मान्छेमा अन्तर्निहित जिजीविषा र प्रकृतिकाे नियम

  २०७७ जेठ २२ गते २१:२२     साधना सञ्जेल

साधारण आँखाको दृष्टिगोचरले देख्न नसकिने एक प्रकारको मानव शरीरभित्र श्वासप्रश्वासका माध्यमबाट प्रवेश गरेर फोक्सो, मुटु , मृगौला जस्ता महत्वपूर्ण संवेदनशील अङ्गहरुलाई सङ्क्रमण गरी नकारात्मक रुपले क्षयीकरण गर्ने सूक्ष्मतम किटाणु (अणु) नै सरल भाषामा कोराना भाइरस हो । मानवजाति माथि निर्ममशैलीमा आक्रमण गरी प्राणै लिने स्वभावका अनेकौ भाइरसहरुमध्ये हामीले बेलाबेलामा सुन्दै भोग्दै जीवनव्यतित गर्ने क्रममा सन् १९३० को दशकतिर विश्वका मानवजातिलाई सङ्क्रामक महमारीले आताङ्कित पारेको एवम् सन् २००३ तिर पनि एक प्रकारको सरुवा रोगले मानिसको ज्यानै लिने सम्मको महामारी भोगेको विश्वसमुदायका बीच पछिल्लो चरणमा सन् २०१९ को डिसेम्बर अन्तिमसातातिर विश्वको ठूलो जनसङ्ख्या रहेको नेपालको उत्तरीसिमाना जोडिएको सम्पन्न देश मानिने चीनको वुहान क्षेत्रबाट अचानक घनाजङ्गलमा आगो सल्केझैँ देखापरेर चीन, इटाली, अमेरिका, स्पेन, फान्स, बेलायत, जर्मन, इरान हुँदै संसारभरका ठूला तथा सम्पन्न राष्ट्रहरुदेखि साना वा विपन्न राष्ट्रहरुसम्म त्रासदीपूर्ण रुपले विश्वका २१० भन्दा बढी देशहरु कसैलाई बाँकी नराखी भूसको आगो भित्रभित्रै सल्किएजस्तै गरी युरोपभरि फैलिएर अमेरिका, अफ्रिका, दक्षिण एसिया लगायत विश्वलाई आताङ्कित पार्दै नेपाललाई पनि कहिले कसैले नसोचेको र अनुभव नगरेको कहालीलाग्दो सङ्क्रामक महामारीको भयभीत अवस्था सिर्जना भई अदृश्य कालोसर्पले तर्साउन आइपुगेको अति तीब्ररुपले फैलिने सरुवा रोगलाई कोराना भाइस (कोभिड –१९) नामकरण दिइएको पाइन्छ ।

संसारभरका मानवको जीवन रक्षा वा स्वास्थ्य सुरक्षाको शीतल छहारी प्रदान गर्ने संसारको अभिभावक संस्थाको भूमिकामा रहेको विश्वस्वास्थ्य संगठनले यस रोगलाई श्वासप्रश्वासको माध्यमबाट सर्ने भएकाले मानिसले खोक्दा, हाच्छिउं गर्दा, नजिकको सम्पर्कमा पुग्दा एक सङ्क्रमित व्यक्तिबाट अरु धेरै जनामा अति छिटो फैलिने अदृश्य नयाँ प्रकृतिको चरित्र देखाउने रोग सिर्जना क्षमता भएको भाइरसको संज्ञा दिँदै त्यसबाट बच्न अहिलेसम्म औषधीको आविष्कार समेत नभएको अवस्थामा व्यक्तिव्यक्तिको सचेत भूमिकामा सामाजिक पृथकीकरण, सरसफाई, आहार, विहार, विचार नै बढीभन्दा बढी महत्वपूर्ण अचुक उपाय हो भन्ने सन्देशसहित विश्वभरका मानवजातिको जीवन रक्षामा होसियारीपूर्वक सुरक्षित रहन अपिल गरिरहेको छ ।

