कोरोना भाईरस विरूद्ध डटेर लडौं

  २०७७ वैशाख २८ गते ९:२८     मनोहर कडेल

विश्वमा कोरोना भाईरस संक्रमणबाट ठूला ठूला देशहरुलाई टाउको दुखाईको विषय बनेको छ । यसले ठूला र शक्तिशाली देशहरु मात्र हैन हाम्रो जस्तो साना र विकासोन्मुख देशहरुले पनि ठूलै आर्थिक दायित्व बहन गर्नुपर्ने स्पष्ट देखिन्छ । यसबाट स्पष्ट हुन्छ की हामीले र हाम्रा नीति निर्माण गर्ने तहमा बसेका विद्धान व्यक्तित्वहरु र राजनैतिक नेतृत्वले आफ्नो देशमा परम्परागत कृषिको अवस्था कस्तो छ? यसलाई आधुनिकीकरण गर्न के गर्नुपर्छ? भन्ने बारेमा सोच नराख्नु नै हो ।

उब्जाउ योग्य भएका जमिनहरु शहरीकरणको नाममा खण्डिकरण गरी टुक्रा टुक्रापारी त्यही टुक्रा जमिनमा अव्यवस्थीत रुपमा ठुला ठुला घर बनाई त्यही घरको भाडा खाने र छोरा छारीलाई पढाएर दक्ष बनाई दक्ष र शिक्षित जनशक्ति (रेडिमेड रिसाेर्स) विदेश पठाउन र त्यहाँबाट आएको रेमिट्यान्सले ठुला र महंगा गाडी चढ्ने, अरु भाडा खाने घरहरु बनाउने अनि देश विदेशको शयर गर्ने प्रवृति हामी कहाँ मौलाएको छ । शिक्षित र दक्ष जनशक्ति ठूला विकसित देशहरुमा पलाएन भएका छन् भने अर्धदक्ष जनशक्ति खाडी मुलूकहरुलाई रोजगारीको गन्तव्यको रुपमा लिई गैरहेका छन् ।

सरकार वा नीति निमार्ण तहमा बसेकाहरुले आफ्ना नागरिकहरुलाई स्वदेशमा नै बसेर जो जे जस्तो पेशामा छौ, जसले जस्तो ज्ञान सीप हासील गरेका छौ त्यो ज्ञान र सीप स्वदेशको उन्नति र प्रगतिको लागि खर्च गर तिमीले उत्पादन गरेको हरेक बस्तुहरुमा राज्यले सहुलियत दिन्छ । निर्यात सहजीकरण तथा बजारीकरणका लागि हामी सहयोग अर्थात राज्यले सहयोग गर्छ वा गर्छौ भन्न नसक्नु नै हो ।

हाम्रा नीति निर्माण तहमा बस्ने व्यक्तित्वहरुले आफ्नो देशका लागि कति जना कृषि विशेषज्ञ चाहिन्छ? कस्तो जमिनहरु आवासको लागि छुट्याउनु पर्ने हो? कस्तो खाले शिक्षा नीति देशका लागि आवश्यक छ? डाक्टर कति चाहिन्छ? अर्थात हरेक क्षेत्रमा के कति र कस्तो विषयको विशेषज्ञ जनशक्ति हामीलाई अवश्यक छ र तिनलाई कसरी परिचालन गर्ने भन्ने बारेमा कहिल्यै सोचेनन् बस सोचेत केवल कसरी बढि भन्दा बढि मानिसलाई वैदेशिक रोजगारीका लागि पठाउने र त्यसबाट आर्जन भएको रेमिट्यान्सबाट देश चलाउने।

देशमा वेथित, विशंगती अनि भ्रष्टाचारले निकै गहिरोसंग जरा गाडी सकेको छ जो रक्षक उही नै भक्षक भएको हाम्रो देशमा अझै पनि नीति निर्माण तहमा बस्ने ब्याक्तित्वहरु हुन् वा राजनीतिको माध्यमबाट देश र जनताको सेवा गर्छु भन्ने राजनैतिक व्यक्तित्वहरु हुन् यस्तो विषम परिस्थिीतिमा पनि भ्रष्टाचार र कमिशन मै लिप्त छन् जसले देशलाई नै खोक्रो पारी सकेको छ ।

