२०४०

  २०७७ जेठ १ गते ११:४१     निरज दाहाल

सन् २०४० मे १२ तारिकको दिन । राहुललाई निकै हतार छ । आफ्नो कृषि फार्ममा खेतालाहरू त्यसै पनि अल्छी देखेकाले राहुललाई कामदार नै फेर्ने मनसाय पनि छ । तर केही दिन ऊ व्यस्त हुने कुरा करिब दुई हप्ता अगाडि आएको मेलले भनिसकेको थियो । राहुलका अत्यन्तै मिलनसार साथीहरू आउँदैछन् । जमिर, बेन्जामिन र दिपेश चितवन एयरपोर्टमा ११ बजे ल्याण्ड हुने खबर दिपेशले बिहान सात बजे नै फोनमा बताएको थियो । बेन्जामिन अमेरिकाको साथी हो, जमिर अफ्रिकाको र दिपेश बुटवलको । सन् २०२० को कोरोना महामारीमा अमेरिकामा सँगै कृषि पढिरहेका यी चार दौँतरीले आँखै अगाडि मृत्युको पुल पार गरे । महिनौ दिनसम्म अपार्टमेन्टबाट बाहिर ननस्किेका यी दौँतरीले छिमेकमै कोरोनोले मृत्युवरण गरेको मानिसको अनुहार पनि देखेका थिए । बेन्जामिन र जमिरलाई कोरोनाको महामारीमा गुन्द्रुकको स्वादसँग प्रेम बस्यो । राहुलसँग मेल वा भिडियो कलमा प्राय बेन्जामिन र जमिरले गुन्द्रुकको बारे सोधिरहन्थे । उनीहरू नै आउँदैछन् भनेर राहुलले अलिबढी गुन्द्रुक भान्सामा श्रीमती रितुलाई जोहो गर्न लगाएको थियो ।

यो जमात लगभग बीस वर्षपछि फेरि भेट्दै थियो । राहुल र दिपेशको भने कृषि मन्त्रालयमा कहिलेकाहीँ भेट नभएको पनि होइन । तर बेन्जामिन र जमिरलाई भने राहुल र दिपेशले स्वदेश फर्केपछि भेटेका थिएनन् ।

नेपालबाट दिपेश र राहुल कृषि विषयमा उच्चशिक्षा हाँसिल गर्न अमेरिका पुगेका थिए । जमिर पनि अफ्रिकाबाट कृषि विषयमा नै उच्चशिक्षा हाँसिल गर्न अमेरिका आएको थियो । बेन्जामिन भने अर्कै सहरको भए पनि अमेरिकाकै रैथाने थियो । यी चार जनाको भेट युनिभर्सिटी अफ फ्लोरिडामा सन् २०१८ मा भएको थियो ।

पढाइमा अब्बल राहुलले पहिलो वर्ष नै युनिभर्सिटी टप गर्यो । दिपेश त यसै पनि नेपालको थियो, राहुलको नजिक पर्न उसलाई कुनै आइतबार पर्खनु परेन । बेन्जामिन र जमिर भने बिस्तारै राहुलको नजिक भए र यी चार जनाको दोस्ती कक्षाकोठामा मात्र सीमित भएन । एउटै अर्पाटमेन्ट सेयर गरेर बस्ने थाले ।

सँगै बस्न थालेपछि, यिनीहरूले पढाइको मात्र कुरा गरेनन् । पाठसँगै परिवारको, देशको, राजनीतिको, साहित्यको र कलेजमा आएका जमर्नीका दुई केटीहरूको पनि कुरा हुन थाल्यो ।

