विपद्को पीडा र बन्दाबन्दीको उपचार

  २०७७ जेठ १२ गते २१:१०     डा.रामचन्द्र तिवारी

बन्दाबन्दीपछिकाे सुनसान बस्ती

सिङ्गो विश्वमा यतिबेला हायलकायल बनाउने कोरोना भाइरसको महामारी चलिरहेको छ । यस किसिमको महामारी करिब सय वर्षको हाराहारीमा फैलिएको विगत छ । नेपाल जस्तो विकासोन्मुख देशको कुरा छोडौँ, अमेरिका बेलायत लगायत समृद्ध भनिएका युरोपेली मुलुकहरुले पनि मानवजीवन बचाउका लागि कुनै उल्लेख्य काम गरेको देखिएन । चीनको वुहान प्रान्तबाट सुरु भएको भनिएको कोरोना भाइरस बिस्तारै संसारभर फैलिदै महामारीको रुप लियो । यो भाइरस चमेरो चरा हुँदै सालक जीवबाट मान्छेमा सरेको हुन सक्ने समाचारहरू प्रकाशनमा आएका छन् । कतिपय मिडियाले यो वुहानमै भएको अति संवेदनशील मानिएको जीवाणु प्रयोगशालाबाट कुनै भुलचुकले कोरोनाको जीवाणु चुहावट भएर मानिसमा संक्रमण भएको अनुमान गरे तर यी सबै अनुमानका कुरा हुन्, तथ्यमा आधारित छैनन् ।

कोरोनाले महामारीको रुप लिने क्रममा विभिन्न खाले परिदृश्यहरु देखिए । स्वास्थ्यकर्मीहरुको सुरक्षाको लागि प्रयोग हुने सुरक्षाकवच (पिपिई) समेत समयमा उपलब्ध हुन नसक्दा समृद्ध देशका स्वास्थ्यकर्मीहरुको समेत रुवाबासी नै चल्यो । सुरक्षाकवचकै अभावमा स्वास्थ्यकर्मी स्वयंले ज्यानको बाजी राखेर भगवान् भरोसामा काम गर्नुपर्यो । कयौँ स्वास्थ्यकर्मीहरुले ज्यानसमेत गुमाउनु पर्यो । महामारीसँग लड्ने सवालमा विश्वका समृद्ध मुलुक पनि निरीह सावित भए । कयौँ मुलुकले व्यक्तिको जीवन रक्षालाई भन्दा आफ्नो देशको आर्थिक स्थितिलाई महत्व दिँदा हरेक दिन हजारौँको संख्यामा ज्यान गुमाउनु पर्यो । अमेरिका स्वयंले चौवीस घन्टामा पैतालीस सय मानिस गुमाउनु परेको तथ्यांक बाहिर आयो । साधन र स्रोतले सम्पन्न मुलुकहरुले यो महामारीसँग लड्न धैर्य नगुमाउलान् । विभिन्न विधिहरु अपनाउँदै लड्ने साहस गर्लान् तर नेपालजस्तो मुलुकमा यो महामारीसँग लड्ने आधार छैन । भाइरस फैलने तरिकाको हालसम्म कुनै वैज्ञानिक आधार भेटिएको छैन । यो अझै पनि शोधको विषय नै छ । यो महामारीसँग विजय प्राप्त गर्न समय लाग्न सक्छ । सामान्य रुपमा यो भाइरसको साङ्लोलाई तोड्न सकेको खण्डमा जीवन रक्षा गर्न सकिन्छ । त्यसको लागि हुलमुलमा जान भएन । भाइरस सर्ने प्रक्रियाका सन्दर्भमा सयौँ सूचनाहरु, भिडियोहरु इन्टरनेटमा छन् । अधिकांशकोे आधिकारिकता छैन । यो बीचमा केही व्यक्तिहरुले आफूलाई विज्ञ बनाए । शोधबिनाको सतही लेखनले मानिसलाई दिग्भ्रमित पार्ने काम गरे । नेपालमा फेरि अनौठो प्रचलन छ । जो पनि जुनसुकै विषयको विज्ञ बन्न मिल्ने । महामारीको यस्ता समाचारले भौतिक रुपमा भन्दा मनोवैज्ञानिक रुपमा डर, त्रास र भय भर्ने काम गरे । बालक वृद्ध र असक्तहरुको मनोविज्ञानमा निकै ठूलो असर पुर्यायो ।