जनता विदेशमा बसी रोईरहेको छन् । आफ्नो मातृभूमिमा आउन पाउँ भनेर तर ती जनतालाई स्वदेश फिर्ता गरी तिनलाई उचित प्रबन्ध गर्ने योजना हाम्रा नेतृत्वमा छैन । हरेक नागरिक समाज होस् वा प्राध्यापक, डाक्टर हो वा इन्जिनियर, नागरिक होस् वा पुलिस, विद्ध्वान होस् वा मुर्ख सवैलाई राजनीतिले गिजलेको छ । जस्तो सुकै अपराध कर्म गरेता पनि त्यसलाई राजनीतिले चोखाई दिने हाम्रो नियति नै भैसकेको छ । हरेक ठाउँमा राजनैतिक नियुक्ती भएको छ । अनि जसले आफुलाई नियुक्ती दिलाएको हो उसको भजन गाउनु र उसले गरेका अपराध कर्मलाई ढाकछोप गर्ने । आफ्नो राजनैतिक दुनो सोज्याउन यहाँ जातको, धर्मको अनि लिंगको सहारा लिईन्छ । हामी जनता पनि वा हाम्रो नेता क्या कुरा गर्नुभयो । उहाँले त साच्चै हाम्रै लागि बोलेको हो भनि तुरुन्तै पत्याई हाल्छौ र लुरुक्क भोट हाल्छौ अनि सत्तामा पुर्याउछौ । यो हाम्रो नियती नै बनेको छ ।

लेखक

अब हामी जनता यस्ता नेताको फुस्रो आश्वासनमा नबसौ आखिर देश त हाम्रै हो हामीले नगरे कसले आएर गर्ला र? जसले जे जस्तो सीप ज्ञान हासिल गरेका छौ त्यही सीप गरौ । हामीसंग अझै पनि उत्पादन योग्य जमिन छ, जल छ अनि जंगल छ । आज हामीले केही दुख पाएता पनि हाम्रा लागि भोलिको दिन सूनौलो छ । आन्तरिक उत्पादनमा जोड दिउँ डाक्टरले विशुद्ध डाक्टरी पेशा गरौ, पुलिसले जनताको शान्ती सुरक्षामा ध्यान दियौ । हरेकले आफुले जानेको सीप, ज्ञानलाई पुर्णरुपमा ईमान्दारिक पूर्वक पालना गरी देश र जनताको सेवा गर्ने हो भने यो देश बन्नलाई धेरै समय लाग्दैन किनकी हामी हरेक तरहले धनी छौ जडिबुटीमा, खानीमा होस् वा पानीमा, प्राकृतिक सौदर्यतामा होस् वा वीरतामा हाम्रो शान्ति भूमि, बुद्ध भूमि सगरमाथाको देश नेपाललाई आज साच्चै अप्ठेरो परेको छ । यो सवै हाम्रै अदुरदर्शिताको कारणले हो भन्ने मनन गरी कूनै पद, धर्म, जात, राजनैतिक दर्शन, धनी, गरीव नभनी जसले जसरी जस्तो तरिकाले नेपाल आमाको सेवा गर्न सक्छौ सोही अनुसार सभ्य र शालिन नागरिक भै नेपाल आमाको सेवा गरौ ।

हामी नेपालीहरुसंग पैसा नभएको पनि होईन तर हाम्रा नेतृत्व तहले कसरी स्वदेशी पूँजीलाई परिचालन गर्न सकिन्छ भन्ने सोच नै राख्नसक्नु भएन । जो देशका लागि र जनताका लागि भनेर नीति निर्माण तहमा बस्नुभएका छन् अधिकांश उहाँहरु कमिशनको चक्करमा फस्नु भएको छ । राम्राृे प्रतिफल दिनसक्ने कुनै एक कम्पनीकोे प्राथमिक निष्काशनमा कम्पनीले माग गरेको भन्दा १०० गुणसम्म अधिक आवेदन पर्दछ लगानी गर्न चाहनेहरुका लागि शेयर बाँडफाँड गर्न सकिएको छैन पैसा फिर्ता गर्नुपरेको छ । के हामीले त्यस्तो पैसालाई ठुला ठुला जलविद्युत कम्पनीहरुमा, ठुला ठुला पूर्वाधार विकास कम्पनीहरु लगाएत उत्पादनमुलक क्षेत्रहरुमा सरकारको प्रत्येक्ष निगरानीमा नियामक निकाय गठन गरी परिचालन गर्न सकिन्न र ? जसबाट देशलाई ठुलै फाईदा हुने देशमा रोजगारीको अवसरहरु सृजना हुने र लगानीकर्ताहरुले पनि उच्चतम प्रतिफल पाउने निश्चित छ । यसका लागि नेपाल सरकारले दिएको लाईसेन्स वाला मर्चेन्ट बैंकिंग तथा ईन्भेष्टमेन्ट बैंकिग कम्पनीहरु धेरै छन् । यस तर्फ देश चलाउछु भन्नेहरुको ध्यान जाओस् ।

