चुक्चुकाउँदै मनहरू

  २०७७ जेठ ११ गते २१:०३     हर्क घर्ती मगर

 

किर्तिपुर नगरसँगै हिमालकाे दृष्य

प्रकृतिको नियम अनौठो छ । धर्मास्तिकहरू यही कुरालाई भगवानको लीला भन्लान् । घरसँगको न्यानो सम्बन्ध तोडेर रात दिन खुल्ला चौर, खेत अनि मैदानमा न्यास्रिँदै बिताएका पलहरू कटाएको चार वर्ष पुग्दा नपुग्दै रीति उल्टिएको छ आज । आआफ्नै घर र कोठामा कैद भएको छ मान्छे । घर छोडेर बाहिर निस्कनु हानिकारक छ भन्ने स्वयं मान्छेले बुझेको छ । मान्छेमा त्यति विवेकले काम नगरेको अवस्थामा अथवा बाहिर निस्कन पाईन्छ वा पाईदैन भनी जाँच्नको लागि बाहिर निस्किएका मान्छेहरूका लागि चोकमा खटिएका प्रहरीको लाठीले राम्रैसँग सम्झाउने गरेको छ आजभोलि ।

छिमेकी देश चीनको बुहान क्षेत्रमा उत्पत्ति भई फैलिएको प्राणघातक कोरोना भाइरसका कारण विश्व समुदाय यतिखेर चिन्तित अवस्थामा छ । त्रसित अवस्थामा छ । हामी उत्पत्तिस्थल देशसँग सीमा जोडिएको स्थानमा भएका कारण उच्च जोखिममा रहेको कुरा विश्व स्वास्थ्य सङ्गठनले अनुमान गरेको छ । दुःखीमाथि प्रकृतिको न्याय हो वा सदाशयता हो, अन्य स्थानहरूमा जुन गतिमा यो भाइरस फैलिएको छ, त्यो गति नेपालमा देखिँदैन । अथवा त्यो रफ्तारले नेपालमा भाइरस फैलिएको देखिँदैन । खैर, हामीले त्यसको गतिलाई वास्तविक रूपमा पहिचान गर्न नसकेका पो हाैं कि ? प्रकृतिको न्याय, प्रकृतिको माया अथवा प्रकृतिको सदाशयता भन्नु एउटा भावुकताको स्वाङ् हुनसक्छ । यथार्थतः यससँग हाम्रो जीवनशैली नै पो जाडिन्छ कि ? यसरी विभिन्न कोणबाट हामी आफूले आफैलाई विश्लेषण गर्ने तथा पहिचान गर्ने समय आएको छ । विभिन्न धर्मका अन्धभक्तहरूको अफवाह सामाजिक सञ्जालमा फैलिने क्रम पनि सँगसँगै बढिरहेको छ । यस्तै यस्तै प्रकारका भिडियोहरूले सामाजिक सञ्जाल मार्फत अहिले आम मान्छेलाई पेट मिचिमिचि हँसाएको छ । तर यो गम्भिर हुने समय हो ।

“औलोको अर्को रूप कोरोना”

यस्तै यस्तै अभिव्यक्तिहरू पोष्टिन्छन्, आजभोलि फेसबुके भित्ताहरू । हाम्रा परम्परागत तथा छिरलिएर बसेका बस्तीहरू यस्ता प्रकारका सङ्क्रमण सुरक्षाको हिसाबले अत्यन्तै उपयुक्त थिए भन्ने कुरा प्रमाणित हुँदै गईरहेको छ । अस्वस्थ प्रतिस्पर्धाले मानिस केन्द्रिकृत हुँदै जाँदा कुनै ठाउँ अस्वभाविक कोलाहलमय भयो भने कुनै स्थान सुनसान । यो प्रकृति अनुकूलको कार्य थिएन भन्ने कुरा पनि क्रमशः प्रष्टिँदै गईरहेको छ ।

लेखक

प्रकृति सर्जक हो । हामी प्रकृतिका सिर्जना । हामी मायामा विभोर छौँ प्रकृतिको । प्रकृतिको लागि त झन् हामी सन्तान न भयौँ । माया नहुने कुरै भएन । तर यही मानव समुदायले प्रकृतिमाथि नै धावा बोलेर उसैमाथि क्षयीकरणको अभियान थालेपछि प्रकृतिले सहीराख्ने कुरा पनि त भएन नि । छोराछोरीले आमाको गलामा नै खुकुरी सोझ्याएपछि आमा आफ्ना छोराछोरी हुन् भनेर टुलुटुलु हेर्छिन होली त ? उनले पनि आफ्नो अस्तित्व त बचाउनुपर्छ । स्वभाविक हो, आफ्नो अअस्तित्वको माया सबैलाई हुन्छ र अस्तित्व रक्षाको लागि जसले जे पनि गर्नसक्छ ।

