुनुपर्दछ । व्यक्तिगत अधिकार र सार्वजनिक सुरक्षाबीच सन्तुलन एक परिवर्तनशील चीज हो । तसर्थ आज यसको जरुरि परेको छ, सधै हुन्छ भन्ने छैन।

सामान्य सरसफाइ सधैं महत्त्वपूर्ण हुन्छ, केवल भाइरस भएको बेला मात्र होईन । तसर्थ यस समयमा साबुनपानीले बारम्बार २० सेकेन्डको लागि मिचीमिची हात सफा गर्नु, समय समयमा मुख कुल्ला गर्नु, सफा र सुख्खा तौलियाको प्रयोग गर्नु, अनावश्यक भिडभाड र अरुसँगको दुरी कम्तिमा ३ फिट कायम गर्नु जस्ता उपाय आफु तथा अरुलाई सुरक्षित राख्नको लागि उत्तम तरिका हो ।

यस समयमा धेरै व्यक्तिहरूले थाहा पाए कि उनीहरूको काम घरबाट सम्भव छ । अब एक पटक भाइरसको महामारी समाप्त भएपछि पनि आवश्यक पर्दा घरबाटै काम गर्ने बारेमा सबैले आफ्नो मालिक अथवा कम्पनीसँग कुराकानी गर्न तयार हुनेछन् किनकि धेरै जसो रोजगारको निश्चित मात्रामा काम हुन्छ जुन टाढा टाढा बसेर पनि गर्न सकिन्छ । त्यसैगरी, यदि तपाईं बिरामी महसुस गर्दै हुनुहुन्छ भने, घरमै बसेर पनि काम गर्न सक्नु हुनेछ । हुन त धेरै व्यक्तिलाई उनीहरूको अफिसको वातावरणले बिरामी बिदा लिन प्रोत्साहित गर्दैन जस्तो लाग्छ । अनि केहि व्यक्तिहरू आफ्ना बोसहरूलाई झुटो भ्रम देखा पार्न चाहन्छन् कि “हेर, म बिरामी छु, तैपनि म काममा आएँ। हेर म कडा परिश्रम गर्ने मान्छे हुँ ।” यो मानसिकता रोक्न आवश्यक छ । यदि तपाई बिरामी हुनुहुन्छ भने, घरमै बस्नुहोस्।

त्यसैगरि यस समयमा इन्टरनेट पहुँच सबैको अधिकार, वातावारण प्रदुषण रोकथाममा मानिसको भूमिका, शिक्षा तथा सूचना आदानप्रदानमा प्रविधिको प्रयोग, स्वास्थ्य क्षेत्रको पर्याप्त मात्रामा लगानी र विकासको महत्व प्रष्ट पारिदिएको छ । पहिले स्वास्थ्य क्षेत्र महत्वपूर्ण छ भन्ने थाहा हुँदाहुँदै पनि यसको व्यवस्थापनमा खासै ध्यान दिईएको थिएन तर अब जरुरि छ । राजनीतिक हिसाबमा पनि देश र जनताबीचको सम्बन्ध सुमधुर राख्नुपर्ने जरुरी देखिएको छ। केवल आफ्ना देशमा मात्र नभई आपत बिपतका बेला एक अर्का देशलाई समेत सहयोगको भावना राख्नुपर्ने देखिन्छ। तसर्थ यस कठिन समयमा सचेत भै समाधानका उपाय अपनाई आफू पनि बचौं, अरुलाई पनि बच्न सहयोग गरौं । घरमै बसौं, सुरक्षित रहौं ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.