लेखक

भलै उनीहरू कृषिका विद्यार्थी भए पनि रुची भने अनेक कुरामा थिए । अमेरिकाको अबको चुनाव कस्तो हुन्छ ? अफ्रिका अधिकांश देश आफैँ किन विकसित हुन सकेन ? चीनले कस्ता कस्ता कुरामा आफ्नो लगानी गर्दैछ ? आदि इत्यादि । जमिर लिबियामा आफ्नै कलेज खोल्ने , बेन्जामिन डिग्री मात्र लिने त्यसपछि विश्वभ्रमणमा निस्कने, राहुल र दिपेश भने अमेरिकामै सेटल हुने नेपाल नफर्कने सोचमा थिए । तर सँगै बस्दा सँगै खाँदा कुराकुरामा यी चारजना एक भए । चारैजनाले आफ्नो पढाइ सक्काएपछि अमेरिकामा नै एक विशाल कृषि फार्म खोल्ने योजना बनाए । बेन्जामिनको जग्गा प्रशस्त भएकाले उनीहरूलाई जग्गाको कुनै तनाव भएन । लगानीको कुरा बेन्जामिन त्यहीँको रैथाने भएकाले उसैले मिलाउने भयो । तर जमिर भने एक टाइम त कलेज पढाउने नै भनेर ढिट कसेर बसेको थियो । साथीकै नाताले अन्य तीनले उसलाई कलेज पढाउन छुट दिने पनि भएका थिए ।
कोठाभित्र आ–आफ्नो योजना बनाउँदै यिनीहरूले आफ्नो पढाइमा दिलोज्यान लगाएर मिहेनत गर्दै थिए । बेन्जामिनले आफ्नो बा आमासँग फार्मको कुरा गरिसकेको थियो । विश्व भ्रमणमा जान्छु भन्ने छोरो देशमै बस्छु भनेको सुन्दा बा आमा पनि खुसी नै थिए ।

कुरासँगै धेरै कुरा बितेर गए । पचास वर्षभन्दा लामो सयम महामारी नभोगेको विश्वले पुनः अर्को महामारी आउने संकेत सामाजिक सञ्जालमा सुरु भएको थियो । एड्स, स्वाइनफ्लु, इबोलाजस्ता महामारीमा अहिलेको जस्तो अत्याधुनिक समय थिएन । स्वास्थ्य क्षेत्रमा विश्व पछाडि नै थियो । तर अहिले यो अवस्था त्यस्तो छैन । विश्व चनाखो भएर बसेको छ भन्ने सोचले चारजना मध्ये कोही पनि घर नफर्कने निर्णयमा पुगे । केही दिनमा समय स्वस्थ्य भएपछि आफन्त भेट्न जाने योजना बनाएर आउँदै गरेको परीक्षाको लागि यी चारजना तयारीमा जुटे ।

चाइनाको वुहानबाट सुरु भएको कोभिड – १९ ले विश्वमा नै आक्रमण गर्यो । घरबाट लगातार फोन आउन थालेपछि राहुल र दिपेशले एयरलाइन्स कम्पनीलाई फोन गरे । एयरलाइन्सले सम्पूर्ण विमान सेवा बन्द भइसकेको र नेपालमा लकडाउन सुरु भएकाले नेपाल जाने विमान नपाइने कुरा बतायो । जमिरको लागि पनि विमान बन्द भएको थियो । बेन्जामिन गाडीमा जान सक्थ्यो तर उसले साथी नछाड्ने निणर्य गर्यो र घरमा फोन गरेर म सुरक्षित छु । म यतै बसेँ भन्ने जानकारी दियो ।

यी चारजनाको आँखा किताबमा भन्दा धेरै टिभी र इन्टरनेटमा बढी हुन थाल्यो । उनीहरूले सोचेको भन्दा धेरै नै फरक अवस्थामा विश्व गुज्रिरहेको थियो । वुहानमा मृत्यु हुने संख्या दिनमा दुइ गुणा र रातमा चारगुणाको हिसाबले बढिरहेको थियो । उनीहरूले स्वास्थ्य अवस्था संसारका धनाड्य देशमा मजबुद छ भनेको कुरा दिनानु दिन मान्छेको मृत्यु बढेको खबरले ती कुरा फेल भइसकेको बताइरहेको थियो ।

जमिरकी आमाले लगातार फोन गरे तापनि जान सक्ने अवस्था थिएन । अमेरिकामा कतै लकडाउन नभए पनि बाहिरका देश स्थीर भएर बसेका थिए । यो कुरा बुझाउन जमिरलाई लगभग चार दिन लागेको थियो ।