अति नगर्न प्रकृतिले मान्छेलाई बेलाबेलामा विभिन्न प्रकारका चेतावनीहरू दिईरहने गरेको थियो, छ । जस्तैः महाभूकम्प, सुनामी आँधी, इबोला भाईरस, बर्डफ्लु, स्वाईनफ्लु आदि यसका उदाहरण हुन् ।

विश्व नै लकडाउनमा छ अहिले । कामकाजहरू सबै ठप्प छन् । मान्छेहरू फरक फरक परिवेशमा अलपत्र छन् । दैनिक मजदुरीबाट जीवन गुजारा गर्ने मजदुरहरूको चुल्हो निरन्तर चिस्सिँदै गईरहेको छ । मानव जातिको अस्तित्व माथि निर्मम सङ्कट आएको छ । यही सङ्कटको बेला केही चल्तापुर्जाहरू मानवतालाई घाममा सुकाएर आफूलाई फरकै प्रकारको अजेय प्राणी ठानेर महामारी उद्धारको नाममा, सोही कार्यमै चुहावट गरी जिब्रो पड्काउन तल्लिन् रहेको कुराले पीडित मनहरू थप मर्माहत भईरहेका छन् ।

प्रकृतिले दिएका यी र यस्ता हरेक चुनौतिहरूमा मानवजातीले थुप्रै क्षतिहरू ब्यहोर्नु परे पनि अन्ततः मुक्ति प्राप्त गर्नमा सफलता हात पार्दै आईरहेको छ । यस पटकको महामारी (कोभिड–१९) बाट मानवले कहिले मुक्ति प्राप्त गर्छ वा गर्दैन, निश्चित भईसकेको छैन । याे लेख तयार गर्दै गर्दा महामारीबाट विश्वभरमा ज्यान गुमाउनेको सङ्ख्या डेढ लाखको आसपासमा पुगिसकेको छ, जुन बढ्दो क्रममै रहेको छ । विश्व नै लकडाउनमा छ अहिले । कामकाजहरू सबै ठप्प छन् । मान्छेहरू फरक फरक परिवेशमा अलपत्र छन् । दैनिक मजदुरीबाट जीवन गुजारा गर्ने मजदुरहरूको चुल्हो निरन्तर चिस्सिँदै गईरहेको छ । मानव जातिको अस्तित्व माथि निर्मम सङ्कट आएको छ । यही सङ्कटको बेला केही चल्तापुर्जाहरू मानवतालाई घाममा सुकाएर आफूलाई फरकै प्रकारको अजेय प्राणी ठानेर महामारी उद्धारको नाममा, सोही कार्यमै चुहावट गरी जिब्रो पड्काउन तल्लिन् रहेको कुराले पीडित मनहरू थप मर्माहत भईरहेका छन् । गोबर कमिलाले चिनीको सुगन्ध थाहा पाउन नुहाइ धुवाइ गरी नाकको प्वालमा टाँसिएको गोबरहरू उप्काउनु परेको थियो । सो विधि यी महामानवहरूमा कहिलेसम्म लागु हुन्छ होला त ? यस्तो संवेदनशील घडीमा पनि मानवताको विर्को नखुल्ने महामानवहरूमा अब कुनै पनि पलमा परिवर्तन आउँछ कि भनेर आश गर्नु छेपारोको बहकाउमा परेर आफैलाई यातना दिनुसरह हुनेछ । त्यसैले मानवीय मुटु चिन्ने समय पनि हो यो । गल्ती पनि नगर्ने र गल्ती पनि नसहने सच्चा नेपाली मन यतिखेर उजागर हुनु जरुरी छ । आधुनिक र सचेत नेपाली नागरिकले कम्तिमा यति कुरालाई राम्रोसँग पहिचान गरी छुट्याउन सक्नेछन् भन्ने कुरामा विश्वास गर्न सकिन्छ ।