नेपालमा खुला सिमाना हुँदा हुँदै पनि कोरोना सङ्क्रमणको अवस्था न्यून देखिएको छ । कोरोना परीक्षणको संख्या उल्लेख्य हुन नसक्दा शायद हामी सुरक्षित छौँ भन्ने भ्रममा छौँ । नेपालीहरुको जीवनशैली र खानपानका कारणले पनि रोगसँग लड्ने प्रतिरक्षा प्रणाली बलियो छ भनिएको छ । कारण जे जस्तो भए पनि नेपालमा कोरोनाको प्रभाव कमै देखिएको छ । तर, यो स्थिति कहिलेसम्म रहने हो थाहा छैन । कोरोनाबाट बच्न सरकारी तबरबाट पनि मनग्ये सूचनाहरु आएका छन् । मोबाइल म्यासेज, भाइबर, फोनको रिङ्टोन, विभिन्न छापा तथा अनलाइन समाचारको माध्यमबाट । वृद्ध, बालक र अशक्तको विशेष ख्याल गर्ने, लकडाउनलाई लक्ष्मण रेखा मानेर घरभित्रै बस्ने, हिँडडुल गर्नु पर्दा मास्क लगाउने, हातमा पञ्जा, स्यानिटाइजरको प्रयोग गर्ने, बेलाबेलामा साबुनपानीले हात धुने, विशेष गरी घर बाहिरबाट आउँदा ख्याल गर्ने, शरीरको रोगसँग लड्ने प्रतिरक्षा प्रणाली वृद्धि गर्नमा ध्यान दिने, आफन्त र साथीभाइहरुको नियमित सम्पर्कमा रहने, विदेशबाट आएका व्यक्तिहरुको जानकारी दिने आदिका बारेमा सुझाव गरेको पाइयो । छिमेकी मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दीप प्रज्वलन गरेर कोरोनासँग लड्ने ऐक्यवद्धता देखाए भने हाम्रा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि त्यसैको सिको गर्दै राष्ट्रिय गान गाउन लगाए । प्रधानमन्त्रीबाट राष्ट्रको नाममा सम्बोधनहरु आए तर तात्विक रुपमा जनताका आकांक्षालाई सम्बोधन गर्न सकेनन् ।

लेखक

छिमेकी मुलुक भारतले लामो समय बन्दाबन्दी गरेर कोरोना महामारीबाट जोगाउने पहलकदमी गरे भने नेपालका प्रधानमन्त्रीले उस्तै खाले बन्दाबन्दी किस्ताबन्दीमा गरे । बन्दाबन्दी हठात् हुँदा व्यवस्थापन फितलो बन्यो । गाउँका मान्छे समेत शहरमै थुनिए । मानिसहरु आ–आफ्नो गन्तव्यमा पुग्न सकेनन् । विभिन्न देशमा छरिएर रहेका नेपालीहरुको स्वदेश फर्कने विकल्प बन्द भए । छिमेकी मुलुक भारतमा रहेका हजारौँ नेपालीहरु आफ्नो गाउँ ठाउँ फर्कन कतिले चोरबाटो प्रयोग गरे । कतिले महाकाली नदी नै पौडिएर तरे । आज पनि विदेशमा लाखौँ नागरिक अलपत्र परेका छन् । उनीहरुको रोजी रोटी ठप्प छ । आ–आफ्नाे कोठामा महिनौँदेखि बस्न बाध्य छन् । देश फर्कन उनीहरु यति बेला हार गुहार गरिरहेका छन् । यो भयावह अवस्थाबाट पार पाउने कहिले हो थाहा छैन । देशभित्रै पनि राजधानीलगायत विभिन्न शहरहरुमा सामान्य मजदुरी गरेर जीवन धान्ने व्यक्तिहरु जीवन चलाउन नसकेर कोसौँ दुरीको यात्रा पैदलै तय गरिरहेका छन् । बस्ने खानेको ठेगान छैन । हप्तौँदेखिको यात्रा गर्दै आफ्नो थातथलोमा पुग्ने क्रम जारी छ । यस किसिमको जोखिम मोल्न जनताहरु बाध्य भएका छन् । यसप्रति सरकार र सरोकारवाला निकायहरु मौन छन् ।

कोरोनाले गर्दा सबैको दैनिकी फेरियो । कोही रमाए । कोही आत्तिए । सुरु सुरुमा रमाउनेहरु पछि पछि आत्तिए । सरकार पनि थामथुम गर्न बन्दाबन्दी किस्ताबन्दीमा लगाउँदै गयो । पर्यटन वर्ष सन् २०२० सफल पार्ने नाममा, कोरेना महामारीमा विश्व जुधिरहेको बेला परिस्थितिको आकलन नगरी हाम्रा नेता नेपाल कोरोना मुक्त देश हो भन्दै देश विदेशमा प्रचार गरे । यसबाट सरकार विवादित बन्यो । यो बाहेक सरकारले भ्रष्टाचारको सञ्जाललाई तोड्न सकेन । महामारीको कठिन घडीमा पनि भ्रष्टाचारको नमिठो गन्ध आइरह्यो । प्रधानमन्त्री बेडमा थलिए । सरकारको बिँडो थाम्नेहरुले समयलाई चिन्न सकेनन् । जनताहरुको सहानुभूति बटुल्नु पर्ने बेलामा भ्रष्टाचारको दलदलमा फसेर जनताहरुलाई चिढाए । सरकारको विरोधमा आगो ओकल्नेहरुले राम्रो मौका पाए । स्वास्थ्य सामग्री खरिदको विषयमा भएको चरम अनियमितता छरपस्ट भयो । सोसम्बन्धी अनलाइन समाचारलाई इन्टरनेटबाट हटाउने प्रपंञ्चलाई लिएर सरकारले चर्को आलोचना खेप्नु पर्यो । बन्दाबन्दीकै बीच काठमाडौँदेखि दुई दिनको लागि बाहिर जान दिने हठात् निर्णय र त्यो निर्णयबाट पछि हट्ने सरकारको चालबाजीको सर्वत्र विरोध भयो ।