यस्तो अकल्पनीय रोग निम्त्याउन सक्ने जैविक वा प्राकृतिक भाइरस हो कि मानवनिर्मित भाइरस हो अथवा अदृश्य दैविक शाक्तिशाली भाइरस नै हो भन्ने तथ्यगत सत्यतामा समेत द्धिविधा देखिइरहेको विद्यमान सन्दर्भमा विश्वका तमाम वैज्ञानिकहरुदेखि डाक्टरहरुसम्मका विज्ञहरु कोरोना भाइरसको समग्र पक्षलगायत रोकथाम, नियन्त्रण र उपचारका बारेमा खोज तथा अनुसन्धानहरुमा तल्लीन भएर लागिरहेका समाचारहरु आइरहेका भएपनि यस रोगको उत्पत्ति, फैलावट तथा निष्क्रियताका बीचको अन्योलतामै लगभग सय दिनको अवधिलाई आधार मानेर हेर्दा लाखौं मानवको ज्यान लिएको र तिसौं लाख मानिसहरु सङ्क्रमित भई मर्नु न बाँच्नुको अवस्थामा छटपटाइ रहेका छन् भने मानवजातिलाई नै अस्तित्वको चुनौती पो आउने हो कि भन्ने अकल्पनीय झल्को दिइरहेको छ । यस्तो कहालीलाग्दो भयावह अवस्थामा बालबालिकाहरुको पठनपाठन, उद्योग, व्यवसाय, होटल, पर्यटन, कृषि उत्पादन व्यापार लगायताका क्षेत्रहरुमा नकारात्मक असर पर्न गई समग्रतामा ह्रासोन्मुख वातावरणले अपूरणीय क्षति हुन सक्ने सम्भावना टड्कारो बन्दै गएको अनुमान गर्न सकिन्छ ।