अनुमान अनेक सल्बलाईरहेको छ अहिले मानव जगतमा । मानवको अस्वभाविक खानपान र जीवनशैलीलाई भाइरस उत्पादन र विस्तारको आधार मानेका छन् स्वास्थ्य सम्बद्ध विज्ञहरूले । प्रकृतिले अनुकूलताको पहल थालेको ठान्छन् कोही, त कोही जैविक युद्ध अर्थात तेस्रो विश्वयुद्ध ठानिरहेका छन् यसलाई । जसले जेसुकै अनुमान गरे पनि यो मानव जातिका लागि एक महाविपत्ति हो भन्ने कुरामा भने सबैकोे एकमत छ । र, यसबाट मुक्ति प्राप्त गर्नुपर्छ भन्ने कुरामा पनि सबैको एकमत रहेको कुरामा शङ्का गर्न सकिँदैन ।

शक्तिराष्ट्रहरूको दम्भ तथा पृथ्वीमाथिको आधिपत्यको सपना तुहिँदै गईरहेको छ । पुस्तौँ पुस्ता धान्ने सम्पत्तिका मालिकहरूको मन मृत्युको भयावह दर्शनले खडेरीको खहरेजस्तै उजाडिँदै गईरहेको छ । पैसा नै सबैथोक हो भन्दै पैसाकै पछाडि दगुर्दा दगुर्दा मानवीयताबाट हात धोईसकेका मनहरू पनि चुक्चुकाउँदै पछाडि फर्किरहेका छन् । उदार पूँजीवादका अभियन्ताहरू सरकार, सामाजिक संघ संस्था र सङ्गठनहरूसँगै राहत वितरणको रङ्गमञ्चमा सफल अभिनयका साथ उत्रिएका छन् । रात दिनको कोलाहल, धुँवा, धुलो र भिडभाडले आक्रान्त शहर आज सुनसान देखिँदै गईरहेको छ । धुलो धुँवाको अन्त्यसँगै शहरमा हरियालीको सौन्दर्य समेत थपिईरहेको आभाष भईहेको छ । काठमाण्डौ शहर अब एउटा यस्तो बिम्ब लागिरहेको छ, आदिकविले बयान गरेको कान्तिपुरी नगरीको स्वरूप वास्तवमा यही नै हो कि ? नभए पनि अव त्यस्तो स्वरूपमा शहर जाने सम्भावनामा देखिन्छ । आशा छ त्यसपछि आदिकविको छटपटिएको मन् आफ्नो कान्तिपरी नगरीलाई हेरेर शान्त र सन्तुष्ट हुनेछ ।

शक्तिराष्ट्रहरूको दम्भ तथा पृथ्वीमाथिको आधिपत्यको सपना तुहिँदै गईरहेको छ । पुस्तौँ पुस्ता धान्ने सम्पत्तिका मालिकहरूको मन मृत्युको भयावह दर्शनले खडेरीको खहरेजस्तै उजाडिँदै गईरहेको छ । पैसा नै सबैथोक हो भन्दै पैसाकै पछाडि दगुर्दा दगुर्दा मानवीयताबाट हात धोईसकेका मनहरू पनि चुक्चुकाउँदै पछाडि फर्किरहेका छन् ।

महाविपत्तिको अन्त्यका निमित्त स्वास्थ्यकर्मी, सुरक्षाकर्मी (प्रहरी) तथा विभिन्न संघ संगठन तथा संस्थाका अभियन्ताहरू क्रियाशील छन् । उहाँहरूको उदार मनलाई सलाम नगरी रहन सकिन्न । यद्यपी हरेक घटनाक्रममा कोही न कोही खलनायक हुने गर्दछन् । म यहाँ ती खलनायकहरूको धेरै चर्चा गर्दिन । किनकी मलाई थाहा छ, “फूलको आँखामा फूलै संसार ।” म आफ्नो आँखामा जबरजस्ती काँडा कसरी राख्न सक्छु र ?

कोरोना भाइरसको सङ्क्रमण समग्र मानवजातीको अस्तित्व माथि नै चुनौति भएर अहिले देखिएको छ । यसले मानवले गरेका यावत विकासे प्रविधिहरू माथि समेत चुनौति थपेको छ । सबै थोक विज्ञानमा सम्भव देख्ने आधुनिक मान्छेका आँखामा यसले कडा चुनौतिका साथ तिरीमिरी छरिदिएको छ । विज्ञानको उन्नती मात्रै वास्तविक विकासको सूचक होईन भन्ने कुरा प्रमाणित भईरहेको छ । मानवले मानव हुनुको नाताले मानवीय व्यवहारसहित बाँच्नसक्ने क्षमता राख्नुपर्दछ । हरेक वस्तुको अन्त्य निश्चित हुनेगर्दछ । त्यसैले बाँचुन्जेल दम्भ त्यागेर मानव हितमा प्रत्यकले आफूलाई लगाउन सके मात्रै यो मानवीय संसार सुन्दर हुनसक्दछ भन्ने कुरा विश्व समुदायले बुझिरहेको छ ।