छिमेकी मुलुक भारतले लामो समय बन्दाबन्दी गरेर कोरोना महामारीबाट जोगाउने पहलकदमी गरे भने नेपालका प्रधानमन्त्रीले उस्तै खाले बन्दाबन्दी किस्ताबन्दीमा गरे । बन्दाबन्दी हठात् हुँदा व्यवस्थापन फितलो बन्यो । गाउँका मान्छे समेत शहरमै थुनिए । मानिसहरु आ–आफ्नो गन्तव्यमा पुग्न सकेनन् । विभिन्न देशमा छरिएर रहेका नेपालीहरुको स्वदेश फर्कने विकल्प बन्द भए । छिमेकी मुलुक भारतमा रहेका हजारौँ नेपालीहरु आफ्नो गाउँ ठाउँ फर्कन कतिले चोरबाटो प्रयोग गरे । कतिले महाकाली नदी नै पौडिएर तरे ।

हरेक फोनको रिङटोनमा विदेशबाट कोही आएमा वा तिनको सम्पर्कमा गएमा कोरोनाको चेकजाँच गर्ने भनिए पनि त्यसलाई बेवास्ता गर्दै घरमा लुकेर बसेको घटना चालीस दिनपछि बाहिर आउँदा आतंक नै सिर्जना भयो । विदेशमा कोरोनाको महामारी चलिसक्दा विमानस्थलबाट हजारौँको संख्यामा मानिसहरु भित्रिए । ती व्यक्तिहरुमा कोरोना परीक्षण गराउन सकेको भए यति धेरै डरमर्दो अवस्था बन्ने थिएन । सुरुका दिनमा सरकारले चीनमा अलपत्र परेका विद्यार्थीलाई स्वदेश फर्काएर चौध दिनसम्म सुरक्षित राखी घरघरमा पठाउने सह्रायनीय काम गरेको थियो । त्यसलाई निरन्तरता दिन सकेन । सरकार यति बेला सीधा बाटो नपक्डेर बाङ्गो बाटो हिड्न बाध्य छ । कोरोना भेटिए पछि मात्र त्यो व्यक्ति पहिचान गरी कुन प्लेनमा आयो भनेर खोज्न थाल्याे। उता कोरोना प्लेन चढेर आयो अनि गाडी चढेर गाउँ बस्ती पुग्यो । आफ्नो घरमा एकान्तवास बस्ने सर्तनामा गरेकाहरु सर्त अनुसार बसे वा बसेनन् त्यसको अनुगमन गर्ने संयन्त्र भएन । दक्षिणतिर खुला सिमानाबाट सुरुका दिनमा कति मानिस छिरे त्यसको लेखाजोखा छैन । कति

स्वदेश फर्कने क्रममा महाकाली नदिकाे किनारमा राेकिएका नेपाली । फाेटाेःसुविना श्रेष्ठ, अलजजिरा ।