लेखक

अनेकौं प्रकार र प्रजातिका भाइरसहरुमध्ये विज्ञहरुले धेरै किसिमका भाइरसहरुका बारेमा सत्यतथ्यहरु आलोकमा ल्याइसकेका देखिन्छन् । प्राकृतिक वातावरण एवम् विश्वब्रह्माण्डमा आ-आफ्नो स्वतन्त्र अस्तित्व कायम राखेर सञ्जाल निर्माण गर्दै देखापर्ने भाइरसहरु कतिपयले प्रकृतिमा आफ्नो जालो फैलाएका हुन्छन् भने अथाह रुपमा रहेका सूक्ष्मतम भाइरसहरु मानवलगायतका प्राणीहरुको शरीरभित्रका संवेदनशील अङ्गहरुमा आफ्नो साम्राज्य विस्तार गर्न तत्कालीन रहेका हुन्छन् । मानव समुदायले भोगेको विगतको छोटो कालखण्डलाई फर्केर हेर्दा बिफर, दादुरा, ठेउला, हैजा जस्ता अनेकोँ प्रकृतिका माहामारीहरु बेलाबेलामा फैलिएर हजारौ मानिसहरुको ज्यानै लिने गर्दथे । सास भाइरस, इबोला भाइरस, स्वाइनफ्लु, आदि नामकरण गरिएका महामारीहरु पनि भाइरसकै सङ्क्रमणबाट फैलिएका तथ्याङ्कहरु सार्वजनिक भइरहेको वर्तमान कालखण्डको सन् २०१९ को डिसेम्बर वित्न नपाउँदै वर्तमान विश्वको करिब ८ अरब जनसङ्ख्याहरु मध्ये सबैभन्दा धेरै मानव जातिमाथि आक्रामकशैलीमा प्रवेश गरी चीन, अमेरिका, युरोपका सम्पूर्ण देशहरु हुँदै अस्ट्रेलिया, अफ्रिकी देशहरुलाई आक्रान्त पार्दै पचासौँ लाख मानिसको फोक्सो हुँदै मुटु, मृगौला जस्ता अति संवेदनशील र महत्वपूर्ण अङ्गहरुमाथि साङ्घातिक एवम् निर्मम हमलाद्धारा लाखौँ मानिसलाई अकाल मृत्युको मुखमा पुर्याउँदै विश्वभर कोरोना कहरको त्रासदीपूर्ण बन्दै देखापरेका नवीनतम भाइरसले समुदायलाई थर्कमान बनाउने कार्यले अहिले विश्वभर महामारीको रुप लिएको हो । विज्ञहरुको भनाइमा कमजोर प्रकृतिको भाइरस भनिएको यस मानवीय साझा शत्रुलाई कोरोना भाइरस (कोभिड–१९) नाम दिइएको छ । यी क्षेत्रमा एकाएक देखा परेको कोरोना भाइरस अतिसूक्ष्म भाइरसहरुकै एक प्रजाति भएको र खासगरी मानिसको श्वासप्रश्वासबाट मानव शरीरभित्र प्रवेश गर्ने मौका पारी सोझै फोक्सोको सतहमा सञ्जाल बनाएर त्यहीँबाट फोक्सो हुँदै मुटु तथा मृगौलाजस्ता अन्य संवेदनशील अङ्गहरुमा आक्रमण गरी ती अङ्गहरुलाई क्षयीकरण गर्दै जाने यसको मुख्य दोष हो भन्नेसम्मका तथ्यहरु अहिलेसम्मका अध्ययन अनुसन्धानबाट देखिएकाे छ । कोरोना भाइरस सङ्क्रमित व्यक्तिले हाच्छिउँ गर्दा, खोक्दा नाकमुखबाट बाहिर निस्कने रसिलो छिटाहरुमा यो भाइरस लीन भएर रहने हुनाले त्यसैबाट हातका माध्याम, खानेकुरा खाँदा, सास फेर्दा, अरु मानिसहरुमा सङ्क्रमण फैलिएर सर्दै जाने यसको मुख्य स्वभाव हो । स्वस्थ मानिसका वरिपरि हाच्छिउँ गर्ने, खोक्ने, थुक्ने, हात मिलाउने, लगायतका नजिकबाट हुन सक्ने क्रियाकलाप नै यो भाइरस सर्ने मुख्य माध्यम हो । त्यसबाहेक पनि सङ्क्रमित व्यक्तिले प्रयोग गरिरहने सम्पूर्ण सामग्रीहरुमा पनि भाइरस अदृष्य रुपमा रहिरहने र सर्न सक्ने उत्तिकै सम्भावना रहन सक्छ । यो भाइरसले मानव शरीरमा प्रवेश गरेपछि उच्च ज्वरो (१०४ डिग्रीभन्दा माथि) आउने, रुघाखोकी लाग्ने, घाँटी दुख्ने, सास फेर्न गाह्रो हुने, थकान महसुस हुने, जस्ता सामान्य लक्षणहरु पनि देखिन्छन् । कुनै अवस्था तथा व्यक्तिमा यस्ता लक्षणहरु नदेखिने अवस्थामा पनि भाइरस सल्किएको हुन सक्छ । भाइरस मानव शरीरमा प्रवेश गरिसकेपछिको ७/१० दिनपछि पूर्ण रुपमा देखापर्ने र प्रतिरक्षामा हमला सुरु गरी महिनौँसम्म रहन सक्ने यसको चरित्र देखिन्छ । यो भाइरस निदान गर्न सकिने र महिनौँसम्म पनि सक्रिय रहन सक्ने विज्ञहरुको एउटै मत देखिन्छ । संसारभर नरसंहारकारी बन्दै फैलिदो अवस्थामा भयावह देखिएको कोरोना भाइरसका बारेमा खोज, अध्ययन अनुसन्धान एवम् प्रयोगहरुबाट थप नयाँ तथ्यमा आधारित सत्यता पत्ता लगाउन स्वास्थ्यविज्ञहरु रातदिन तल्लीन भएर लागिरहेका हुनाले पूर्ण जानकारी बाहिर नआएसम्म यसलाई सजीव वा निर्जिव, प्राकृतिक वा मानवनिर्मित, दैविक वा जैविक यही हो भनेर किटानी गरिहाल्नुभन्दा सत्यतथ्य पत्त लगाएर निष्कर्ष पर्खनु नै बढी बुद्धिमानी होला । तथ्यगत आधारमा सत्य पत्ता लागेपछि यसको वर्गीकरण हुँदै जाला भन्ने पर्खाइमा बसौँ । स्वास्थ विज्ञहरुले कोरोना भाइरस शरीरभित्र जीवित छ नभनी सक्रिय छ वा निष्क्रिय छ भन्नेसम्मका व्यावहारिक कुरामा व्याख्या गरेका देखिन्छन् । अनुसन्धानका क्रममा मानवबाहेकका अन्य प्राणीहरुमा यसले आक्रमण गर्न सक्ने सम्भावनाको पनि खोजी हुनु आवश्यक छ भन्ने विषय छलफलमा आउनु पर्दछ ।