अर्कोतर्फ हाम्रा वीर सपुतहरु जो विश्वाका विभिन्न शक्तिशाली देशहरुमा शक्तिशाली ओहोदामा नै हुनु हुन्छ जसलाई आफ्नो मातृभूमिको औधि माया छ । नेपाल आमा रोईरहेको हेरेर उहाँहरु पनि निकै चिन्तित हुनुहुन्छ । देख्न सकिन्छ चाहे भारतले नेपालमा नाकाबन्दी गर्दा नेपालीहरुले देखाएको एैक्यवद्धता होस् वा हाल कोरोनाले आफुलाई सताउदा पनि कतिपय नेपालीहरु आफ्नो देश फर्कन नचाहनेहरु हुन् कारण आफ्नो कारणले आफ्नो देशमा आफ्नो मातृभूमिमा संक्रमण नफैलियोस् ।

यस्तो देश भक्ति संसारका नागरिकहरुमा विरलै पाईन्छ । हाम्रा वीरहरुले बहादुरीका साथ चाहे भारत होस् वा बेलायत वा शान्ती सेनाको रुपमा अन्य देशहरुको सुरक्ष्यामा ठुलो योगदान पुर्याइ रहेका छन् । आज देश रहेको छ त केवल ती सपूत सन्तानहरुका कारणले जसले जस्तोसूकै परिस्थितीमा पनि नेपाल र नेपालीलाई अर्थात आफ्नो जन्मभूमिका लागि आफ्नो कर्म गरी रहेका छन् के तिनीहरुलाई आफुले सिकेको ज्ञान, आर्जन गरेको धन आफ्नै मातृभूमिमा लगानी गर्नुहोस् देशले तपाईहरुलाई प्रतिफल दिन्छ । नेपाल आमाले तपाई जस्तो सपूत पाउँदा गौरव गर्नेछिन् भनि आव्हान गर्न सकिन्न र ?

अझ भन्नु पर्दा विश्वका सवै प्राणी मात्रको रक्षा हुनु पर्छ भन्ने हाम्रो देशमा जन्मिएका शान्तीका दुत भगवात बुद्धको उपदेशको पालना गरी जय बुद्ध भूमि, जय शान्त भूति जय वीर भूमि नेपाल हो भन्ने पहिचान दिऔ । कृषि जन्य बस्तुहरुमा आयात मुखि हैन बढि से बढि आन्तरिक उत्पादनमा जोड दिई निर्यात मुखी बनौं । जसले रोजगारीको सृजना लगाएत परनिर्भरताबाट हामीलाई बचाउने छ ।

सरकारले पनि अब यसरी हैन आफ्ना नागरिकहरु जुनसूकै राजनैतिक दर्शन जुनसूकै धर्म, लिंगका भएपनि आफ्ना नागरिकहरु हुन् यिनलाई हामीले नगरे कस्ले गर्छ? आखिर यी नागरिक र देश रहेन हामीले राजनीति गर्ने हो मन्त्री, प्रधानमन्त्री अनि राष्ट्रपती हुने हो नरहे के गर्ने भन्ने मनन गरी देशमा थुनिएर रहेका जनतालाई बाहिरी संसर्गबाट अगल गरी तिनीहरुको स्वास्थ्य पूर्ण रुपमा जाँच गरी आ आफ्नो थाकथलोमा पठाई बेलैमा परम्परागत पाकेको बाली भित्र्याउने र नयाँ रोप्ने व्यवस्था मिलाउनु पर्ने देखिन्छ ।

संक्रमणको सिकार नभएका व्यक्तिहरुबाट निश्चित दुरी कायम हुने गरी सावधानी पूर्वक देशमा रहेको उद्योग धन्दा तथा कल कारखाना पनि संचालन गर्ने व्यवस्था यथाशक्य चाँडो गर्नुपर्ने देखिन्छ । यसरी लकडाउनको नाममा महिनौसम्म नागरिकलाई थुनेर राख्ने हो भने देशमा बचेको उद्योग धन्दा, कृषि लगाएत सम्पूर्ण क्षेत्र तहस नहस हुने पक्का पक्की छ र देशले अझ धेरै ठूलो चूनौतिको सामना गर्नुपर्ने निश्चित छ । सम्बन्धित निकायको बेलैमा ध्यान जाओस् ।