क्वारेन्टाइनबाट भेडाबाख्रा सरी भागेको दृश्य देखियो । व्यक्ति स्वयंले बरु ठाउँ ठाउँमा पहरा दिएर रोग भित्रिन नदिन पहलकदमी गरिरहे । सरकारको क्षमता यस्तै कठिन परिस्थितिमा हुन्छ । यो सरकारले साथ र सर्मथन लिने बेला हो । तर, सरकारका केही थान मान्छे यस्तै अप्ठेरो परिस्थितिको फाइदा उठाउन लागे । सँगसँगै कोरोनासंग जुधेका मुलुकहरुमा सामान्य गल्ती कमजोरीमा पनि कडा कारवाही गरेको सुनियो । सायद हाम्रो विडम्बना यसैमा छ । सरकार जनताप्रति जवाफदेही कहिल्यै बन्न सकेन । जुन जोगी आए पनि कानै चिरेका भनेको यही होला ! यिनै बेथिति सहन गर्न नसकेर कयौँ नेपालीहरुले पलायन रोजेका हुन् । नत्र कसैलाई पनि आफ्नो जन्मभूमि छोड्ने रहर हुदैँन । यहाँ कारवाही भोग्ने भनेकै साना र निमुखाले हो । ठूलाबडालाई जसरीतसरी चोख्याउन खोजिन्छ । देशमा आशा गर्ने ठाउँ छैन । देशका संयन्त्रहरु ठीकठाक छैनन् । कोरोनाबाट बच्ने सवालमा सरकारले राम्रो पहलकदमी लिन्छ भनेर विश्वास गर्ने ठाउँ छैन । अस्पतालमा अहोरात्र खटिने डाक्टरमाथि नै स्पष्टीकरण मागिएकाे समाचार प्रकाशित भए । हुनत डाक्टरको पेशाको धर्म बिरामीको उपचारमा खटिनु हो । मिडिया बाजीमा उत्रिनु होइन । अस्पताल गएर रोग ठीक होला भन्दा पनि मानिसहरुले गर्ने घृणा सहन गर्न गाह्रो छ । स्वास्थ्य सुरक्षा सामाग्रीको अभावमा काम गर्न परिरहेकोले अस्पतालहरु असुरक्षित छन् । रोग सर्ने र समयमा उपचार नपाउने डरले मानिसहरु घर भित्रै लुकेर बसेको पाइयो ।

संसारभर कोरोनाको महामारीले हरेक दिन हजारौँको सङ्ख्यामा ज्यान गुमाएका छन् । यो कहालीलाग्दो समयमा पनि मानिसहरु सामाजिक सञ्जालमा मिष्ठान्न परिकारहरु पकाएको, तास खेलेको, जन्मदिन मनाएको फोटो र भिडियो राख्न मस्त छन् । कोहीले चर्चा कमाउने ध्येयले राहत बाँडेका तस्वीर र भिडियोहरु राखे । गरिव र निमुखा मानिसको पीडालाई धज्जी उडाएर राहत भन्दा आहत बाडिँरहे । कोही चर्चाका भोकाहरु अनलाइनबाट पढाउने कुरालाई लिएर आफ्नाे प्रचार प्रसारमा जुटिरहे । कोही आफन्तहरु स्वास्थ्यकर्मी भएको फाइदा उठाएर आफनै लागि सान्त्वना लिन र आफनै प्रचारप्रसार गर्न लागे । थरी थरीका मानिसका थरि थरिका चरित्रहरु उदाङ्ग भैरहे ।

बन्दाबन्दीको मारमा महिलाहरु नै बढी परे जस्तो लाग्छ । जति बेला पनि घरका सदस्यहरुको हेरविचारमा समय खर्चिनु पर्यो । उनीहरुको व्यक्तिगत जीवन रहेन । प्रायः पुरुषहरु गफ गर्नमा, मोबाइल ल्यापटप चलाउनमा, थरि थरिका परिकारहरुको माग गर्नमा व्यस्त भए । घरभित्र गर्ने काम कति हुन्छ कति ! वरको सिन्को पर नसारी दिन कटाउनेहरुले घरको काम कसरी देख्ने ! पढ्नमा रुचि हुनेहरुको लागि यो समय जति भए पनि अपुग नै छ । पढाइमा रुचि नहुनेका लागि कुरै बेग्लै । कतिपय मानिसहरु पुरानो फोटो भिडियो सामाजिक सञ्जालमा राखेर चित्त बुझाए । लाग्छ कसै कसैलाई अहिलेको पीडाले छोएकै छैन । थरि थरिका वस्त्र पहिरिएर टिकटकमा रमाउन भ्याएका छन् । महामारीको यो विकराल अवस्थामा पनि मानिसहरु धुमधामका साथ जन्मदिन मनाउन भ्याए । नयाँ वर्ष पनि धुमधामले मनाउन भ्याए । कतिपय मानिसहरु यस्तो बेलामा पनि जन्मदिन मनाउन पर्यो, नववर्ष मनाउन पर्यो भनेर बहानाबाजी गर्न भ्याए । मानौँ जुकरवर्गले उनीहरुलाई जागिर नै दिएको छ । कतिपय मानिसहरु कोरोनाको अफवाहहरु फैलाउन उद्यत भए । कसैलाई घरबाट घरबेटीले निकाल्यो भने । आज यति मानिस यो हस्पिटलमा मरे भन्दै आतंकित पारे । विदेशतिर सडकमा पैसा फालेको सुन्नमा आयो । कोरोना सार्ने ध्येयले नेपालमै पनि सडकमा पैसा फाल्दै हिडेको समाचार आयो । सत्य के हो, झुट के हो ठम्याउन गाह्रो । नेपालका एक जनाले भारतमा कोरोना फैलाउने षड्यन्त्र रचे भनेर भारतीय मिडियाहरु कुर्लिए । अमेरिकी एक जना वैज्ञानिकले चीनसंग मिलेर कोरोनाको जीवाणु प्रयोगशालामा उत्पादन गरे र सोबापत उनलाई अमेरिकी सरकारले कारवाही गर्यो भनेर अफवाह फैलाउन भ्याए । कोही सरकारलाई असफल बनाउन हातै धोएर लागे । यसरी लाग्नेमा आफ्नै दलको रुष्ट नेता तथा कार्यकताहरु देखिए।