मानव समुदायमा फैलिएर मारी मारी सिध्याउने भएकाले पनि कोरोना भाइरसको सङ्क्रमणलाई महामारी भनिएको हुन सक्छ । अहिले सन् २०१९ डिसेम्बरको अन्त्यतिरबाट प्रादुर्भाव भई करिब ३ महिनाको छोटो अवधिमा भएको महामारीको विश्लेषण गर्दा यसको सङ्क्रमण वा फैलने क्षमता तीब्र देखिएको छ । यस रोगको महामारीबाट उद्गमस्थ बनेको, चीन, अमेरिका, इटाली, स्पेन , फ्रान्स, बेलायत हुँदै एसिया, अफ्रिका लगायतका संसारभरका धनी, गरिब, साना, ठूला सबै देशहरुलाई नरसंहार गर्दै फैलिएको देखिएको छ । सङ्क्रामक भाइरसको महामारी कालो बादल बनेको कोरोना भाइरसको नरसंहार फैलिएर मानव जातिकै अस्तित्व सङ्कटमा पर्नबाट बचाउन हरेक व्यक्तिले सचेत भूमिका निर्वाह गरी पूर्वसावधानी अपनाई सरसफाईमा ध्यान दिनुबाहेक अहिलेको अवस्थामा वैकल्पिक औषधी देखिँदैन । मानव स्वास्थको संरक्षक एवम् अभिभावक संस्था विश्व स्वास्थ्यसंगठनले निर्देश गरेका सूचना, परामर्श, सेवासल्लाह आदिलाई हरेक राष्ट्रले अङ्गिकार गरेर रोगको पहिचान, निदान, रोकथाम, नियन्त्रण एवम् उपचार सम्भव हुन सक्छ । रोग लाग्नु नै मृत्युको मुखमा पुग्नु हो भन्ने बुझाइ गलत हो । हाम्रो शरीरभित्रको रोगसँग लड्न सक्ने क्षमता वा प्रतिरक्षाशक्ति अनुसार यस्ता रोगहरु लागिहाले पनि उचित जीवनशैली अपनाएर आहार, विहार, विचारले यस्ता रोगहरुसँग लडाइँ गरेर विजय प्राप्त गर्न सकिन्छ । यही भाइरसको साङ्घातिक शारीरिक हमलाबाट पनि चीनदेखि नेपालसम्मका विश्वभरका लाखौँ मानिसहरुले सङ्क्रमित अवस्थामा पनि यस रोगसँग लडेर विजय हासिल गरी पुनर्जीवन पाइरहेका दृष्टान्तहरु प्रत्यक्ष देख्न सकिन्छ । एउटा फलामलाई अर्को फलामले काटेजस्तै यस्ता रोगलाई उच्च मनोबलले जित्ने आँट पनि मानिसमा हुनुपर्दछ । विद्वान , दार्शनिक, डाक्टर, आविष्कारक, वैज्ञानिकहरु सबैमाथि यस्ता रोगहरुसँग सङ्घर्ष गरी मानवको रक्षार्थ उपचारपद्धति आविष्कार गरी आफ्नो विद्वता प्रदर्शन गर्ने ऐतिहासिक दायित्व थपिएको छ ।