चीनको वुहान भर्खर तङ्ग्रिन लागेको थियो । कोभिड – १९ ले फेरि युरोपमा हमला बोल्यो । युरोपलाई कोरोनाको महामारीले हेर्दाहेर्दै तहस नहस बनाएको थियो । युरोपका केही देशले घुडा नै टेक्ने अवस्था आएको थियो । इटालीले केही दिनमा नै आफ्ना हजारौँ जनतालाई गुमाएको थियो । यो देखेपछि अन्य देशले सर्तकता अपनाएका थिए । तर संसारले युरोप शिक्षित छ, त्यहाँका जनता सभ्य छन् भनेर चिनिरहेको बेला त्यो महामारीमा युरोपले अरुले सोचेको कुरा पालन गर्न सकिरहेको थिएन । इटालीमा कयौँ मान्छेको मृत्यु भएपछि त्यहाँका मान्छेले सडकभर पैसा फ्यालेर “ धन केही होइन, बाँच्नु नै ठूलो कुरा रहेछ” भन्ने कुराको प्रमाण दिइसकेका थिए ।

चाइनाको दृश्य

महामारीले बिस्तारै अमेरिकाको यात्रा तय गरिरहेको थियो । सबै त्रासमा थिए । बेन्जामिनका बा आमाले सबै यतै आउनु भनेर खबर पठाए पनि बाहिर निस्कने अवस्थामा अमेरिका थिएन । उनीहरू सबै अर्पाटमेन्टमा नै बस्ने निर्णयमा थिए ।

अमेरिकाका तत्कालिन शासकले आफ्नो देशको अर्थतन्त्रलाई असर गर्छ र अन्य शक्तिशाली देश आफूभन्दा माथि जाने डरले आफ्नो देशको जनतालाई बेवस्ता गर्दै लकडाउन नै नगरी बसेको अधिकांश देश र त्यहाँका बासिन्दाले आशंका गरेका थिए । लकडाउनलाई बेवस्ता गरेको नतिजा युरोपले भोगिरहेको थियो भने अमेरिका लकडाउन नै नगर्ने पक्षमा थियो ।

महामारीको समयमा धेरैभन्दा धेरै विज्ञले सूत्रको अनुसारभन्दै चीनलाई आफैँले विश्वमा शक्तिशाली बन्ने होडमा जैविक हतियार बनाएको हो भन्ने पनि आरोप लगाएका थिए । यी सबै कुराहरू राहुल, दिपेश, बेन्जामिन र जमिरले इन्टरनेटकै माध्यमबाट थाहा पाएका थिए । उनीहरू पनि खास कुरा के हो भन्ने पक्षमा वकालत गर्न असक्षम भएका थिए ।

विश्व त्यतिबेला डरको हावामा बाँचिरहेको थियो । श्वास लिए पनि बाँच्न नसक्ने अवस्थामा कति देश थियो । त्यसमा मुख्य अमेरिका नै रहेको थियो । यहाँ मृत्यु हुनेको संख्या हजारौँ पुगिसकेको थियो ।

दक्षिण काेरियाकाे एक दृष्य

कोरोनाको महामारी ताका आफ्ना जनताभन्दा आफ्नो अर्थतन्त्रमा बढी ध्यान दिएको कुरा राहुलले मनमनै गुनेको थियो । “ यस्तो देशमा त कसरी बस्नु ?” भनेर उसले दिपेशलाई बताएको थियो । महामारी सकिएपछि नेपाल ने फर्कने कुरा उनीहरूले नेपाली भाषामा सबैको अगाडि भनेका थिए । नेपाली बुझ्ने राहुल र दिपेश मात्र भएकाले यिनीहरू के भन्दैछन भनेर बेन्जामिन र जमिरलाई केही थाहा थिएन तर पनि उनीहरू हासिँदिए ।

विश्व त्यतिबेला पुनः बामे सर्न थालिसकेको थियो । मान्छेहरू घरबाट निस्कन थालिसेकेका थिए । पंछीहरू मान्छेको आगमन भएपछि फेरि जङ्गल पस्न थालिसकेका थिए । सडकमा निस्केका जनवारहरू गाडीको चर्को हर्नले आफ्नो पुरानै बसोबासमा फर्कने तयारीमा थिए । विश्व फेरि पुरानै हुने अवस्थामा थियो । केही महिना अगाडि प्रति मिनेट ५ जनाको दरले मान्छे कोरोनाकै कारणले मर्दै थिए भने त्यो अनुपात घटेर प्रतिदिन २/३ मा आइसकेको थियो । विदेश बसेका प्राय सबै आफ्नो देश फर्कने योजनामा थिए र कति गइसकेका थिए ।

