शहर केन्द्रित संस्कृतिमा धक्का, गाँउ नै सुरक्षित

  २०७७ वैशाख १२ गते १२:२६     राम किशाेर मेहता

म्याग्दीको ताकम गाविस–७ हिलापोखरी गाउँ र पृष्ठभुमिमा देखिएको गुर्जा, पुथा र चुरेनलगायतका हिमशृङ्खला । सन्तोष गौतम/रासस


चीनको पुर्वी भागमा रहेको हुबेई प्रान्तको वुहान शहरमा एक अज्ञात भाईरसबाट पीडित तर निमोनियासँग मिल्दोजुल्दो लक्षण भएको रोगको बारेमा विश्व स्वास्थय संगठनको चीनमा अवस्थित कार्यालयमा पहिलो पटक सन् २०१९ डिसेम्बर ३१ तारेखमा जानकारी प्राप्त भयो ।

तर साउथ मोर्निङ्ग चाईना पोष्ट अनुसार यस भाईरसले पहिलो पटक सन् २०१९ नोभेम्बर १७ मा नै हुबेई प्रोभिन्स निवासी एक ५५ वर्षीय व्यक्तिलाई आफ्नो शिकार बनाएको थियो । जब डिसेम्बर २७ मा हुबेई प्रान्तिय अस्पतालको स्वासप्रस्वास विभाग प्रमुख डा. झाङ्ग जिशियानले यो अज्ञात रोग कोरोना भाईरस नामक विषाणुको कारण फैलिरहेको जानकारी अधिकारीहरुलाई गराए, त्यति बेलासम्ममा १८० भन्दा बढी व्यक्ति यस बिल्कुलै नयाँ रोगबाट संक्रमित भईसकेको थियो ।

यस रोगलाई शुरुवातमा देखापरेको क्षेत्रमा मात्र सीमित गर्ने अनेकौं तरिका अपनाईए पनि संसारभरि एकैसाथ ज्यामितिय रुपमा विस्तार हुँदै गएपछि सन् २०२० मार्च ११ मा विश्व स्वास्थय संगठनले आधिकारिक रुपमा यस कोरोना भाईरस जसलाई सन् २०२० फेब्रुअरि ११ मा कोभिड-१९ भनी नामाकरण गरिएको थियो, माहामारीको संज्ञा दियो ।

यसरी चीनको कुनै एक शहरबाट शुरु भएको एउटा सरुवा रोग आज विश्व भरि माहामारीको रुपमा फैलिसकेको छ । यस रोगबाट यो लेख तयार पार्दाको मितिसम्ममा संसारभरि लगभग १५ लाख मानिस संक्रमित भएका छन् भने ८५ हजारभन्दा बढी मानिसले आफ्नो ज्यान गुमाईसकेका छन् ।

भाईरस भनेको अति सूक्ष्म सरुवारोग सार्ने एक अभिकर्ता हो, जुन कुनै पनि जीवको कोषभित्र आफ्नो जीवन चक्र पुरा गर्दछ । भाईरसले सबै प्रकारको जीव तथा वनस्पतिलाई आफ्नो शिकार बनाउन सक्छ । कोरोना भाईरस चाँहि विभिन्न भाईरसहरुको एक ठूलाे समूह हो जसले मानिस तथा जनावर दुबैलाई संक्रमित गर्न सक्छ । मानिसमा साधारणदेखि गम्भिर प्रकृतिसम्मको रोग यस भाईरसको कारण देखिन सक्छ । सन् २००२ मा चीनबाट नै शुरु भई २६ वटा देशमा फैलिएर ८ हजारभन्दा बढीलाई संक्रमित पारी ७७४ लाई आफ्नो शिकार बनाएको ‘सार्स’ को कारण पनि कोरोना भाईरस नै रहेको थियो ।