संसारभरका मानवका अगाडि इतिहासको धेरै लामो कालखण्डपछि अप्रत्यासित रुपमा चूनौतीका क्षणहरुमध्ये नयाँ विशेषता रहेको कोरोना भाइरसको सङ्क्रमणबाट विश्वभर ठूलो आयाममा धनजनको क्षति भई हरेक क्षेत्रमा अत्यन्तै नकारात्मक असरहरु देखिने खतरा बढेको छ । यसको कहर कहिले र कसरी शमन होला भन्ने छटपटीका बीच सामान्य अवस्थामा पुगेपछि पनि यसले पार्ने प्रभावको बारेमा मानिसहरु कहालीलाग्दो अवस्थाको आकलन गर्न थालिसकेका छन् । विश्व स्वास्थ्य संगठनको निर्देशन पालना गर्दै विश्वका हरेक देशहरुले कोरोना करहबाट सुरक्षित राख्न आन्तरिक तथा बाह्य आवागमन बन्द गरी कार्यालय, स्कुल, कलेज, संघसंस्था, यातायात, उद्योग, व्यापार, कलकारखाना, व्यवसायहरु सबै अवस्थाअनुकूल लामो अवधिसम्म लकडाउन (बन्दाबन्दी, घरबन्दी) सम्बन्धी सूचना जारी गरेर सम्पूर्ण नागरिकहरुलाई सचेत र सुरक्षित रहन अपिल गरेको पछिल्लो अवस्थाले विशेष गरी हामी नेपालीहरु पितापुर्खाले पनि नभोगेको नयाँ एवम् विशिष्ट विषम परिस्थितिमा घरभित्र रहेका छौँ । घरभित्रै बस्न त पाइएको अवस्था छ तर टौवाको पराल सल्केपछि खरानी सिवाय देख्न नपाइने जस्तै घरका परिवारमा बस्दा पनि भोक, निद्रा , तिर्खा, दिन, रात छुट्याउन एकछिन त अलमल्ल नै हुँदोरहेछ । यस महामारी कति समयसम्म रहिरहन्छ र यसले मानवीय एवम् भावी मानव विकासलाई कतिसम्म क्षतविक्षत गर्छ भन्ने अवस्थामा समग्र परिणाम नआएपनि नेपालका मात्र लाखौँ श्रमजीवीवर्गको रोजीरोटी गुम्ने, लाखौँ बालबच्चाहरुको पठनपाठनमा प्रत्यक्ष असर पर्ने, पर्यटन व्यवसाय, होटन लज, रेस्टुरेण्ड, व्यापार, व्यवसाय, यातायात, सेवा क्षेत्र, वित्तीय संस्थाहरुको दैनिक क्रियाकलापहरु अवरुद्ध भई त्यसमा संलग्न कर्मचारी, मजदुर, कामदारहरु अलपत्र भई त्यसमा संलग्न लगानीकर्ताहरुको लगानी पनि स्वाहा हुँदै गिरावट आउने परिदृश्यको झलक आउन थालेको छ । भौतिक विकास निर्माणका कामहरु अवरुद्ध हुनाले परिश्रम गरेर पेट पाल्नेहरुको हृदयविदारक बिचल्ली अवस्था सिर्जना हुने सम्भावना टरेको छैन । उद्योगधन्दाहरु अवरोध भई उत्पादन घट्नाले विपन्न वर्गलाई बजारभाउ बढ्नाले नराम्ररी पिरोल्ने खतरा त्यतिकै छ । अधिकांश नेपालीहरुको बाँच्ने आधार खेतीपाती र पशुपालन पेसाबाट उत्पादित दुध तथा तरकारीजन्य वस्तुहरुको पनि बिक्रीवितरण सहज नहुँदा किसानहरुले आफ्नै पुर्पुरोमा हात राखेर धिक्कार्नु सिवाय अर्को विकल्प देखिँदैन ।