चार जनाले बनाएको योजनामा बेन्जामिन मात्र रहने भयो । तर म एक्लै गर्छु भन्ने आँटका साथ ऊ तयार भएको थियो । जमिर पनि लिबिया फर्कने पक्कापक्की भइसकेको थियो । दिपेश र राहुलले अमेरिकामा नै हुँदा नेपाल सरकारले खुलाएको कृषि स्वरोजगार कार्यक्रममा अनलाई फारम भरिसकेका थिए ।

राहुललाई अब नेपाल बद्लिएको कुरामा विश्वास भइसकेको थियो । दिपेश भने नेपालमा गएर कृषि त गर्ने तर के गर्ने भन्नेकुरामा नै अन्योलमा थियो । जे होला भन्ने आँटले नै उनीहरूले सामान प्याक गरे । जमिरको फ्लाइट राहुल र दिपेशको भन्दा तीन दिन पछाडि थियो । बेन्जामिन भने सबैलाई पठाएर मात्र आफ्नो स्टेट जाने भनेर बसेको थियो । उनीहरूले अघिल्लो रात आफ्ना पुराना दिन सम्झेर कटाउने भए । बेन्जामिन र जमिरले जर्मनीकी एन्जिला र मेरीलाई मेल पठाए । जुन मेलमा उनीहरूले आफ्नो प्रेम पोखेका थिए ।

राहुल र दिपेशलाई छाड्न बेन्जामिन र जमिर विमानस्थलसम्म आए । करिब तीनवर्षको मित्रता त्यसै सकिँदैन हामी फेरि भेट्छौँ भनेर राहुल र दिपेश नेपालका लागि उडे । बेन्जामिन र जमिरले आकाशमा कालो बादलले नछेकुञ्जृल विमान हेरिरहे । उनीहरू कुन विमान उडेका हुन भन्ने बेन्जामिन र जमिरलाई थाहा थिएन तर हेरिरहे ।

जमिर लिबिया फर्केपछि कलेज खोलेर बस्ने पक्षमा थियो । ऊ पनि आफ्नो सपनालाई पछ्याउँदै लिबिया रवाना भयो । बेन्जामिन गाई फार्मको लागि गाई खोज्न न्युजिल्याण्ड गयो ।

राहुल र दिपेशको भने कुरा भइरहन्थ्यो । के गर्दैछौ ? कसो गर्दैछौ ? कहाँसम्म पुग्यो योजना भन्नेकुरामा उनीहरू विषेश छलफल गरिरहन्थे ।
म्हामारी पछि देशमा आएको राजनैतिक परिवर्तनमा सारा देश खुसी थियो । सरकारी कामभन्दा ज्वरो आउने समय थिएन । मान्छेहरू आफ्नो देशलाई यति छिटै परिवर्तन भएकोमा गर्व गर्दथे ।

इटालीकाे एक दृष्य

विश्वमा भएको परिवर्तन पनि हेर्न लायकको थियो । आणविक हतियारसँग डराउने दुनियाँ महामारी पछि जैविक हमला पनि हुनसक्छ भन्नेकुरा विश्व सर्तक थियो । स्वास्थ्यलाई विश्वले हेर्ने नजर कयौँ नजिक नबाएर राख्ने क्रम सुरु भएको थियो । यसका लागि युरोपले विशेष कदमहरू चालिरहेको थियो भने अमेरिकामा जनताले सरकारसँग गुमाएको विश्वासलाई पुन फर्काउन धेरै प्रयत्न गरिरहेको थियो ।