लेखक

एशिया महादेशको चीनबाट शुरु भएको यो रोगले अहिले एन्टार्टिका महादेश बाहेक बाँकी सबै महादेशको लगभग सबै देशमा देखा परिसकेको छ । चीन, दक्षिण कोरिया, इरान, जापान, इन्डोनेसिया, भारत, इटली, स्पेन, फ्रान्स, बेल्जियम, क्यानाडा, अमेरिका, ब्राजिल, जर्मनी, ब्रिटेन, टर्की, स्वीजरल्याण्ड, नेदरल्याण्ड, अष्ट्रिया, पोर्चुगल, इजरायल, रसिया, स्वीडेन, नर्वे, अष्ट्रेलिया, आइरल्याण्ड, चिली, मलेसिया, पाकिस्तान, फिलिपिन्स, साउदी अरब, मेक्सिको, युएई, थाईल्याण्ड, कतार, कोल्मबिया, सिंगापुर, मोरोक्को, बेलारुस, ईराक, न्यूजिल्याण्ड, हङ्गकङ्ग, कुवेत, अफगानिस्तान, क्यूवा, ताइवान, माल्टा, घाना, मौरिसस् , प्यालेसटाईन, भियतनाम, बंगलादेस, श्रीलंका आदि देशहरुमा व्यापक मानविय क्षति भएको छ । यसरी मानविय क्षति र नयाँ सकंमणको क्रम अझै रोकिएको मात्र छैन, बल्कि आउने महिनाहरुमा यसको गति अझै बढने सम्भावना रहेको अनुमान विज्ञहरुले गरेका छन् । तर्सथ, यो कोभिड-१९ अर्थात कोरोना भाईरस एक विश्वव्यापी महामारी हो भन्ने तथ्यमा कुनै शंका छैन ।

यस भाईरसको उत्पतिको बारेमा विभिन्न विवादस्पद बहसहरु भईरहेको छ । कतिले यो भाईरस वुहान शहरको समुद्री जीवहरु पाईने बजारमा उत्पन्न भई जनावरबाट मानिसमा सरेको तर्क गरिरहेका छ्न् भने कतिले यो भाईरस चीन सरकारले वैज्ञानिकहरुको सहयोगबाट ल्याबमा विकसित गरेको र सोहि क्रममा यसको चुहावट हुन गई मानिसमा फैलिएको हुन सक्ने शंका गरिरहेकाे छ ।

अमेरिकी सेनाले चीनमा ल्याएर छोडेको हुन सक्ने शंका चीन सरकारले गरेको छ भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसलाई ‘चाईनिज भाईरस’ को संज्ञा दिनबाट समेत पछि परेन् । यसै बीच विभिन्न सामाजिक संजालमा भाईरल भईरहेको एउटा भिडियो क्लिपलाई विश्वास गर्ने हो भने हावार्ड विश्वविद्यालयको प्राफेसर डा. चाल्र्स लाईबरलाई यो भाईरस बनाई चीन सरकारलाई बेचेको आरोपमा अमेरिकी सरकारले गिरफ्तार गरेको छ । यो भाईरसको उत्पतिको श्रोत जेसुकै भए पनि मानवजातिको अदृश्य दुशमन यो कोरोना भाईरसले इतिहासमा पहिलो पटक सम्पूर्ण मानव जातिलाई कैंयौं हप्तादेखि आ-आफनो बासस्थान भित्र सीमित पारेकाे छ ।

बाँकी दक्षिण ऐसियाली मुलुकहरुको तुलनामा नेपालमा आजको मितिसम्म कोरोना भाईरसबाट संक्रमितको संख्या निकै कम रहेको छ । नेपालको पहिलो संक्रमित व्यक्ति चीनको वुहान विश्वविद्यालयमा अध्यनरत् एक ३२ वर्षिय नेपाली विद्यार्थी रहेका थिए । उनी चीनमा रहँदा नै संक्रमित भइसकेकाे थियो । नेपाल आएपछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा १३ दिनको उपचार पछि उनी रोगमुक्त भएका थिए ।