स्वदेशको माटो र आफन्तजनको ढुकढुकीले स्वदेश फर्कने हृदयविदारक तस्बिरहरु अब नेपालका लागि श्रम गरेर आफ्नै देशलाई पसिना बगाएर सिञ्चित गराउने अब्बल दर्जाका उर्जा पनि हुन सक्छन् । तिनीहरुको श्रम र सिपलाई कृषि उत्पादन र औद्योगिक उत्पादनमा रुपान्तरण गर्नुपर्ने विषय नेपालका लागि थप पेचिलो चुनौती बन्नेछ ।

नेपाली किसानहरुले बाँचुन्जेल सुख र शान्तिको सास फेर्न पाएका छैनन् । ऋणको सावाँ–व्याज तिर्ने, बालबच्चालाई उचित शिक्षाीदक्षा दिने, रोग लाग्दा उपचार गर्ने तथा जीवन गुजारा चलाउन पनि नसकेर गरिबी, अभाव, अज्ञानता, अशिक्षा समेतका कारणले आफ्नै देशभित्र काम नपाएर नुनतेल, लुगाफाटो, गुन्द्रुक र ढिँडो समेत खान नपुगेर परदेशको तातो अर्काको देशको भाषासमेत नबुझिने मुलुकमा काम खोज्दै हिँड्नु पर्ने विद्यमान अवस्थामा यस महामारीले धेरै नेपालीहरुको आत्म रोइरहेको माथि अझ छटपटी बढाइदिएको छ । खुला सीमाना भएकाले सबैभन्दा बढी नेपालीहरु भारतमा रोजगारी गर्दछन् भने भारतबाहेक कूल जनसङ्ख्याको झन्डै १५ प्रतिशत अर्थात झन्डै चालिस लाख नेपालीहरु विदेशी भूमिमा नेपाल सम्झेर बसिरहेका छन् । मर्नैै परेपनि आफ्नै घरपरिवारमा मरौँला, आफ्नै मातृभूमिको माटोमा प्राण छोडौँला भन्दै सडक, भिरपाखा नदीनाला तर्दै रुँर्दै कराउँदै नेपाल फर्कने वीर नेपालीहरुको लर्को अब अवश्य बढ्नेछ, यो स्वाभाविक पनि हो । स्वदेशको माटो र आफन्तजनको ढुकढुकीले स्वदेश फर्कने हृदयविदारक तस्बिरहरु अब नेपालका लागि श्रम गरेर आफ्नै देशलाई पसिना बगाएर सिञ्चित गराउने अब्बल दर्जाका उर्जा पनि हुन सक्छन् । तिनीहरुको श्रम र सिपलाई कृषि उत्पादन र औद्योगिक उत्पादनमा रुपान्तरण गर्नुपर्ने विषय नेपालका लागि थप पेचिलो चुनौती बन्नेछ । विश्वव्यापी महामारी बनेको यस कोरोना भाइरसको सङ्क्रमणपछि नेपालको समग्र तस्बिरको झलक सम्झँदा विदेशी भूमिमा दर्जनौँ नेपालीहरुले ज्यान गुमाइसकेका छन् । नेपालभित्र झन्डै आजसम्म यसबाट मानवीय क्षति भइसकेको तथ्याङ्क देख्नु परेको छैन् तर बाहिरी देशहरुबाट नेपाल प्रवेश गर्नेहरु तथा तिनीहरुको सम्पर्कमा रहेकाहरु धेरैलाई यो रोगले प्रत्यक्ष सङ्क्रमण गरिसकेको छ । छिमेकी देशहरुबाट आवागमन भइरहँदा यसले सङ्क्रमण सल्काउन सक्ने खतरा रहिरहन्छ । विश्व स्वास्थ्य संगठन तथा सरकारले निर्देश गरेको जीवन सुरक्षासम्बन्धी नीतिअनुसार घरमै बस्ने , पृथक रहने गर्दा यसबाट सरकारी कार्यालयहरु, वित्तिय तथा सामाजिक संघसंस्थाहरु, यातायात, होटल, पर्यटन, व्यापार , कृषि उपज, उद्योग कलकारखाना, भौतिक विकास निर्माण, पठनपाठन लगायतका सम्पूर्ण क्षेत्रहरुमा परोक्ष एवम् प्रत्यक्ष अवरोधको अवस्था सिर्जना भई दैनिक क्रियाकलापहरु सूचारु हुन नसक्दा सम्पूर्ण क्षेत्रमा मोवैज्ञानिक त्रास र चिन्ता प्रकट हुन थालिसकेको यथार्थ देखिन थालेको छ ।