कोरोना पछि नेपालमा राजनैतिक अवस्थामा आएको परिवर्तनले विश्वलाई लोभ्याइरहेको थियो । महामारीमा उमेर ढल्केको सरकारले नेतृत्व गरेको खण्डमा सरकार धेरै ठाउँमा चुकेको उदाहरण प्रशस्त थियो । त्यसैले आफ्नो सत्ता युवा वर्गलाई दिएर तत्कालिन नेतृत्व गरिरहेका नेताहरू युवालाई सल्लाह दिइरहेका थिए । सत्ता युवाको हातमा परेपछि रोकिएका विकासको काम तीव्र गतिमा बढिरहेको भान हुन्थ्यो । महामारीपछि विभिन्न देशबाट फर्केका नेपालीहरू आफ्नै व्यवसायमा सक्रिय भएर लागेका थिए । भ्रष्टचार न्यूनमा झरिसकेको थियो । भारतले नेपाली बजार धानिरहेको समय कुनैबेला मात्र थियो भन्ने अवस्थामा नेपाल पुगिसेकेको थियो ।

नेपालमा उत्पादन भएका बस्तु जमर्नी, बेलायत, अमेरिका, फ्रान्सजस्ता ठाउँमा दैनिक रूपमा निर्यात हुन थालेको थियो ।

राहुलले करिब आठ बिघामा अङ्गुर खेती गरेको थियो । रसियाका वाइन कम्पनीसँग उसको सम्झौता भएपछि उसलाई बजारको कुनै आपत्ति भएको थिएन । राहुलले उत्पादन गरेको अङ्गुर रसिया जान्थ्यो । त्यसबाट राहुलको आम्दानी दैनिकजसो बढिरहेको थियो । कामदारको संख्या धेरै नै थियो ।

यता दिपेश भने तरकारी खेतीमा व्यस्त थियो । उसको तरकारी खेतीले प्रदेश नं ४ र ५ मा तरकारी खपत गर्न सक्ने ल्याकत राखेको थियो ।

बेन्जामिनले आफ्नै डेरी खोलेको थियो । जुन डेरी अमेरिका नै नम्बर वान बनेको थियो । जमिरले भने लिबिया तीनवटा कृषि कलेज खोलिसकेको थियो ।

महामारीले विश्वको अर्थतन्त्रमा दिएको धक्काले कल्पनै गर्न नसक्ने क्षति पुर्याएको थियो र बिस्तारै त्यो अर्थतन्त्र उठिरहेको थियो । कारण युवा नै थिए । विश्वमा युवा पुनः जागरुक भएर उठेका थिए ।

मानिसहरू एक कुनाबाट अर्को कुनामा बिस्तारै घुम्न थालिसकेका थिए । नेपालमा तीन ठूला संस्कृत विश्वविद्यालय स्थापना भएको थियो । त्यहाँ पढ्न विश्वभरबाट विद्यार्थी आउने क्रम जारी थियो । नेपाली भिषाको लागि सामान्य नेपाली भाषाको ज्ञान अनिवार्य बनाएपछि प्रत्येक देशमा नेपाली राजदूतावासले नेपाली भाषाको कक्षा सुरु गरेका थिए ।

कोरोनापछि मान्छेले प्रकृतिलाई प्रेम गर्न थालेका थिए । प्रकृतिले सृजना पनि गर्छ र विनाश पनि गर्छ भन्नेकुरा पाठ कोरोनाले सिकाएको थियो । र मान्छेहरू थोरै कुरामा खुसी हुन सिकेका थिए । संसार खुसी बन्न सिक्दै थियो । संसारभर प्रदुषण कम भएर जाँदै थियो ।

अगाडि ट्राफिक लाइट बलेपछि राहुलले आफ्नो गाडी रोक्यो । अमेरिका छाडेपछि धेरैकुरा सम्झदै आइरहेको राहुललाई लाइटले भङ्ग गरायो ।

११ बजिसकेको थियो । दिपेशले लगातार फोन गर्दै थियो । राहुलले गाडी पार्क गर्यो । जमिर त्यसै त कालो झन कालो भएछ । बेन्जामिनको पेट लागेछ, कपाल फुल्न सुरु गरेछ । तीन जनामात्र आउने भनेका थिए तर राहुललाई पर्खने त्यहाँ अन्य तीन पनि थिए । सबैले आफ्ना श्रीमती पनि ल्याएका थिए । महामारीमा सँगै बाँचेकाहरूको फेरि मिलन भएको थियो । सबै पहिला घरभन्दा पनि अङ्गुर खेती हेर्न जाने भए र उतै लागे ।

झापा, हालः काठमाडौँ
[email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

X