पहिलो संक्रमण देखिएको लगभग दुई महिनापछि कोरोना भाईरसबाट संक्रमित भएको दोस्रो व्यक्ति पत्ता लागेको थियो । यी दोस्रो संक्रमित व्यक्ति एक १९ वर्षिया युवती हुन्, जो फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल अवतरण गरेकी थिईन्। यस रोगबाट पहिलेदेखि सचेत उनी घर आएको केही दिनसम्म आफ्नै घरमा ‘सेल्फ क्वारेन्टाईन’ मा रहेकी थिईन् । उनी सँगै आएकी भियतनामकी साथीले आफू कोरोना भाईरसको संक्रमित भएको मेसेज पठाएपछि नेपाली युवतीले आफुलाई जाँच गराउँदा उनी पनि यस भाईरसबाट संक्रमित भएको पुष्टी भयो।

नेपालमा दोस्रो व्यक्ति पनि संक्रमित भएको प्रमाणित भए लगतै नेपाल सरकारले चैत ११ गतेदेखि लागू हुने गरि अति आवश्यक कामहरु बाहेक अरु कुनै पनि कामहरु गर्न नपाउने तथा घरबाट समेत निस्किन नपाउने गरि एक साताको लागि पहिलो पटक देशमा ‘लकडाउन’ को घोषणा गर्यो । पहिलो घोषणा लगतै दोस्रो तथा तेस्रो साताको लागी लक डाउनलाई लम्बयाएर आउँदो बैशाख तीन गतेसम्मको लागी पुनः समय सिमा बढाएको छ । सबै अन्तर्राष्ट्रिय उडानहरुलाई वैशाख १५ गतेसम्मको लागि स्थगित गरिएको छ भने हाललाई आन्तरिक उडानहरु पनि स्थगित गरिएको छ ।

उता भारतले पनि २१ दिने लामो लकडाउन गरेपछि भारतको विभिन्न क्षेत्र तथा राज्यहरुमा कार्यरत लाखौंको संख्यामा रहेको नेपाली कामदार आफ्नो देश फिर्ता हुन खोजि रहेका छन् । कति त नेपाल भारत बीचको खुल्ला सिमानाका फाईदा उठाउँदै चोरबाटोहरुबाट नेपाल प्रवेश गरिरहेको सामाचारहरु सञ्चारमाध्यमहरुमा सम्प्रेषित भएको छ । भारतमा ठुलो संख्यामा संक्रमित रहेको कारण उताबाट नेपाल प्रवेश गर्ने नेपाली कामदारहरु मार्फत कोरोना भाईरस सर्ने जोखिमलाई न्युनिकरण गर्नको लागि नेपाल सरकार नेपाल भारतको विभिन्न नाकाहरुमा चेक पोष्ट बनाएको छ ।

यस बाहेक उताबाट नेपाल प्रवेश गर्नेहरुलाई अनिवार्य रुपमा १४ दिन क्वारेनटाईनमा बस्नै पर्ने व्यवस्था गरिएको छ । खास गरि भारत तथा अन्य मुलुकबाट समेत नेपाल प्रवेश गरेका लगभग १० हजार नेपाली र केहि भारतीय पनि नेपालको विभिन्न क्षेत्रमा संघीय, प्रदेश र स्थानिय सरकारको पहलकदमीमा बनाईएका क्वारेन्टाईनमा बसिरहेका छन् । पश्चिम नेपालमा भारतबाट लाखौंको संख्यामा नेपालीहरु प्रवेश गरेकोले त्यस क्षेत्रमा यस भाईरसबाट संक्रमितको संख्या पनि थपिदै गएको छ । नेपाल यो भाईरस दोस्रो चरण अर्थात कम्युनिटी ट्रान्समिसनको चरणमा प्रवेश गरिसकेको छ ।