विद्यार्थी लक्षित राहत वितरण कार्यक्रम, त्रिवि, कीर्तिपुर

हरेक चुनौतिले अवसर पनि सँगसँगै बोकेर आएको हुन्छ । यो विपत्ति मानव जगतका लागि विपत्ति त हुँदै हो, तर यसबाट आएका सम्भावित अवसरहरूलाई केलाउन सकियो भने ती अवसरहरूकै उपयोगबाट यो मानव सभ्यता अर्को गति लिएर थप अगाडि अझैँ सुसज्जित भएर बढ्ने सम्भावना पनि रहन्छ । वास्तवमा यस विपत्तिले मानव समुदायलाई केही महत्वपूर्ण सन्देशहरू दिईरहेको छ । ती महत्वपूर्ण सन्देशहरूलाई पहिल्याउनु हाम्रो पहिलो दायित्व तथा आवश्यकता हो । महत्वाकांक्षी योजनासहित मानवले प्राकृतिक स्रोतको अनाधिकृत दोहन गर्नु, पूँजी र भौतिक विकासको चरम उत्कर्षमा मान्छेमा मानवीयता शून्य हुँदै जानु, प्राकृतिक रूपमा रहेका मानव बस्तीहरू पातलिँदै जानु तथा शहरकेन्द्रित बसाइँ सराई बढ्दै जानु, आधुनिकताको नाममा अस्वभाविक चालचलन तथा खानपान बढ्दै जानु जस्ता गतिविधिहरू मानव सभ्यताको हीतमा थिएन । यस कुराको पनि मानव समुदायमा चेतना अभिवृद्धि भईरहेको छ । अब हामीले यीनै यीनै कुराहरूलाई मनन् गरेर तत् तत् विषयमा सुधार गरेर लैजाने हो भने हामीले चाहेको वास्तविक मानवीय शान्ति र समृद्धियुक्त संसारको निर्माणका लागि जोखाना हेरिरहनु नपर्ला कि ?

महाविपत्तिको प्रकोपलाई ध्यानमा राखेर अहिले सारा विश्वसँगै हाम्रो देशमा पनि लकडाउन गरिएको छ । दैनिक जीवनयापनमा परिवर्तन ल्याईएको छ । सामाजिक दूरी कायम गरौँ भनिएको छ, गर्ने प्रयास पनि गरिएको छ । यो “सामाजिक दूरी” भन्ने शब्द चयनमा भने मैले केही कमजोरी रहेको देखिरहेको छु । किनकि व्यवहारतः यसको अर्थ भनेको सङ्क्रमण एकअर्कामा सर्न नदिन व्यक्ति व्यक्ति बीचको भौतिक दूरी कायम गर्ने कुरा हो । सामाजिक दूरी भन्ने शब्दले समाजमा विद्यमान रहेको विविध प्रकारका विभेदहरूलाई सङ्केत गर्ने भएकाले यस अर्थमा भौतिक दूरी नै भन्नु सान्दर्भिक ठहर्दछ । अन्यथा यही व्यवहारले समाजमा अर्को प्रकारको विभेदको जन्म नहोला भन्न सकिन्न । यस्तो संवेदनशील समयमा हामीले एकअर्कालाई नकारेर अर्थात विभेद गरेर होईन भौतिक दूरीलाई प्राविधिक पक्षको रूपमा स्वीकार्दै तथा त्यसको पूर्ण परिपालना गर्दै सामाजिक रूपले त एकबद्ध हुनु आवश्यक छ । यस सन्दर्भमा सम्बद्ध विज्ञहरूबाट प्राप्त सुझावको पूर्ण पालना गर्नुको बिकल्प नरहेको कुरालाई हामीले राम्ररी बुझ्न जरुरी छ । यससँगै हाम्रो सामाजिक र मानसिक एकताले हामीलाई जुन उर्जा प्राप्त हुन्छ त्यसबाट नै यसप्रकारको विपत्तिबाट मुक्ति पाउन सम्भव पनि छ । विपत्तिसँग जुध्नको लागि भौतिक तयारी मात्र पूर्ण हुँदैन भन्ने कुरा पटक पटकको अभ्यासबाट प्रमाणित भईसकेको छ । त्यसैले हामी मानसिक रूपले पनि पूर्ण तयारीको अवस्थामा रहनु जरुरी हुन्छ । यसका लागि हामीमा समाजिक एकता हुनु अत्यन्तै जरुरी रहेको छ । सङ्क्रमितहरूलाई अर्कै ग्रहबाट आएका प्राणीलाई झैँ व्यवहार गर्नु हाम्रो मानवीयताभित्र पर्ने कुरा कहिल्यै पनि हुनसक्दैन । जसरी यस अघि यही समुदायमा क्षयरोगी, कुष्ठरोगी, एड्सरोगीजस्ता महारोगसँग लडिरहेका पिडित व्यक्तिहरूसँग सामाजिक दुरी कायम राख्ने कार्य गरिन्थ्यो । आजभोली यी विषय सामान्य लागे पनि कल्पना गर्न सकिन्छ, त्यतिबेला त्यो विभेद खेप्ने पिडित्ले कुन दशा व्यहोर्नुप¥यो होला । त्यसकारण ती गल्तीहरू फेरी नदोहोरियोस भनेर हामीले बेलैमा सचेत भएर सोही अनुसारको व्यवहार गर्नु आवश्यक छ ।