संसारभर कोरोनाको महामारीले हरेक दिन हजारौँको सङ्ख्यामा ज्यान गुमाएका छन् । यो कहालीलाग्दो समयमा पनि मानिसहरु सामाजिक सञ्जालमा मिष्ठान्न परिकारहरु पकाएको, तास खेलेको, जन्मदिन मनाएको फोटो र भिडियो राख्न मस्त छन् । थरि थरिका वस्त्र पहिरिएर टिकटकमा रमाउन भ्याएका छन् ।

यतिन्जेलसम्म खाद्यान्नको कमी भएन तर सुरक्षित तरिकाबाट किन्ने माहोल भने रहेन । पैसा नहुनेहरुको पीडा बेग्लै छ, व्यक्त गर्ने शब्दहरु छैनन् । नजिकका पसलहरु जतिबेला पनि खचाखच भरिए । हातमा पञ्जा नलगाई मास्क नलगाई लामबद्ध नभई भीडभाड गरिदिए । पसलेहरुले पनि आफ्नो व्यापारलाई असर पुग्ने डरले ग्राहकलाई केही भन्न सकेनन् । त्यसमा पनि मुखमा मास्क हातमा पञ्जा लगाएर सुरक्षित भएर पसल जानेहरुप्रति नै पसलेहरु डराए । पैसा साटासाट गर्दासमेत उनीहरु निकै झस्किए ।

लकडाउनमा किनमेल गर्दै सर्वसाधारण । फाेटाेः मदन ठाकुर, माइ रिपब्लिका

सुरुका दिनहरुमा मोबाइल, इन्टरनेट चार्ज गर्ने कार्डहरु समेत पाइएन । ग्याँसको आपूर्ति पूर्णरुपमा ठप्प भयो । सुनिन्छ ग्याँस भर्ने सिलिन्डरहरुको अभावमा ग्याँसका टयाङ्करहरुले सेवा सुचारु गर्न सकेका छैनन् । घर घरमा चाहिनेभन्दा बढी ग्याँसका सिलिन्डरहरु जम्मा गर्नाले यो अवस्था आएको हो । लकडाउनले गर्दा इन्डक्सन चुलोको जोडजाम गर्न सकिएन । नाकाबन्दीताकाको स्टोभलाई ठोकठाक पारेर चलाउने प्रयत्न गरिए । फेरि कुरा आयो मट्टितेलको । त्यस्को जोहो गर्न फेरि सकस पर्यो ।

यो बन्दाबन्दीको बेलामा आफन्तहरुसँग बोल्ने विषय नै छैन । नबोल्दा नबोले जस्तो, बोल्दा बोल्ने कुरा नै नहुने । एउटै कुरा कति मात्र गर्नु । नेटको पहुँच नभैदिएको भए कस्तो हुन्थ्यो होला यो संसार ? बच्चा बच्चीलाई घरभित्र राख्न कहाँ सकिन्थ्यो होला ? यो नेटको सर्वसुलभताले मानव जीवनमा रंग भरिदिएको छ । एक मनले यसो भन्छ । तर, अर्को मनले फेरि यो कुरा स्वीकार्न चाहदैन । यसले मानिसको समय पुरै खाइदिएको छ । यो बिनाको जीवन असम्भव जस्तै लाग्दैछ । यो विकराल माहोल कहिले सुध्रिने हो ? नेपाल फर्कन चाहनेहरु त्यत्रो भीडभाड छिचोलेर त्यति लामो यात्रा कसरी कहिले गर्ने हो थाहा छैन । त्यतिन्जेलसम्मको दैनिकी त्यो बिरानो मुलुकमा कसरी धान्ने हो ? जागिरमा फर्कने माहोल छैन । कतिको त जागिर पनि गैसक्यो । घर भित्र बसेर मुखमा माड लाग्दैन । भोलिको दिनकोे दैनिकी कसरी चल्ने हो अन्यौल छ । कतै नेपालबाट पैसा पठाएर सास धान्ने मेलो गर्न पर्ने पो को कि ! त्यो जुटाउने फेरि सबैको हैसियत नहोला । मानव जातिमाथि परेको यो बज्रपात कसरी अन्त्य हुने हो, यो सबै भविष्यको गर्भमा छ ।