देशभित्रका सबै स्कूल, कलेज, कलकारखाना, यातायात, होटल आदि बन्द रहेको छ । यसको कारण हजारौं श्रमिकहरु बेरोजगार हुनु परेको तितो यर्थात नेपाली समाजले भोग्नु परेको छ । दैनिक रुपमा मजदुरी गरि खाने वर्गको लागि सरकारले एउटा राहत कोष खडा गरेको छ । यस राहत कोषमा दशौं करोड रकम जम्मा भईसकेको छ । यस रकमबाट राहत सामग्री खरिद गरि ‘एक द्वार प्रणाली’ मार्फत विभिन्न पीडित व्यक्तिहरु समक्ष पुर्याउने संयन्त्र बनाईएको छ । यस बाहेक विभिन्न प्रदेश सरकारहरुले आफ्नो प्रदेश स्तरिय राहत कोषहरु समेत खडा गरि ‘हुँदा खाने’ वर्गमा पर्ने विभिन्न व्यक्तिहरुलाई सक्दो राहत वितरण गरिरहेको छ । बन्द भएको व्यापारहरुको लागी सरकारले चैत मसान्तको व्याज असार मसान्तसम्ममा तिर्ने व्यवस्था गरेको छ । खानेपानी, बिजुली, घरभाडा ईत्यादीमा समेत केहि न केहि राहत दिने प्रयास सरकारले गरेको छ । यद्यपी, यो राहत प्याकेज अत्यन्तै न्युन भएको भनि आलोचनाहरु समेत विभिन्न राजनीतिक दल एवंम् नागरिक समाजको अगुवाहरुबाट भईरहेको छ।

यस भाईरसको खोप तयार पार्नको लागि विभिन्न विकसित मुलुकहरुको वैज्ञानिकहरुले सक्दो प्रयास गरिरहेको छ । जति नै छिटो तथा छोटो प्रक्रिया अपनाएर यस भाईरसको खोपको विकास गरिए पनि साधारण जनताको पँहुचसम्म आउनको लागि कम्तिमा थप डेढदेखि दुई वर्षको समय अवधि चाहिने वैज्ञानिकहरुले बताईरहका छन् । तर्सथ, यस महामारीबाट आफुलाई बचाई राख्नु नै सबैको साझा आवश्यकता हो । यसको लागि सरकारले लागू गरेको लक डाउनको अवधिभरि घरमा बस्ने, सामाजिक दुरी कायम गर्ने, दिनमा सक्दो धेरै पटक मजाले संम्भव भएसम्म स्यानिटाईजर, नभए साबुन पानीले केहि मिनेट सम्मको समय लगाएर हात धुने, घर भित्र एवंम् बाहिरको वातावरणलाई किटानुमक्त राख्ने प्रयास गर्ने, बाहिर निस्किदा मास्क लगाएर मुख तथा नाक छोप्ने, कसैसँग हात मिलाउनुको सट्टा नमस्कार गर्ने, बाहिरबाट खरिद गरि ल्याईएका दैनिक खाद्य बस्तुहरुलाई समेत धोईपखाली मात्र घर भित्र प्रवेश गराउने, शरिरको आन्तरिक प्रणाली थप सुदृढ गराउन मद्दत गर्ने ताजा तथा स्थानिय स्तरमा उत्पादित फलफुल खाने बानी बसाल्ने, सकभर शाकाहारी भोजन गर्ने, म्युजिक कन्र्सर्ट, सिनेमा हल, पार्क, हाटबजार, सपिङ्ग मल ईत्यादि धेरै भिडभाड हुने ठाँउमा जानबाट बच्ने आदि सावधानी अपनाए यस रोगबाट बच्न सकिन्छ ।

यस महामारीले विश्व समुदाय सामु धेरै नयाँ चुनौतिहरु सृजना गरिदिएको छ। संसारमा पहिलेदेखि स्थापित केहि मान्यताहरुलाई यस महामारीले खारेज गरिदिएको छ भने केहि नयाँ मान्यताहरु स्थापित हुन पुगेको छ । यस पृथ्वीमा बसोबास गरिरहेको विभिन्न मानिसहरु जो धनी, गरिब, नेता, जनता, शासक, शासित, कालो, गोरो, ऐसियाली, युरोपेली, अमेरिकी, अफ्रिकन, मधेसी, पहाडी, हिन्दु, मुस्लिम ईत्यादी वर्गहरुमा विभाजित थिए, उनीहरुको वास्तविक पहिचानलाई उर्जागर गरिदिएको छ । यर्थाथमा, सबै मानवको एउटा मात्र जात रहेछ भन्ने कैयौं शताब्दी पुरानो मान्यतालाई पुनः स्थापित गरिदिएको छ, अन्यथा कुनै खास जाति वा वर्गभित्र पर्ने मानिसहरु मात्र यस महामारीबाट चिन्तित् हुनुपर्थ्याे, नकि सम्पूर्ण मानवजाति एकै पटक, बिना कुनै भेदभाव ।