लकडाउनले सुनसान कीर्तिपुरमा बिहानको क्षणिक चहलपहल

विपत्ति न्यूनिकरणका लागि लकडाउन गर्न र त्यसको पालना गर्नु अत्यन्तै जरुरी भएको छ । यसप्रकारको कार्यले सारा कामकाजसँगै आयआर्जनका क्रियाकलापहरू समेत ठप्प हुन गएको छ । अगाडि नै भनिसकियो कि दैनिक मजदुरीमा निर्भर मजदुरहरूको चुल्हो क्रमशः चिस्सिँदै गईरहेको छ । बिपत्तिमा सङ्क्रमणसँगसँगै ज्यान गुमाउनेको सङ्ख्या निरन्तर रूपले बढीरहेको छ । यस अर्थमा हेर्दा यो लकडाउनको समय तुरून्तै टर्ने सम्भावनामा छैन । यसरी लकडाउनको समय बढ्दै जाँदा अवस्था थप भयावह हुँदै जाने समेत निश्चित छ । त्यसैले समयमै सचेत भएर दीगो सोँचका साथ प्रत्यकले आफूलाई तयार पार्नुपर्ने अवस्था आएको छ । अन्यथा लक्षित विपत्ति टरे पनि त्यसको प्रभाव स्वरूप अर्को विपत्ति अर्थात आर्थिक मन्दीसँगै भोकमरी तथा लुटपाटको भयाबह अवस्था सिर्जना नहोला भन्न सकिन्न । भोको पेटले दर्शन बुझ्ने कुरा भएन । त्यसैले पहिलो कुरा आधारभूत आवश्यकताको परिपूर्ति हो । यसका लागि सम्बन्धित निकाय तथा तहले सचेतता त देखाउनु पर्छ नै, हामी प्रत्यक व्यक्ति पनि त्यत्तिकै जिम्मेवार हुनु जरुरी छ । उदार मनहरूको पहिचान यस्तै यस्तै विपत्तिमा हुने हो । त्यसैले यो एउटा परीक्षाको घडी पनि हो । त्यसैले आउनुस् मानव हुनुको गर्वलाई साकार रूप प्रदान गर्न मानवीय उदारता प्रकट गर्दै अगाडी बढौँ । मरीलानु के नै छ र ? यो कुरा हामी सबैलाई थाहा छ । तर, यसलाई सार्थक प्रयोग गर्ने अवसर सबैले सँधै प्राप्त गर्न सक्दैन । हामी यही विपत्तिबाट यो महत्वपूर्ण अवसरको प्रयोग गर्दै अगाडि बढ्ने प्रण गरौँ । हाम्रो भविष्य हामीसँग छ, हाम्रो व्यवहारमा छ । हामी सचेत भए दुनियाँ पनि सचेत हुनेछ, एउटा सभ्य र व्यवस्थित समाज निर्माणको बाटोमा तपाइँ हामी सबैजना हातेमालो गरिरहेका हुनेछौँ । विपत्तिबाटै एउटा सुन्दर संसारको रचना पनि सम्भव छ । त्यसका लागि तपाइँ हाम्रो भूमिका महत्वपूर्ण हुनेछ ।

डोटी, हाल कीर्तिपुर काठमाण्डौं
[email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

X