अर्थमन्त्रालय स्रोतमा अनुसार नेपालले कोरोना भाइरसको सङ्क्रमणको असरबाट अहिलेसम्म (३ महिनामा ) दुई अर्ब रुपियाँ बराबरको आर्थिक क्षति भएको जनाइएको छ । नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि तथा औद्योगिक उत्पादन घट्ने बितिकै जनतालाई भोकमारी र राष्ट्रको राजस्व रित्तो हुन बेर लाग्दैन । नेपालभित्र ज्यानै लिनेसम्मको अवस्था सिर्जना नभएपनि चारैतिरबाट हामी उच्च जोखिममा रहेको सङ्केत पनि विश्वस्वास्थ्य संगठन लगायतका विज्ञहरुले प्रक्षेपण गरिरहेको अवस्थामा हामी सङ्क्रमणकालीन अवस्थामा पुगेका छौँ । विगतका मानव समुदायले भोगेका अनेकौँ प्रकृतिका प्रकोपहरु, महामारी तथा युद्धहरुभन्दा विल्कुलै भिन्न चरित्रको यो महामारीले शताब्दीकै ठूलो सन्त्रास फैलाएर अब मानवजातिले मानव जीवनकको रक्षार्थ नयाँ क्षितिजमा प्रवेश गरी उत्तम विकल्पको खोजी गर्न बाध्य बनाएको छ ।

धरती र धरतीमाताका सन्तानहरुमाथि कुनै समयमा आइलाग्ने अनेकैँ प्रकारका आपत्विपत् एवम् प्रकोप तथा महामारीहरुमध्ये कोरोना भाइरसको महामारीले अपरिमेय र अतुलनीय रुपमा मानवीय लगायत आर्थिक-भौतिक क्षति पुर्याएको कटु यथार्थका बीच केही सकारात्मक सम्भावनाहरु पनि सिर्जित गरिदिएको छ । यसले हामी नेपालीहरुका असल सामाजिक संस्कार, रीतिरिवाज, मूल्यमान्यता, आपसी एकता, सेवा, सहयोग, स्वावलम्बन, सरसफाई, ध्यान, योग प्राकृतिक आहारविहार, सकारात्मक सोच, चिन्तनमनन् लगायतका आधारभूत जीवन पद्धतिहरुलाई पुनर्स्थापित गरी पुनर्पुष्टि पनि गरिदिएको छ । यसलाई अवसरको रुपमा लिई आत्मसात् गर्न सके हाम्रो भविष्य थप सुरक्षित हुनसक्ने बलिया आधारहरु तयार हुन सक्दछन् । मानवजातिले बिर्सँदै गएका र व्यहारमा पनि सुक्खा खडेरी पर्दै गएका यस्ता मानवीय मूल्यमान्यता तथा प्रकृतिलाई बेवास्ता गरेर देखापर्ने होडबाज्ञी, द्धेष, घमण्ड, हत्या, हिँसा, पदलोलुपता, तृष्णा जस्ता असत् मनोवृत्ति लिएर बस्नेहरुलाई पनि यस सङ्क्रामक महामारीले बाँकी राखेन । यसबाट मानवले पाठ सिक्नै पर्दछ ।