सम्पूर्ण विश्वलाई नै आफ्नो नियन्त्रणमा लिन सफल यस भाईरसबाट नेपाल कदापि पनि बञ्चित रहन सकेको छैन । नेपालको समक्ष पनि प्रकृति प्रद्त वतावरणमा कुनै पनि प्रकारको बाधा अवरोध नहुने गरि दैनिकी चलाउनको लागि गर्नुपर्ने परिवर्तनहरुलाई समय हुँदै आत्मसात् गर्नुपर्ने चुनौति यस महामारीले दिएको छ । अन्यथा, सबैलाई हुने सजायको भागिदार नेपाल पनि हुनु पर्दछ ।

यस महामारीले सम्पूर्ण मानवजाति एवं विश्वलाई नै केहि सन्देशहरु दिन खोजेको छ । प्रकृतिको दृष्टिकोणमा सबै बराबर छन्, चाहे त्यो जुनसुकै भूगोलमा बस्ने होस् वा जुनसुकै जातजाति, समुदायको मानिस होस् । पृथ्वीको सतहलाई मानवले चाहे अनुसार विभिन्न महादेश वा देशमा गरेको खण्डिकरण प्रकृतिलाई स्वीकार्य छैन भन्ने सन्देश पनि यस भाईरसको प्रकोपबाट लिन सकिन्छ । जसरी मानव यस ग्रहको एउटा जीव हो, त्यसैगरि अन्य जलचर, थलचर, जनावरहरु पनि यस ग्रहकै अभिन्न अंग हो । आफ्नो क्षणिक स्वार्थ पुरा गर्नको लागि उनीहरुको जीवनलाई बिनास गर्ने काम गर्नु हुँदैन भन्ने सन्देश पनि यस नयाँ रोगबाट लिन सकिन्छ । मानवजाति जति नै ज्ञानी भए पनि र जति नै तयारीको साथ बसे पनि उसको ज्ञान एवंम् तयारी पनि कुनै समयमा कम भएको अनुभव हुन थाल्छ । तर्सथ, ज्ञान र तयारीको किनारासम्म कहिले पनि पुग्न सकिदैँन भन्ने सन्देश पनि यस संकटबाट लिन सकिन्छ ।

यसले विश्वको अर्थतन्त्रमा भईरहेको वृद्विलाई समेत कम गर्न सफल भएको छ । आर्थिक सहयाता एवं विकास संगठन (ओईसीडी) ले प्रकाशित गरेको प्रतिवेदनमा जनाईए अनुसार सन् २०२० को विश्वको आर्थिक वृद्धिदर सन् २००९ पछि सबै भन्दा कम गतिमा हुनेछ । गत वर्षको नोभेम्बर महिनामा प्रकाशित प्रतिवेदनमा विश्वको आर्थिक वृद्धिदर २.९ प्रतिशत हुने भनेको भए पनि यस कोरोना भाईरसको महामारी देखिए पछिको प्रतिवेदनमा सो दर २.४ प्रतिशतमा सीमित हुने भनिएको छ । यदि महामारीको अवधि अझै लम्बिने हो भने यो दर अझै कम भएर यस वर्ष १.५ प्रतिशतमा सीमित हुन सक्छ । विश्वको प्रमुख सेयर बजारहरुमा भारी गिरावट आएको छ । संसारकै उत्पादन केन्द्रको रुपमा परिचित चीनको कलकारखानाहरु बन्द हुँदा अरु देशको उद्योगहरुमा समेत कच्चा पर्दाथको अभाव भएको छ ।