आजभोलि सबैका हातमा केही न केही इलोक्ट्रिोनिक सामान छन् । के बालक, के वृद्ध सबै नेटमा डुबिरहेजस्तो लाग्छ । नेट चलेन भने मात्र परिवारसँग बोल्ने हुन् । नत्र एकै ठाउँमा घन्टौँ बसिरहे पनि एक अर्कामा बोलचालसम्म हुँदैन । सबैको आ–आफ्नाे संसार छ । यो अवास्तविक संसारको यति धेरै मोहमा फसेको छ मान्छे ! त्यो मोहजालबाट बाहिरिने कुनै संभावना छैन । यतिबेला रमाइलो दृश्य पनि देखिएको छ । घरका छत छतबाटै गफ गर्छन् । कोही छतमै हिँड्छन्, कोही फोनमा झुन्डिइरहेका हुन्छन् । कोही छतमा नाचिरहेका हुन्छन् । यति लामो समयसम्म घरभित्र थुनिएको सम्भवत वि. सं. २०४६ सालको जनआन्दोलनपछिको पहिलो अनुभव हो ।

घर वरिपरि यतिबेला गाडीको कोलाहल छैन । घरमा आउने धुलो पनि निकै कम छ । घरका फर्निचर पहिलाजस्तो पुछिरहन पर्दैन । वायुमण्डलमा पनि धुलोको कणहरु देखिन छाडे । प्रकृतिले पनि काया फेरेजस्तो, सुविस्ताले सास फेरेजस्तो लाग्दैछ । जनावर, पशुपंक्षी, चराचुरुङ्गी र कीराफट्याङ्ग्राहरुले निर्बाध रुपमा उपस्थिति देखाएजस्तो लाग्छ । यो पृथ्वी मान्छे मात्रको होइन उनीहरुको पनि हो भन्ने आभाष मिलेको छ । प्रकृतिको दोहन मानिसले हदैसम्म गरेकोले शायद यो दुष्परिणामको पो हो कि ?
पसलहरुमा सामानहरु खरिद गर्दा मिति हेरेर गरिन्थ्यो तर यो पटक त्यसो गरिएन । सामान पाए पुग्यो भन्ने भयो । पसलमा महिनौँदेखि थन्किएर रहेका खाद्यान बिक्री भए । खाद्यान र औषधीका पसलबाहेक अन्य पसलहरु टाट पल्टिने अवस्थामा पुगे । घरभाडा तिर्ने कसरी ? फेरि घरभाडा नतिरे घरबेटी कसरी बाँच्ने ? यो कठिन मोडमा पुगेका व्यापार व्यवसाय तङ्ग्रिन कति समय लाग्ने हो । सरकारले पनि घरधनी तिरै सोझिएर सरकार आफूले राहत दिएझैँ गरी घरभाडा छुट गरीदिन अनुरोध गर्छ । यसबाट घरधनी र भाडावालबीच भोलिको दिनमा द्वन्द्व हुन सक्छ । घरभाडा छुट गर्ने भन्ने कुरा स्वतस्फूर्त रुपमा आ–आफ्नो गच्छे हेरेर गर्ने कुरा हो । कसैको करकापले गरिने विषय होइन ।
बन्दाबन्दीको समयमा कतिपय मानिसहरुले निर्बाध रुपले हिँड्ने सवारी पास जुटाए । कोही एम्बुलेन्स मिलाएर गाउँको घरसम्म पुगे । कोहीले कालाबजारी गर्नसमेत भ्याए । कसैका सवारीसाधनहरु गुडेको गुडै छन् । कोही भने घरभित्र थुनिएको थुनिएै छन् । सरकार भन्छ, सवारीपासको दुरुपयोग भयो । अब त अनलाइनबाट पास दिने रे । त्यो पनि काजकिरियाको लागि मात्र । बिरामी पर्दा के गर्ने हो थाहा छैन । मृत्युको शोकमा डुबेको बेला कता अनलाइन पास जुटाउने रहेछ ! मान्छे बिरामी हुन्छ, तुरुन्तातुरुन्तै अस्पताल पुर्याउनु पर्छ । कता अनलाइन भर्ने, के के डकुमेन्ट अपलोड गर्ने र सवारी पास लिने ! बिरामीलाई छिटो भन्दा छिटो अस्पताल पुर्याउने कि अनलाइन फर्म भरेर बस्ने ! यो सुन्दै पनि व्यवहारिक नलाग्ने ।

राजधानीमा पानीको हाहाकार छ । यो समयमा इनारको पानी समेत आउँदैन । यो काकाकुल समयमा बाहिरबाट ल्याएका खाद्यसामग्री, तरकारी फलफुल साबुनपानीले धोएर घरभित्र छिराउनु पर्छ । घरमा बस्दा पनि साबुनपानीले हात धुनपर्छ । यो दैनिकी कष्टकर बन्दै गइरहेको छ । सासै फेर्न सकस भइसक्यो । आफैले फेरेको सासप्रति पनि शंका भइसक्यो । त्यो सासले जीवन दिन्छ कि मृत्यु भन्ने ? कतै हामीले फेर्ने सासमा कोरोना भाइरसका जीवाणुहरु त छैनन ?