मानिसभित्र रहने सबैभन्दा ठूलो डर नै मृत्युको भय हो । प्रत्येक मान्छेभित्र अन्तर्निहित जिजीविषाले नै आफूलाई मृत्युको वरिपरि जानबाट जोगाइराख्न मद्दत गरिरहेको हुुन्छ । यी शाश्वत विषयहरुलाई कोरोना भाइरसको सङ्क्रमणबाट फैलिएको महामारीले उजागर गर्दै छ ।

प्राकृतिक प्रकोप र सङ्क्रामक महामारीले धनी, गरिव तथा सानो, ठूलो केही हेर्दोरहेनछ भन्ने तथ्यको बोध गराएर यसले सकारात्मक सोचका लागि आधारहरु तयार पारिदिएको छ । मानिसको भौतिक सम्पतिको लोभले जीवन रक्षा नहुने सत्यता पुष्टि गरिदिएको कुरा पनि सकारात्मक रुपमा ग्रहण गर्नु उचित नै होला । मानिसभित्र रहने सबैभन्दा ठूलो डर नै मृत्युको भय हो । प्रत्येक मान्छेभित्र अन्तर्निहित जिजीविषाले नै आफूलाई मृत्युको वरिपरि जानबाट जोगाइराख्न मद्दत गरिरहेको हुुन्छ । यी शाश्वत विषयहरुलाई कोरोना भाइरसको सङ्क्रमणबाट फैलिएको महामारीले उजागर गर्दै छ । मानिसको जीवनदायिनी एवम् सञ्जीवनी भनेकै प्रकृति हुन् । प्रकृतिको दोहन गरेर चीरहरण गरी आफ्ना स्वार्थ पुरा गर्ने अभीष्ट राख्न खोज्नेहरुलाई प्रकृतिले नै सजाय दिन्छ भन्ने शाश्वत सत्यको बोध गराएको छ । रोगबाट बच्न व्यक्तिगत सरसफाईका मुख धुने, हात धुने, राम्ररी पकाएर खाने , भिडभाडमा संलग्न नहुने, रोगले छोइहालेमा स्वास्थ्य परीक्षण गराउने लगायतका हाम्रा पिता पुर्खादेखिका स्थापित असल चालचनबाट पनि हामीले नयाँ परिवेशमा सिक्नु र व्यवहारमा आत्मसात् गर्नु बुद्धिमानी होला । सुन फलाउन सकिने हाम्रा खेतबारी तथा जडीबुटीहरु अलपत्र बाँझो छोडेर भाषा समेत नबुझिने तातो हावा भएको परदेशमा रेमिटेन्सको लोभले काम खोज्ने मनोबृत्ति बोकेका नेपाली युवावर्गलाई आफ्ना परिवारका साथ स्वदेशको माटोमा नयाँ ज्ञान, सिप, प्रविधि र श्रमको उपयोग गरी विकल्पहरुको खोजी गर्ने नवीनतम् अवसर सिर्जना हुर्दैछ । राजनीतिक दर्शनको नारामा दुःखी गरिबको नाममा भजन–किर्तन गर्ने र राज्यशाक्तिको भोग गर्ने राजनीतिक दल वा शाक्ति केन्द्रहरुले पनि यस महामारीबाट जनएकताविना केही गर्न नसकिने हुनाले राष्ट्र र राष्ट्रिय जनएकताको महत्व बोध गर्दै जानु नै बुद्धिमानी देखिन्छ । रोगले बचेका जनताहरुलाई भोकले मर्ने अर्को दीर्घकालीन महामारीको उच्च जोखिमबाट जोगाउन सम्पूर्ण बेरोजगार श्रमजीवी वर्गलाई खेतीपाती, पशुपालन र औद्योगीकरणमा संलग्न गराई जनताहरुलाई सेवा र टेवा दिने कार्यमा अवसरको उपयोग गर्नु नै सबैको प्रमुख दायित्व देखिन्छ । यसैमा हाम्रो भविष्य सुरक्षित हुन सक्ला ।

कोञ्ज्योसोम गाउँपालिका-३, ललितपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

X