अहिले लगभग सबै देशहरुले अति आवश्यक वस्तु उत्पादन गर्ने उद्योगहरु बाहेक सम्पूर्ण उद्योगहरु बन्द गरेको कारणले करौडौं श्रमिकहरुले आफ्नो रोजगारीबाट हात धुनु परेको छ । विभिन्न देशहरुले आफनो देशको नागरिकलाई यात्रा गर्न प्रतिबन्ध लगाएको कारण विश्वको पर्यटन क्षेत्र धराशायी बनेको छ । यस क्षेत्रमा लगानी गरिएको खर्बाैं रुपैयाँको सम्पत्ति जोखिमयुक्त हुन पुगेको छ । सन् १९२९ मा शुरु भएको महामन्दी जस्तै अवस्था विश्वको अर्थतन्त्रमा यतिबेला सृजना हुन पुगेको छ । विश्वको सम्पूर्ण आर्थिक क्रियाकलापहरु प्रायः ठप्प रहेका छन् । संसारकै सबैभन्दा सबल अर्थतन्त्र अमेरिका मात्र छोटो समयमा नै लगभग एक करोड मानिसले सरकारले दिने भनिएको बेरोजगारी भत्ताका फारम भरेका छन् । यस आर्थिक संकटबाट बचाउनको लागि विभिन्न देशको सरकारले आर्थिक सहयोगको प्याकेज घोषणा गरेको छ । अमेरिकी सरकारले इतिहासकै सर्वाधिक ठूलो आर्थिक प्याकेज ल्याएको छ भने भारतले पनि विभिन्न किसिमको जनतालाई प्रत्यक्ष राहत दिने प्रकारको आर्थिक सहयोगको घोषणा गरेको छ ।

यस महामारीबाट समग्र मानवजाति नै खतरामा परेको हुँदा यसबाट पाठ सिकि संसारमा अंगालिएका विभिन्न संस्कृतिहरुमा समय सापेक्ष परिवर्तन हुन आवश्यक छ । अति विकसित शहरको सीमित क्षेत्रफलमा कोचिएर बस्नुभन्दा कम विकसित तर न्यूनतम् सुविधाको पहुँच भएको ठाँउमा तुलानात्मक रुपमा कम जनघनत्व भएको ठाँउमा बस्दा यस्ता महामारीबाट संक्रमित हुने जोखिम कम हुन्छ । तसर्थ, विश्वभरि मौँलाएको शहर केन्द्रित संस्कृतिमा पुर्नविचार हुन आवश्यक छ ।

आयातमुखी नेपालको अर्थतन्त्र पनि यस महामारीबाट प्रत्यक्ष प्रभावित हुन पुगेको छ । पछिल्लो समय अर्थतन्त्रको मेरुदण्डको रुपमा चिनिएको वैदेशिक रोजगारीबाट प्राप्त हुने विप्रेषणकाे ठूलाे हिस्सा रोकिन पुगेको छ । चालिसौं लाखको संख्यामा विदेशमा रहेको नेपाली कामदारहरुको रोजगारी खोसिएको छ। नेपाल सरकारले तामझामको साथ उद्घाटन गरेको नेपाल भ्रमण वर्ष २०२० ले पुर्वनिर्धारित समय अगावै मृत्युवरण गर्नुपरेको छ । यसको कारण नेपालको पर्यटन क्षेत्र पनि मुर्छित भएको अवस्था छ । भारतमा काम गरिरहेको लाखौं नेपालीहरु नेपाल फर्कदा देशको आय आर्जनमा धक्का पगेको छ । यी विविध कारण पहिलेदेखि नै कमजोर रहेको नेपालको अर्थतन्त्र झन् कमजोर हुन पुगेको छ । तर्सथ, आयातमुखी अर्थतन्त्रलाई प्रतिस्थापन गरि आन्तरिक उत्पादनलाई बढाउँदै, कृषि क्षेत्रमा यान्त्रिकिकरण गर्दै, पहिले आत्मनिर्भर भई पछि निर्यातमुखी अर्थतन्त्रमा रुपान्तरण हुनुपर्ने सुन्दा असम्भव जस्तो लागे पनि कडा मिहिनेत, निरन्तर प्रयास र धैर्यता मार्फत हाम्रै जीवनकालमा हासिल गर्न सक्ने चुनौति यस कोरोना भाईरसले प्रस्तुत गरेको अवस्था छ ।