हामीले अब पनि आफनो देशका बारेमा, आफनो मौलिक, परम्परागत उत्पादनको रक्षा गर्दै त्यसलाई कसरी आधुनिकीकरण तर्फ लैजाने भन्ने वारेमा सोच्न सकेनौ, आफूलाई चाहिने उद्योगहरु आफैले स्थापना गर्न सकेनौ, आफ्नै देशमा उत्पादित बस्तुहरुको गुणस्तर जाँच गरी स्वदेशी उत्पादन नै प्रयोगमा ल्याउने वातावरण बनाउन सकेनौ भने भोलिका दिन हामीलाई अझ बढी ठुलो चूनौतिको सामना गर्नुपर्ने निश्चित छ ।

सरकारले वा सम्बन्धित निकायले अव पनि आफ्नो देशका लागि के कस्तो जनशक्तिको खाँचो छ त्यस्तो जनशक्ति आफ्नो देशमा तयार भएको छ की छैन? भन्ने सोच राख्नुपर्ने हुन्छ र त्यस्तो जनशक्तिलाई स्वदेश मै रोजगारी वा परिचालनको व्यवस्था गर्नुपर्ने हुन्छ ।

अर्कोतर्फ दक्ष जनशक्तिको नाममा निजीक्षेत्रले विदेशी कामदारहरु भित्र्याइरहेकोले विदेशी कामदारहरुको परिचालनमा कडाई गर्नुपर्ने हुन्छ । भने विदेशबाट आयात हुने हरेक खाद्यान्न लगाएतका मालबस्तुहरुको चेकजाँचमा कडाई गर्नुपर्ने देखिन्छ । कतिपय आयातित मालबस्तुहरु प्रयोग मिति गुज्रीएको, कतिपयमा अत्याधिक मिसावट पाईएको वा कतिपय बस्तु प्रयोगबाट मानव स्वास्थ्यमा अम्भिर असर गर्ने सम्मको बस्तुहरु निर्वाद भित्रिरहेको छ ।

कोरोना भाईरसबाट त्रसिदभई घरमा बसिरहनु भएका व्यक्तिहरुले आफ्नो फुर्सदको समय आफुले गर्नसक्ने कुनै न कुन काम गर्ने गर्नुहोस् । सरकारले पक्कै केही न केही सोचेकै होला यसबाट त्रसित हुनु भन्दा पनि घर मै बसेर पनि केही राम्रो काम गर्न सकिन्छ आफ्नो परिवारको सदस्यहरुको काममा नै सघाउन सकिन्छ खुशी रहनुस, स्वस्थ रहनुस् । त्रैसिद नहुनु होस् ।

अन्त्यमा मैले आफ्नो देशमा भएको विकृति र विसंगतीलाई मात्र उर्जागर गर्न खोजेको हुँ आखिर जो जहाँ जसरी रहेता पनि भएता पनि हामी सवै नेपाली नै हौ । यो देश हाम्रो नै हो यसलाई हामीले नै बनाउने हो अरु कसैले बनाउने हैनन् । देश राम्रो हुनको लागि हामी जनता राम्रो हुनु पर्छ त्यसैले यसलाई अन्यथा नमानी सदैव देशको नियम कानूनको अधिनमा रही स्वाभिमानी नेपाली भई नेपाल राष्ट्रको उन्नती र प्रगतिका लागि सधैं सबैं एकजुट भएर लाग्यौ भने यो देश अवश्य बन्नेछ हामीलाई विश्वले भन्ने गरेको गरिब नेपालीको पगरीलाई फ्याक्न सफल हुनेछौं ।

एक दिन हामी विश्वलाई आवश्यक पर्ने जडिबुटी निर्यात गर्ने देश, विश्वलाई आवश्यक पर्ने विद्युत निर्यात गर्ने देश र यो ब्रम्हाण्डको सृष्टि गर्दा भगवानले यो नेपाल भूमिचाँही आफुलाई भनि छुट्याएको सुन्दर शान्त र सम्बृद्धशाली नेपाल र धनी नेपालीको उपमाबाट चिनिने छौ । एक दिन सरकारले लिएको समृद्ध नेपाल सुखी नेपालीको नारा अवश्य पुरा हुनेछ । विश्वले हामीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउने छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.