मान्छे यतिसम्म स्वार्थी बन्ने रहेछ । आफूले घरभित्र महिनौँसम्म पुग्ने खाद्यान्न जुटाएँ भनेर तरकारी किन्न हिँडेकालाई समात्न घरका छतबाट प्रहरीलाई बोलाए । प्रहरीले भने ती निरीह व्यक्तिहरुलाई भ्यानमा कोच्न सकेनन् । शायद उनीहरुले पनि आफ्नो परिवार र आफन्तहरुको व्यथा सम्झे होलान् । यसो भन्दै गर्दा औषधी किन्न गएकालाई निर्घात रुपमा पिटेको दृश्य पनि देखियोे ।

यो बीचमा केही अनौठा घटनाहरुसँग पनि साक्षात्कार भइयो । मान्छे यतिसम्म स्वार्थी बन्ने रहेछ । आफूले घरभित्र महिनौँसम्म पुग्ने खाद्यान्न जुटाएँ भनेर तरकारी किन्न हिँडेकालाई समात्न घरका छतबाट प्रहरीलाई बोलाए । प्रहरीले भने ती निरीह व्यक्तिहरुलाई भ्यानमा कोच्न सकेनन् । शायद उनीहरुले पनि आफ्नो परिवार र आफन्तहरुको व्यथा सम्झे होलान् । यसो भन्दै गर्दा औषधी किन्न गएकालाई निर्घात रुपमा पिटेको दृश्य पनि देखियोे । डाक्टरहरु स्वयंले पिटाइ खाएको सुन्नमा आयो ।

पैदल यात्रा गरी घर फर्कने क्रममा बाटाेमा थकाइ मार्ने कामदारहरू । फाेटाेः रमन पाैडेल, डाउनटुअर्थ

यो बन्दाबन्दीको समय घरभित्र थुनिए पनि, बुद्धि विवकेलाई थुनेको थिएन । सिर्जनात्मक काम गर्न केल्ले छेक्थ्यो र ? घरभित्र गर्ने काम पनि कति हुन्छ कति । पुरुष र महिलाको भेदभाव नराख्ने हो भने काम गरेर नभ्याइने काम घरभित्रै छन् । घरभित्रको सरसफाइ गरे भयो । करेसाबारीमा गोडमेल गरे भयो । गमलाहरुमा फूल तरकारी सार्नेे गरे पनि भयो । किताबहरुको धुलो पुछे पनि भयो । लुगाफाटाहरु सुकाउने र उठाउने गरे भयो । अस्तव्यस्त सामानहरुलाई व्यवस्थित गरे पनि भयो । कागजातहरुलाई व्यवस्थापन गरे भयो । सकिन्छ, छोराछोरीको पढाइमा सहयोग गरेपनि भयो । उनीहरुलाई आफूसरह कुनै सिर्जनात्मक काममा सरिक गराए पनि भयो । पुस्तकहरु पढ्दा भयो । लेखरचना लेख्दा भयो । पठनसंस्कृतिको विकास गर्ने योभन्दा उपयुक्त समय अरु कुन होला ? बहानाबाजी गरेर आफूसँग नभएको खोजेर भएकोलार्ई बेवास्ता गरेर कसरी हुन्छ ?

प्राइभेट स्कुल, कलेजहरुको पनि आआफनै कथा छ । महंगो भर्ना र शुल्क उठाउन पल्केका उनीहरु यतिबेला रन्थनिएका छन् । ब्रिजकोर्स र तयारी कक्षा भनेर मोटो रकम उठाइरहेको बानी, उनीहरुको व्यापार चौपट भएको छ । अनलाइनबाटै भएपनि मोटो रकम असुल्न सकिन्छ कि भनेर तानाबाना बुन्दै छन् । विद्यार्थीहरुलाई जति बेला पनि घोकाइरहन पर्ने किन ? विद्यार्थीहरुलाई केही समय आफ्नै बुद्धिविवेकले अध्ययन, मनन र चिन्तन गर्न दिँदा के बिग्रन्छ ? विद्यार्थीहरुको सिर्जनशीलता माथि यिनै च्याउसरी उम्रेका ब्रिजकोर्स र तयारी कक्षाले कुठाराघात गरेका छन् । वनका काँडा त्यसै तीखा हन्छन् । तिनलाई तिखार्न पर्दैन । कमलको फूल फोहोरी हिलो छेडेर फक्रिएरै छाड्छ । त्यसैले यी प्राइभेट स्कुल र कलेजहरुले अस्वभाविक रुपमा हतार गरेकोमा स्वार्थको गन्ध आएको छ ।