 

काठमाडाैंकाे पुरानाे सहर इन्द्रचाेक

यस महामारीबाट समग्र मानवजाति नै खतरामा परेको हुँदा यसबाट पाठ सिकि संसारमा अंगालिएका विभिन्न संस्कृतिहरुमा समय सापेक्ष परिवर्तन हुन आवश्यक छ । अति विकसित शहरको सीमित क्षेत्रफलमा कोचिएर बस्नुभन्दा कम विकसित तर न्यूनतम् सुविधाको पहुँच भएको ठाँउमा तुलानात्मक रुपमा कम जनघनत्व भएको ठाँउमा बस्दा यस्ता महामारीबाट संक्रमित हुने जोखिम कम हुन्छ । तसर्थ, विश्वभरि मौँलाएको शहर केन्द्रित संस्कृतिमा पुर्नविचार हुन आवश्यक छ । विश्वव्यापिकरणको कारण संसारको कुनै एक कुनामा उत्पादन भएको वस्तु अर्को कुनामा सजिलै पुग्दा र यसरी व्यापार गर्नको लागि ठूलो संख्यामा मानिसहरुको आवागमन एक ठाँउबाट अर्को ठाँउमा हुने हुँदा कुनै एक ठाँउमा देखिएको सरुवा रोग अर्को क्षेत्रमा पनि सजिलै सर्न सक्ने जोखिम रहेकोले अबको आउने वर्षहरुमा स्थानीय उत्पादनलाई प्राथमिकता दिई कुनै पनि देशको आन्तिरिक उत्पादन बढाउन सहयोग गर्ने संरक्षणवादी नीति अबलम्बन गर्नुपर्ने देखिन्छ । यसरी संरक्षणवादमा जोड दिने संस्कृतिको प्रचलनमा जोड दिनु आजको आवश्यकता हो । यसैगरी जे भेट्यो त्यही खाईहाल्ने संस्कृतिबाट मानिस भईसकेपछि कम्तिमा केहि जीवहरु नखाने वा पूर्ण रुपमा शाकाहारी भोजनको संस्कृतिको विकास गर्न सकियो भने भविष्यमा यस्ता महामारीको जोखिम न्यूनिकरण गर्न सकिन्छ ।

यसभन्दा पहिले पनि यस्तो महामारी मानव जातिले सामना गरिसकेको छ । सन् १९१८-१९१९ तिर चिनबाट नै शुरु भएको स्पानिस फ्लूको चपेटामा चारदेखि पाँच करोड मानिस परेको बताईन्छ । अहिलेको जति विकसित भईनसकेको त्यस बेला त महामारीको संकटबाट मानवजाति बच्न सफल भयो भने अहिलेको विकसित अवस्थामा यस संकटबाट पार नलाग्ने भन्ने कुरै हुँदैन। केहि समयको लागि मात्र यो संकट देखिएको हो । यसबाट आफु बचि अरुलाई पनि बचाउँनको लागि सक्दो सहयोग गर्नु समग्र मानवजातिको हितमा हुन्छ ।

कोरोना महामारी पश्चात्को समयमा हाम्रो भविष्य कस्तो हुन्छ भन्ने अनुमान लगाउन कठिन छ । यद्यपी, हाम्रो भविष्य धेरै हदसम्म सरकार र समाजले यस भाईरस र आर्थिक क्षेत्रलाई कसरी व्यवस्थापन गर्दछ भन्ने कुरामा निर्भर गर्नेछ । यस संकटबाट पाठ सिकेर शायद हामीले केहि राम्रो र मानव जातिको समग्र हित हुने काम गर्ने छौं । मानव जातिको जीवनमा केहि अकल्पनीय परिवर्तनको आवश्यकता यस भाईरस पछिको अवधिमा महशुस गरिेन्छ होला किनकी यो भाईरसको उत्पति प्राकृतिक भएपनि समग्र विश्वमा फैलिनुमा मानव निर्मित सोच, प्रविधि र प्रक्रियाको ठूलो भूमिका रहेको छ ।

mehtaram32@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.