कोरोना महामारीले केही कुरा सिकाएको पनि छ । भीड मात्र रुचाउने मानिसको जीवनशैलीलाई एकपटक चुनौती दिएको छ । प्रकृतिप्रति मानिसको अधिक दोहनलाई नरुचाएको प्रस्ट छ । यो पृथ्वी मानवमात्रको होइन भन्ने अनुभूति गराइदिएको छ । जैविक हतियारलाई युद्धको माध्यम बनाउन खोजेमा त्यसको ठूलो मूल्य चुकाउन पर्छ भन्ने पाठ सिकाएको छ । भलै अहिलेको महामारी त्यो उदेश्यका साथ नहोस् । जति नै सम्पन्न मुलुक भएपनि महामारीसँग लड्ने क्षमतामा गरिब मुलुकहरुको तुलनामा तात्विक भिन्नता रहेन । यतिबेला न त कुनै विज्ञानको चमत्कारले काम गर्यो । न त कुनै अध्यात्मको साधनाले काम गर्यो । नेपालको सन्दर्भमा महामारीसँग जुध्ने क्रममा वास्तविक विज्ञहरुको खोजी हुन सकेन । एउटा विपद्सँग लड्ने सर्वमान्य राष्ट्रिय संयन्त्र पनि बन्न सकेन ।

आफ्नाे  घर, परिवार भन्दा सुरक्षित अरु केही रहेनछ । त्यही घर, त्यही परिवारको सन्तुष्टिले नै जीवन बाँच्ने आधार दिने रहेछ । मान्छेलाई आफ्नो धरातल र चौघेराको वास्तविक मर्मको अनभूति भयो । भीडभाडभन्दा एकान्तवासको खोजी गर्न सिकायो । आजको जीवनशैलीलाई बदल्न सिकायो ।

यतिबेला सहर भन्दा गाउँ बस्ती प्यारो भयो । रोजगारीका तौर तरिकामा परिवर्तन ल्याउन पर्ने भयो । कतिपय ठाउँमा पैसाले काम गर्न छाड्यो । पैसाले सुख दिए पनि खुसी बाढ्न सकेन । आफ्ना मानिसहरुको मृत शरीरको दाहसंस्कार गर्ने मौकासमेत गुमाए । मान्छेको मरण जनावरको सरह भयो । मिडियाहरु पनि यतिबेला घरै बसेर समाचार लेख्न बाध्य भए । बलिउड र हलिउडको पनि महत्व रहेन । तेलखानीको पनि महत्व रहेन । अमेरिकाको दबदबा पनि सकियो । सबै खाले असमानताका पर्खालहरु भत्किए । मानवताभन्दा पर केही देखिएन । यो विषम परिस्थितिमा स्वास्थ्यकर्मीहरुको पेशाप्रतिको निष्ठाले काम गर्यो । कतै कतै देश हाक्ने सच्चा नेताको बुद्धि विवेकले काम गर्यो । मानिसहरु आ–आफ्ना घरमा फर्किए । घरमा फर्कन मरिहत्ते गरिरहे । ज्यानै लाने महाकाली नदीसमेत तर्न भ्याए । सयौँ कोशको यात्रा पनि हिडेरै पूरा गरे । आफ्नाे  घर, परिवार भन्दा सुरक्षित अरु केही रहेनछ । त्यही घर, त्यही परिवारको सन्तुष्टिले नै जीवन बाँच्ने आधार दिने रहेछ । मान्छेलाई आफ्नो धरातल र चौघेराको वास्तविक मर्मको अनभूति भयो । भीडभाडभन्दा एकान्तवासको खोजी गर्न सिकायो । आजको जीवनशैलीलाई बदल्न सिकायो । यो महामारीले हाम्रो दायरा र सीमाको अवगत गरायो । हामी जुन ज्ञान र बोधका साथ बसेका छौँ, त्यो जीवनरक्षाका लागि पर्याप्त रहेनछ । प्रकृतिको अत्यन्तै न्यून ज्ञान हामीसँग रहेछ । जहिले पनि विपद्को लागि तयारी अवस्थामा बस्नु पर्ने रहेछ । विपद्लाई विपद्को रुपमा बुझन नसक्दा सिङ्गो विश्वले ठूलो मूल्य चुकाउन पर्ने रहेछ ।

(विपद् जोखिम न्यूनीकरणमा महाविद्यावारिधी गरेका डा.तिवारी  पुल्चोक इन्जिनियरिङ क्याम्पसका प्राध्यापन पेशमा सक्रिय छन् ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

X